पछिल्ला केही हप्तादेखि साँघुरँिदै आएका नेप्सेका गिरावटका अंक गत साता (२१-२५ माघ) हरिया अंकमा परिणत भए। सातामा पाँच दिन भएको कारोबारमा पछिल्ला तीन दिन बजारमा गिरावट आए तापनि सुरुका दुई कारोबार दिनमा बजार बढेकाले समग्र बजार सकारात्मक बन्यो। साताभरिको कारोबारमा २१ माघमा नेप्से सवैभन्दा बढी ५ दशमलब ०९ अंकले बढ्यो।
दिन सकिँदै गएपछि रात तथा रात सकिँदै गएपछि दिन आउँछ भनेझैँ सेयरको प्राविधिक विश्लेषणमा गिरावटका अंक साँघुरँिदै जाँदा वृद्धिका अंकहरू देखिने गर्छन्। वृद्धिका अंक साँघुरँिदै जाँदा गिरावटका अंकहरू देखा पर्छन्। विगत तीन साताबाट समग्र बजारका गिरावटका अंक साँघुरँिदै गएर गत साता समग्रमा बजार बढ्यो। राता अंक सकिएर हरिया अंक देखा परे। अघिल्लो साता २५ माघको तुलनामा नेप्से परिसूचक १ दशमलव ७४ अंकले बढ्यो। अघिल्लो साताको अन्त्यमा ५ सय १० दशमलव ८८ अंक रहेको नेप्से परिसूचक गत साता कारोबार सकिँदा ५ सय १२ दशमलव ६२ विन्दुमा आएर बन्द भयो।
एनेकपा माओवादीको महाधिवेशन सिद्धिसकेको छ। राजनीतिक पार्टीले गर्ने सहमतिका हिसाबले अबको समय सेयर बजारका लगानीकर्ताका लागि पनि महत्त्वपूर्ण रहनेछ। राजनीतिक सहमतिका प्रयासमा हुने उतारचढावसँगै सेयर बजारमा पनि उतारचढावहरू देखा पर्नेछन्। जुन संविधानसभाको विघटन हुनुअघि र संविधान निर्माणमा पार्टीहरूबीच भएका सहमतिका प्रयासमा तथा राष्ट्रपतिले सहमतीय सरकारका लागि गरेको आह्वानपछि देखिएको थियो।
यो महिना कम्पनीले दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने समय भएकाले यो साता कम्पनीका प्रतिवेदन सार्वजनिक हुने क्रमले पनि तीव्रता पाउनेछ। कारोबारका हिसाबले सबैभन्दा ठूलो हिस्सा ओगट्ने वाणिज्य बंैकका प्रतिवेदन नै बजारका लागि महत्त्वपूर्ण हुनेछन्। हालसम्म प्रकाशित विवरण अनुसार प्रायः बैंकको नाफामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ, जुन वृद्धि लगानीकर्ताले आशा गरेभन्दा राम्रो हो।
दोस्रो बजारमा कारोबार रकममा केही कमी देखिइरहेको समयमा प्राथमिक बजारमा कमर्ज एन्ड ट्रस्ट बंैकले ६ फागुनबाट ६० करोड रुपियाँका ६० लाख कित्ता साधारण सेयर निष्कासनका सूचना सार्वजनिक गरेको छ। त्यसले लगानीकर्ताको ध्यान प्राथमिक निष्कासनतर्फ केन्दि्रत हुनेछ र दोस्रो बजारमा सेयर बिक्रीको चाप केही बढाउनेछ। कारोबार रकममा भने सुधार आउने सम्भावना कम छ। यस वर्ष साधारण सेयर जारी भएको जनता बैंकको सेयर मूल्यले नयाँ बैंकको प्राथमिक निष्कासनमा चाप बढाएको छ, जसको प्रभाव सिभिल बंैकको निष्कासनमा देखिइसकेको छ। सिभिलको निष्कासनमा ७ गुणाभन्दा बढी आवेदन परेको थियो। सिभिलको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण हुन बाँकी नै छ। यो वर्ष सेयर जारी भएका दुई वाणिज्य बैंकका सेयरमा बढी माग हुनु, दोस्रो बजारमा कारोबार सुरु भएको जनता बैंकको सेयर मूल्य छोटो समयमै करबि दोब्बर मूल्यमा बिक्री हुनुले कमर्ज एन्ड ट्रस्ट बंैकको सेयरमा पनि माग उच्च हुने सम्भावना रहेको छ।
दोस्रो बजारमा सुधार हुँदै जाँदा प्राथमिक निष्कासन बढ्ने गर्छन्। दोस्रो बजारको प्रभावकै कारण प्राथमिक निष्कासनमा लगानीकर्ताको आकर्षण पनि बढ्ने गर्छ। सेयर बजारबाट पुँजी उठाउन कम्पनीहरूले अपनाउने यो प्रचलित विश्वव्यापी रणनीति हो।
तपाईंको प्रतिकृया