क्याप्टेन वेद उप्रेती

इन्डोनेसियाको आकाशमा उड्दा


इन्डोनेसिया जानुअघि बाली र जकार्ताको नामबाहेक खासै बढी जानकारी थिएन। भारतको किङ्फिसर एयरलाइन्समा उड्दै गर्दा गत जुलाई महिनातिर मैले इन्डोनेसियाको लायन एअरका लागि 'इन्स्ट्रक्टर पाइलट'मा काम गर्न इच्छुक रहेको भन्दै इमेल पठाएको थिएँ। त्यसको दुई दिनमै छानिएको खबर पाएँ। र, त्यतातिर जाने तरखर गर्न थालेँ। त्यसको करबि दुई हप्तापछि बैङ्लोरबाट जकार्ता विमानस्थलमा अवतरण गर्दा आफैँलाई सपनाजस्तै लाग्दै थियो।

इन्डोनेसिया विशाल देश रहेछ। पश्चिम सुमात्राबाट पपुवासम्म बोइङ् विमानमा सात घन्टाभन्दा बढी उडान समय लाग्ने यो देशभित्र १७ हजार ५ सय ८ वटा आकर्षक टापु देखिन्छन्। ज्वालामुखीको पर्याय भनिने यो देशमा संसारकै ७५ प्रतिशत अर्थात् १ सय ५० वटा ज्वालामुखी छन्। तर, यिनीहरू खतरनाक भने छैनन्। झन् माउन्ट ब्रोमोलगायत केही ज्वालामुखी त पर्यटकीय आकर्षणका केन्द्र बनेका छन्।

१८औँ शताब्दीको अन्त्यतिर डच (नेदरल्यान्ड्स) साम्राज्यको कोलोनी अन्तर्गत पर्ने इन्डोनेसियाको बाली भने सन् १९०६ सम्म डचको स्वामित्वमा थिएन। तर, पछि डचहरूले बाली पनि लिइछाडे। सन् १९४५ तिर स्वतन्त्र घोषणा भएको यो देश संसारकै चौथो सबैभन्दा बढी जनसंख्या भएको देश रहेछ। हजाराँै समुद्री तट भएको इन्डोनेसियालाई टापु नै टापुको देश त्यसै भनिएको रहेनछ। करबि एक सयवटा विमानस्थल भएको इन्डोनेसियामा प्रत्येक दिन नयाँ विमानस्थलमा अवतरण गर्दाका क्ष्ाण निकै रोमाञ्चक हुने गर्छन्।

उडानका क्रममा प्रत्येक दिन नयाँ ठाउँमा गएर 'नाइट स्टप' गर्नु अन्य देशमा भन्दा फरक अनुभव रहे। यसको अर्थ पाँच दिन उडियो भने हरेक दिन नयाँ ठाउँमा गएर बास बस्नु हो। सुमात्राको मेडान नजिकैको ठूलो ताल, बालीको विश्वप्रसिद्ध सुन्दरता, लोमबोक, मोनाडो र पूर्वी जाबाका लोभलाग्दा समुद्री तटहरू, मकासार नजिकैको वाकातबी र पपुवाका मनमोहक पहाडहरू तथा समुद्री तटका दृश्यहरू त्यत्तिकै लोभलाग्दा छन्।

नेपालका आकर्षण सुन्दर हिमालहरू भएजस्तै इन्डोनेसियाका आकर्षण पानीमुनिका दृश्यहरू हुन्। ती दृश्य हेर्न स्कुभा डाइभिङ्मा संसारमै नम्बर एक मानिने राजाअम्पत, जकार्ताबाट बोइङ् विमानमा तीन घन्टाको हवाई यात्रा तय गर्नुपर्ने हुन्छ। स्कुभा डाइभिङ्को मजा लिन म पनि राजाअम्पत पुगेँ। मैले कैयौँ देशमा स्कुभा डाइभिङ् गरेर पानीमुनिका दृश्य आफ्नो वाटरप्रुफ क्यामरामा कैद गरेको छु। तर, राजाअम्पतमा देखिएका पानीमुनिका दृश्य अचम्मलाग्दा र मनमोहक छन्। स्कुभा डाइभिङ् गर्दा मलाई लाग्यो, जमिनमाथि भन्दा पानीमुनिको जीवन बुझिनसक्नु छ। लाखाँै किसिमका जीव भएको समुद्रमुनि सार्क माछासँग भने सबै डराउँदा रहेछन्।

प्रत्येक दिन नयाँ गन्तव्यमा पुगेपछि त्यस स्थाननजिकै कुनै पर्यटकीय स्थलबारे जानकारी लिन म कहिल्यै चुक्दिनँ। यदि साथमा क्यामेरा पनि छ भने ती सुन्दर दृश्य कैद गर्न कहिल्यै भुल्दिनँ। संसारकै सबैभन्दा बढी मुस्लिम भएको यस देशका बासिन्दा निकै आधुनिक, उदार, सहयोगी र इमानदार रहेछन्। यहाँ काम गर्दा मैले विमान परिचारिकाहरूसँगको संगतले थाहा पाएँ, यहाँका युवती मोबाइलका सोखिन रहेछन्। इन्डोनेसियन भाषाको पाँचदेखि १० प्रतिशत शब्द संस्कृतबाट आएकाले कहिलेकाहीँ हाम्रै शब्द उनीहरूले प्रयोग गररिहेको भान पर्ने रहेछ।

थाइल्यान्डमा थाई मसाजजस्तै इन्डोनेसियाको बालीनिज मसाजले संसारभर प्रसिद्धि पाएको छ। उडानपछि प्रत्येक साँझ नयाँ ठाउँ, नयाँ होटल अनि नयाँ बालिनिज मसाजले दिनभरिको थकान मेट्दा अनुभूति हुने स्फूर्ति कहिल्यै भुल्न नसकिने खालको छ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

कथा   [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar