रामबहादुर रावल

जगदीश अवतार


  • काठमाडौँको बौद्धिक तलाउमा सिमलाबाटै ढुंगा हान्ने लेखक

"म सिरयिस राइटर। सहरमा बस्नै सक्दिनँ।"

सिमला बस्नुको औचित्यका पक्षमा एक थान तर्क अघि सारेपछि मात्र उनी आतिथ्य र शिष्टाचारको औपचारकितातिर लागे।  

देहरादुनदेखि काँगडाका कुनाकाप्चा चहार्दाको धपेडी। रातभर सार्वजनिक यातायातमा खेपेको सास्ती। अनि, 'माइनस'नजिक पुगेको सिमलाको चिसो। कक्रक्क ज्यान लिएर उनको निवासमा पुग्दा राजनीति र दर्शनका कुरामा त्यति चाख थिएन। सिमलासँग परििचत गराउने उपयुक्त पात्रको खोजीमा जगदीशशमशेर राणाको नाम आएको थियो। विश्वविद्यालयमा घोकाइएका पाठबाहेक उनीसँग पहिलो साक्षात्कार थियो यो। पहिलो भेटमै लाग्यो, 'म सिरयिस राइटर'भित्र पक्कै राणा अहम् लुकेको छ।

कुरा गर्दै जाँदा उनी त पंक्तिकारभन्दा बढ्ता गाउँले भएर निस्किए। सुदूरपश्चिमका डेउडा भाका रटि्ठो नबिराई भट्याउन थाले। गाउँले संस्कृति, व्यवहार र विकासका पक्षमा गाउँबाट भएका प्रयासको एकएक 'अपडेट' उनीसँग रहेछ। केही बेरमै 'सिमलाको बसाइँ कस्तो छ ? किन सिमलामै बस्न आएको'जस्ता सबै प्रश्न असान्दर्भिक भए। "म गाउँप्रेमी मान्छे। काठमाडौँको कोकोहोलोमा बस्नै सक्दिनँ। बसे पनि लेख्नै सक्दिनँ," उनका कुरामा सही थाप्नुको विकल्प थिएन। त्यतिन्जेल हिमाचली बिजुलीको हिटरको तातो यो ज्यानमा पनि लागिसकेको थियो।

सिमला बसपार्कबाट ठाडै उकालो आधा घन्टा हिँडेपछि आउँछ, जोधा निवास। देहरादुनको जोधा भवनको 'ह्याङ्ओभर' थियो। तर, जुद्धशमशेरको जोधा होइन रहेछ। कुनै ठेकेदारको नाम रहेछ। उसैको अपार्टमेन्ट। भाडामा बसेका छन्, राणा। उनको स्थायी निवासचाहिँ त्यहाँबाट निकै टाढा छ। त्यस्तै अर्को डाँडाको टुप्पोमा। कोणधारी जंगलको बीचमा।

२०१२ सालतिर उनी नेपाल राष्ट्रवादी गोरखा परिषदको संगठन विस्तारका क्रममा अछाम-बाजुरा पुगेका रहेछन्। त्यहीँ उनले अछामका साहू-महाजनका तमसुक च्यात्ने अभियानको नेतृत्व गरेछन्, भैरवसिंह रावल र इन्द्रसिंह रावलहरूलाई साथ लिएर, जो पछि नेपाली कांग्रेसमा मिसिए। त्यही बेलादेखि उनको सुदूरपश्चिम नाता कसिलो बनेछ। मौका परे अझै सुदूरपश्चिम यात्रा गर्ने सुरमा छन्। सायद, अछामको मंगलसेनमा बनेको इन्द्रसिंह रावलको सालिक अनावरणको कार्यक्रमले त्यो मौका जुराउँछ कि ?

उनले कोलकातामा बस्दा नरसिंह अवतार लेखे। कांग्रेस राजनीतिका क्रममा उनले बीपीलाई भनेछन्, "तपाईंहरू किन सबै जना लड्न पठाउने कुरा गर्नुहुन्छ ? केहीलाई त कलम समाउन पनि छाडिदिनूस् न !" त्यसैको सहुलियतबाट नरसिंह अवतार जन्मियो। यो अमूर्त चित्रजस्तो लाग्छ, नेपाली प्राज्ञिकहरूलाई। कति नेपाली शिक्षकले त त्यसको छेउटुप्पो अथ्र्याउन नसकेरै निवृत्तिभरण खाइसके। तर, राणाको सजिलो उत्तर छ, "क्रान्तिको कथा हो त्यो। अरू लड्न गए, मैले त्यही कथा लेखेँ।"

नरसिंह अवतारकै दोस्रो संस्करणजस्तै भएर आयो, सेतो ख्याकको आख्यान। खाली शब्दजाल। काठमाडौँका मै हुँ भन्ने समीक्षकले पनि उनको किताबको चर्चा गर्दा लामा-लामा वाक्य र अनुच्छेदै साभार गरेर पत्रिकामा छापिदिए। मानौँ, पाठकले नै सब बुझ्नेछन्।

यतिखेर उनी अर्को पुस्तकका साथ हाजिर छन्। उत्तरआधुनिकवाद र बाहुल्य विस्फोटको डमी उनको हातमै छ। "म पत्रकारका कुरा बुझ्छु," सोध्दै नसोधेको प्रश्नको जवाफ दिन थाले उनी। अब उनका कुरा नसुनी भयो त ? सिमलाबाटै 'स्कुप' दिन खोज्दै छन् उनी। केही समयपछि काठमाडौँमा लोकार्पण हुने पुस्तकको गर्भबाटै सूचना चुहाउन तयार छन्।  

"आज नेपाल एउटा मात्र छैन। दुईवटा छन्," नेपालको मोटो चित्र उनले चिनाउन खोजे, "एक, नेपालभित्रैको नेपाल, अर्को नेपालबाहिरको नेपाल।" उनको भनाइमा नेपालबाहिर एकतिहाइ जनसंख्या छ। दुई नेपालमा फरक यति छ कि भित्र बस्नेले नेपाल खाएर बसेको छ, बाहिर बस्नेले नेपाललाई खुवाएर बसेको छ। "भित्रै बस्नु भनेको परजीवी भएर बस्नु हो। बाहिर चहार्ने नेपालीलाई म सलाम गर्छु," यसो भन्दा पनि उनी आफैँलाई माथि पाररिहेका थिए। किनभने, यो विश्लेषण पनि उनको सिमला बसाइको औचित्य साबित गर्न नै अघि सारएिजस्तो थियो।

आज रोल्पा र डोल्पाका युवाहरू सिमला आएर गाँसबास जुटाउँछन्। सिमलामै सीप र प्रविधि सिक्छन्। साँझ-बिहान काम गर्ने र दिउँसो पढ्ने धेरै युवाको गन्तव्य सिमला भएको छ। "यहाँ आउने नेपालीले कम्तीमा यति बुझेर फर्किन्छ कि ८० हजार मेगावाट बिजुली भनेको त ८० हजार करोड रुपियाँ रहेछ," उनको छुट्टै विश्लेषण छ, "त्यति भयो भने त सबै नेपालीलाई बाहिर काम गर्न जानै पर्दैन।"

नाइजेरयिादेखि खाडीसम्म फिँजिएका छन्, नेपाली आज। यसलाई उनी सखरखण्डको बोटसँग तुलना गर्छन्, "लहरा हाल्दै जान्छ। जहाँनिर नरम माटो भेट्यो, त्यहीँ फुत्त जरा गाड्छ। सखरखण्ड फलाइहाल्छ। यसले नेपाललाई अर्कै आकारमा ढाल्दै छ।"

सिमलामा रहने नेपालीको बेलाबेलामा भेला हुन्छ। "चिया त जहाँ बसेर खाए पनि भइहाल्यो। तर, कोही कम्प्युटरमा काम गर्छन्। कोही कतै छन्। सबै व्यस्त छन्," सामूहिक भेलाको सांस्कृतिक आयाम केलाउँदा उनी अलि रसिक देखिए, "युवा उमेर यहाँ बिताउने अनि बिहा कहाँ गएर गर्ने ? कम्तीमा यो भेलाले एकअर्कामा चिनापर्ची त हुन्छ।"

"नेपालकै गाउँमा गएर बिहाबारी गर्ने चलन हराइसक्यो, नानीहरू आफँै पोइल जाने भइसके। मेरै फार्ममा काम गर्ने दुई जना नानीहरू थिए। मेरो जग्गालाई तिनले गोर्खाल्यान्ड नै बनाइदिए। कसको के लाग्यो ?" नेपालीका यी बदलिँदा सम्बन्धका पाटाहरू खोतल्दा झन् बढी नै उत्साहित थिए। नेपाली समाजको यो नौलो तस्बिर निकै चाख मानेर उनी ओल्टाईपल्टाई हेर्दै छन्।

देशविदेश चहाररिहेका नेपालीलाई नै हेरेर उनको आशावाद दरिलो बनेको छ। "कसैकसैले भन्छन्, नेपाली ठूला ठाउँमा पुगेनन्, हामी त खत्तमै भयौँ," उनको फरक मत छ, "तर, मलाई त्यस्तो लाग्दैन। यहाँका रेस्टुराँमा धेरैजसो नेपाली कुक छन्। वेटर छन्। खानबस्न, परविार पाल्न सकेका छन्।"

भोलि कुनै दिनमा अमेरकिी राष्ट्रपति बाराक ओबामाको सचिव नेपाली भयो भने उनी त्यति खुसी हुँदैनन् रे ! "उनको कुक नेपाली भए पो खुसी," आफ्नो दर्शनलाई उनले यसरी अथ्र्याए, "किनभने, जो कुक बन्छ, त्यो आमनेपाली हो। त्यो मासबाट आयो। सचिव बन्ने त क्लासबाट आउँछ।"

तल्लो तहका, हिजो भाँडा माझ्ने वर्गका मान्छे आज ओबामाका कुक हुन्छन् भने मात्रै त्यसलाई प्रगति मान्नुपर्ने उनको तर्क छ। भन्छन्, "विकास क्लासका लागि होइन, मासका लागि हुनुपर्छ। त्यसैले ८० प्रतिशत जनतालाई अँध्यारोमा राखेर शतवाषिर्की मनाउने काठमाडौँवासीभन्दा अछामका दुर्गम गाउँका बासिन्दाले आफैँले बालेको बिजुलीमा लोकतन्त्रको मर्म छ।"

नेपाल लोकतन्त्रको नौलो प्रयोगशाला बनेको उनी ठान्छन्। जनता आ-आफँै बिजुली उत्पादन गर्दै छन्। "बाइ द पिपुल, फर द पिपुल, अफ द पिपुल भनेको त यो पो हो त," उनी भन्छन्, "सरकारले के भन्छ भनेर बस्ने दिन गए अब। पद्धति बदल्ने र बसाउने कुरा त अब तलैबाट हुन थालेछ।" एकाध व्यक्तिलाई बिल गेट्स बनाउने कि सबैलाई खान पुग्ने बनाउने ? आजको नेपाली लोकतन्त्रको अहम् प्रश्न यही हो भन्ने उनलाई लागेको छ।

मुलुक बिगि्रयो, भत्कियो भन्ने पक्षमा उनी छैनन्। चित्त दुखाउने गरी पद्धतिमा धाँजा फाटेका हुन्थे भने चिरञ्जीवी वाग्ले र जयप्रकाश गुप्ताहरू जेल जाने थिएनन्। तर, निश्चित वर्गका मनमस्तिष्कमा भने धाँजा फाटेका छन्। कारण, आज मेरो पहिचान, मेरो अधिकार भनेर 'मास'बाट आवाजहरू उठेका छन्। "अब कम्युनिजम होइन, कम्युनिजम्स भइसक्यो। डेमोक्रेसी होइन, डेमोक्रेसिज भइसक्यो। प्रजातन्त्रका फरक-फरक रूप आइसके। अब त्यो हाम्रो २०औँ शताब्दीको सोच काम लाग्दैन भन्ने कुरा नेपालका नेताहरूले सोच्नै सकेका छैनन्।"

आज प्रविधिले मारेको फड्कोका कारण पनि राजनीति, संस्कृति, भाषा र चिन्तन प्रक्रियालाई नै अर्कै बनाइदिएको छ। परम्परागत चिन्तन प्रवृत्तिबाट नेपालको राजनीतिक नेतृत्वबाहेक सबै माथि उठिसकेको उनको बुझाइ छ।

अलि एन्टीकरेन्ट बन्ने उनको स्वभाव छ। गत वर्ष पाटनमा साहित्य मेला लाग्यो। उनी मञ्चमा बसेनन् नै। दर्शकदीर्घामा एकछिन नबिराई बसे। एकपटक उनलाई सोधियो, नेपाली भाषाको भविष्यबारे तपाईंको के विचार छ ? "मेरो विचार त होइन, चाहना भन्न सक्छु," उनले भने, "सय वर्षपछि नेपाली भाषा नरहोस्।" अनि, के गति भयो होला त्यहाँ ? राणाको थप भनाइ थियो, "नेपाली भाषा संग्रहालयमा बसेजस्तो मेरा किताब पनि थन्कियून्। नेपालीहरूले एउटै विश्वभाषा बोलून्।" एक भाषावादीले भने, "कुन चैँ विश्व भाषा ?" उनको जवाफ थियो, "यो पनि थाहा छैन ? जो विश्वका मान्छेले बोल्छन्। जुन भाषा बोल्न जान्दा खाडीको देशमा गएका मेरा दिदीबहिनी शोषित हुँदैनन्। तिनले ज्यादा कमाउँछन्। नेपाल धनी हुन्छ। त्यस कारण सबै नेपालीले अंग्रेजी बोल्न र लेख्न सकून्/जानून्।"

आज यसैगरी साहित्य, संस्कृति, संगीत, वास्तु 'रििमक्स' भइसक्यो। अनि, प्रजातन्त्रको दुई सय वर्ष पुरानो सूत्र घोकेर हुन्छ ? नेपालको पुरातन नक्साभित्र आफ्नो सोचाइलाई कैद गरेर हुन्छ ? सायद, त्यसैले उनी उत्तरआधुनिकतावादमा एक थान पुस्तक काठमाडौँमा सार्वजनिक गर्दै छन्। यहाँको एकल र बहुपहिचानको बहसमा उनी पनि मिसिँदै छन्। तर, उनी काठमाडौँका बौद्धिक तलाउमा सिमलाबाटै बेलाबेलामा ढुंगा हान्न पाइयोस् भन्ने कामनामा दृढ छन्। "यहाँको सम्पत्ति त बेचुँला रे ! ३०-४० वर्षदेखिका साथीसंगी, दाजुभाइलाई कहाँ बेच्नू ? फेरि यो त मेरो तपोभूमि हो।" उनको यो यस्तो तपोभूमि, राजा महेन्द्रले काठमाडौँमा कू गरेपछि शान्तिको खोजीमा भारतीय भूमिमा बरालिँदै जाँदा जहाँ उनका पाइला अड्किएका थिए।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

रामबहादुर रावलद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

कथा   [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar