कलाविहीन व्यापारिक कसरत

- हरि अधिकारी

लोकपि्रय गीतकार राजेन्द्र थापाको उपन्यास खेलौना विषयवस्तु र त्यसको निर्वाहको दृष्टिले एकदमै नयाँ छ। यो नेपाली भाषामा लेखिएको पहिलो जीवनीपरक आख्यान हो, जसको मुख्य पात्र (मध्यम दर्जाकी मोडल स्मिता थापा) हाम्रै माझमा छिन् र खेलौनाको कुनै पाठकले अलिकति कष्ट उठाएको खण्डमा काठमाडौँका ग्ल्यामरस इलाकामा उनलाई सजिलै भेट्न सक्छ। ऐतिहासिक पात्रहरूको जीवनकथामा आधारति आख्यानहरू कमै लेखिएको नेपाली साहित्यमा ग्ल्यामर संसारकी एउटी परििचत अनुहारका यौनसम्बन्धी खुला विचार र उन्मुक्त जीवनशैलीलाई आधार बनाएर उपन्यास नै तयार गर्नु एउटा विशिष्ट प्रयोग नै हो। यस कामका लागि मात्रै भए पनि राजेन्द्र थापा र उनको यस कृतिलाई नेपाली साहित्यका विद्यार्थीहरू र अनुसन्धानकर्ताहरूले बारम्बार सम्झना गर्नेछन्।

विषयवस्तुको गम्भीर प्रस्तुति, भाषाको लालित्य, सुरुचिपूर्ण शब्द चयन, विश्वसनीयता, सुललित प्रवाह, रहस्य, रोमाञ्च र कुतूहलको निर्वाहको दृष्टिले हेर्दा भने यो कृति औसतभन्दा अलि तलको सस्तो रचना मात्र बन्न सकेको छ। उपन्यासकारले प्राक्कथनमा नायिका थापालाई आजका नेपाली युवतीको रोल मोडेल भएकाले यथारूप प्रस्तुत गरिएको दाबी गरेका छन् तापनि उनी एक असामान्य र अन्योलग्रस्त सोच भएकी विशिष्ट चरत्रिका रूपमा मात्र उभारमा आएकी छन्। स्त्री-पुरुषका बीचको दैहिक सम्बन्धलाई लिएर स्मिताले विकसित गरेको सोचले आमनेपाली युवतीको सोचको प्रतिनिधित्व पटक्कै गर्दैन। पूरा उपन्यासभरि उनी असामान्य र अराजक नै प्रस्तुत भएकी छन्।

कान्तिपुर दैनिकको सहप्रकाशन साप्ताहिकमा स्मिताले 'मलाई लोग्ने होइन, लोग्ने मानिस मात्र चाहिन्छ' भनेको कुराबाट प्रभावित भएर उपन्यास तयार गर्दा लेखक राजेन्द्रले स्मिताको विचारले आजका उन्मुक्त आधुनिक नेपाली नारीका विचारहरूको प्रतिनिधित्व गर्छ भन्ने ठानेको देखिन्छ तापनि उपन्यासले यसलाई पुष्टि गर्ने जमर्को गरेको छैन। उक्त चर्चित अन्तर्वार्ता दिने बेलामा स्मितालाई मानिसहरूले जुन रूपमा हेर्थे, यो उपन्यास पढिसकेपछि पनि उनीहरूको दृष्टिकोणमा खासै फरक आउने अपेक्षा गर्न सकिँदैन। त्यस अन्तर्वार्ताबाट बनेको स्मिताको अति कामुक हस्तिनी स्त्रीको छविलाई उपन्यासले अरू प्रस्ट्याएको छ।

खेलौनालाई लेखकले एउटै विषयमा रङिाइरहेर नीरस बनाएका छन्। यौनका गतिविधिको वर्णन गर्नैपर्ने कथावस्तु भएकाले यसमा त्यस्ता प्रसंग आउनु स्वाभाविक हो तर तिनलाई रोचक र रसमय बनाएर कसरी लेख्ने भन्ने कुरामा अलमलिएका कारण लेखकले पाठकलाई सन्तुष्टि दिन सकेका छैनन्। पूरै उदांग यौन साहित्यको तत्त्व पनि कतैकतै मिसिएको र कतैकतै सानो पर्दा हालिएको भाषा प्रयोग भएको यो उपन्यास पढ्दा मन रमाउन सक्दैन। यौनलाई स्त्री र पुरुष दुवैका नजरबाट हेर्ने प्रयत्न पनि गर्न खोजेका छन् लेखकले तर ती दुवैको दृष्टिमा लेखक स्वयं हावी भएको जस्तो देखिन्छ।

उपन्यासको सबैभन्दा प्रस्ट कमजोरी यसका पात्रहरूको पृष्ठभूमि र तिनको चरत्रिको बनोट र विकास विश्वसनीय ढंगमा उभारमा नआउनु हो।

स्मिता थापाको बोल्डनेस, उन्मुक्त जीवनशैली र उसको भौतिक अवस्थालाई विश्वासलाग्दो प्रकारले पाठकसामु राख्न सकेका छैनन् उपन्यासकारले। एउटा सफल आख्यानका लागि आवश्यक परविेशको जीवन्त वर्णन, मुख्य पात्रहरू उभिएको समाजको सजीव चित्रण, त्यस समाजका गतिविधिहरूको अवलोकन र ती सबैको प्रभावबाट विकसित उपन्यासका पात्र-पात्राहरूको चरत्रि र मनोविज्ञान आदिलाई उपन्यासकारले पर्गेल्ने र पाठकलाई अभिभूत पार्ने गरी पेस गर्ने प्रयत्न नै गरेका छैनन्। यो पूरा उपन्यास मोडल स्मिता थापाको चर्को गरिआएको बयानकै बैसाखी टेकेर घिसि्ररहेको जस्तो मात्र देखिन्छ।

उपन्यासकार राजेन्द्र थापाले आफ्नो यो आख्यानको पुस्तकलाई गम्भीर र सुरुचिसम्पन्न साहित्यिक कृति बनोस् नबनोस् तर बिक्न भने खूबै बिकोस् भन्ने व्यापारकि एजेन्डाका साथ तयार गरेको हुनुपर्छ भन्ने अड्कल यसको आवरणमा राखेको उपन्यासको 'विषयवस्तु' रहेकी मोडलको अर्धनग्न तस्बिर देखेर काट्न सकिन्छ। त्यो तस्बिर लेखककै प्रयोजनमा अलग्गै खिचाएर राखिएको भनेपछि यो एजेन्डा प्रस्टिएको हो।

खेलौनाले बिक्रीको नयाँ कीर्तिमान राख्दै छ भन्ने हल्ला छ। लेखकको आर्थिक स्वार्थका दृष्टिले यो राम्रो कुरा हो। तर, नेपाली साहित्यको आख्यान विधाको स्वस्थ र सन्तुलित विकासका दृष्टिले भने यसले सकारात्मकभन्दा नकारात्मक प्रभाव नै बढी पार्न सक्छ। पाठकको आँखा र मनको रुचि भ्रष्ट बनाउने पुस्तकको माग बढ्नु स्वस्थ साहित्यको प्रवर्द्धनका हिसाबले नकारात्मक विकास नै हो। साहित्य कलाविहीन व्यापारकि कसरतको अर्को नाम होइन ।

खेलौना

स्रष्टा   :    राजेन्द्र थापा

प्रकाशक   :    याम्बुरी बुक प्वाइट, काठमाडौँ

पृष्ठ   :    २२+१७८

मूल्य   :    २५० रुपियाँ







पञ्चायती राजनीतिमाथि फरक दृष्टि

- रामबहादुर रावल

'जब संवैधानिक राजतन्त्रात्मक प्रणाली हुन्छ,  कार्यकारी अधिकार राजामा हुन्छ । जब शक्ति सन्तुलनमा राजाको हात माथि रहन्छ, त्यहाँ दलीय राजनीतिमाथि राजा हावी हुने ठाउँ रहन्छ। साथै, राजालाई न्यायिक अधिकारसमेत प्रयोग गर्न सक्ने अवशिष्ट अधिकार पनि दिइएको छ। यी व्यवस्था भावी दिनमा कसरी प्रयोग हुनेछन् भन्ने कुराले पनि नेपाली राजनीतिको दिशा तय हुनेछ। जनताका निर्वाचित प्रतिनिधिको भावनाको राजाले सम्मान गर्न सकेनन् भनेचाहिँ राजनीति गतिरोधतिर जानेछ।'

२०१५ सालमा जारी भएको नयाँ संविधान र लगत्तै आमनिर्वाचनको नतिजा सार्वजनिक भएको सन्दर्भमा नयाँदिल्लीमा रहेका एक नेपाली बौद्धिकले त्यतिबेलै निकालेको निष्कर्ष हो यो। नेपाली कांग्रेस विजयी भएपछि बीपी कोइराला प्रधानमन्त्री भए। कांग्रेसले पाएको दुईतिहाइ बहुमत राजदरबार र अन्य शक्तिकेन्द्रका लागि अनपेक्षित थियो। तर, राजनीतिका कडीकडी समाएर स्वतन्त्र चिन्तन र विश्लेषण गर्ने प्राज्ञिकको सर्वथा अभाव थियो, मुलुकभित्र। भारतमै रहेर सही, लीलानाटेश्वर शर्मा (एलएस) बरालले नेपाली राजनीतिले बेहोरेको संक्रमण, शक्तिसंघर्ष, व्यवस्थापकीय कमीकमजोरी, दलीय राजनीतिका प्रवृत्तिहरू मिहीन ढंगले केलाएका रहेछन्।

बरालले आफ्नो सबैजसो सक्रिय जीवन भारतीय विद्वत् जमातमै बिताए। जतिखेर नेपालमा स्वतन्त्र बौद्धिक चिन्तनको खडेरी थियो, त्यतिखेर उनी भारतबाटै नेपाल मामिला नियालिरहेका रहेछन्। पञ्चायत उदयको पृष्ठभूमिदेखि पञ्चायती राजनीतिको उत्तरार्धसम्मका हरेक महत्त्वपूर्ण राजनीतिक कदम र निर्णयको अंगउपांग केलाएर उनले बृहत् अनुसन्धानमूलक लेखहरू तयार गरेका रहेछन्। तिनै लेखहरूको संग्रहका रूपमा मार्टिन चौतारीले पुस्तक सार्वजनिक गरेको छ, अटोक्रेटिक मोनार्की ः पोलिटिक्स इन पञ्चायत नेपाल।

राणाविरोधी आन्दोलन बनारस र केही नेपाली सीमावर्ती सहरमा बढी चल्यो। आन्दोलन सफल भएपछि ००७-०१७ को बीच नेपालले राज्य हुनुका न्यूनतम पूर्वाधार र संरचना स्थापित गर्नै लाग्यो। त्रिभुवन विश्वविद्यालय नै धेरै पछि आएर स्थापना गरएिको थियो। त्यस अन्तर्गतका संकाय र विभाग गठन गर्न समय लाग्ने भयो। त्यसैले स्वदेशमै स्वतन्त्र प्राज्ञिक अभ्यास हुन सकेको थिएन। ०१७ सालको राजा महेन्द्रको 'कू'को आलोचनात्मक राजनीतिशास्त्रीय समीक्षा गर्ने विद्वत्जन नेपालमा नहुनु पनि अस्वाभाविक थिएन। भएका राजनीतिसचेत एकाध नेतालाई पनि जेल हालिएको थियो। बाँकी स्कुल-कलेजहरूमा पञ्चायती व्यवस्थाका पक्षमा भजन गाउन लगाइएको थियो। त्यसले आलोचना त परै जाओस्, स्वतन्त्र बौद्धिक चिन्तक जन्माउन झनै मुस्किल थियो।

ईश्वर बरालका नाममा उनले सुरुमा नेपाली भाषा र साहित्यका माध्यमबाट नेपाल-साइनो निरन्तर गररिहेका थिए। नेपाली साहित्यकार-पत्रकारसँगको सम्बन्ध सूत्रका माध्यमबाटै उनले भारतमै रहेर नेपाली साहित्यका इतिहास, समकालीन रचना प्रवृत्तिमाथि समीक्षा र टीकाटिप्पणी लेखे। बिस्तारै उनको लेखकीय रुचि र कामको क्षेत्र राजनीतितिर मोडियो। राजनीतिमा बृहत् अनुसन्धानमूलक लेखहरूतिर उनले हात बढाए। उनलाई यस काममा लम्काउन स्कुल अफ इन्टरनेसनल स्टडिज (एसआईएस)ले सुम्पेको नेपाल मामिलामा अध्यापन पनि थियो। एसआईएस जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) स्थापनापछि एसआईएसलाई त्यहीँ गाभियो । त्यसपछि बराल पनि जेएनयूमै प्राध्यापनरत रहे। त्यही क्रममा तयार भएका १३ वटा लेखहरूको संग्रह हो यो।

०१५ सालको संविधानबारे सहलेखनमा तयार गरिएको पहिलो लेखबाहेक यस पुस्तकमा ०२६ देखि ०३६ सालको बीचमा लेखिएका लेख छन्। दुई भागमा विभाजित यस पुस्तकको पहिलो भागमा १० वटा घरेलु राजनीतिमाथि लेखिएका छन् भने दोस्रो भागमा अन्तर्राष्ट्रिय सम्बन्धमा लेख छन्। बरालको विश्लेषणमा महेन्द्रले 'कू' गर्दा तीनवटा पक्षमाथि टेकेर आफ्नो शक्ति यकिन गरेको देखिन्छ। एक, आध्यात्मिक विश्व, जहाँ राजालाई देउताको प्रतिरूप मानिन्छ। दोस्रो, घरेलु राजनीतिक संसार, जहाँ उनको एकाधिकार थियो। र, तेस्रो बाह्य विश्व, जहाँ राजाले आफ्नो घरभित्रको मामिला भन्न सक्थे। यिनै तीन आधारभूमिमा रहेर उनले 'कू' गरेको हुन सक्ने विश्लेषण रोचक लाग्छ।

अर्को, कांग्रेसले सशस्त्र संघर्ष गर्दा नेपाली सेनामाथि आक्रमण गरेका कारण पछिसम्म सेनाभित्र कांग्रेसप्रति असन्तोष रहेकाले त्यही आडमा महेन्द्रले सेनाको साथ लिएर कांग्रेसमाथि आक्रमण गर्न सफल भएको विश्लेषण बरालले गरेका छन्। 'कू' गरेपछि नेपालका गैरकांग्रेसी दल र नेताहरू महेन्द्र र पञ्चायतको प्रभावमा कसरी पर्न गए भन्ने विवरण अर्को रमाइलो प्रसंग छ। नेपालका राजनीतिक दल, नेतृत्व विकासको अवस्था, विपक्षी संगठनहरूको अवस्था, पञ्चायत अन्तर्गत नै बनाइएका वर्गीय संगठनहरूको परिचालन, संवैधानिक अंगकै रूपमा गठित गाउँ र्फक अभियानलगायतको प्रयोगबारे बरालले गहन छलफल गरेका छन्। पछिल्ला दिनमा पञ्चायतभित्र कट्टरवादी, सुधारवादी र आमूल परविर्तनकारी गरी तीन खालका धारणा आएको र सुधारएिको पञ्चायती व्यवस्थामा राजा वीरेन्द्र गएको उनको भनाइ छ।

बरालका भनाइमा महेन्द्रको पञ्चायती सोच भारतको संसदीय प्रजातन्त्र र चीनको कम्युनिस्ट एकदलीयताको मिश्रणबाट रचिएको नयाँ राजनीतिक प्रणाली थियो। ००७ सालको राजनीतिक परविर्तनसँगै नेपालले आफूलाई स्वतन्त्र, सार्वभौम र असंलग्न राष्ट्रको रूपमा स्थापित गर्न खोजिरहेको थियो। त्यसलाई पनि महेन्द्रले निरन्तरता दिए। यति मात्र होइन, उनले बीपी कोइरालाले अघि सारेका सामाजिक र आर्थिक कार्यक्रमलाई समेत निरन्तरता दिए। भारत र चीनबीचको तनावबाट पनि महेन्द्रलाई आफ्नो व्यवस्था टिकाउन बल पुग्यो।

स्वतन्त्र दृष्टिबाट पञ्चायतलाई पढ्न र बुझ्नका लागि प्रस्तुत पुस्तकले सहयोग गर्छ। प्रत्युष वन्त र लोकरञ्जन पराजुलीले बरालको निजी व्यक्तित्व, उनको लेखन र यस पुस्तकमा समाविष्ट सामग्रीका बारेमा प्रस्तुत गरेको ४३ पृष्ठको आलेखले पुस्तक पढ्न झनै सजिलो बनाउँछ। खासगरी राजनीतिशास्त्र र इतिहासमा रुचि भएका पाठकका लागि यो पुस्तक संग्रहणीय छ।

अटोक्रेटिक मोनार्की : पोलिटिक्स इन पञ्चायत नेपाल

लेखक   :    एलएस बराल

सम्पादक   :    प्रत्युष वन्त, लोकरञ्जन पराजुली

प्रकाशक   :    मार्टिन चौतारी

पृष्ठ   :    ५००

मूल्य   :    ६०० रुपियाँ

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar