इन्डियन आइडलको चौथो संस्करणमा कपिल थापालाई उपाधि दिलाउन नसकेकामा देहरादुनवासी नेपालीमा निकै थकथकी रहेछ। देहरादुनमा जति पनि नेपाली भेटिए, ती सबैले गर्वका साथ कपिलको नाम लिए। साथै, उनीहरूको साझा गुनासो थियो, 'प्रशान्त तामाङलाई इन्डियन आइडलमा जिताउन सबै नेपालीभाषी लागेका हौँ तर कपिलको पालोमा आएपछि त्यस्तो साथ पाएनौँ।'
हुन पनि पूर्वोत्तर भारतका नेपालीभाषी तामाङलाई जिताउन भारतमा मात्र होइन, नेपालसम्मै लहर चलेको थियो। त्यहाँका युवाहरूले सहयोग अभियान नै सञ्चालन गरेका रहेछन्। तर, कपिलको पालामा सिक्किम, दार्जीलिङ क्षेत्रका नेपालीभाषीले त्यसरी गुन नतिरेको उनीहरूको भनाइ छ।
कपिलको घर अवस्थित नयाँगाउँमा त एक प्रकारले आक्रोश नै थियो। "दार्जीलिङका नेपाली केही न केही नाममा सहयोग माग्न आइरहन्छन्। हामीले भानुभक्तको सालिक बनाउनेदेखि गोर्खाल्यान्ड आन्दोलनसम्म सहयोग गर्यौँ," कपिलकै एक दौँतरीले सुनाए, "तर, हाम्रो कपिललाई बेवास्ता गरे।" इन्डियन आइडलको छैटौँ संस्करण सकिइसक्यो। कपिलले गीतिक्षेत्रमा छुट्टै परचिय बनाइसके। तर, देहरादुनको चित्त अझै शान्त भएको रहेनछ।
राणा दरबारमा भिलेन
जुद्धशमशेरको परिवार रहेको घर (नेपाल हाउस) खोज्दै जाँदा गुरुरोडस्थित स्टेपिङ् स्टोन्स स्कुल पुगियो। जुद्धशमशेरका छोराबुहारीकै घरमा रहेछ, स्कुल। नेपाल-नाता लगाएरै निवास पस्नु सहज लागेको थियो। तैपनि, विद्यालयका प्रधानाध्यापकलाई भेटेर कुरा गर्नु उचित लाग्यो। र, स्वागतकक्षका कर्मचारीलाई आफ्नो परचिय दिई प्रअलाई भेट्न चाहेको कुरा दर्शाएँ। संयोगले त्यहीँ आइपुगे शिक्षक मुकुन्द भट्टराई। ढुंगा खोज्दा देउता मिलेजस्तो भयो। नेपालीमै कुरा गर्दा थप आत्मीय अनुभव भयो। केही जानकारी मागेपछि भने उनी बटारिए। उल्टै हकारे, यस्ता कुरा किन चाहियो तपाईंलाई ?
उनलाई कुनै हालतमा पगाल्न नसक्ने ठानेपछि धन्यवाद भन्दै म स्कुलबाट बाहिरिएँ। गुरुरोडबाटै भने बाहिरनि मन लागेन। जसरी पनि राणानिवास छिर्ने विचारले अर्को गेट ढकढक्याएँ। पग जातका तीनवटा कुकुरले धतुरो झारे। केहीबेरको केरकारपछि मैले चाहेको कुरा खोतल्न थालेँ। त्यहीबेला भट्टराई टुपुल्किए । रानीसाहेब नभएको बेला नचिनेको मान्छेलाई किन प्रवेश दिएको भन्दै कामदारलाई हकारे। फोटो नखिच्न उर्दी गरे। सबै कामदारको मुख बन्द भइहाल्यो। बसाइ लम्ब्याउने उपायस्वरूप मैले पिउने पानी मगाएँ, तीनपटक। तीन गिलास पानी पिएपछि पनि त्यहीँ बसिरहनु उचित लागेन।
भोलिपल्ट जुद्धशमशेरकै दरबार अर्थात् जोधा भवन जानु थियो। भित्री मनमा तिनै भट्टराईले काम बिगार्लान् कि भन्ने डर थियो। स्कुलसित राम्रो सम्बन्ध भएकी र स्थानीय समुदायमा पनि आकर्षक छवि बनाएकी गुराँस कला केन्द्रकी कोषाध्यक्ष प्रभा शाहलाई गुहारेँ। देहरादुनमा भेटिएका सहयोगी स्वभावका थोरै पात्रमध्येकी एक थिइन् उनी। उनले क्याम्बि्रयन हल स्कुलमा लगिन्। विद्यालयका प्रशासकलाई भेटाइन्। उनले हाम्रो आगमनको प्रयोजन बताउन्जेल केही तस्बिर क्यामेरामा कैद गरसिकेको थिएँ। ती प्रशासकले खुलस्त जानकारी दिन सकेनन्। नजिकै बस्ने पुरेतकहाँ जान सल्लाह दिए, त्यतै लाग्यौँ। हामी पुगेको केहीबेरमा भट्टराई त्यहीँ आइपुगे । उनले उही पारा दोहोर्याए। त्यसको सुइँको पाइसकेकी प्रभा दिदीले भट्टराईसँग राजनीतिक वार्ता थालिन्। भट्टराई गफमा डुबिहाले।
त्यही मौकामा पुरोहित पुरुषोत्तम गौतमलाई लिएर जोधा भवनतिर लागेँ। तिनले निकै आत्मीयता दर्शाए। थाहा भएको कुरा बताइदिए। थाहा नभएका कुराका लागि सम्भावित स्रोत बताइदिए। भन्न नमिल्ने कुरा विनयपूर्वक नमिल्ने बताए। हामी घुमेर फर्किंदा भट्टराई गफमै मस्त रहेछन्। धन्य, प्रभा दिदी !
जातीय द्वेषको चिन्ता
"हामी नेपालीको एक जात हो, यसभित्र अरू कुनै जात छैन," हिमाचल प्रदेशको सुदूरइलाका भाग्सुमा भेटिएका प्रतापसिंह गुरुङले भने, "नेपालभित्र नेपाली र भारतमा हामी गोर्खाली भन्छौँ, आखिर सबै एकै हौँ।" पुस्तौँदेखि बसेको गुरुङ परिवारका सदस्य पदमलाई नेपालमा चलेको जातीय राज्यको बहसले पिरोलेको रहेछ। त्यसलाई उनले राजनीतिक लाभ लिने उद्देश्यले फैलाइएको विद्वेषका रूपमा बुझेका रहेछन्। "हामी नेपाली भाषा, संस्कृति र नेपालीबीचको एकता नमरोस् भनेर यहाँ (भारतमा) एकताको प्रयास गररिहेका छौँ," उनको भनाइ थियो, "हेर्नूस्, मेरो घरको दैलोअगाडि तुलसीको मठ छ। महादेवको मन्दिर छ। हामी देवी पुज्छौँ। हामीले मनाउने चाडपर्व र रीतिथिति एउटै होस् भनेर पात्रो नै बनाएका छौँ। तर, नेपालमा भने भाइभाइमा लड्ने र लडाउने काम भएको छ।"
जातीय आधारमा थिचोमिचो गर्न नहुने र जात-जातिबीच विद्वेषको वातावरण पनि राख्न नहुने उनको सुझाव थियो। "जातीय विद्वेष बढ्दै जाँदा नेपालमै नेपालीत्व मर्न सक्छ," भारतीय नागरकिता र भारत सरकारकै पेन्सन लिइरहेका पदम नेपालप्रतिको थप चिन्ता यसरी पोख्छन्, "त्यसपछि त हामीले पनि नेपालीत्वमा गर्व गर्नुको के अर्थ रह्यो र !"
तपाईंको प्रतिकृया