बिमामा उत्साह

दोस्रो त्रैमासको अन्त्य नजिकिँदै जाँदा सेयर बजारको शिथिलता बढ्दै गएको छ। कुल पाँच दिन भएको कारोबारमा चार दिन राता अंक देखापरे। नेप्से घटिरह्यो। तर, साताको अन्तिम दिनको अन्तिम कारोबार समयमा भने बजार केही सकारात्मक बन्न पुग्यो। २६ पुसमा बजार ३ दशमलव ४७ अंकले बढ्यो। गत साता नेप्स परिसूचक समग्रमा ४ दशमलव ६६ विन्दुले घट्यो। अघिल्लो साता परिसूचक ७ दशमलव ५१ विन्दुले घटेको थियो।

गत साता पनि सेयर बजारमा बिक्री चाप बढ्यो। कारोबार रकममा सुधार आउन सकेन। यसको प्रमुख कारण रह्यो, ब्याज तिर्न ऋण लिएर लगानी गरेका लगानीकर्ताले बिक्री बढाउनु र त्रैमासको अन्त्यमा बंैक तथा वित्तीय संस्थाले मार्जिन ऋण नबढाउनु। तर, आगामी साताबाट कारोबारमा केही सुधार आउनेछ। माघ लागेपछि सेयर बजारमा ऋणको प्रवाहमा वृद्धि हुनेछ। केही समयदेखि घट्दै आएको सेयरको सस्तिँदो मूल्यप्रति लगानीकर्ताको आकर्षण थपिने हुन्छ। यसबाहेक सिभिल बैंकको प्राथमिक निष्कासनमा बाँडफाँटमा नपरेका तथा आंशिक बाँडफाँटमामा परेका आवेदकको फिर्ता हुने रकमले पनि बजारमा तरलता वृद्धि गर्नेछ, जसको सकारात्मक प्रभाव दोस्रो बजारमा पर्नेछ।



समग्र बजार शिथिल बने पनि गत साता बिमा क्षेत्र भने उत्साहित देखियो। यसको प्रमुख कारण रह्यो, बिमा कम्पनीको पुँजी वृद्धिको प्रसंग। बिमा समितिका अनुसार जीवन बिमा कम्पनीले आगामी असार मसान्तसम्म चुक्ता पुँजी न्यूनतम ५० करोड र निर्जीवन बिमा कम्पनीले न्यूनतम २५ करोड पुर्‍याउनुपर्छ। नेपाल स्टक एक्सचेन्जको २६ पुससम्मको सूचीकृत कम्पनीको पुँजी विवरण अनुसार सूचीकृत कुनै पनि बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी पुगेको छैन। यसैकारण पछिल्ला वर्षमा बिमा कम्पनीले लाभांश वितरणमा बोनस सेयरलाई प्राथमिकता दिइरहेका छन्। बिमा समितिले पनि नगदभन्दा बोनस सेयर वितरण गर्न दबाब दिइरहेको पाइन्छ। आवश्यक पुँजी बढाउन बिमा कम्पनीले बोनस तथा हकप्रद सेयर जारी गर्ने अपेक्षाका कारण अहिले बिमा कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दो छ। यो अझै केही समय कायम रहने देखिन्छ।

गत साता बिमा कम्पनी समूहको परिसूचक ४८ दशमलव ३५ विन्दुले बढेर साताको अन्त्यमा ८ सय ४ दशमलव ९७ विन्दुमा गएर बजार बन्द भएको छ। सन् २०१२ मा बिमा समूहको परिसूचक ३ सय ६० अंक अर्थात् ९२ प्रतिशतले बढेको छ।  हाल नेप्सेमा २१ वटा बिमा कम्पनी सूचीकृत छन्। जसमा १३ वटा निर्जीवन, सातवटा जीवन र एक संयुक्त बिमा कम्पनी छन्। नेपालमा कुल २५ वटा बिमा कम्पनी सञ्चालनमा छन्, जसमा १६ निर्जीवन, आठ जीवन र राष्ट्रिय बिमा संस्थानले दुवै बिमा कम्पनीको काम गररिहेको छ।

(भट्टराई सेयर बजार विश्लेषक हुन्।)

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar