भारतको पुणेस्थित विश्वविद्यालयमा पढ्दाताका उनले आफ्नो अपार्टमेन्टको झ्यालबाट झाडी भएको एउटा पाखो देखे, जहाँ कृषि विषय लिएर पढेकी एक युवती हरेक दिन आउँथिन्। कहिले झाडी फाँड्थिन्, कहिले माटो सम्याउँथिन्। त्यसो गर्दागर्दै महिना दिनमा उनले त्यहाँ हरियो साग फलाइन्, छिमेकीलाई खुवाइन् र आफूले पनि स्वाद लिइन्। त्यो सब देखेपछि उनलाई लाग्यो, गर्ने काम त कृषि नै रहेछ।
बेलायतदेखि थाइल्यान्ड हुँदै भारतसम्मका कुनै विश्वविद्यालयमा मन अडिएन, रामकुमार बानियाँ, २४, को। बल्ल अहिले उनको मन गोंगबु-२ स्थित आफ्नो कृषि फार्ममा अडिएको छ। पछिल्लो एक वर्षयता १० रोपनीमा फैलिएको फार्ममा उनले अनेकन् प्रयोग गरेका छन्। पहिलो वर्षमा उनले १ लाख ५० हजार रुपियाँको त गोलभेँडा मात्रै बेचे। तर, आफ्नो मिहिनेतको तुलनामा प्राप्त प्रतिफलबाट उनी सन्तुष्ट भएनन्।
पहिलेपहिले उपन्यासका पानामा दौडिने उनी हिजोआज जुनसुकै बेला कृषिसम्बन्धी किताबमा घोत्लिन्छन्। इन्टरनेटको भर्चुअल दुनियाँमा उनको खोजी जतिबेला पनि कृषि उत्पादन र तिनमा लाग्ने अनेकन् रोगको निदान कसरी गर्न सकिन्छ भन्नेमा रहन्छ। भन्छन्, "उपयोग गर्न जान्ने हो भने धेरै वेबसाइटहरू कृषकहरूका निम्ति अत्यन्तै उपयोगी छन्।"
काम सुरु गरेको दोस्रो वर्षमै उनले फार्मिङ् यात्रालाई विस्तार गरसिकेका छन्। गोंगबु-३ को २२ रोपनी जग्गामा उनको तरकारी खेती सुरु भइसकेको छ। उनी आफ्ना लागि आवश्यक बीउ आफैँ उत्पादन गर्ने तयारी गर्दै छन्। विषादी र देशी मल नै नहालीकन अर्गानिक तरकारी उत्पादनका लागि उनले गँड्यौला मल उत्पादन गरेका छन्। हाम्रै बारीमा पाइने स्वदेशी गँड्यौलाबाट कसरी राम्रो मल निकाल्न सकिन्छ भन्ने प्रयोगमा झन्डै झन्डै सफलता हासिल गरेको उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातक र भारतस्थित इन्दिरा गान्धी ओपन युनिभर्सिटीबाट पर्यटन विषयमा स्नातक अन्तिम वर्ष सक्नै लागेका बानियाँका लागि तरकारी खेती नशा नै भएको छ। उनी बिहानदेखि राती अबेरसम्म आफैँ तरकारी बारीमा खटिन्छन्। तरकारीमा लाग्ने रोग पहिचान गर्छन् र रातभर िइन्टरनेटमा घोत्लिएर त्यसको उपचारको घरेलु विधि खोज्छन्।
अघिल्लो वर्ष मात्रै उनी तरकारी खेतीका बारेमा व्यावहारकि ज्ञान सिक्न दुईपटक भारतको पुलीचेरला पुगे र एक महिना बिताए। पूर्व धनकुटादेखि पश्चिम जुम्लासम्मका कैयन् जिल्लाका सयौँ कृषि फार्म घुमे। भन्छन्, "काठमाडौँको काठमा रहेका कुनै कृषि फार्म बाँकी छैनन् होला मैले नघुमेको।"
अब छिट्टै आफ्नो फार्ममा मौरी पालन पनि गर्ने सोच बनाएका छन् उनले। त्यस्तै केही साथीसँग मिलेर उनले फलफूल उत्पादनका विषयमा पनि काम गर्दै छन्। कृषिकै लागि अहिलेसम्म ५० लाख रुपियाँभन्दा बढी लगानी गरसिकेका बानियाँले फार्ममा चाइनिज रायो साग, डल्ले खुर्सानी, मूला, लसुन र काउलीको बीउसमेत उत्पादन थालिसकेका छन्। भन्छन्, "अरू पनि गर्न सकिन्छ। यो त सुरुआत मात्रै हो।"
तपाईंको प्रतिकृया