प्रदीप बस्याल

चिचिलाको बेहाल


  • इँटाभट्टा परिसरका अस्थायी घर (झ्याउली)को कष्टकर बसाइ

भक्तपुर, नङखेलस्थित गंगाजमुना इँटाभट्टामा काम गर्ने सन्तोषी मानन्धर, २४, लाई तीन हप्ताकी छोरी वैशाखसम्म कसरी स्याहार्ने भन्ने पिरलो छ। कारण, खनियापानी, रामेछापकी सन्तोषीले गत वर्ष त्यहीँ काम गर्दा आफ्नी तीनमहिने छोरी खाल्टोमा खसेर गुमाएकी थिइन्। भन्छिन्, "काम नगरे के खाने ? गर्‍यो, बच्चाको रेखदेख गर्न पाइँदैन।" सन्तोषी दम्पतीलाई इँटाभट्टामा ६ महिना काम गरेको पैसाले अर्को ६ महिनासमेत गुजारा चलाउनुपर्ने बाध्यता छ। यता आएकै कारण घरबारीसमेत बाँझै छ ।

यसपटक सन्तोषीकै नियति दोहोरियो, भक्तपुरकै महामञ्जुश्री इँटाभट्टा उद्योगमा। तीनवर्षे छोराको भट्टामै पानी जम्मा भएको खाडलमा परेर ज्यान गएपछि फूलबारी, काभ्रेका अर्जुन परियार दम्पती भने विरक्तिएर घर फर्केको छ। इँटाभट्टामा चोटपटक लाग्ने र घाइते हुने बालबालिकाको त गणना नै छैन।

उपत्यकामा १ सय १० वटा इँटाभट्टा छन्। यस वर्ष त्यहाँ कामका लागि ७ सय ३२ परिवार काठमाडौँ उपत्यका छिरेकामा १४ वर्षमुनिका बालबालिकाको सङ्ख्या १ हजार १ सय ६७ रहेको बाल विकास केन्द्रको तथ्यांक छ। अभिभावकहरूले काँचो इँटा फर्काउने र त्यसलाई चाङ लगाउने ठाउँसम्म पुर्‍याउने काममा आफ्ना छोराछोरीलाई लगाउँछन्। त्यसबाहेक भाइबहिनीको स्याहारसुसारमा खटिन्छन्।

इँटाभट्टा सामान्यतः पानी नपर्ने समय मात्र चल्छ। यो लगभग ६ महिने मौसमी काम हो। इँटा पार्ने काममा छिमेकका काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, उदयपुर जिल्लाबाट आएकाहरू बढी छन्भने बोक्ने काममा दाङ, रोल्पा, सल्यानलगायत जिल्लाका छन्।

इँटाभट्टामा काम गर्ने परिवार अति विपन्न अवस्थाका हुन्छन्। त्यसैले उनीहरू घरमा ताल्चा लगाएरै ६ महिनाका लागि काठमाडौँ बसाइँ सर्छन्। सिन्धुपाल्चोक, लिहालेङका कमल जोशी, ११, ले यसपटक पुनः कक्षा दोहोर्‍याउँदै छन्। चार कक्षामा पढिरहेका उनले ११ महिने भाइलाई हेर्नुपररिहेको छ। उनकी १३ वर्षकी दिदी रीनाले पनि भाइको स्याहारसुसार र घरको कामले गर्दा पढाइलाई निरन्तरता दिन सकेकी छैनन्। आमा माया जोशी भन्छिन्, "यहाँ आएपछि छोराछोरीले सानैदेखि काम सिक्छन्, त्यही राम्रो हो।"

दुई महिनाकी छोरी च्यापेर गत महिना काठमाडौँ छिरेकी बगरवास, रामेछापकी रीता श्रेष्ठले आफ्नो आठवर्षे भान्जालाई समेत ल्याएकी छन्। दिनभर रीताकी छोरी हेर्नुपर्दा भान्जासमेत स्कुल जान पाउँदैनन्। बालबालिकाको अन्धकार भविष्य त आफ्नो ठाउँमा छँदै छ, इँटाभट्टाको प्रदूषणबीचमै सुत्केरी र शिशु हुर्किन्छन्। सुत्केरी हुनु केही दिनअघिसम्म र सुत्केरी भएको केही दिनपछि नै महिलाहरू काममा लाग्छन्। यसरी स्याहार नपाउने केटाकेटीमा माटो खाने समस्या पाइएको छ।

त्यसमाथि इँटाभट्टा परसिरका अस्थायी घर (झ्याउली)को बसाइ निकै कष्टकर छ। कठ्यांगि्रँदो जाडोमा कतै छड्के टिन बारेर त कतै काँचो इँटाकै घर बनाएर बस्छन् उनीहरू। पराल र इँटाको खापमाथि सुत्छन्। एक त त्यहाँ बिजुलीबत्ती हुँदैन, अर्कोतिर टिनबाट शीत चुहिन्छ। काखे छोरा च्यापेर आएकी काभ्रे, भकुन्डेबेँसीकी लक्ष्मी तामाङका अनुसार काम गर्दा बच्चा नरोएसम्म ऊ के गर्दै छ ख्याल नै हुँदैन। भन्छिन्, "के गर्नू, गरबिको छोरा माटो खाएरै हुर्कनुपर्छ भनेर चित्त बुझाउँछौँ।"

कामको हिसाबकिताबसमेत इँटाको संख्याका आधारमा हुने हुँदा समय खेर फाल्न चाहँदैनन् उनीहरू। काठमाडौँका इँटाभट्टामा प्रतिहजार इँटा पारेको ६ देखि ७ सयसम्म पाइन्छ। कस्सिएर काम गर्दा एक दम्पतीले दिनमै २ हजार ५ सय रुपियाँसम्म कमाउँछन्। त्यही भएर बालबालिकाको स्याहारभन्दा इँटाको संख्या बढाउनमै उनीहरू कस्सिन्छन्। उनीहरू १८ घन्टासम्म काममा खटिने गरेको पाइएको छ।

गर्भवती वा मसिना बालबालिका भएका परविारलाई भट्टामा ल्याउन निरुत्साहित गर्न इँटाभट्टा सञ्चालक राजी भए पनि नाइके प्रथाका कारण त्यो प्रभावकारी हुन सकेको छैन। यहाँ कुनै एक व्यक्तिलाई खटाएर बाहिरी जिल्लाबाट कामदार ल्याउने चलन छ। भट्टा सञ्चालकहरूले दसैँअगावै नाइकेलाई मोटो रकम दिएर गाउँगाउँ पठाउँछन्। तिनले चाडपर्वको मेसोमा पछि काठमाडौँ आउने परिवारलाई सदस्य संख्या हेरीकन २० हजारदेखि एक लाख रुपियाँसम्म बिनाब्याज ऋण दिन्छन्।

"त्यही ऋण चुकाउन तीन पुस्तासम्म एकैसाथ काठमाडौँ छिर्छन्," इँटाभट्टामा महिला तथा बालबालिकाको प्रयोगसम्बन्धी अध्ययन गररिहेका युवराज रोक्का भन्छन्, "काठमाडौँ आइसकेपछि मात्र कामदारबारे थाहा हुने हुँदा सञ्चालकहरूले केही गर्न सक्दैनन्।" यहाँका आधाजसो परिवारसँग पाँच वर्षमुनिका कम्तीमा एक बालबालिका छन्।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

प्रदीप बस्यालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar