मुख्य समाचार


मुगलानको मार

  • पश्चिमोत्तर भारतमा नेपाली मजदुर हातमुख जोड्नमै सीमित

बुबाआमा मनकी प्यारी पहेँली धानका बाला

बालक छोराछोरी नसुक्यै हजारी माला

नरोई बस्या दिदी बहिनी पहेँली धानका बाला

मेरो बाटो हेरी नसुक्यै हजारी माला।



करबि ६ हजार २ सय फिट उचाइमा अवस्थित मसुरी पहाडमा चिसो सिरेटो चलिरहेको छ। बेलायतीहरूले भारतमा शासन गर्दा देहरादुन उपत्यकाको नजिकै हिल स्टेसनका रूपमा विकास गरिएको यस नगरीमा अहिले पनि नयाँ संरचना थपिँदै छन्। यसरी थपिने हरेक संरचनामा नेपाली मजदुरको पसिना बगेको छ। नेपालका पहाडी भूभागमा घरगृहस्थी छाडेर हरेक वर्ष दुई-चार महिनाका लागि त्यसरी पसिना बगाउन पुग्नेमध्येकै एक हुन्, जन्मजय अधिकारी, ४१। यहाँका दर्जनौँ घर र सडकमा उनको श्रम परेको छ। अहिले पनि एउटा निर्माणाधीन निजी घरका लागि बालुवा-सिमेन्टको मसला फिटिरहेका छन्, गेला-९, कालीकोटका यी अधबैँसे। नजिकै उनको मोबाइल लाउड स्पिकरमा गाइरहेको छ, माथिको डेउडा गीत।

गत २५ भदौमा घरबाट हिँडेका उनले यहाँ काम गर्न थालेकोकरबि अढाई महिना भयो । "बिहान ९ बजेदेखि काममा लागेको," मुखबाट बाफिलो लामो सुस्केरा फाल्दै उनी केहीबेर अडिए। हातखुट्टामा बेरएिका प्लास्टिक खोले। र, बिँडीको धूवाँ उडाउन थाले। "भोलि घर फर्किने विचार छ," घर जाने तयारीमा लाग्नै नपाएकामा उनलाई थकथकी छ। दुई-चार पैसा बढी आए पनि छोरीलाई एकसरो लुगा किन्न सहज हुन्छ कि भन्नेमा छन् उनी। भन्छन्, "यसैले हिजो आधा रातसम्म काम गरेँ, अहिले पनि आँखा पोल्या'छन्।"

छोरी र श्रीमतीलाई एकसरो लुगा फेर्न उनी हरेक वर्ष भारतमा यस्तै कामको खोजीमा निस्कन्छन्। उब्रेको पैसाले उनी एकाध भाँडाकुडा जोड्छन्। बढी नै गर्न सके ओढ्ने, ओछ्याउने फेर्छन्। "आफू भने जुन लुगा लगाएर आयो, उही लुगामा र्फकनु छ," उनले सुनाए। जिन्दगीका पुराना पाना पल्टाउन थाले, "म आठ वर्षको छँदा बुबा बित्नुभयो। १२ वर्षको छँदा आमा स्वर्गे हुनुभयो।"

यस्तो अवस्थामा उनले स्कुलको दैलो देख्न पाउने कुरा थिएन। कलिला हात लिएर उनी हातमुख जोर्ने उपायको खोजीमा भारततिर भासिएका हुन्। कति वर्ष त उनी रित्तो हात फर्किए। "अहिले दिनको तीन-चार सय रुपियाँ त आम्दानी हुन्छ तर खानबस्नमै धेरै खर्च हुन्छ। ज्यान त बगरको बालुवाजस्तै भइसक्यो," फुटेका ओठमुख, हातगोडा एकसाथ देखाउँदै उनले भने, "अब यो जीवनमा रस भरनिे त कहिले हो कहिले !" सायद, यस्तै निराश दैनिकीबाट मन बहलाउन उनी डेउडा गीत लाउड स्पिकरमा बजाइरहेका थिए, डकर्मी र मेसिनहरूका आवाजकै बीच।

भानेवाला, देहरादुनमा भेटिएका मनिलाल जैसी, ५५, ले भने केही सजिलो काम रोजेका छन्। खाडा, कालीकोटका जैसीले पनि सुरुमा अधिकारीले जस्तै ढुंगा, बालुवामै पसिना खन्याए। नैनीताल क्षेत्रमा उनको युवा उमेर बित्यो। त्यहाँ उनले एकपटकको भारत यात्रामा दुई-चार हजार रुपियाँभन्दा बढी कमाइ गर्न सकेनन्। १४ वर्षदेखि भारत धाउँदै आएका उनी राम्रो आम्दानी खोज्ने क्रममा केही वर्षअघि देहरादुन आए। "अहिले एकपटकमा आठ-दस हजार रुपियाँ बचाएर घर फर्किन्छु," कम्मल र कार्पेटको भारी पनि नबिसाईकनै उनले आफ्नो विवरण सुनाए, "यो काम अलि सजिलो छ। यहीँको एक पसलबाट किन्छु, नबिकेको फिर्ता गर्छु। दिनको दुई-चार सय रुपियाँ बच्छ पनि।"

उनीसँगै भेटिएका कार्मा प्याकुरेल, ६२, ले कम्मल व्यापारबाट पाएको थप सहुलियतबारे बताए, "यो काममा अलि जिउ सरसफाइ हुन्छ। मजदुरी गर्दा हातखुट्टालाई मारीकन काम गर्नुपथ्र्यो।" यति भन्दा उनको मुख अलि हँसिलो देखियो। उनका नातिजस्तै लाग्ने अर्का युवक उत्सुकतापूर्वक यो बातचित सुनिरहेका थिए। धौलागोह, कालीकोटकै गोविन्द प्याकुरेल, २८, को पहिलो देहरादुनयात्रा रहेछ। "नैनीताल छाडेर यता आएको राम्रै हुन्छ जस्तो छ," आशावादी भएर उनले कार्मातिर हेरे। "फागुनसम्म त बसी हेर। यहाँ राम्रो कमाइ नभए अन्तै जाउला," कार्माले ती युवकलाई आश्वस्त पार्दै भने, "युवकै छौ, क्या चिन्ता गर्छौ !"

रेल स्टेसननजिकै रहेको शिवजी धर्मशाला आसपासमा बिहानै पुग्ने हो भने पिठ्यूँमा कम्मल, कार्पेट, तन्ना, ओढ्नेका खोल, चकटीजस्ता कपडाको भारी बोकेर हिँड्नेको लस्करै भेटिन्छ। सहरानपुर चोकको दायाँबायाँका भित्री गल्ली यिनै कम्मल व्यापारीका डेराले भरएिको छ। एउटा कोठामा कम्तीमा चार जनाको वास छ। बिहान ७-८ बजे खाजा खाएर निस्केपछि उनीहरू एकैचोटि साँझमा आइपुग्छन्। "यस्तो व्यापारमा लागेका नेपाली यहाँ करबि अढाई सयजति छौँ," कुमलगाउँ-७, कालीकोटका नवराज उपाध्याय, ३९, ले अनुमानित तथ्यांक दिए, "धेरैजसो त कालीकोटे नै छौँ।"

कञ्चनपुरको महेन्द्रनगरपारि भारतको बनवासा बजार छ। यहाँबाट ३ सय ८३ किलोमिटरको दूरीमा रहेको देहरादुन नेपाली कामदारका लागि तुलनात्मक रूपमा सजिलो गन्तव्य मानिँदो रहेछ। पिठ्यूँमा सामान बोकेर बेच्दै हिँड्नेबाहेक होटल, पसल, गोर्खाली (पुराना नेपाली) परिवारमा घरेलु मजदुरका रूपमा काम गर्ने आप्रवासी नेपालीका लागि केही सहज छ। "कुल्ली र मजदुरीमा लाग्नेहरूको जीवन भने निकै कष्टकर छ," आढतबजार, देहरादुनमा हिङ जोख्ने सानो तराजुको मोलतोल गररिहेका साप्पाटा-९, थुमकोट, बाजुराका धनमल्या विक, ७०, ले सुनाए, "मैले पनि मजदुरी गर्दागर्दा हार खाएँ। अब सानोतिनो व्यापार लिएर डुल्ने विचारमा छु।"

बनवासाबाट दैनिक औसत १० बस देहरादुनका लागि छुट्छन्। त्यति नै हरिद्वार र अरू ठाउँका लागि छुट्छन्। "तिनमा ९० प्रतिशत नेपाली हुन्छन्, सबै कामको खोजीमा जाने हुन्," उत्तराखण्ड परविहन निगम अन्तर्गत सञ्चालित यूके०७पीए ८९१ नम्बरको गाडीका चालक भन्छन्। उनकै भनाइलाई आधार मान्दा दैनिक पाँच/छ सय नेपाली बनवासा नाकाबाट उत्तराखण्डको राजधानी ओहोरदोहोर गररिहेको पाइन्छ। भारतको राजधानी नयाँदिल्लीबाट सबैभन्दा नजिक पर्ने यस नाकाबाट दैनिक दुई हजारभन्दा बढी नेपाली कामदार बाहिरिने गरेका छन्।

०६५ मा विश्व खाद्य कार्यक्रमको अध्ययनले एक हप्तामा १५ हजार नेपाली आप्रवासी कामदार बाहिरिएको देखाएको थियो। नेपालीहरू भारत पस्ने यो नै सुनौलीपछिको सबैभन्दा ठूलो नाका रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। विभिन्न नाका हुँदै भारतमा रोजीरोटी खोज्न जाने नेपालीको संख्या करबि ४० लाख रहेको अनुमान छ।

भारतको कुनै यस्तो भाग छैन, जहाँ आप्रवासी नेपाली कामदार नपुगेको होस्। २५ मंसिर बिहान ५ नबज्दै हिमाचल प्रदेशको राजधानी सिमला पुग्दा बसपार्कको प्रतीक्षालयमा जगत खड्का, ३२, अढाई वर्षकी छोरी र श्रीमतीसहित थरावला गाउँका लागि गाडी कुररिहेका थिए। बडाभैरव-४, दैलेखका यी युवा थरावलामा तरकारी खेती गर्छन्। सिमला, सोलनलगायत हिमाचल प्रदेशका यस्ता जिल्लाका नाम हुन्, जहाँका ग्रामीण क्षेत्रमा सयौँ नेपाली कामदार अस्थायी रूपमा घरटहरा बनाएर बसेका छन्। जमिनदारबाट निश्चित आकारको खेत जिम्मा लिन्छन्। त्यहाँ मौसम अनुसारको तरकारी खेती गर्छन्। "उत्पादनको आधा जमिनदारलाई, आधा हामी (कामदार)लाई हुन्छ," खड्का भन्छन्, "राम्रो फलेको अवस्थामा दुई किलो सिमी, मटरको बीउ छर्दा ४० देखि ५० बोरा (४० किलोका) उत्पादन हुन्छ। बजार मूल्य राम्रो पाए आम्दानी राम्रै हुन्छ।" एक आँकडा अनुसार हिमाचल प्रदेशमा ६५ हजार हेक्टरमा तरकारी खेती हुन्छ। यसमध्ये नौ हजार हेक्टर सोलन जिल्लामा पर्छ, जहाँ आधाभन्दा बढी नेपाली कामदारले खेती गररिहेका छन्। खड्कासँगै आएका अरू दैलेखी पनि हरिद्वारको बाटो भएर सिमला पुगेका छन्। सबैजसो थरावलामा सपरिवार बस्ने गरेका छन्। आफूले खेती गरेको जग्गाकै एक छेउमा टहरो बनाएर बस्ने गरेको खड्का बताउँछन्।

हिमाचल प्रदेशमा विकास निर्माणका काम तीव्र गतिमा भइरहेकाले निर्माण क्षेत्रमा पनि नेपालीहरूको उल्लेख्य संलग्नता छ। तर, तरकारी खेती र बजारमा कुल्ली काम गर्नेको तुलनामा निर्माण क्षेत्रको संलग्नता न्यून मान्नुपर्ने खड्काको भनाइ छ।

बिहानको अढाई बजेदेखि नै सिमलाको पुरानो बसपार्कसँगै जोडिएको तरकारी बजार ब्यूँझन्छ। ग्रामीण क्षेत्रबाट आएका तरकारीका ट्रक र टिपरबाट तरकारीका बोरा झार्नु, झारेको ठाउँबाट पसलसम्म ओसार्नु यहाँका नेपाली मजदुरको प्रमुख काम हो। "यो काम बिहानको उज्यालो नहुँदै सकिसक्छ," सिमकोट, हुम्लाका धनबहादुर विक, २४, भन्छन्, "दिउँसोका लागि यस्तै भारी बोक्ने अरू काम खोज्नुपर्छ।" उनकै भनाइमा, बिहानको काम नियमितजस्तै भए पनि दिउँसो भने कहिले नपाइन पनि सक्छ। त्यसैले काम पाएको दिन साढे चार सय रुपियाँसम्म आम्दानी हुन्छ।

सिमलावासी नेपाली लेखक जगदीशशमशेर राणाका अनुसार केही वर्षयता सिमला नेपाली युवाको शैक्षिक गन्तव्य भएको छ। उनकै भनाइमा, सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाबाट कमजोर आर्थिक अवस्थाका कारण पढ्न नपाएका धेरै युवकयुवती काम गर्दै पढ्दै छन्, यहाँ। यसरी पढाइ र काम सँगसँगै अघि बढाउने युवा पंक्ति बेलाबेला भेला, सांस्कृतिक, साहित्यिक र वनभोज कार्यक्रमसमेत गर्छन्। "यस्तो युवा पंक्तिले गाँस, बास, कपास र शिक्षा मात्रै आर्जन गररिहेको छैन, हिमाचलको विकासको रहस्य पनि बुझ्दै छ," राणा भन्छन्, "स्वदेश फर्केर उद्यम गर्ने वातावरण पाउने हो भने अबको नेपाललाई यस्तै नेपालीले समृद्धिमा पुर्‍याउन सक्छन्।"

सबैभन्दा धेरै आप्रवासी नेपाली कामदार रहेको तर एकदमै न्यून वेतनमा काम गर्नुपर्ने मुलुक भारत हो। अत्यधिक शारीरकि श्रम, सामाजिक सुरक्षाको प्रत्याभूतिको अभाव र वैधानिक रूपमा रेमिट्यान्स भित्र्याउने भरपर्दो माध्यमको अभावका कारण भारतीय श्रम बजारमा आफ्नो पसिना बेच्ने धेरै नेपालीमा सन्तुष्टिभन्दा असन्तुष्टिको मात्रा बढी छ। बडाभैरव-४, दैलेखकै जगबहादुर थापा, ४०, लाई नै लिऊँ। दुईवटा बैसाखीको सहाराले उनी हिँडडुल गर्छन्।

नेपालबाट सद्दे अवस्थामै कामको खोजीमा सिमला पुगेका उनी कृषि मजदुरका रूपमा काम गर्दागर्दै ढुंगाको चोटले दुवै खुट्टामा गहिरो घाउ लाग्यो। त्यसको उपचारमा मात्र उनको त्यतिखेर २१ हजार भारतीय रुपियाँ खर्च भयो। एक वर्ष त त्यसको उपचारमै बित्यो। बाँकी वर्ष खुट्टा खोच्याएरै काम गरे र उपचारमा लागेको ऋण तिरे। "अहिले पनि औषधीका भरमा चलिरहेको छु। औषधी नखाएको दिन घाउ अझै दुख्छ," उनको भनाइ छ। खेतका मालिकले उपचारमा सहयोग नगरेकामा पनि उनको गुनासो छैन। "गरी खा भनेर जग्गा त दिएकै हो। मेरै भाग्यले साथ दिएन त के गर्ने !" आफ्नै भाग्यलाई खोटो ठान्छन् उनी।

पाँच छोरी, तीन छोराका बाबु उनले परिवार नियोजन गर्दा कमजोर भइन्छ भन्ठाने। "त्यसै त यस्तो ज्यान छ, कमाएर खुवाउने म एक्लै छु। त्यसमाथि परिवार नियोजन गर्दा के हालत हुँदो हो," उनी भन्छन्, "अहिले तिनै केटाकेटी पाल्न धौधौ भएको छ। श्रीमतीको ज्यान पनि कमजोर नै छ।" उनीजस्ता कैयन् निरक्षर नेपाली भारतमा नंग्रा खियाइरहेका छन्, जसलाई आप्रवासी कामदारले कार्यक्षेत्रमा बेहोरेको शारीरकि क्षतिबापत दाबी गर्न सकिने उपचारखर्च, क्षतिपूर्ति वा बिमाका विषयमा कुनै जानकारी छैन। र, आफ्नै भाग्य र भूगोललाई सरापिरहेका छन्। जस्तो कि, देहरादुनको शिवजी धर्मशालानजिकै भेटिएका साप्पाटा-२, बाहुनी, बाजुराका रन विक, ५३ ले गालामा हात लगाएर डेउडा भाका सुनाए :

पाको फल चडीले खायो काँचो फल रूखै छ

जाँसम्म परानी बाँच्यो वाँसम्म दुःखै छ ।





'मुद्दाको खर्च जुटाउँदै छु'

विश्वामित्र न्यौपाने, ३०, धौलागोह, कालीकोट

बीएड पढेको छु। गणेश प्रावि, धौलागोह, कालीकोटमा पढाएको छु। तर, यो बायोडाटाको मेरो लागि कुनै अर्थ छैन। जागिर गर्दै सदरमुकाम मान्ममा १२ कक्षासम्म पढेँ। त्यहीँ नेपालीमा बीएड गरेँ। माओवादी द्वन्द्व चर्किएपछि सदरमुकाम जानु भनेको काललाई निम्तो दिनुसरह भयोर बिदेसिएँ । यहीँ आएर पनि माओवादीको प्रवास संगठनलाई तीनपटक गरी १० हजार भारु दिएको छु। तर, अहिले माओवादीकै राज हुँदा पनि आफ्नो देशमा गरखिान पाइएको छैन।

अहिले म आफ्नै बाबुले कमाएको खेतको अंश पाऊँ भनेर मुद्दा लडिरहेको छु। नेपालमा बसेर वकिलको शुल्क जुटाउन सम्भव छैन। घरव्यवहार चलाउनै पर्‍यो। त्यसैले यहाँ कम्मल र तन्नाको घुमन्ते व्यापार गररिहेको छु।

बुबाले ०२९ सालमा महेन्द्रनगरमा तीन बिघा जमिन किन्नुभएको थियो, एउटा बि्रटिस लाहुरेसँग किनेको ऐलानी जग्गा। म चार वर्षको हुँदा मुटुको बिमारले बुबा बित्नुभयो। काकाले ०३८ सालको नापीमा आफ्नो नाममा दर्ता गर्नुभएछ। ठूलो भएपछि थाहा भयो, अंश त हामीले पनि पाउनुपर्ने। अनि, मुद्दा हाल्यौँ। जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म मुद्दा पुगिसक्यो। सर्वोच्चमा मैले शम्भु थापालगायत नाम चलेका वकिल राखेँ। भएको सबै सम्पत्ति त्यही मुद्दा लड्नमै खर्चें। सर्वोच्चले पुनरावेदन अदालत, महेन्द्रनगरको फैसलामा प्रक्रियागत त्रुटि देखाएर पुनःविचार गर्नु भनेर फर्काइदिएको छ। ०५९ मा सुरु भएको यो मुद्दा कहिले टुंगिन्छ, ठेगान छैन। त्यतिन्जेल मेरो वास परदेशमै हुने निश्चित छ।

दुई-दुई महिनामा म घर ओहोरदोहोर गररिहन्छु। एक सिजनमा २०/२५ हजार भारु बचाएर घर लैजान्छु। घरपरिवारको हेरचाह गर्छु। फेरि फर्किन्छु। पञ्जाबको दोधेनाबाट सामान किनेर ल्याउँछु र यहाँका गल्लीगल्लीमा डुलाएर बेच्छु। कहिलेकाहीँ साहूको खातामा पैसा पठाउँछु र सामान मगाउँछु। यहाँ मैले कमाउन नसकेको होइन। कमाएको रकम आफूले चाहे अनुसार खर्च गर्न पाएको छैन। मुद्दामै सकिन्छ।







स्वदेश र्फकंदाको सकस

'महेन्द्रनगर, महेन्द्रनगर, महेन्द्रनगर...!' कानै फुट्लाजस्तो गरी टाँगावाल कराइरहेका छन्। बनवासामा रोकिने हरेक बसका यात्रु र्झन नपाउँदै टाँगावालबीच यात्रु र सामान खोसाखोस पर्छ। सुनिन्छ, 'यही मात्र यस्तो टाँगा हो, जसले ठग्दैन। बिचल्ली पार्दैन। महेन्द्रनगर बसपार्कसम्मै पुर्‍याउँछ। अरूले गड्डाचौकीमा लगेर अलपत्र पार्छन्।' कुरा सुन्दै जाँदा हो न हो बनाइदिन्छन्। अनि, ८० रुपियाँभन्दा बढी भाडा नपर्ने ग्यारेन्टी गर्छन्। जब टाँगा दुई सय मिटर पर जंगलबीच पुग्छ अनि कथाले नयाँ मोड लिन्छ, "लौ अब आधा अर्को टाँगामा जानुपर्‍यो, ६ जनाभन्दा बढी मान्छे राख्न मिल्दैन।" पहिला खाँदिएका यात्रु दुई भागमा बाँडिन बाध्य हुन्छन्। अर्थात्, आधाजति यात्रु त्यहीँ बेचिन्छन्, कमिसनमा।

यात्रु र भारी ठीक मात्रामा भएपछि केहीबेर टाँगा गुड्छ र फेरि रोकिन्छ। टाँगावाल भन्दै छ, "यति धेरै सामान छ। यसको छुट्टै पैसा लाग्छ।" थकित यात्रु त्यसमा पनि सहमति जनाउँछन्। किनभने, यहाँ विकल्प छैन। टाँगा अलिकति अघि बढ्छ र पुनः अडिन्छ। टाँगावाल फेरि कराउँछ, "लौ अब, सबै जना सतर्क हुनुपर्‍यो। यहाँ त लुट्छन्। प्रहरीले सामान जफत गरिदिन्छन्। पाँच सय र हजारका भारु छन् भने त थुनिदिन्छन्।" फेरि अतिरत्तिm रकम माग गर्दै उसको कर्कश स्वर अडिन्छ, "एक जनाको दुई सय रुपियाँका दरले पैसा दिएमा मै मिलाइदिन्छु, कसैलाई केही हुँदैन।"

प्रहरीले जफत गर्ने भनेपछि सबै लल्याकलुलुक हुन्छन्। दुई सय तिर्ने कबुलियतनामा गर्छन्। र, केही बैना पनि दिन्छन्। टाँगा अघि बढ्छ। बाटामा भेटिएजतिका ढाट र काउन्टरमा गएर टाँगावाल वैधअवैध रकम तिर्छ र महाकाली पुल कटाउँछ। केहीबेरमा गड्डाचौकीको नेपाली भन्सार र प्रहरीको जाँच सुरु हुन्छ। केको जाँच हुनु, टाँगाका यात्रुलाई धरपकड गर्ने, झाँको झार्ने र खुलेआम अवैध रकम असुल्ने अर्को केन्द्र रहेछ यो। "यतिका सामान छ, सब यहीँ खोलेर असरल्ल फाल्दिउ“m कि दुई सय भारु दिएर सरासर घर जाने ?" प्रहरीकै सामु खाइलाग्दो ज्यान भएका एक कर्मचारी कड्किए। "सय छैन, पचास लानूस् हजूर," यात्रुले ती कर्मचारीको कृपा खोजे। 'पचासै ले,' भन्दै ती कर्मचारीले टाँगा अघि बढाउन उर्दी दिए र त्यही शैलीमा अर्को टाँगातिर आँखा गाडे।

महेन्द्रनगरनजिकको जंगलबीच टाँगा फेरि रोकियो। कबुलिएका सबै शुल्क गरी जम्मा २ हजार भारु ६ जनाबाट टाँगावालले असुल्यो। त्यसमा पनि 'डिस्काउन्ट' गरेको रवाफ कम थिएन।

महेन्द्रनगर बसपार्कमा रोकिँदा नरोकिँदै टाँगावालले भट्याउन थाल्यो, 'बनवासा, बनवासा...।' नेपालीसँग भारु साँट्दै गरेका एक बझाङी युवकको मोबाइलमा संयोगले उही प्रकाश थापाको स्वरमा बजिरहेको डेउडा गीत, जुन देहरादुनको मसुरीमा पनि सुनिएको थियो, बज्यो :

म अभागी परदेशीको पहेँली धानका बाला

जल्दै छ हियार नसुक्यै हजारी माला।

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

रामबहादुर रावलद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar