पुष्पकमल दाहाल 'प्रचण्ड' आफूलाई औधी माया गर्छन्। उनको शृंगारपटार, भाषणमा पटक-पटक लिने आफ्नो नाम हेर्दा त्यो थाहा हुन्छ। उनी आफूलाई मात्र माया गर्दैनन्, अरू नेताले पनि उनलाई त्यत्तिकै माया गर्छन्। जस्तो : अमिक शेरचन आयोगले उनलाई सम्पत्ति छानबिनमा चोख्याइसकेको छ। अर्थात्, मिस्टर क्लिन प्रचण्ड।
माओवादी जनताभन्दा 'जनअदालत' मान्ने पार्टी हो। अमिक आयोगले अदालतकै भाकामा भन्यो, प्रचण्डले मुक्ति टावरमा सेयर हालेका पनि छैनन्, लाजिम्पाटको घर पनि किनेका होइनन्। त्यति मात्र होइन, आयोगले त असुविधा भएको अवस्थामा बाहेक लाजिम्पाट दरबार छाड्न नपर्ने सुझावसमेत दिएको रहेछ। डेरा भनेपछि भाडा तिरुन्जेल बस्ने हो। नतिरे घरधनीले नै धपाइदिइहाल्छ। यसमा अमिक आयोग साखुल्ले बन्नुपर्ने कारण के छ ?
- राजकुमार बानियाँ
दुब्लो अभियानको रहस्य
एक जना सञ्चारकर्मी मित्र भन्दै थिए, "महिला हिंसाविरुद्ध आवाज उठाउँदै सुरु भएको अभियान अकुपाई बालुवाटार त दुब्लाएछ !" उनको भनाइको अर्थ थियो, त्यति राम्रो र सान्दर्भिक एजेन्डासहित सुरु भएको आन्दोलन दिन-प्रतिदिन प्रभावकारी पो हुनु पथ्र्यो। तर, त्यस्तो देखिएन।
भएछ के भने, स्वतःस्फूर्त रूपमा सुरु भएको 'अकुपाई बालुवाटार'का हर्ताकर्ताले केही उर्दी जारी गरेछन्। भनिएछ, राजनीतिक र विभिन्न एनजीओमा संलग्न व्यक्ति अभियानमा नआइदिनू। अभियान दुब्लाउनुको चुरो त यही पो रहेछ। होइन, यो देशमा गैरराजनीतिक र कुनै न कुनै एनजीओमा संलग्न नभएको व्यक्ति फेला पर्छ र ? झन् उपत्यकामा त च्याउ उम्रेजस्तै एनजीओ छन्। टोलटोलमा राजनीतिक दलका नेता छन्। प्रधानमन्त्री बनाउन त 'स्वतन्त्र व्यक्ति' नभेटिएका बेला आन्दोलनमा पुग्ने 'स्वतन्त्र' कहाँ भेटिएलान् ?
- नारायण अमृत
सरर सल्लाहकार
एमाओवादी महाधिवेशन स्थल हेटाँैडामा एउटा गाडी कुदेको कुदै गरेको देखियो । बा६च १०३० नम्बरको सेतो प्राडो यति धेरै किन कुद्यो भनेर सोधखोज गर्दा थाहा लाग्यो, त्यो गाडी त प्रधानमन्त्री बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलको रहेछ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री हुँदा चढेको त्यो गाडी पछि सरकारलाई फिर्ता गरिएको थियो । रमाइलो त के भने, प्रधानमन्त्रीको सल्लाहकार नियुक्त हुनेबित्तिकै 'आफूले कुनै पनि सरकारी सुविधा नलिने' उद्घोष गरेका पौडेलले यतिविघ्न गाडी कुदाएको देखेर कतिपय महाधिवेशन प्रतिनिधि खासखुस गर्दै थिए, "कथनी र करनीको अन्तर त यस्तो पो हुँदो रहेछ !"
- माधव बस्नेत
शुभकामना कि शुभलाभ !
एमाओवादीको हेटौँडा महाधिवेशनमा सबै पार्टीलाई शुभकामनाका निम्ति निम्तो दिनु कुनै नौलो कुरा भएन। कांग्रेस, एमालेलगायत आन्दोलनमा उत्रिएका सरकारविरोधी सबै दलले महाधिवेशन सफलताको शुभकामना दिए। तर, प्रचण्डले आफैँले बोलाएका अतिथिको समेत मर्यादा नराखी गर्नु गाली गरे। अनि, भाषण सकिएर मञ्चमा फर्किएका के थिए, कांग्रेस उपसभापति रामचन्द्र पौडेलको कानमा खुसुक्क भन्न भ्याइहाले, "तपाईं त बुझिहाल्नुहुन्छ। यत्रो मासका अगाडि केही त बोल्नैपर्यो।"
अनौठो त त्यतिखेर देखियो, जतिबेला सत्तारूढ गठबन्धनका अधिकांश वक्ताले महाधिवेशन सफलताको होइन, बाबुराम सरकार टिकाउन प्रचण्डलाई जुनसुकै उपाय अपनाउन सुझावको लर्को चलाए। सत्तारूढ गठबन्धनका त्यहाँ उपस्थित प्रतिनिधिहरूको शुभकामना भाषण सुन्दा छुट्याउनै सकिएन, महाधिवेशन सफलताको शुभकामना हो कि शुभलाभको नयाँ फर्मुला ? आगे नेताहरू नै जानून्।
- ईश्वरी ज्ञवाली
एमालेको भूमिका
उपत्यकास्तरीय एमाले कार्यकर्ता भेलामा पार्टी अध्यक्ष झलनाथ खनालले भने, "वर्तमान सरकारविरुद्धको आन्दोलन हाम्रो पार्टीको नेतृत्वमा हुँदै छ। त्यसैले, यो आन्दोलनमा तपाईंहरूले पूरा शक्ति लगाउनुपर्छ।" त्यसकै भोलिपल्ट बाँके पुगेका अर्का नेता केपी ओलीले कांग्रेस आन्दोलनको नेतृत्व गर्न अक्षम भएको मात्र बताएनन्, आन्दोलनपछिको सरकारको नेतृत्व एमालेले नै गर्ने दाबी गरे। खनाल र ओली दुवैले आन्दोलनपछिको प्रधानमन्त्री एमालेबाटै हुने बताएपछि लाग्यो, कांग्रेस र एमाओवादीबीच सहमति नहुनुमा कतै एमालेको भूमिका त छैन ?
- सीताराम बराल
तपाईंको प्रतिकृया