जनक नेपाल

लामो लडाइँ


दैलेख सदरमुकाममा शाही शासन थियो, गाउँमा तत्कालिन विद्रोही नेकपा माओवादीको । त्यही बेला माओवादीले सदरमुकामवासीलाई नाकाबन्दी गरे। पत्रकारसँगै नागरकि अगुवा थिए, डेकेन्द्रराज थापा। खानेपानी समस्या सुल्झाउन आफैँले बोलाएका थापालाई माओवादीले अपहरण गरे, १२ असार २०६१ मा।

सदरमुकाम र तोली गाविसको सीमा तामेखोलाबाट 'केही बुझ्नु छ' भनेर लगिएको थियो उनलाई। भवानी, रानीवन, बालुवाटारलगायतका गाउँ घुमाउँदै एक महिनापछि द्वारी पुर्‍याइयो। माओवादीको जिल्ला बैठकले यातना दिई आरोप पुष्टि गराएर 'जनकारबाही' गर्ने निर्णय गर्‍यो। पत्रकार थापाले नगरेका अपराध कबुलेनन्। बरू, सिस्नोपानी र लाठी खाए। अपहरणको डेढ महिनापछि अर्थात् २७ साउनमा चरम यातनाका कारण बेहोस भई ढले। मृत्युको निधोसमेत नहुँदै माओवादी कार्यकर्ताले उनलाई खाल्डो खनेर पुरे।

त्यति बेला डेकेन्द्रपत्नी लक्ष्मीसँग काख नछाडेका नीराजनसहित दुई छोरा थिए। उनले माओवादीसँग शव मागिन्। आफन्त शव खोज्दै वरपरका गाउँ धाए। माओवादीले शवसमेत दिएनन्। कुशको शव बनाएर दाहसंस्कार गर्नुपर्‍यो । घटनाको चार वर्षपछि ११ असार ०६५ मा नेपाल पत्रकार महासंघको पहलमा राष्ट्रिय मानव अधिकार आयोगले डेकेन्द्रको चिहान उत्खनन गरी फरेन्सिक जाँच गर्‍यो। शव डेकेन्द्रकै निधो भएपछि १९ भदौमा बल्ल अन्त्येष्टि गरियो।

लक्ष्मीले माओवादी कार्यकर्ता छविलाल शाही, लक्षीराम घर्ती र बमबहादुर खड्काविरुद्ध किटानी जाहेरी दिइन्। प्रहरीले चार वर्षपछि बल्ल लक्षीरामसहित पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ। तैपनि, प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानले मुद्दा अघि नबढाउन प्रहरी र जिल्ला न्यायाधिवक्तालाई दबाब दिएपछि देशभरका पत्रकार मात्र होइनन्, दैलेखवासी पनि सडकमा उत्रेका छन्।

लक्ष्मीको न्यायको लडाइँ सामान्य छैन। न्यायको लडाइँमा उनले नधाएका ठाउँ बाँकी छैनन्। "आठ वर्षपछि प्रहरीले अभियुक्त पक्रिँदा न्यायको आशा पलाएको थियो," लक्ष्मी भन्छिन्, "अभियुक्तले अपराध स्वीकारसिक्दा पनि प्रधानमन्त्री अपराधकै पक्षमा रहेछन्।"





१९ भदौ ०६५ मा डेकेन्द्रको अस्थिपञ्जरको अन्त्येष्टि गरिनुपूर्व अन्तिम श्रद्धाञ्जलि दिँदै आमा गंगादेवी ।



२७ साउन ०६१ मा हत्या गरिएका डेकेन्द्रको १९ भदौ ०६५ मा दैलेखमा शवयात्रा हुँदै।





११ असार ०६५ मा द्वारीस्थित चिहान उत्खनन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका फरेन्सिक विज्ञ डा हरिहर बस्ती।



एड्भोकेसी फोरमका क्षेत्रीय संयोजक वसन्त गौतमसँग मुद्दामा कानुनी सहायता गर्न आग्रहपत्र लेख्दै डेकेन्द्रपत्नी लक्ष्मी ।



डेकेन्द्र हत्याका एक अभियुक्त लक्षीराम घर्तीलाई बयानका लागि जिल्ला न्यायाधिवक्ताको कार्यालय लैजाँदै प्रहरी ।



प्रधानमन्त्रीले मुद्दा अघि नबढाउन दिएको दबाबविरुद्ध उत्रेका दैलेख सदरमुकामका बासिन्दा ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

जनक नेपालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

कथा   [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar