जीवनको दौडधूपमा बन्दीपुरबाट काठमाडौँ, काठमाडौँबाट लन्डन र लन्डनबाट अमेरिका हुँदै पुनः नेपाल आइपुगे चीजकुमार श्रेष्ठ, ६९। पाइताला जहाँ पुगे पनि उनको मन भने सधैँ बन्दीपुरमै अडिरह्यो। बन्दीपुरसँगको अनौठो प्रेमले उनलाई अन्तको हुनै दिएन। बरू, उनको नामअगाडि कुनै उपाधिजस्तो बन्दीपुरे शब्द झुन्डिरह्यो।
छिमेकी गाउँ मिर्लुङकोटमा जन्मेका श्रेष्ठको पूरै बाल्यकाल बन्दीपुरमै बित्यो। आठ कक्षा पास गरेपछि उनी काठमाडौँ आइपुगे। आईएस्सी पढ्दापढ्दै बन्दीपुर फर्केर लगातार १० वर्ष दुईवटा स्कुलमा हेडमास्टर भए। त्यति नै बेला बि्रटिस काउन्सिलको छात्रवृत्तिमा लन्डन जाने अवसर पाए। अंग्रेजी भाषा शिक्षणमा स्नातकोत्तर गरे। लगत्तै, पिसकोरको जागिरे भएर अमेरिका हान्निए। त्यसपछि नेपालमा सात वर्ष पिसकोरमै काम गरेर बिताए।
पिसकोरको जागिर छाडेपछि उनी वल्र्ड एजुकेसन फाउन्डेसन नामक गैरसरकारी संस्थामा आबद्ध भए। जागिरे यात्रा जता मोडिए पनि बन्दीपुरको गाढा सम्झना कहिल्यै हराएन। हरायो त केवल बन्दीपुरको रौनक र चहलपहल। २०२५ सालमा जिल्ला सदरमुकाम दमौली सरेपछि भोट र मधेसको व्यापारकि ढोकाको रूपमा रहेको बन्दीपुर सुक्यो। मानिसहरूले धमाधम बसाइँ सरे। सिंगो बजार उजाडियो र उनको मन कुँडियो।
०४९ सालमा उनले बन्दीपुर मूल घर भएर काठमाडौँ बस्नेहरूलाई संगठित गरेर बन्दीपुर सामाजिक विकास समिति गठन गरे। त्यो समितिमा अहिले काठमाडौँ बस्ने चार सय परिवार संगठित छन्। उनीहरूले वर्षमा एकपटक जसरी भए पनि बन्दीपुर जाने र आफ्नो सीप र योग्यता अनुसार बन्दीपुरको सेवा गर्ने नियम नै बनाएका छन्। भन्छन्, "थातथलो छाडेर भविष्यको खोजीमा हिँडेकाहरूले थोरै मात्र योगदान गर्ने हो भने पनि पुख्र्यौली गाउँ बनाउन ठूलो कसरत पर्दैन।"
उनकै अगुवाइमा अहिले बन्दीपुरको अस्पताल सुविधासम्पन्न बनिसकेको छ। जापानीको सहयोगमा सञ्चालित नोर्टिड्याम स्कुललाई निरन्तरता त दिएकै छन्, बन्दीपुरभरिमा चारवटा कम्युनिटी लर्निङ् सेन्टरसमेत स्थापना गरेका छन्। फलतः ओझेलमा परेको बन्दीपुर अहिले चर्चित पर्यटकीय गन्तव्य बनेको छ।
काठमाडौँका स्थायी बासिन्दा भए पनि उनले बन्दीपुरको पुख्र्याैली घरलाई सिँगारेर राखेका छन्। कम्तीमा पनि वर्षको आधा दर्जनपटक दुई-तीन दिन बस्ने गरी बन्दीपुर पुग्छन्। स्कुल, पुस्तकालय, बजार व्यवस्थापन समिति, अस्पताल घुम्छन्, छलफल गर्छन् र आवश्यकता पहिल्याउँछन् र काठमाडौँ फर्किन्छन्। बन्दीपुरेहरूका निम्ति उनी सर्वस्वीकार्य व्यक्तित्व हुन्। त्यही भएर त दुई वर्षअघि मात्रै बन्दीपुरेहरूले उनलाई नागरकि अभिनन्दन नै गरेका थिए।
सामाजिक विकास समितिकै अगुवाइमा उनीहरूले बन्दीपुरलाई हेरिटेज शैलीको सहर बनाएका छन्। मल्लकालीन नेवारी शैलीका घरहरूलाई पुरानै शैलीमा पुनःनिर्माण गरेका छन्। घर-घरमा होमस्टे र होटल, लज व्यवसाय सुरु गरेका छन्। भन्छन्, "बन्दीपुरको सम्भावनालाई हामीले चिनाइदिएका मात्रै हौँ, सबै काम त स्थानीयले नै गरेका हुन्।"
०२५ सालताका भक्तपुरका नेवारहरूले मनाउने जस्तै बिस्केट जात्राको सानो स्वरूप बन्दीपुरमा पनि थियो। ढोलक र पञ्चेबाजा बजाउनेहरूको ताँती नै हुन्थ्यो। मगरको चुड्का र नेवारको डोको र लाखे नाच चल्थ्यो। तर, आधुनिकताको दौडमा सांस्कृतिक धरोहर हराए। समितिले अहिले ती सबै सांस्कृतिक पर्वलाई ब्यूँताएको छ। भन्छन्, "मौलिकता ब्यूँतिएपछि बन्दीपुर फेरि सबैको प्यारो भएको छ।"
जागिरे जीवनले जोडेका सम्बन्ध, सम्पर्क र भेटेका अवसर सबै उनी बन्दीपुरमै लगेर खन्याउँछन्। उनले नै त्यहाँका ४० दलित विद्यार्थीलाई बर्सेनि छात्रवृत्ति दिइरहेका छन्। उनकै अगुवाइमा पाँच वर्षपहिले अमेरिकामा बस्ने बन्दीपुरेको संस्था गठन भएको छ। त्यस्तै अभ्यास बेलायतमा पनि हुँदै छ। भन्छन्, "जो जहाँ भए पनि केही योगदान गर्ने हो भने गाउँका दुःख हटाउन सकिन्छ।"
जब श्रेष्ठ काठमाडौँमा आत्तिन्छन्, तब हुर्रर्िएर बन्दीपुर पुग्छन् अनि चैनको सास फेर्छन्। बच्चादेखि बूढासम्मको न्यानो मायाले उनलाई उतै बसौँ बसौँ लाग्छ। बुढेसकाल बन्दीपुरमै बिताउने मन छ उनलाई। विरानो बन्दीपुरलाई ब्यूँताउन उनले अनगिन्ती काम गरेका छन्। भन्छन्, "अझै धेरै गर्न बाँकी छ।"
तपाईंको प्रतिकृया