थकाइ मार्ने मुडमा रिक्सा थन्काएर बसेका अधना पासवान, ३८, दगुर्दै आए। तस्बिरको चाङबाट उनले एउटा तस्बिर निकाले र भने, "यी, यही हो मेरो फुटो।" तस्बिरमा उनी अहिले देखिएभन्दा सुन्दर देखिएका छन्। चिटिक्क मिलाइएका जुँगा र मेकअप गरेर चट्ट पारिएको अनुहारमा उनी औधी खुलेका पनि छन्। चोरऔँलाले तस्बिर देखाउँदै उनले भने, "यही टोकरीमा भगवान् कृष्णलाई बोकेर यमुना नदी तरेकोहो ।"
यो तस्बिर मधेसका गाउँघरमा देखाइने कृष्णलीलामा उनले वासुदेवको भूमिकामा अभिनय गर्दाको हो। अधना कृष्णलीला देखाउने मण्डलीका एक सदस्य हुन्। उनी कहिले वासुदेवको भूमिकामा हुन्छन् त कहिले कृष्णजीको ग्वाला मण्डलीका सदस्यको भूमिकामा। तर, वास्तविक जीवनमा भने उनी कञ्चनपुर वेरयिरदेखि पेडा बजारका रूपमा ख्याति पाएको बरमझिया बजारसम्म त कहिले रूपनी र महुलीसम्म रिक्सा कुदाउँछन्।
मधेसमा देखाइने कृष्णलीला र रामलीलाका अधिकांश कलाकार अतिविपन्न दलित समुदायका छन्, जो वास्तविक जीवनमा सधैँ कथित जातीय परम्पराले थोपरेको विभेद र छोइछिटोको सिकार हुने गर्छन्। वासुदेवको भूमिका गर्दा त अधना जनै पनि लगाउँछन्। अरू बेला भने उनको काँधमा जनै हुँदैन। भन्छन्, "अरू बेला त जनै ब्राह्मणहरूले मात्रै लगाउँछन्।"
हरेराम पासवान, २८, लाई जीवनमा कतिपल्ट श्रीकृष्ण बनियो र कति सय गोपिनीलाई जिस्काइयो भन्ने सम्झना छैन। १२ वर्षको उमेरदेखि कृष्णलीलामा अभिनय गर्दै आएका हरेराम दलित भए पनि कर्मकाण्डी ब्राह्मणभन्दा कम छैनन्। उनी हरेक दिन बिहानै स्नान गर्छन्, मदिरा र मासु खानु त परै जाओस्, घरमा समेत भित्र्याउँदैनन्।
स्कुले जीवनमा १० कक्षासम्मको खुड्किलो उक्लेका तर पास नभएका हरेरामले अक्षर चिन्न र संवाद कण्ठ गर्न सक्ने क्षमताकै कारण सधैँ कृष्णको भूमिका पाए। उनी कञ्चनपुरमै रहेको एक चामल उद्योगमा भारी बोक्ने काम गर्छन्। कृष्ण बनेका बेला उनको अनुहार धपक्कै बलेको हुन्छ। टाउकोमा झिलझिल टल्किने मुकुट, निधारमा लामो टीका, हातमा बाँसुरी र नाडीमा टल्किने चुरा। अरू बेला भने छाक टार्नका लागि दिनहँु भारी बोक्नुपर्ने बाध्यताले उनको अनुहार पसिनाले लछप्पै भिजेको हुन्छ।
भारी बोकेर, ज्यामी काम गरेर र रिक्सा तानेर गुजारा चलाउने अधना, हरेरामहरू मिलेर श्री श्री श्री १०८ माँ भगवती संकीर्तन मण्डल नै खडा गरेका छन्। १४ वर्षअघि उनीहरूले खोलेको यो मण्डलीले सयौँपटक कृष्णालीला देखाइसक्यो। कात्तिकदेखि जेठ महिनासम्म उनीहरूले विभिन्न ठाउँमा गएर लीला देखाउने गर्छन्। यसरी अभिनय गर्नुको उद्देश्य बाबुबाजेको पालादेखि चलिआएको परम्परा जोगाउनु नै हो। हरेराम भन्छन्, "छाक टार्नका लागि त हामीलाई आफ्नो पेसा छँदै छ। यो त भगवान्प्रतिको श्रद्धा हो।"
यो मण्डलीका सबै सदस्य पासवान र मण्डल थरका छन्, जो मधेसमा दलितभित्रका पनि दलित जातिका रूपमा चिनिन्छन्। अनौठो त के भने व्यावहारकि जीवनमा सधैँ छोइछिटोको सिकार खेप्ने यिनै सदस्यहरूलाई मञ्चमा अभिनय गर्ने बेलामा दर्शकहरू साँच्चिकै भगवान् मानेर पूजा गर्छन्, आराधना गर्छन् र उनीहरूले दिएको प्रसाद खुसी मानेर खान्छन्। तर, मञ्चबाट ओर्लेपछि फेरि उही छोइछिटो। मण्डलीका अधिकांश सदस्यको जीवनमा आफ्नै नियम छन्। कृष्ण र राधाको पवित्र भूमिका निर्वाह गर्नुपर्ने भएकाले उनीहरू मदिरा र मासु खाँदैनन्।
हरेरामले नेतृत्व गरेको मण्डलीले छिमेकी भारतीय राज्यको सहर्ष, सुपौल, फारविसगन्जदेखि नेपालका धनकुटा, उदयपुर, सिराहा, सप्तरी, सुनसरी र झापासम्म पुगेर कृष्णलीला देखाइसकेको छ। उनीहरूले देखाउने यस्तो लीला घटीमा तीन घन्टादेखि बढीमा आठ घन्टासम्मको हुन्छ।
द्वापर युगको कृष्णलीला र त्रेता युगको रामलीला देखाउनु मधेसका हिन्दुहरूको पुरानो परम्परा हो। गाउँगाउँमा पुगेर देखाइने यस्तो लीला अधिकांश रातको समयमा हुने गर्छ, जहाँ हजारौँ गाउँले सहभागी हुन्छन् र उनीहरूले श्रद्धाले चढाएको पैसाले यस्ता मण्डली चल्दै आएका छन्। यस्ता मण्डलीले हिन्दु परम्पराको एउटा विरासतलाई जोगाएर राखेका छन्।
लक्ष्मीनारायण पासवान, ४१, का बाबु पनि सानै उमेरदेखि कृष्णलीलामा विभिन्न भगवान्को भूमिकामा अभिनय गर्थे। बाबुको बाटो पछ्याउँदै लक्ष्मीले पनि १२ वर्षको उमेरदेखि आफूलाई मञ्चमा उभ्याए। उनी अक्सर कंसको भूमिका निर्वाह गर्छन्। तस्बिरका चाङबाट उनले आफूले कंस बन्दाको तस्बिर देखाउँदै मुस्कुराए र भने, "तस्बिरमा त मेरो लामो कपाल देखिन्छ तर खासमा मेरो तालु खुइलिनै लागेको छ।"
उनले यो नक्कली कपाल छिमेकी भारतीय बजार फारविसगन्जबाट दुई सय भारुमा किनेका हुन्। उनको अनुभवमा कंसको भूमिका गर्नु सजिलो छैन। रातो कपडा बेर्नु, जरी कोट लगाउनु, टाउकोमा श्रीपेच पहिरनिु, घरेलु गाजलले लामो र डरलाग्दो देखिने गरी जुँगा बनाउनु। तीन छोराछोरीका बाबु लक्ष्मी मजदुरी गरेर जीवन निर्वाह गर्छन्। तर, जतिबेला उनी कंसको भूमिकामा हुन्छन्, त्यतिबेला उनी धनले सम्पन्न हुन्छन्, भलै अभिनय नै किन नहोस्। कहिलेकाहीँ छरछिमेकका केटाकेटीले कंस भनेर जिस्काउँदा उनलाई रमाइलो लाग्छ।
हरेरामको मण्डलीले कृष्णलीलामा अभिनयका लागि अनेकन् सामान जोहो गरेको छ। उनीहरूले ढोलक, हार्मोनियम, मजुरादेखि अनेकन् मुकुट किनेका छन्। कंसले लगाउने टल्किने जरीकोट, कृष्णले लगाउने झिलीमिली कपडा, हातमा लगाउने वैया (वाला), वैजयन्ती मालादेखि काठको तरबार, कृष्णजीलाई बोक्ने टोकरी, हनुमानको मुकुट, नक्कली पुच्छर, नक्कली जुँगा, नक्कली कपाल आदि। कृष्णलीलामा अनेकन् पात्र छन्। धेनकासुर, बक्रासुर, अघासुर, बत्सासुर सबैको अभिनय गर्नुपर्ने भएकाले उनीहरूले सबैको मुकुट किनेका छन्। ती अनेकन् मुकुटदेखि मेकअपका महँगा सामान उनीहरू बर्सेनि भारतीय बजार फारविसगन्ज पुगेर किन्छन्। हरेराम भन्छन्, "करबि एक लाखको त सामान नै किनेका छौँ।"
हरेरामले घरको एक कुनामा ती सबै मुकुट र सामग्रीलाई जतन गरेर राखेका छन्। कृष्णलीलामा गाह्रो भूमिका नागराजको पनि हो। कपडा लगाउनै गाह्रो अधनाले भने, "टाउको निकाल्नै नमिल्ने भएकाले सास फेर्नसमेत गाह्रो हुन्छ।"
श्रीलालजी मण्डल, ३८, लीला देखाउने बेला गाइने गीतमा धुन भर्छन्। उनी सुर मिलाएर हार्माेनियम बजाउँछन्। श्रीलाल कृष्णलीलामा यसरी बाजा बजाउन पाउनु आफ्नो भाग्य ठान्छन् र यसरी धर्म हुने उनको विश्वास छ। मण्डलीका अधिकांश सदस्य निरक्षर छन् तर लामालामा श्लोक कण्ठस्थ पारेका छन्। दुई-चार अक्षर चिन्ने हरेरामले भने यस्ता श्लोक कापीमा उतारेर राखेका छन्। भन्छन्, "हामीपछिको पुस्ताले पनि कृष्णलीला देखाऊन् भनेर लेखेको हुँ।"
लीलामा सबैभन्दा गाह्रो भूमिका कृष्ण भगवान्को छ, जसले सबैभन्दा धेरै श्लोक भन्नुपर्छ। हरेरामको भनाइमा मेकअप गर्न नै दुई घन्टाभन्दा बढी लाग्छ। रमाइलो त के भने कृष्णलीला मण्डलीका सबै सदस्य पुरुष छन्। उनीहरू कथाले मागे अनुसार कहिले महिलाको भूमिका निर्वाह गर्छन्, कहिले पुरुषको। कंसको भूमिका मञ्चमा नहुने बेलामा लक्ष्मीले कुवडीको भूमिका पनि निर्वाह गर्नुपर्छ। कंसले आयोजना गरेको यज्ञमा सवारी भएका कृष्णको अगाडि उपस्थित हुने कुप्री र अनुहार चाउरी परेकी बूढीको भूमिका गर्न उनले मुकुन्डो लगाउँछन् र कम्मर सकेसम्म निहुराउँछन्।
मधेसमा रहेका यस्ता कैयौँ लीला देखाउने मण्डली माओवादीको दशक लामो सशस्त्र द्वन्द्वका बेला करबिकरबि बन्द नै भए। शान्ति प्रक्रियापछि भने फेर ियस्ता मण्डलीहरू राम र कृष्णलीला देखाउन लागिपरेका छन्। उनीहरूले दसैँ वा कृष्ण जन्माष्टमी नै कुर्नुपर्दैन । जुनसुकै बेला लीला देखाउन यो मण्डली तयार रहन्छ । दलितहरूका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सिराहाका प्रेमकुमार राम व्यवहारमा छोइछिटो खेप्ने तर कृष्ण र रामको भूमिकामा देखिएपछि तिनै भगवान् हुने परम्परा आफँैमा अनौठो रहेको बताउँछन्। भन्छन्, "मञ्चमा छउन्जेल भगवान् र ओर्लेपछि दलित नै ठान्ने परम्परा अझै कायम छ।"
तपाईंको प्रतिकृया