मुख्य समाचार


निसानामा मायापिरती

  • युवा पुस्ता र समाजबीच मर्यादाको द्वन्द्व

कलेज पोसाकमा आएको :    रु ५००

अँगालो मारेको :    रु १,५००

किस गरेको :    रु २,०००



मुटुबाटै मन पराएका व्यक्तिसँग एकान्तमा सुस्ताउँदै प्रेम, जीवन र भविष्यका बारेमा सोच्ने रहर कुन जोडीसँग नहोला ? मनले खाएको व्यक्तिसँग न्यानो स्पर्श लिँदै मठमन्दिर, पार्क, पोखरीजस्ता सार्वजनिक स्थलमा पुग्नुभयो भने माथि लेखिएका चेतावनीले तपाईंलाई पक्कै झस्काउनेछ।

बल्खु, चक्रपथबाट करबि पाँच किलोमिटर दक्षिणमा पर्ने टौदहको मूल गेटमै ठूलठूला अक्षरमा प्रेमजोडीका लागि वर्जित कुरासहितका सूचना टाँसिएको छ। टौदह घुम्न आएका जोडीले सामाजिक मर्यादा मिच्ने गतिविधि बढाएको भन्दै यस्तो सूचना राख्नुपरेको स्थानीयको भनाइ छ।

सम्बन्ध र यौनमा युवा पुस्ता स्वतन्त्रता खोजिरहेको छ भने समाजले त्यसलाई सहजै स्वीकार गररिहेको छैन। समाज र युवा पुस्ताबीचको द्वन्द्व टौदहमा सार्वजनिक भए पनि अधिकांश सार्वजनिक स्थानमा अव्यक्त नै छ। हुन पनि मठमन्दिर, पोखरी, पार्क, खुला चौरजस्ता सार्वजनिक क्षेत्रमा अँगालोमा बेरिएर बसेका युवा जोडी देखिनु नौलो रहेन।

महानगरमा युवा पुस्ताको भावना साट्ने सुरक्षित स्थान नभएकाले सहरका विभिन्न भागमा मायाप्रीति पार्क निर्माण गर्ने योजना बनाइएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापित बताउँछन्। "कुनै पनि कुराको अभिव्यक्ति स्वतन्त्र रूपमा हुन पाएन भने त्यसले कुण्ठाको रूप लिन्छ," उनी भन्छन्, "माया प्रेममा समेत बन्देज लगाइदिँदा त्यो सार्वजनिक स्थलमा अश्लील रूपमा प्रकट भइरहेछ। त्यो समाजका लागि घातक हो।"

समाज र युवा पुस्ताबीचको सोचको टकराव उपत्यकाकै अर्को सहर भक्तपुरमा समेत सार्वजनिक भएको छ। भक्तपुर दरबार स्क्वायर क्षेत्रका मन्दिर र सिद्धपोखरी क्षेत्रमा पुगेका जोडीलाई प्रहरीले खोजीखोजी धपाउन थालेको छ। कलेज ड्रेसमै आएका केटाकेटीलाई सम्झाएर पठाउन थालिएको महानगरीय प्रहरी परसिर भक्तपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिलीप चौधरीको भनाइ छ।

"स्थानीय अभिभावकबाट गुनासो आएपछि केही दिनअघिबाट विद्यार्थीलाई यस क्षेत्रबाट हटाउन थालेका हौँ," उनी भन्छन्, "सार्वजनिक स्थलमा अश्लील गतिविधि बढेकाले हामीले रोक्न खोजेका हौँ।"

दुई वर्षयता अर्को धार्मिक स्थल पशुपति क्षेत्रमा समेत जोडीहरू अँगालो मारेर बसेको देख्नासाथ सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेका छन्। हालसम्म एक हजार जोडीलाई नियन्त्रणमा लिएर सम्झाईबुझाई गरेर छाडिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक रमेश उप्रेती बताउँछन्। ध्यान गर्दै सुस्ताउने स्थानमा प्रेमका नाममा अमर्यादित क्रियाकलाप गर्न थालेपछि नियन्त्रणमा लिन बाध्य बनेको उप्रेतीको भनाइ छ।

शिक्षण विधिमै आफ्नो संस्कृति, संस्कारबाटै स्वतन्त्रता खोज्न सकिन्छ भन्ने सिकाउन नसकिएकाले युवा पुस्तामा यस्तो विकृत समस्या जन्मिएको उप्रेती बताउँछन्। भन्छन्, "प्रेम छ भन्दैमा त्यसलाई चोकचोकमा पोख्दै हिँड्नुभएन।"

पशुपतिका मृगस्थली, विश्वरूप, गुह्येश्वरी, आर्यघाटबाट मृगस्थली उक्लने सिँढी, पशुपति क्षेत्रका भित्री मन्दिर र पार्क र कैलाशको डाँडामा कोषले सशस्त्र प्रहरी, जनपद प्रहरी र आफ्नै सुरक्षाकर्मी परचिालन गरेर निगरानी राख्दै आएको छ। सुरुसुरुमा एकै दिन सय जोडीसम्म पक्राउ परे भने अहिले दैनिक दुई जोडीसम्म पक्राउ पररिहेका छन्।

कोषका अनुसार अमर्यादित क्रियाकलापमा समातिनेमा मजदुरी गरेर खानेदेखि उच्च परिवारका युवाको उही अनुपात देखिन्छ। यसबाट के प्रस्ट हुन्छ भने आधुनिक जीवनशैली अँगाल्ने भनिएका उच्च घरानियाँसमेत छोराछोरीको प्रेमसम्बन्धमा उदार छैनन्। पक्राउ परेकामध्ये ९९ सय प्रतिशत आफूहरूलाई अभिभावकको जिम्मा नलगाई छोडिदिन रोइकराइ गर्छन्। कतिपय त कान समातेर उठबससमेत गर्न पछि नपरेको उप्रेतीको भनाइ छ। एकपटक सुध्रने मौका दिन केही घन्टा प्रहरी कार्यालयमा राखेर छाडिने गरिएको छ।

पशुपति, भक्तपुर दरबार स्क्वायरजस्ता ठूला मन्दिरमा व्यवस्थापन सक्रिय भएकाले असभ्य भनिएका गतिविधिमाथि नियन्त्रण प्रयास भएको छ। उप्रेतीका अनुसार यस्ता क्रियाकलाप उपत्यकाका अधिकांश स-साना मठमन्दिर, पार्क, पोखरीहरूको साझा समस्या बन्दै गएको छ।

एकातिर समाजले युवा जोडीहरूको प्रेम पोख्ने तरकिालाई अमर्यादित, अश्लील, अशोभनीय भनेर नियन्त्रण गर्न खोजिरहेको छ भने अर्कातिर यसबाट व्यक्तिगत स्वतन्त्रतामाथि प्रहार भएको ठान्ने युवा जमात पनि ठूलो छ। राजधानीको पिपुल्स कलेजका बीबीएस दोस्रो वर्षमा अध्ययनरत पविन भट्टराई, २२, सार्वजनिक स्थलमा प्रेमीप्रेमिका जानै रोक लगाउने कार्यलाई अव्यावहारकि र अवैज्ञानिक ठान्छन्। "रमाइलो र आनन्द लिनका लागि हो पार्क," उनी भन्छन्, "तर, हामीकहाँ पार्क बनाएर ताल्चा लगाएर राखिन्छ। हामीजस्ता युवा टहलिन कहाँ जाने ?"

दुई वर्षअघि मात्रै महानगरीय प्रहरी परसिर काठमाडौँले टुँडिखेल, भृकुटीमण्डप, खुलामञ्च क्षेत्रबाट आधा दर्जन जोडीलाई नियन्त्रणमा लिएर छाडिदिएको थियो। असभ्य, उच्छृंखल क्रियाकलाप गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिए पनि व्यक्तिगत स्वतन्त्रता हनन भएको भन्दै त्यसको विरोध भएपछि प्रहरी यस्तो कामबाट पछि हटेको थियो। "जुन कुरा लुकाउन खोजिन्छ, त्यसैको खोजी बढी हुन्छ," आयुक्त स्थापित भन्छन्, "जसले जीवनको संगति बुझ्दैन, उसले यस्ता कार्यप्रति बाधा खडा गर्छ।"

समाजको स्वरूप र संरचना बदलिएसँगै प्रेमको संस्कृतिसमेत विकास हुँदै गएको छ। युवा पुस्ता मागी विवाहको परम्पराबाट उठेर आफैँले रोजेका व्यक्तिसँग जीवन जिउन सहज ठान्न थालेको छ। "हाम्रो प्रशासन समाज परविर्तनको यो पक्षलाई मान्यता नदिने रूढ सोचबाट ग्रस्त छ," त्रिभुवन विश्वविद्यालय मानवशास्त्रका उपप्राध्यापक डम्बर चेम्जोङ भन्छन्, "सबै कुरा ठीकठाक छ भन्ने एकअर्कालाई जाँचेपछि मात्रै युवा पुस्ता विवाहका लागि तयार हुन्छ। तर, हामी बाटोमा सँगै हिँडेको समेत देखिसहँदैनौँ।"

राजधानीलगायत अन्य ठूला सहरमा सामाजिक अन्तरक्रिया हुने खुला ठाउँको अभाव छ। मन्दिर, पोखरी, गुठीजस्ता सार्वजनिक थलोवरिपरिका जग्गासमेत अतिक्रमणको चपेटामा परेर दिनानुदिन खुम्चिँदो अवस्थामा छन्। त्यसैले पनि तुलनात्मक रूपमा एकान्त हुने मन्दिर, पार्क, पोखरीजस्ता सार्वजनिक थलो नै प्रेमीप्रमिकाका रोजाइका डेटिङ् स्थल हुन्।

समाजले प्रेम अभिव्यक्त गर्ने सबै नाका बन्द गरिदिएकाले युवा जोडी मौका पाउनासाथ सबै कुरा एकैसाथ पोखिहाल्ने मनस्थितिमा ओर्लिने गरेको कोषका निर्देशक उप्रेती बताउँछन्। अँगालोमा कस्सिएर चुम्बन गर्ने र संवेदनशील अंग छुने दृश्य बाक्लिन थालेपछि पशुपति क्षेत्रमा यस्तो नियम जारी गर्नुपरेको समितिको भनाइ छ ।

"प्रेमीप्रेमिका भेट हुनासाथ बलात्कार नै गरौँलाजस्तो गरी प्रस्तुत हुन्छन्। यस्तो कार्यका लागि हाम्रो समाज बढी जिम्मेवार छ, पानीको काम बग्ने हो, बग्नै दिनुपर्छ," स्थापित भन्छन्, "माइतीघर मण्डलामा कसैले त्यस्तो कार्य गरेको सुन्नुभएको छ ? किनभने, त्यो खुला छ र सुरक्षित पनि।"

बेरोजगारी र बढ्दो महँगीका कारण सबै व्यक्ति रेस्टुराँ जान सक्ने हैसियतमा हुँदैनन्। अझ कतिपय कटेज/रेस्टुराँमा समेत अश्लील क्रियाकलाप भएको भन्दै प्रहरीले छापा मार्ने गरेको छ। "रेस्टुराँ गए पनि पक्रिन्छ, मन्दिर वा सार्वजनिक स्थलमा जाँदा पनि सुख छैन," चेम्जोङको भनाइ छ, "सामाजिक व्यवस्थालाई कायम राख्न उचित संयन्त्रको विकास गर्न नसकिएको परिणाम हो यो।"

चोभारस्थित टौदह पोखरी संरक्षण र व्यवस्थापन गर्दै आएको कर्कोटक नागराजा नागरानी वासस्थान टौदह समाजले कारबाहीको सूचना जारी गरेपछि घुम्न आउनेको संख्याका साथै वरिपरिका होटल, पसलमा हुने व्यापार घटेको १० वर्षदेखि चिया पसल राख्दै आएका विष्णु थापाको भनाइ छ। भन्छन्, "नजिकिएर बस्नै नपाउने भएपछि यहाँ कोही किन आउने ?"

समाजका अध्यक्ष जयराम कार्की भने सभ्य, सुसंस्कृत समाजका लागि यस्तो विधि अपनाएको तर्क गर्छन्। भन्छन्, "दाजुबहिनी, आमाछोरा सँगै हिँड्नसमेत नसक्ने अवस्था आएपछि नियन्त्रण गरिएको हो।" सूचना राख्दैमा विकृतिमा कमी नआउने थापाको धारणा छ। सुनाउँछन्, "सूचना टाँसेको बोर्डमुनि नै बसेर त्यस्ता कार्य गरेको मैले देखेको छु।"

श्लील/अश्लील, सभ्य/असभ्य यस्ता अवधारणा हुन्, जसको मानक समाजपिच्छे फरकफरक हुन्छन्। प्रेम यस्तो चीज हो, जसलाई कुनै बाधाले छेक्न सक्दैन। दार्शनिक ओशोले भनेजस्तै प्रेम झीनो धागो हो तर यसको बँधाइ यति कसिलो हुन्छ कि कसै गरे पनि फुस्किँदैन।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

मनबहादुर बस्नेतद्वारा अन्य प्रकाशित लेखहरू

मःम मोहनी

अंक: 413

करको डर

अंक: 432
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar