धेरै आशा नराखेकै जाती

राष्ट्रपति रामवरण यादवको पछिल्लो भारत भ्रमणलाई नेपाली मिडियाले राजनीतिक दृष्टिकोणबाट मात्रै हेरेको पाइयो । देशमा राजनीतिक र संवैधानिक अन्योल छाएका बेला सो भ्रमणलाई राजनीतिक रंग दिइनु स्वाभाविक भए पनि यसले समस्या समाधानका लागि महत्त्वपूर्ण अर्थ राख्दैन । त्यसैले छिमेकी देशसँगको आपसी सद्भावको परम्परालाई निरन्तरता दिने यो भ्रमणबाट धेरै आशा नराखेकै जाती ।

- प्रवीण भट्ट

सिड्नी, अस्ट्रेलिया

 

उल्टो हिँड्नेलाई साथ छैन

नेपालको आन्तरकि राजनीतिमा विदेशी प्रभाव कति छ भन्ने राष्ट्रपतिको भारत भ्रमणले देखायो (दाहिना भएन दिल्ली, २९ पुस)। राष्ट्रपति रामवरण यादवले आफ्नो भ्रमणका बेला दिल्लीमा यति धेरै राजनीतिक नेता र नेपाल मामिला सम्हालिरहेका व्यक्तिलाई भेटे कि त्यसले देशको राजनीतिक निकासका लागि स्वयं राष्ट्रपति यादव मात्र होइन काठमाडौँलाई चासोपूर्वक हेररिहेको दिल्ली पनि त्यत्तिकै चिन्तित रहेको देखिन्छ। दिल्लीको चिन्ताको कूटनीतिक अर्थ कतिसम्म हो या उसले नेपालमा राजनीतिक स्थिरता चाहन्छ कि चाहँदैन भन्ने कुरा समयले बताउला। तर, राष्ट्रपतिको भ्रमणपछि के भन्न सकिन्छ भने नेपालप्रतिको भारतीय चासो अझै तिक्खर हुँदै गइरहेको छ।

नेपालमा राष्ट्रपतिले चाहँदैमा मात्रै राजनीतिक निकास सम्भव छैन भन्ने घामजत्तिकै छर्लंग छ। यसका लागि देशभित्रका राजनीतिक दलको चाहना र छिमेकी देशको पनि आशीर्वाद चाहिन्छ नै। त्यसैले पनि भ्रमणअघि राष्ट्रपतिले दिल्लीसँग केही सल्लाह र सुझाव अपेक्षा गर्नु अस्वाभाविक थिएन। तर, बाबुराम भट्टराईकै नेतृत्वको सरकारलाई परोक्ष रूपमा सघाइरहेको दिल्लीले यति छिट्टै आफ्नो मौजुदा दृष्टिकोण किन बदल्थ्यो र ?

जसरी नेपालको राजनीतिमा भारतको प्रभावका बारेमा हामीले अतिरञ्जनापूर्ण प्रतिक्रिया सुन्छौँ, त्यो कुरा हुँदै होइन। भारतले मात्रै चाहँदैमा नेपालमा केही समस्या जन्मने या कुनै समस्याको समाधान हुने पनि होइन। सापेक्ष रूपमा के हो भने एउटा राम्रो नियतका साथ हाम्रै राजनीतिक दलहरूले सहमति गरे या नमिलेका विषयमा मिलनविन्दु पहिल्याए भने राष्ट्रपति र भारत दुवैलाई राहत हुन्छ। यस्तो जिम्मेवारी राष्ट्रपतिबाट अपेक्षा गर्नु पक्कै पनि राजनीतिक कुरा होइन। गाँठो फुकाउनलाई चालिने कदमको अर्थ एक ठाउँमा होला तर राष्ट्रपतिलाई सक्रिय पार्ने र राजनीतिलाई उल्टो गतिमा लैजाने कुरामा छिमेकी देशले पनि साथ नदेलान्।

- हरिहर लामिछाने

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर   



मिलेमतोको आशंका

धादिङको लापा गाउँ विकास समितिमा पाइने सुन्दर पत्थर (क्वार्ज)को अवैध कारोबार भइरहेको छ (सीमापारि रत्न तस्करी, २९ पुस)। लापामा रहेको क्वार्ज खानीबाट यो बहुमूल्य वस्तु उत्खनन गर्न पाइँदैन। तर, बर्सेनि १५ लाख रुपियाँभन्दा बढीको क्वार्ज संकलन गरी गिरोहले बेचबिखन गर्दै आएको छ । यसमा धादिङ प्रहरीको पनि मिलेमतो रहेको आशंका छ। राष्ट्रको प्राकृतिक सम्पत्ति यसरी अवैध रूपमा चोरीनिकासी भइरहँदा सम्बन्धित निकाय किन मौन बसेको हो ? बुझ्न सकिएन।

- यज्ञबहादुर कार्की,

मन्थली, रापेछाप



कोरियन बुहारीको लहड

कोरयिन बुहारी बन्ने लहडले हाम्रो समाज कतिसम्म पैसामुखी हुँदै गएको छ भन्ने छर्लंग पारिदिएको छ (कोरियन भुलभुलैया, २९ पुस)। विदेश पुगेपछि मालामाल भइन्छ भन्ने सोचमा उभिएको यस्तो प्रचलन म्यारजि ब्युरोका माध्यमबाट एक प्रकारको चेलीबेटी बेचबिखन नै हो । त्यसैले यस्ता म्यारजि ब्युरोलाई नियमन गर्नु जरुरी छ। अर्को कुरा, नेपालबाट विवाह गरेर दक्षिण कोरिया पुगेका महिलाको सामाजिक र आर्थिक सुरक्षाको अवस्था कस्तो छ भन्ने कसैले लेखाजोखा गरेको छैन। कोरियामा नेपाली महिलामाथि अत्याचार भइराखेको कुरा बेलाबेखत सुनिँदै आएका छन् । त्यसैले यस्तो विकृति रोक्न सरकारी तवरबाटै पहल हुनु जरुरी छ।

- कर्मा तामाङ

जोरपाटी



मारमा पुलिस

जारी सहिद स्मारक लिगमा तीन-तीनपटकको 'ए' डिभिजन लिग विजेता नेपाल पुलिस क्लबको प्रदर्शनबारे बेलैमा समीक्षा आवश्यक छ (पहिरोमा पुलिस, २९ पुस)। सामान्य र कमजोर भनिएका टिमहरूले धमाधम विदेशी खेलाडी राखेर आफूलाई बलियो बनाइरहेका बेला विभागीय टिमले घरेलु खेलाडीको मात्र भर पर्नुपर्ने अवस्था छ। जबसम्म यो नियम कायम रहन्छ, त्यसको मार पुलिसले खेपिरहनुपर्नेछ। त्यसैले अब पुलिसले पनि विदेशी खेलाडी भित्र्याउन पाउने नियम बनाउनुपर्छ मौजुदा अवस्थामा पुलिसले खेलाडी गुमाउने अवस्थापनि छ । जस्तो : पुलिसले भरत खवासजस्ता खेलाडी गुमायो। र, अरू केही खेलाडी पनि टिम छाड्नका लागि उपयुक्त अवसरको खोजीमा छन् भन्ने सुनिँदै छ। यदि पुलिसले आफ्ना राम्रा खेलाडी गुमाउने र विदेशी खेलाडी प्रवेश गराउन नपाउने हो भने स्वाभाविक रूपमा यो टिम पहिरोमा पर्छ।

- रूपक थापा

महाराजगन्ज, काठमाडौँ



खाँचो सक्षम कलाकारको

नेपाली सिने वृत्तमा प्रतिभाशाली अभिनेत्रीहरूको प्रवेश सुखद हो ('हिरोइक' हिरोइन, २९ पुस)। तर, संकटमा रहेको सिनेमा व्यवसायलाई अभिनेत्रीहरूको क्षमताले पार लगाउन सक्ने अवस्था छैन। ९८ प्रतिशत नेपाली फिल्म फ्लपको सूचीमा पर्छन्। अझै पनि लहड र रहरका भरमा मात्र फिल्म बनाउने परिपाटी रोकिएको छैन। मुर्गा संस्कृति निमिट्यान्न नभएको अवस्थामा सक्षम कलाकारको उदयभन्दा पनि फिल्मवृत्तलाई व्यावसायिक सोच भएका निर्माता निर्देशकको खाँचो छ। नेपाली फिल्मको बजार फैलाउन सक्ने राम्रा सिनेमाको उत्पादन भएको खण्डमा मात्र यस्ता ऊर्जाशील अभिनेत्रीहरूको कामको कदर हुनेछ।

- रामहरि अधिकारी

पोखरा



घरघरमा चेतना

महिला हिंसा समाजमा गहिरँिदै गएको समस्या हो (चेलीको चीत्कार, २२ पुस)। केवल नाराबाजी, विरोध प्रदर्शन र कानुन बनाएर मात्र हाम्रा चेली सुरक्षित हुँदैनन्। त्यसका लागि घरघरमा चेतनाको विकास हुनुपर्छ। महिला सुरक्षा 'पुलिस प्रोटेक्सन'भन्दा पनि शिक्षा र संस्कृति-सभ्यताको विषय हो। जबसम्म महिलालाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहार र उनीहरूको अधिकारका पक्षमा परविर्तन आउँदैन, तबसम्म महिलाका लागि सुरक्षित समाजको परकिल्पना व्यर्थ छ। त्यसैले यो विषयको गाम्भीर्यलाई मियो बनाएर जागरणको अभियान सुरु हुनुपर्छ। त्यतिबेला बल्ल हामीले परविर्तनको भेउ पाउन सक्छौँ।

- कल्पना कोइराला

मकवानपुर



कमजोर प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नै कारणले अप्ठ्यारोमा परेका हुन् (अप्ठ्यारोमा अध्यक्ष, २२ पुस)। अघिल्लोपटक झलनाथ खनाललाई प्रधानमन्त्री चयन गर्दा उनले गोप्य रूपमा गरेको सातबुँदे सहमति चमत्कारका रूपमा बाहिर आए पनि यसपटकको सत्ता समीकरणको खेलमा भने उनी निरीह मात्र देखिए। पछिल्लो 'कोर्स'मा उनले कुनै अडान राख्न सकेको देखिएन। प्रचण्डले पटक-पटक आफ्नो बोली फेर्ने काम गरे। कहिले संविधानसभा पुनःस्थापना त कहिले चुनावी सरकारको रटानमा लाग्ने प्रचण्डले विपक्षीहरूसँग एक थोक र सत्तापक्षसँग बस्दा अर्को थोक भनिरहे। यसले उनलाई दलहरूबीच विश्वासको पात्र बनाउन सकेन।

अर्को कुरा, प्रचण्डका लागि आफ्नै पार्टी अध्यक्ष बाबुराम भट्टराईले नेतृत्व गरेको सरकार ढाल्नु भनेको सहज कुरा हुँदै होइन। पार्टीभित्रको दबाब मात्र उनका लागि प्रतिकूल नभएर राजनीतिक हिसाबले पनि अस्वाभाविक प्रकृतिको देखियो। बाबुरामले आफ्नो पद र साख जोगाउन ढाल बनाइरहेको मधेसी मोर्चाले त झन् प्रचण्डलाई विश्वास गर्ने र उनको योजनालाई साथ दिने कुरै रहेन। यस अर्थमा प्रचण्डले जहिले पनि बाबुरामलाई कमजोर आकलन गरेको देखियो।

- हेमन्त केसी

पाटन



साइकलमा सेनापति

प्रधानसेनापति गौरवशमशेर राणाले आफ्ना अधिकृतलाई हप्ताको एक दिन साइकल चढेर कार्यालय पुग्नुपर्ने नियम बनाएर ठीकै गरेका छन् (मात्र प्रचारबाजी, २२ पुस)। उनले गरेजस्तो काम कर्मचारी, राजनीतिक नेता, उद्योगी, व्यवसायी र शैक्षिक वृत्तका व्यक्तिहरूले मात्र अनुसरण गर्ने हो भने काठमाडौँको सवारी चाप कस्तो हुँदो हो ?

हामीले सही र राम्रो नियतले गरेका कामलाई आलोचना गर्नुपर्दैन। सकिन्छ भने त्यसको अनुसरण गर्ने हो। सकिँदैन भने भाँजो हाल्ने काम नगर्ने हो। अहिले काठमाडौँलाई साइक्लिङ्मैत्री बनाउनुपर्ने अवस्था छ। सडकको छेउमा निर्बाध रूपमा साइकल चलाएर हिँड्ने परिस्थिति भयो भने मात्र यो सहर वातावरणका हिसाबले उपयुक्त हुनेछ। बरू यतातिर ध्यान दिऔँ, सस्तो प्रचारबाजी भनेर आलोचना नगरौँ।

- हेमन्त बुढाथोकी

विदुर, नुवाकोट

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar