सञ्चार र प्रविधिका कारण सिंगो विश्व खुम्चिएर एउटा सानो टोलजस्तो भएको छ। त्यसैले हामी पहिलेका पुस्ताभन्दा बढी जान्नेसुन्ने भएका छौँ। जीवनका यावत् पक्षमा निकै चलाख भएका छौँ। ग्लोबल सिटिजन भएका छौँ र त्यसले गर्दा बेलाबखत संसारका अरू स्थानमा हुने कुराबाट प्रभावित भएर त्यसलाई यहाँ पनि निरन्तरता दिने गर्छौं। तर, नक्कल गर्दा अक्कल पनि पुर्याउनुपर्छ भन्ने बिस्र्यौं भनेचाहिँ ड्याङ खान बेर लाग्दैन।
पछिल्लो केही वर्षदेखि मार्चमा हामीले एउटा अनौठो आह्वान सुन्ने गरेका छौँ, बत्ती निभाउने। सन् २००७ मा सिड्नीका २२ लाख घर तथा व्यापारकि प्रतिष्ठानहरूले एक घन्टा बत्ती निभाएर सुरु गरेको र अर्थ आवर नाम दिइएको यो अभियानमा २००८ मा पाँच करोड बत्ती निभे रे ! त्यसपछि अमेरकिाका विभिन्न सहर पनि यसमा सहभागी भएका रहेछन्। अभियान अन्तर्गत २०१२ मा आइपुग्दा एक दिन एक घन्टा बत्ती निभाउनेहरूको संख्या एक अर्ब नाघेको थियो भनिन्छ। २०१३ को मार्च २३ मा पनि बेलुका साढे ८ देखि साढे ९ सम्म अर्थ आवरका नाममा बत्ती निभाउने कार्यक्रम तय भइसकेको छ। विगतमा जस्तै केही व्यक्तिले नेपालीलाई पनि यो ऐक्यबद्धताको सञ्जालमा उन्नका लागि पहल गर्ने नै छन्। आफूलाई सम्भवतः ग्लोबल सिटिजनको दर्जामा राख्ने मानसिकताको यो उपज हाम्रो परिवेशमा कति सान्दर्भिक आह्वान होला?
बढीभन्दा बढी मानिसहरू सार्थक उद्देश्यका लागि जागरुक होऊन् र एकजुट बनून् भनेर ध्यान तान्ने किसिमका सामूहिक कार्य संसारमा नहुने होइनन्। तर, सबै समाज, संस्कार, परिवेश र परिस्थितिमा सबै तरिका कार्यान्वयन गर्न सकिन्न र गर्नु पनि हुँदैन। पश्चिमा मुलुकहरूमा कहिलेकाहीँ यस्ता कार्यका लागि हजारौँको संख्यामा युवकयुवती नग्न भएर पनि प्रदर्शन गर्छन्। बेलायतमा पशु अधिकारका लागि एक शाकाहारी कलाकारले बकुल्ला चराको मासु खाएर त्यस्तो जनसमर्थन जुटाउन खोजेका थिए। सिलमाछाको सिकार बन्द गर्नका लागि स्पेनको मेडि्रडमा सयभन्दा बढीले नग्न प्रदर्शन गरे। बूढाबूढी, तरुनातरुनी सबै त्यसमा सहभागी भए। क्यालिफोर्नियामा रंगशालाको निर्माणका लागि थुप्रै रूख काटिन लागेका बेला पनि व्यावसायिक फोटोग्राफर र मोडलहरू मिलेर नग्न प्रदर्शन गरेका थिए। त्यसो भन्दैमा के हामीले पनि वसन्तपुर अथवा टुँडिखेलमा चाहे जतिसुकै राम्रो कारणका लागि किन नहोस्, नग्न प्रदर्शनका लागि आह्वान गर्न मिल्छ?
ग्लोबल वार्मिङ्को हामीले विरोध गर्नुहुँदैन भनेर त कुनै मूर्खले भन्दैन तर त्यसका लागि विश्वले मनाउने अर्थ आवर हामीले पनि मनाउनुपर्छ भन्ने कुरा अक्कल नपुगेको नक्कलबाहेक अरू केही होइन। हामीले त यसै पनि वर्षैभरि झनै चर्को अर्थ आवर मनाइरहेका छौँ। दिनको धेरै घन्टा बत्ती निभेर हाम्रो जनजीवन अस्तव्यस्त भइसकेको छ। हामी कुन दिन कुन बेलाचाहिँ बीचमा तीन घन्टा बत्ती आउँछ र त्यसबेला कसरी अत्यावश्यक काम सकाउने भनेर बसेका हुन्छौँ। यस्तो बेलामा कुनै संस्थाले आफ्नो सामाजिक चेतना र जागरुकता स्थापित गर्नका लागि उज्यालोको अभावमा पिल्सिरहेका नेपालीलाईर् बत्ती निभाउन र अरू अँध्यारोमा जाक्न अनुरोध गर्छ। त्यस्तो अनुरोधको पछि केही मानिस लाग्छन्।
माफ गर्नूस् महाशयहरू ! यहाँहरूलाई सायद लोडसेडिङ्ले फरक परेको छैन होला। किनभने, जेनेरेटर, इन्भर्टर वा अन्य कुनै वैकल्पिक स्रोत जुटाएर झलमल्लमै बाँच्नुभएको छ होला। तपाईंहरूलाई न इन्धनको अभावले फरक पर्छ, न त महँगीले केही असर गर्छ। सर्वसाधारणका बारेमा पनि यहाँहरूले एकपटक सोच्नुभएको छ? यसै पनि देशका अधिकांश स्थानमा त्यो दिन र समयमा आफैँ अर्थ आवर मनाइदिएको हुन्छ, विद्युत् प्राधिकरणले। कतै कतै त्यसबेला बत्ती आउने तालिका रहेछ भने बिचराहरूका लागि लामो प्रतीक्षापछि आएको क्षण हुन्छ त्यो। त्यही तीन घन्टा आउने बत्तीमा पनि एक घन्टा निभाउन अनुरोध गर्नु भनेको कति मूर्खतापूर्ण कुरा हो?
सबैथोकले पुगिसरि आएका मान्छेहरूले सन्काहा काम गर्न सक्छन्, गर्ने पनि गर्छन्, जसलाई अंग्रेजीमा इडियोसिंक्र्यासी भनिन्छ तर सर्वसाधारणले चाहेर पनि गर्न सक्दैनौँ। चाहे जेसुकैका लागि होस्, बाँकी विश्वले जेसुकै गरोस्, हाम्रो देशमा अहिलेको अवस्थामा बत्ती निभाउने आह्वान आमनागरकिप्रति असंवेदनशील आह्वान हो। बाघले सिकार गर्ने बेला पहिले आँखा रातो बनाउँदो रहेछ भन्ने सिकेर कुनै एउटा गधाले पनि आफ्नो आँखा त्यस्तै पारेर अर्ना भैंसीलाई हमला गर्दा उसको के गति भएको थियो भन्ने कथाजस्तै हो हाम्रो लागि अर्थ आवर।
सारा संसारलाई पिरोलेको यो समस्याप्रति हामी पनि संवेदनशील हुनुपर्छ, ऐक्यबद्धता जनाउनुपर्छ तर त्यसका लागि हामीले अरू उपाय अपनाउन सक्छौँ। जनतालाई बत्ती निभाउन होइन, विद्युत् प्राधिकरणलाई त्यो दिन कतै बत्ती ननिभाएर ऐक्यबद्धता देखाउन अनुरोध किन नगर्ने? अनि, बरू सोचौँला एक घन्टा निभाउने कुरा। त्यसै निभिरहेको बत्तीलाई के निभाउनू? त्यो हुन सकेन भने बरू सबैले मैनबत्ती बालेर उज्यालो गर्ने अनुरोध किन नगर्ने? विकसित मुलुकका मानिसलाई त एक घन्टा बत्ती निभाउने भनेको रमाइलो खेलजस्तो हो। तर, हाम्रा लागि भने त्यो थप एक घन्टाको पीडा हो। अर्काले हात्ती चढेको देखेर धुरी चढ्नाले के फाइदा हुन्छ? अरूका प्रथालाई अन्धो भएर पछ्याउनुको साटो अरूले पछ्याउने कुनै प्रथा हामी किन सुरु गर्दैनौँ ?
तपाईंको प्रतिकृया