लक्ष्मण गाम्नागे

हामी वीर नेपाली


यो नेपाली शिर उचाली संसारमा लम्कन्छ जूनकीरीझैँ ज्योति बाली अन्धकारमा लम्कन्छ। यो गीत म हरेक दिन सुन्छु। कुनै न कुनै रेडियोले यो गीत बजाइरहेकै हुन्छ। हाम्रो वीरता झल्काउने यस्ता गीत सुनेर मेरो आङ गर्वले फुलिरहन्छ। हो पनि, हामीले हाम्रो शिर उचालिने कर्महरू गरेकै छौँ। अन्धकारमा जूनकीरीझैँ ज्योति बालेर अन्धाधुन्ध अघि बढेकै छौँ। हामीले हाम्रा वीरताका शंृखलामा नयाँ नयाँ आयाम पनि थपेकै छौँ। हाम्रो वीरत्वको प्रदर्शन अद्वितीय छ, अनुकरणीय छ।

देश र जनताका लागि हामी जस्तोसुकै बलिदान गर्न तत्पर छौँ। जनताको मुक्तिका लागि हामी जनताकै हाड, छाला, मासु, मुटु, मस्तिष्क, प्रेम, बाबु, आमा, पत्नी, छोराछोरी, भविष्य, सपना इत्यादि केही बाँकी नछाडी छिन्न सक्ने वीर जाति हौँ। हामी आफैँजस्तो चेतनशील मान्छेलाई उभिण्डो झुन्ड्याएर लट्ठी र सिस्नुपानीले हानी हानी कैयौँ दिनसम्म यातना दिँदा पनि मन नपग्लने कठोर र अदम्य आँट भएका जाति हौँ। जनताको मुक्तिका लागि जनताकै छोराछोरीलाई जिउँदै खाडलमा हाल्न नडराउने जाति हौँ। यस्ता डरलाग्दा वीरताका गाथाहरू छन् हामीसँग। वीरताको इतिहास बनाउने हाम्रो अभियान जारी नै छ।

हामी वीर नेपाली जाति। हामी दूधे बालिकाहरूलाई बलात्कार गर्न पनि हिचकिचाउँदैनाँै। हामी आफैँले जन्माएका छोराछोरीलाई जिउँदै आगो लगाएर भष्म पार्न सक्छौँ, जिउँदै खोलामा बगाइदिन सक्छौँ। त्यस्ता वीर र साहसी छाती भएका जाति हामी।

हाम्रो वीरताको बखान कसले गर्न सक्ने ? हामी भ्रष्टाचार, तस्करी, बलात्कार वा हत्यामा प्रमाणित भएर अपराध स्वीकार गरेरै थुनिएका आफ्ना नेता-कार्यकर्ताको रिहाइका लागि सडक जाम गर्छौं, ढुंगामूढा गर्छौं, रूख ढाल्छौँ, गाडी बाल्छौँ। अरूको के कुरा, राजनीतिक दलका शीर्ष नेताहरू, देशका मन्त्री, प्रधानमन्त्रीकै पदमा बसेर पनि हामी हत्याराहरूको रिहाइको माग गर्दै आन्दोलनको अगुवाइ गर्छौं। गृहमन्त्रीको पदमा बसेर प्रहरीका विरुद्ध प्रेस विज्ञप्ति जारी गर्छौं। हत्या गर्नेले वीरतापूर्वक हत्या गरेको स्वीकार गर्छ, तिनका नेताहरू अझ बढी वीरता प्रदर्शन गर्दै तिनीहरूले हत्या गरेको अस्वीकार गर्छन्। यस्ता वीर नेता संसारमा अन्त कतै होलान् त ?

हामी आफ्नो पुरुषार्थ देशभित्र मात्रै किन सीमित राख्थ्यौँ ? विदेशमा पनि नाम चम्काउँदै आएका हौँ। विदेशी भूमिमा बसेर हामी चरेसको व्यापार गर्छाैं। भित्रैदेखि रसि उठ्यो भने आफू बसेको घर तोडफोड गरेर ध्वस्त बनाइदिन्छौँ। हाम्रा पूर्वराजाका वीर छोरा, जो संयोग मिलेको भए नेपालका राजा हुन्थे, उनले त्यस्तो कर्म गरेको समाचार विदेशबाट आउँदा हाम्रो छाती गर्वले गमक्क गम्किन्छ। हाम्रो अनुहार अन्धकारमा पनि चमक्क चम्किन्छ।

हामी देशभित्र गरेका जस्तासुकै अपराध पनि पचाउन सक्ने सामथ्र्य राख्छौँ। पक्राउ नै पर्नुपरे यो नाथे नेपालमा किन पर्नु, बेलायतजस्तो ठूलो देशमा पर्छौं। अनि पो हाम्रो वीरताको गाथा  संसारभरि फैलिन्छ। हामी त्यस्ता पुरुषार्थी नेपाली। हामी त्यस्ता वीर गोर्खाली। हामी पुनः सगौरव यो गीत गाउँछौँ :

यो नेपाली शिर उचाली संसारमा लम्कन्छ

जूनकीरीझैँ ज्योति बाली अन्धकारमा लम्कन्छ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

लक्ष्मण गाम्नागेद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar