अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको नाक राख्दै आइरहेको तेक्वान्दो खेलले पछिल्ला दिनमा विगतको सान र मान कायम गर्न सकेको छैन। त्यसैले होला, नेपाल तेक्वान्दो संघले नयाँ कार्यक्रम ल्याएको छ, 'घरदैलोमा तेक्वान्दो २०६९।' त्यसो त नेतृत्वमा प्रकाशशमशेर राणा आएयता संघले आफूलाई कुनै न कुनै रूपमा व्यस्त राखेकै छ। उनी एसियाली तेक्वान्दो युनियन (एटीयू)का सदस्यसमेत हुन्।
आउने केही समय नेपाली तेक्वान्दो असाध्यै व्यस्त रहनेछ। त्यसकै एउटा नयाँ कडी हो, घरदैलो कार्यक्रम। अहिले तेक्वान्दोमा नयाँ प्रतिभा खोजीको लहर चलेको छ र संघको उद्देश्य छ, सबैले मौका पाऊन्। "अहिलेको पुस्ताका अधिकांश राष्ट्रिय खेलाडी आपmनो खेल जीवनको अन्त्यतिर छन्, उनीहरूको ठाउँ लिने नयाँ खेलाडी चाहियो। यी नयाँ खेलाडी पनि कस्ता भने आधुनिक तेक्वान्दोले मागेजस्ता," अध्यक्ष राणा आशावादी छन्। उनी घरदैलो कार्यक्रमलाई आपmनो संघको अहिलेसम्मकै सर्वाधिक महत्त्वाकांक्षी कार्यक्रम पनि मान्छन्।
तेक्वान्दोको तल्लो स्तरमा अहिले धमाधम प्रतिस्पर्धा चलिरहेका छन्। तेक्वान्दो खेलिने स्कुल र डोजाङ सबैलाई गणना गर्ने हो भने यसको संख्या ६ सय पुग्छ र नियमित रूपमा तेक्वान्दोको अभ्यास गर्ने खेलाडीको संख्या १० हजारको हाराहारीमा। यसअघि तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा क्षेत्र र विभागीय टिम मात्र सहभागी हुन पाउने नियम थियो। यस्तोमा सबै खेलाडीले समान मौका विरलै पाउने गरेका थिए। त्यसैले अब हुने राष्ट्रिय तेक्वान्दोमा जिल्लाको प्रतिनिधित्व हुने भएको छ। पोखरामा हुने राष्ट्रिय तेक्वान्दोको ११औँ संस्करण १३ देखि १७ फागुनसम्म हुँदै छ। त्यसअघि संघको साधारणसभा पनि बस्नेछ।
राष्ट्रिय प्रतियोगिताकै प्रारम्भिक छनोटका रूपमा अहिलेसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हुनेछ, घरदैलोमा तेक्वान्दो २०६९। त्यसैले यसपल्टको राष्ट्रिय तेक्वान्दो पनि अहिलेसम्मकै सबैभन्दा बृहत् र विस्तृत हुनेछ। पाँच हजारको हाराहारीमा नयाँ खेलाडी यसमा सहभागी हुनेछन्। त्यस क्रममा के नेपाली तेक्वान्दोले फेरि संगीना वैद्य र दीपक विष्टजस्ता खेलाडी पाउनेछ त? संगीना प्रतिस्पर्धामा ओर्लिएर ओलम्पिकमा छनोट हुने पहिलो खेलाडी हुन्। दीपकले पछि त्यस्तै सफलता चुमे। दीपक त समग्र नेपाली खेलकुदकै सर्वाधिक सफल खेलाडी हुन्। उनले दक्षिण एसियाली खेलकुदका चार स्वर्ण र एसियाली खेलकुदका दुई काँस्य पाएका थिए।
यथास्थितिमा नेपाली तेक्वान्दो कहाँ छ त? राष्ट्रियस्तरका तेक्वान्दो खेलाडीसँग कुराकानी गर्ने हो भने उनीहरूको निचोड रहने गरेको छ, 'यो खेल ओरालो लागेको होइन, हाम्रो स्तर जहाँको तहीँ छ। बरू हाम्रो तुलनामा अरू देशले भने राम्रो गर्न थालेका छन्।' दक्षिण एसियामा अफगानिस्तानले तेक्वान्दोमा तीव्र प्रगति गरेको छ।
अफगानिस्तानको अनुपस्थितिमा कुनै समय नेपालले दक्षिण एसियाली तेक्वान्दोमा तहल्का मच्चायो। अफगानिस्तानी तेक्वान्दोले ओलम्पिक र विश्व च्याम्पियनसिपमै बलियो चुनौती पेस गर्ने गर्छ। तेक्वान्दोबाटै अफगानिस्तानले ओलम्पिकमा पदक जितेको पनि छ। ग्वान्जाउमा भएको एसियन खेलमा तेक्वान्दोतर्फ नेपालको पदक सम्भावना समाप्त भएपछि दीपराज गुरुङको प्रतिक्रिया थियो, "नेपाली तेक्वान्दोसँग मात्र धेरै मागेर कहाँ हुन्छ र? यसको विकासका लागि पनि त उत्तिकै दिन सक्नुपर्ने हो नि !"
गुरुङ एकप्रकारले नेपाली तेक्वान्दोका पर्याय हुन्, लामो समयदेखि यसमा कुनै न कुनै भूमिकामा रहेका। अहिले पनि उनी संघका महासचिवका रूपमा छन्। भन्छन्, "अहिले अफगानिस्तानमा तेक्वान्दोको लहर चलेको छ। त्यहाँ सरकारले तेक्वान्दोमा लगानी गर्ने नीति नै बनाएको छ। तर, हामी के दाबी गर्छौं भने दक्षिण एसियामा अझै हामी अगाडि छौँ। अफगानिस्तान अहिले बलियो देखिएको हो, कुनै समय हामी पनि यस्तै थियौँ।"
उनी घरदैलो कार्यक्रमलाई अब नियमित गर्ने योजनामा छन्। भन्छन्, "हामी संगीना र दीपकजस्ता खेलाडी जन्माउन सक्षम छौँ नै, उनीहरूभन्दा पनि राम्रा खेलाडी पनि उत्पादन गर्न सक्छौँ।" उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप)समक्ष तीनवटा माग राख्छन्। पहिलो, पर्याप्त खेल सामग्री। दोस्रो तेक्वान्दोका प्रशिक्षकहरूलाई प्रोत्साहन। र, तेस्रो, धेरै प्रतियोगिता। उनको दाबी त यस्तोसम्म पनि छ, "राखेपले कुन खेल कति महत्त्वको हो, त्यो पनि छुट्याउन सक्नुपर्छ। तेक्वान्दो महत्त्वपूर्ण खेल हो भने त्यसलाई त्यही अनुसारको बजेट र कार्यक्रम पनि दिन सक्नुपर्छ।"
पछिल्लो समय तेक्वान्दो आफैँमा एकप्रकारले जटिल खेल भएको छ। ओलम्पिकको एउटा प्रमुख खेल भएयता यसलाई अत्याधुनिक गरएिको छ। तेक्वान्दोका धेरैभन्दा धेरै खेल विवादरहित होऊन् र माथिल्लो दर्जाको प्रतिस्पर्धा होस् भनेर अचेल यो खेल सीधै कम्प्युटरमय भएको छ। त्यसैले पनि यो पहिलेको तुलनामा केही महँगो खेल भएको छ। फेर िघरदैलो कार्यक्रमको अलगै महत्त्व रहेको महासचिव गुरुङ मान्छन्। भन्छन्, "हामी तेक्वान्दोलाई सर्वसाधारणसम्म पुर्याउन चाहन्छौँ। तेक्वान्दो सिंगै परिवारको जस्तो खेल होस्। तेक्वान्दोले आमनागरकिलाई पनि अनुशासित, आत्मविश्वासी, उच्च मनोबलयुक्त र स्वस्थ बनाउन मद्दत गर्छ।"
तेक्वान्दोमा राम्रा खेलाडी हुन उचाइले पनि ठूलो भूमिका खेल्न थालेको छ। अग्ला खेलाडीको खुबै माग छ, तेक्वान्दोमा। विदेशतिर महिला खेलाडी पनि ६ फिटका हुन थालेका छन्। त्यसैले सुरुआती चरणमा संघले खेलाडीको शारीरकि बनावटमा पनि उत्तिकै ध्यान दिनेछ, जत्तिको खेलाडीको खेल कौशललाई।
घरदैलो कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यसले दुई वर्षपछि दक्षिण कोरियाको इन्चेनमा हुने एसियाली खेलकुदलाई लक्ष्य बनाएको छ। जुन देशमा यो खेल जन्मेको हो, त्यसैको एउटा ठूलो प्रतियोगिता त्यहाँ हुँदै छ। ठीक त्यही भूमिमा नेपाली तेक्वान्दो आपmनो प्रतिष्ठा फेरि पुरानो बनाउन प्रयासरत छ।
तीन दशक हुँदै छ, कोरियाली मार्सल आटर्स खेल तेक्वान्दोले नेपालमा औपचारकि प्रवेश पाएको। कुनै समय नेपालमा मार्सल आटर्सका खेल प्रतिबन्धित थिए । तेक्वान्दोलाई पनि विकृति फैलाउने खेलका रूपमा लिइन्थ्यो। त्यो प्रतिबन्ध १६ फागुन ०३९ मा फुकुवा भयो र तेक्वान्दोले औपचारकि रूपमा नेपालमा प्रवेश पायो। त्यसयता तेक्वान्दोले नेपाली खेलकुदमा आफूलाई सबैभन्दा सफल खेल साबित गरेको छ। पछिल्लो समय सरकार आफैँले पनि मानेको छ, देशको प्रतिष्ठा बढाउने तीन खेलमध्ये तेक्वान्दो पनि एक हो। आखिरमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सबैभन्दा बढी पदक भित्र्याएको खेल पनि यही हो।
चीनको ग्वान्जाउमा भएको एसियाली खेलकुदमा तेक्वान्दोले पदक जित्न सकेन। दक्षिण एसियाली स्तरमा पनि नेपाली तेक्वान्दोका केही कमीकमजोरी देखापरसिकेका छन्। अब हुने दक्षिण एसियाली खेलकुदमा नेपालले यसअघिका संस्करणमा जस्तो पदक जित्न सजिलो हुने छैन। जहाँ अरू दक्षिण एसियाली देश तेक्वान्दोमा अगाडि बढिरहेका छन्, त्यहीँ नेपाल पछाडि पर्न थालेको अनुभव हुँदै छ। एसियाली खेलकुदमा एक रजत र १२ काँस्य अनि दक्षिण एसियाली खेलकुदमा २४ स्वर्ण दिलाएको तेक्वान्दोमा छाएको बादल 'घरदैलोमा तेक्वान्दो २०६९' कार्यक्रमसँगै फाट्ला कि ?
तपाईंको प्रतिकृया