- हरि अधिकारी
सानो संख्यामा रहेका नेपाली लघु-कथाकारहरूको समूहमा अग्रणी मानिने रवीन्द्र समीरका लघुकथाका ६ थान संग्रह प्रकाशमा आइसकेका छन्। उनले रचेका लघुकथा आमपाठकका बीच मात्रै होइन, साहित्यका पारखी समीक्षकहरू र विभिन्न साहित्यिक पुरस्कार निर्णायक समितिका सदस्यमाझ पनि पि्रय छन्। उनको अघिल्लो लघुकथासंग्रह अर्जुनदृष्टिले पद्मश्री साहित्य सम्मान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार पाएबाट पनि यस कुराको पुष्टि हुन्छ। पुरस्कारलाई उत्कृष्ट लेखनको एउटा आधार मान्ने हो भने समीर निःसन्देह श्रेष्ठ लेखक हुन्।
यहाँ चर्चा गर्न लागिएको समीरको छैटौँ लघुकथासंग्रह अणु र पहाडमा ६५ थान स-साना कथा संकलित छन्। यी लघु आकारका कथाहरूको विषयवस्तुका रूपमा रचयिताले समसामयिक नेपाली समाजमा विद्यमान जटिलता र तिनमा जेलिएका विभिन्न तप्का र तहका मानिसका व्यथाकथालाई नै टिपेका छन्। यस्ता खाले मसिना कथासँग जोडिएर आउने आकारगत सीमाका कारण लेखक कथाको चुरोलाई राम्रोसँग प्रस्ट्याउन नसकेर कतिपय ठाउँमा अलमलिएका भए तापनि उनले व्यंग्यको भरपूर प्रयोग गर्दै आजको नेपाली समाजको आधारभूत चरत्रि बन्दै गएको नक्कली जीवन-मूल्य र पाखण्डलाई सफलतापूर्वक उदांगो पारेका छन्। आजको नेपालको सर्वांग रूपमा विकृत बनेको राजनीति र त्यसको प्रभावबाट दूषित भएको मानसिकता र व्याप्त भएका विसंगति र असंगतिलाई कथाको झीनो तानाबानामा बुनेर उजागर गर्ने प्रयत्न गरेका छन् समीरले, यी लघुकथाहरूमा। यस मेसोमा कतिपय कथा साहित्यिक कलात्मक अभिव्यक्तिका नमुना हुनबाट हटेर प्रतिक्रियात्मक टिप्पणीमा सीमित भएका पाइन्छन्। यो लघुकथासँग अनिवार्य रूपले जोडिएर आउने जोखिम पनि हो। रवीन्द्र समीर कतिपय कथाहरूमा त्यो जोखिमबाट ग्रस्त भएका छन्।
रवीन्द्र समीरले नेपाली समाजमा व्याप्त आर्थिक विभेद, गरिबी र आममानिसका विवशतालाई झल्काउन यस संग्रहमा परेका कतिपय कथालाई अनावश्यक रूपमा नाटकीय बनाएका छन्। उनले यस्ता कथा कथ्न रोजेको मूल विषय राम्रै भए पनि त्यसको नाटकीकरणमा विश्वसनीयता आउन नसकेकाले पाठकले तिनलाई पढ्दा खल्लो अनुभव गर्न सक्छन्। 'फलफूल' भन्ने कथाको नायकले पैसा कम पर्ने भएकै कारण प्लास्टिकका फल किनेर लगेको, 'भोक' शीर्षकको कथाको पात्र मनबहादुरले खानेकुराको जोहो गर्न नसक्दा खाना नरुच्ने र पेट डम्म फुल्ने ग्यास्टि्रकको रोग लागोस् भन्ने कामना गरेको र 'जाल' लघुकथाको माझीले माछा मार्न जाँदा छोरो डुबेको पत्तै नपाई ठूलो माछा जालमा परेको भनी छोराको लास तानेको जस्ता कथाहरूलाई प्रभावोत्पादकताका दृष्टिले राम्रो मान्न सकिन्न।
समीरले यौनकेन्दि्रत विषयमा पनि कलम चलाएका छन्। साहित्यमा यौनलाई प्रवेश गराउन खोज्दा त्यसलाई मनोविज्ञानसँग घुलमिल गराएर भन्नुपर्ने कुरा लक्षणामा भन्न सक्यो भने मात्र त्यसले कलात्मक स्वाद दिन सक्छ। समीरका लघुकथाका हकमा भने तिनमा मनोवैज्ञानिक विश्लेषण तत्त्वको नितान्त अभाव भएका कारण तिनले पाठकलाई फिस्स हाँस्नेसम्म बनाउँछन् तर मर्ममै छोएर सोच्न बाध्य बनाउँदैनन्। 'कुण्ठा', 'चक्र', 'कालोरात' र 'होली'जस्ता कथा यौनवरपिरि घुमेका छन् तर तिनमा अर्थगाम्भीर्य र लाक्षणिक अभिव्यक्ति नहुँदा ती मार्मिक बन्नबाट चुकेका छन्।
संग्रहमा परेको 'लघुकथा' शीर्षकको सानो कथाका माध्यमबाट समीरले आफूले किन लघुकथा लेखनलाई नै पि्रय विधा बनाएको हो भन्ने बारेमा प्रस्टीकरण दिन खोजेका छन्। आजको समयमा मानिसहरूसँग लामालामा साहित्यिक रचना पढ्ने समय नहुने हुनाले त्यस्ता बेफुर्सदीहरूका लागि उपयुक्त पाठ्यसामग्री उपलब्ध गराउन लघुकथा लेख्न थालेको भन्ने लेखकको भनाइमा टिप्पणी गररिहन आवश्यक छैन। समीरले भने अनुसार उनका लघुकथाले लक्षित वर्गको सेवा पुर्याइरहेको पनि हुन सक्छ। तर, समीर मात्र होइन, नेपाली साहित्यमा लघुकथा लेखिरहेका अरू स्थापित कथाकारका लघुकथाहरूको समेत समग्रमा मूल्यांकन गरेर हेर्दा यो शैलीका कथाहरूको निश्चित सीमा भएको, यिनले साना कविताले उत्पन्न गर्ने गहन प्रभाव पैदा गर्न नसक्ने र यिनमा ज्यादाजसो लेखकको प्रतिक्रियात्मक विचारपक्ष प्रबल भई कलात्मक पक्ष ओझेलमा पर्ने देखिएको सन्दर्भमा यस शैलीकै महत्त्वको विषयलाई लिएर छलफल गर्नुपर्ने देखिन्छ।
अणु र पहाडमा संकलित लघुकथाहरूको स्तरमा एकरूपता छैन। कतिपय साना कथा चुट्किलाको कोटीमा र कमजोर छन् भने केही निकै सुन्दर र मार्मिक। 'मानसिकता', 'सहिद', 'नाम', 'कथा र व्यथा', 'परविर्तन', 'विवशता', 'तीन मोड'जस्ता लघुकथा तुलनात्मक रूपमा राम्रा छन्। जुन जुन लघुकथामा लेखकको आफ्नो भनाइ दबेको छ र कथाकै तानाबानाभित्र कथ्य प्रस्टिएको छ, ती प्रभावकारी बनेका छन्। कथ्यलाई प्रस्ट्याउन लेखक स्वयं व्याख्याताको भूमिकामा देखापरेका लघुकथाको प्रभाव कमजोर बनेको छ। रवीन्द्र समीरले यसका आधारमा आफूले लेखेका लघुकथाको स्वमूल्यांकन गर्नु राम्रो हुनेछ भन्ने परामर्श दिनु बेमुनासिब हुने छैन।
नेपाली समाजको बाह्यान्तरकि चरत्रिलाई राम्रोसँग बुझेका र मानवीय स्वभावको रौँचिरा केलाउन सक्ने लेखनमा हात राम्रोसँग बसिसकेका समीरजस्ता सर्जकले एउटा निश्चित दायरामा सीमित लघुकथाको विधामा मात्र सीमित नभई जीवन र जगत्लाई विस्तृत फलकमा प्रस्तुत गर्न सक्ने अरू मध्यम र बृहत् आकारका विधामा समेत हात हाल्नु उत्तम हुनेछ। आखिर लघुकथा पनि त आख्यानको महत्तम रूप उपन्यासको सूक्ष्मतम् स्वरूप नै त हो। अथवा अंग्रेजीमा सर्ट स्टोरी र नेपालीमा कथा भनिने लघु आख्यानको छोरोजस्तो न हो लघुकथा ।
अणु र पहाड
लेखक : रवीन्द्र समीर
प्रकाशक : पैरवी बुक हाउस
पृष्ठ : १०६
मूल्य : १५० रुपियाँ
द्वन्द्वको कारुणिक चित्रण
लोकसंगीतको क्षेत्रमा परिचित युवा हर्क खडायतले उपन्याससमेत लेखेर नयाँ परचिय बनाएका छन्। देशले हारेको युद्ध उपन्यासमार्फत उनले आफ्नो हिंसाविरोधी चिन्तनलाई स्थापित गर्न खोजेका छन् । उपन्यासको नाम नै यसको प्रमाण हो ।
माओवादीको सशस्त्र संघर्षकालमा नेपाली समाजले बेहोरेको भौतिक-अभौतिक क्षतिको सचित्र वर्णन हो, यो उपन्यास। हिंसाले आक्रान्त पारेको जीवन, खण्डित भएको मानवीय मूल्य र मान्यताप्रति उनले सहानुभूति दर्शाएका छन्। उपन्यासका मूलपात्र अमर र अन्य सहचरत्रिका मुखबाट उनले शान्तिको पक्षमा वकालत गरेका छन्।
उपन्यास पढ्दै जाँदा सुदूर र मध्यपश्चिम क्षेत्रको भूगोल, जनजीवन र संस्कृतिसँग पनि एकाकार भइन्छ। मानक नेपालीभन्दा भिन्नै लवजमा बोलिने त्यहाँको प्रादेशिक भाषिकाको प्रशस्त प्रयोग छ। साथै, ती शब्दको मानक नेपालीमा अर्थसमेत परिशिष्टमा दिइएको छ।
सशस्त्र द्वन्द्वले सबैभन्दा बढी प्रभाव पारेको क्षेत्र सुदूर र मध्यपश्चिमको जीवन द्वन्द्वको उत्कर्षकालमा कस्तो रह्यो भन्ने त उपन्यासमा छर्लंग पारिएको छ नै, त्यस क्षेत्रको आमजनजीवनका भित्री तहलाई समेत लेखकले उघारिदिएका छन्। विकट भूगोल, कष्टकर जीवनशैली, वर्षमा ६ महिना के खाऊँ र के लगाऊँको अवस्था, बाँकी ६ महिनाका लागि गाँस र कपास जुटाउन भारतमा सस्तो मजदुरी गर्नुपर्ने बाध्यता, महिला र बालबालिकाले त्यसबीच खेप्नुपर्ने थप दुःखकष्टको कारुणिक कथा यस उपन्यासमा उनिएको छ। राजनीतिक र आर्थिक अवसरमा मात्र होइन, साहित्यमा समेत पर्याप्त स्थान पाउन नसकेको यस क्षेत्रको जनजीवनलाई नेपाली साहित्यको मूलप्रवाहमा ल्याउने जमर्कोसमेत यस उपन्यासलाई मान्न सकिन्छ।
पत्रात्मक शैली, डेउडा र घाउटा संस्कृतिको प्रयोगले उपन्यासलाई थप जीवन्त बनाएको छ। सामाजिक कथामार्फत तत्कालीन राजनीतिक परिवेशबारे बोलिएको छ। समग्रमा यो द्वन्द्वकालीन नेपाली समाजको कारुणिक कथा हो। राजनीतिका नाममा गरिएको हिंसात्मक गतिविधिको सामाजिक असरको अभिलेख हो। शान्ति र समृद्धिकामी नेपाली युवाको प्रतिनिधि आवाज हो। हिंसा र द्वन्द्वका घातप्रतिघातप्रतिको बलियो असहमति हो।
- रामबहादुर रावल
देशले हारेको युर्द्ध
लेखक : हर्क खडायत
प्रकाशक : ओरियन्टल पब्लिकेसन
पृष्ठ : १५७
मूल्य : २०० रुपियाँ
जीवन र भोगाइका पाटाहरू
दुई दशक लामो काव्यिक इतिहास बोकेका छन्, कवि उत्तम भौकाजीले। यसअघि संयुक्त जमर्कोमा तीनवटा कृति दिइसकेका भौकाजी पछिल्लो समय गीत लेखनमा पनि जमेका छन्। जीवन र भोगाइका विविध पाटालाई आफ्ना सिर्जनाका बान्की बनाउन रुचाउने कवि भौकाजीको यसै वर्ष प्रकाशित कवितासंग्रह यात्रामा म पनिमा पनि यस्तै भाव-स्वभावका कविता संकलित छन्। छोटा तर सटीक कविता लेख्ने उनी समकालीन कविको जमातमा पृथक् शैली र प्रस्तुतिले चिनिने गर्छन्। यस संग्रहका ४५ वटा कवितामा पनि भिन्नभिन्न विषय र विविध शैलीमा देखापरेका छन् कवि। उदाहरणका लागि
जस्तो कि
'म' तिमीजस्तो भइदिएको भए
'म'
मजस्तो हुने थिइनँ
अथवा
'तिमी' मजस्तो भइदिएको भए
तिमी
'तिमी'जस्तै हुने थिएनौ,
बिलकुल
हामी एकअर्काका परिपूरक
साटासाटमा
हामी
'हामी'जस्तै हुने थिएनौँ।
संवेदनाहरूमा लफक्क भिजेर निस्केका उनका कविताहरू पढ्दै जाँदा पाठकको मनलाई स्पर्श गर्न पुग्छन्। कतिपय कविताले त पाठकलाई यस्तो लाग्छ, यो उसैका लागि लेखिएको कविता हो। उनका कवितामा भाव जति बेजोड देखिन्छन्, प्रस्तुतिको नौलोपनले गर्दा कविता पढ्दा अर्कै स्वाद र आनन्द प्राप्त हुन्छ। उनी कुनै कलाकारले बनाएको चित्रमा रङ चलाएजस्तो अक्षर र शब्द बडो मौलिक पाराले सजाउने गर्छन्। कतिले यस शैलीलाई कवितालाई लम्ब्याउने 'तरिका' पनि भन्लान् तर पारखी पाठकका लागि यो कविता प्रस्तुत गर्ने अनौठो अभ्यास हुन सक्छ।
कवि भौकाजीले अलि मिहिनत गरेका भए बोधगम्य र छरिता हुँदाहुँदै यस संग्रहका कविता अझ गम्भीर र मर्मस्पर्शी रूपमा आउन सक्थे। यो भनेको सम्भावनाको कुरा हो। यात्रामा म पनिभित्रकै अन्य कविताले यस सम्भावनाको अपेक्षा गर्छन्। यस कुराको स्वीकारोक्ति उनको यसै संग्रहको 'कविताको प्रसव'का पंक्तिहरूमा पनि धेरथोर भेट्न सकिन्छ। यद्यपि, यो कवितासंग्रहको शक्तिशाली कवितामध्येको एक हो। यस्तै कविताको लहरमा पर्ने अन्य कविताको नाम लिनुपर्दा 'मनहरू', 'मेरा सपनाहरू', 'आफैँसँग एक दिन', 'मेरी आमा', 'समय', 'फूल र फूलमाया' र 'अर्धांगिनी' संग्रहका पठनीय कविता हुन्। अझ यस संग्रहमा उनले व्यक्तिका बारेमा लेखेका कविता 'भक्तराज' र 'मञ्जुल र सिद्धिचरणहरू' आहारिसलाग्दा कविताहरू हुन्। बरू, यी कवितासँग प्रस्तुति र विषयका दृष्टिले शीर्षक कविता 'यात्रामा म पनि' तुलनीय छैन।
समग्रमा गीत-संगीतसँग निकटको नाता राख्ने यी कविका कतिपय कविताले गीतको मर्म र भाका बोकेका छन्। कविताभित्रको अर्को राम्रो पाटो यो पनि हो।
माफ गर फूलमाया !
मैले तिमीलाई
फूल ठानेर गल्ती गरेँ।
(फूल र फूलमाया)
र, यस्ता छोटा हरफमा कवि उत्तम भौकाजी अनन्त अभिव्यक्ति पोख्न सक्छन्। यसैको दसी हो, यो संग्रह।
- रमण घिमिरे
यात्रामा म पनि
लेखक : उत्तम भौकाजी
प्रकाशक : सांगि्रला बुक्स
पृष्ठ : ८१
मूल्य : १९९ रुपियाँ
तपाईंको प्रतिकृया