शिलान्यास मन्त्री

मन्त्री हुनेबित्तिकै शिलान्यास गर्न हतारिने प्रवृत्ति नौलो होइन। यसपाला शिलान्यास गर्ने तर कामचाहिँ कहिल्यै नगर्ने मन्त्रीको शैलीले दुःख पाइयो। सप्तरीको सदरमुकामबाट झन्डै ३० किलोमिटर उत्तरपश्चिममा रहेको नेंगडा गाउँ पुग्दा बाटोमा खोला त कैयन् देखिए तर पुल भने एउटै देखिएन। पुल नभएको मुतनी खोला पार गर्ने बेला मोटरसाइकल खोलाको बीचमै फस्यो। मोटरसाइकलबाट नझराँै त पानीमै लडिने, झराँै त जुत्ता पानीमा भिज्ने।

गेग्य्रान, बालुवाको दलदल र पानीको बहावले मोटरसाइकलसितै पानीमा लड्ने डर प्रबल भएपछि अन्ततः खोलामै जुत्तासहितको खुट्टा चोपलियो। सहकर्मी रामनारायण विश्वास र मेरो जुत्ता पानीले लछप्पै भिज्यो। चार वर्षअघि मन्त्री भएका बेला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले निकै तामझामका साथ यो खोलामा पुल शिलान्यास गरेका रहेछन्। तर, शिलान्यासपछि न मन्त्री फर्केर आए, न पुल नै बन्यो। मनमनै सोचँे, मन्त्री गच्छदारले पुल हालिदिएको भए माघको चिसोमा मेरा जुत्ता भिज्ने थिएनन्। हरेक दिन यो पुल पार गरेर सदरमुकाम राजविराज जाने कतिका जुत्ता भिज्दा हुन्, कति लड्दा हुन् खोलामा ?

रिपोर्टिङ् सकेर फर्केपछि पो थाहा भयो, गच्छदारले शिलान्यास गरेर छाडेको तर पुल नबनेको अर्को खोला पनि रहेछ सप्तरीमा। राजविराज नगरपालिका र पकरी गाविसबीच भएर बग्ने खोलामा पनि उनले पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएका बेला पुलको शिलान्यास गर्न भ्याएका रहेछन्। त्यो पुलको पनि हालत त्यस्तै रहेछ। स्थानीय भन्दै थिए, खोलामा खुट्टा चोपल्ने बेला सबैले गच्छदारले शिलान्यास गर्दाको तामझाम सम्झन्छन् र उनलाई 'सत्तो' हाल्छन्।



कर्मकाण्डी निषेध

सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रमा फोटो खिच्न नपाइने सूचनासहितको बोर्ड र त्यसमा क्यामेरालाई निषेध चिन्ह लगाइएको तस्बिर त देखेकै हौँ। शाहीकालमा यस्तो होर्डिङ् बोर्ड जहीँतहीँ देख्न पाइन्थ्यो। अहिले यस्तै दृश्य सिंहदरबार परसिरभित्र रहेको गृह मन्त्रालयमा देख्न पाइन्छ। गच्छदार गृहमन्त्री भएपछि क्यामेरा निषेधको नियम लगाइएको हो। त्यसरी क्यामेरा निषेध गर्नुको कुनै स्पष्ट कारण सुरक्षाकर्मीहरू दिँदैनन्। कसैले सोधिहाले उनीहरू उही सनातनी पाराको जवाफ दिन्छन्, 'माथिको आदेश'। अनौठो त के भने क्यामेरा लैजान निषेध गरिएको मन्त्रालयमा मोबाइल फोन भने लैजान पाइन्छ। मोबाइलबाट पनि क्यामेराकै गुणस्तरको फोटो खिच्न मिल्छ भन्ने कुरा सुरक्षाकर्मीले थाहा नपाएका हुन् कि, श्राद्धमा बिरालो बाँधेजस्तै कर्मकाण्ड मात्रै गरेका हुन् ?



एनजीओको गाउँ प्रवेश

पुसको अन्तिम साता मधेसका मुसहर र डोम बस्ती घुम्दा एउटा अनौठो कुरा थाहा पाइयो। त्यो हो, ती गाउँहरूमा एनजीओको प्रवेश। हावाको सानै झोक्काले पनि उडाउलाजस्ता फुसका घरहरूको बीचमा एनजीओका होर्डिङ् बोर्ड सानले ठडिएका रहेछन्। ती होर्डिङ् बोर्डमा दातृ निकायको सहयोगमा सञ्चालित परियोजनाको नाम, खर्च विवरण र अन्य कुरा समावेश गरिएका थिए। अक्षर चिन्न नसक्ने मुसहरहरूले होर्डिङ् बोर्डका कुरा बुझ्ने कुरै भएन।

वर्षौंदेखि एनजीओका कार्यक्रम सञ्चालित गाउँहरूको पनि उस्तै बिजोग रहेछ। एक जना स्थानीय भन्दै थिए, हरेक वर्ष प्रगति विवरणमा मात्रै यस्ता गाउँको विकास हुन्छ तर गाउँ त सधैँ उस्तै हो। आवश्यकता एकातिर र लगानी अर्कोतिर हुँदा दातृ निकायको लगानी बालुवामा पानी भएको बुझ्न गाह्रो परेन। अर्को अनौठो के भेटियो भने जिल्ला जनस्वास्थ्य कार्यालयले सडकका छेउछाउमा ठूल्ठूला होर्डिङ् बोर्ड टाँगेको रहेछ, जहाँ लेखिएको थियो, पानी उमालकर पिउ। विभागका नीतिनिर्माताहरूलाई यो कुरा थाहा छ कि छैन, जहाँ बिहान-बेलुका खानकै समस्या छ, जसका घरमा अक्सर चुल्हो नै बल्दैन, खान पाइहाले पनि हात धोएर खानुपर्छ भन्ने सामान्य ज्ञानसमेत छैन, तिनीहरूको प्राथमिकतामा पानी उमालेर पिउनुपर्छ भन्ने कहिले पर्ला ?



परिचय फेर्नुपर्दा

नेपालका अधिकांश दलित र विपन्न बस्तीका मानिस गाउँ छिरेका नयाँ मान्छेसँग हतपती कुरा गर्न अघि सर्दैनन्। मधेसका त्यस्ता बस्तीको अवस्था पनि त्यसभन्दा फरक छैन। उनीहरूलाई पत्रकार भनेका को हुन्, के काम गर्छन् र गाउँ छिरेर मान्छेसँग किन कुरा गर्छन् भन्ने थाहै छैन।

रौतहटको सन्तपुरलगायत मुसहर बस्ती छिर्दा मित्र फणि महत मलाई सम्झाउँदै थिए, "पत्रकारचाहिँ भन्दै नभन्नू।" कुनै टोलमा छिरेर कुरा सुरु गर्न नपाउँदै स्थानीयले सोधिहाल्थे, कहाँबाट आउनुभएको ? त्यसपछि मित्र फणि झटपट उत्तर दिइहाल्थे, "संस्थाके बानु।" संस्थाबाट आएको भन्नेबित्तिकै उनीहरू दातृ निकायका प्रतिनिधि होलान् र सहयोग गर्न आएका होलान् भन्ने ठान्दा रहेछन्। त्यसपछि त उनीहरू कुरा गर्न तयार भइहाल्ने।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

जनकराज सापकोटाद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar