शून्य डिग्रीमा कठ्यांगि्रएको खलंगा बसपार्कमा बिहान साढे ८ बजेदेखि नै चहलपहल थियो। कालीकोट र सुर्खेत पुग्ने बसका चालक अमर खड्का, ३१, ले स्टेरङि्, गेयर र अगाडि राखिएको विश्वकर्मा बाबाको तस्बिर हातले छोएर ढोगे। अनि, बस स्टार्ट गरे। "अब हिँड्न लागेँ। चिन्ता नगर्नू," बसले सेतो धूवाँ फालेर इन्जिन तातुन्जेल उनले मोबाइलबाट श्रीमतीलाई सम्झाउन भ्याए।
खड्का सात वर्षदेखि बस चालक छन्। धेरै दुर्घटनाले 'मृत्युमार्ग'को डरलाग्दो उपमा पाएको जुम्ला-सुर्खेत मोटरबाटो खुलेदेखि नै उनी भीरको बाटोमा जोखिमपूर्ण ड्राइभिङ् गर्दै आएका छन्। खड्का भन्छन्, "कहिले कुन भीरबाट खसिने हो, पत्तो छैन। देवीदेउता भाकेर हिँड्नुपर्ने स्थिति छ। तर, भाग्य बलियो रै'छ। धन्य अहिलेसम्म सानो पनि दुर्घटना भोग्नुपरेको छैन।"
उनीझैँ दिक्क छन्, दीपक बम। "सातो जाने बाटोमा बस चलाउनु मजाक छैन," उनी भन्छन्, "ज्यानकै माया मारेर हिँड्नुपर्छ।" उनले बस स्टार्ट गर्नुअघि बसपार्ककै ज्योतिषीसँग ग्रहदशा देखाएका थिए। ज्योतिषीले ग्रहदशा राम्रै बताएपछि उनी मुस्कुराए। यहाँ बस, ट्रक र ट्रयाक्टरका चालकहरू मात्र होइन, धेरै यात्रुसमेत ज्योतिषीलाई ग्रहदशा हेराएर मात्र बस चढ्छन्। तीन दिन हवाई टिकटको लाइनमा बसेर नपाएपछि बस चढ्न आएका तलीउम-१ का डिल्लीराज हमाल भन्छन्, "बाटो कहालीलाग्दो छ। बाबुआमाले बसबाट जान दिँदैनन्।"
त्यसो त चालक बम कालीकोटस्थित थ्रीपुकै बासिन्दा हुन्। जुम्ला र कालीकोटका भीर राम्रै चिने पनि बस लिएर हिँड्न थालेको भने तीन वर्ष भएको छ। अप्ठ्यारो सडकमा स्टेरङि् समाउनुको सास्ती उनले राम्रैसँग महसुस गरेका छन्। "डरलाग्दो बाटो मर्मत गर्न कसैको चासो छैन। गाडी क्रस गर्नै एक घन्टा लाग्छ," उनी भन्छन्, "साइड लाग्ने ठाउँसमेत हत्तपत्त भेटिन्न।" ८ मंसिरमा टिमुरे भीरमा बिग्रेको गाडीछेउबाट बस पास गर्दा झन्डै खसेको उनी सुनाउँछन्।
अनुभवी चालकहरू सुर्खेत-जुम्ला सडकमा सिकारु चालक धेरै रहेकाले पनि दुर्घटना बढेको बताउँछन्। नयाँ व्यवसायीहरूको कम भत्ता दिए पुग्ने प्रलोभनमा सिकारु चालकको हातमा स्टेरङि् थमाउने गरेको गुनासो छ। जुम्ला-सुर्खेतको भाडा १ हजार ४ सय ७० रुपियाँ छ भने जुम्ला-नेपालगन्जको भाडदर १ हजार ६ सय रुपियाँ। बस व्यवसायीहरूबीच प्रतिस्पर्धा हुँदा आठ सय रुपियाँ भाडा कायम थियो। जुम्ला टि्रपमा अनुभवी चालकले १० हजार रुपियाँसम्म भत्ता लिन्छन्। मासिक तलब ३ हजार ५ सय हुन्छ। महिनामा चारपटक ओहोरदोहोर गर्छन्। र, आम्दानी ४३ हजार रुपियाँ हुन्छ। तर, सिकारुले ६ हजार रुपियाँमै बस चलाउने गरेको बम बताउँछन्। अर्का अनुभवी चालक मानिन्छन्, भेषबहादुर बुढा क्षेत्री। उनी १६ वर्षअघि पढाइ छाडेर ट्रकको खलासी हुँदै यातायात क्षेत्रमा प्रवेश गरेका थिए। त्यसबेला उनी भर्खर १७ वर्षका थिए। बिस्तारै उनले गाडी चलाउन सिके र बने, गुरुजी। सुरुमा ट्रक चलाउँथे। "लोड गरेको ट्रक चलाउँदा ढुक्कसँग जान र आफूखुसी विश्राम गर्न पाइन्छ," उनी भन्छन्, "बसमा भने यात्रुले अत्याउँछन्।" कर्णाली राजमार्गका चालकले यात्रुबाट अनावश्यक दबाब झेल्नुपर्ने उनी बताउँछन्।
कर्णाली राजमार्गको सेरीघाट, टिम्मुरे, पिलीछेउको भीर, गाल्जेअघिको भीर र खलाघाट अप्ठ्यारा खण्ड हुन्। ती भीर र अप्ठ्यारा पार गरेपछि मात्र चालकहरू सुरक्षित गन्तव्यसम्म पुग्ने अनुभव गर्छन्।
भेषबहादुरले सुर्खेत-जुम्ला मोटरबाटो खुलेदेखि नै बस चलाउँदै आएका छन्। तर, सानै पनि दुर्घटनामा परेका छैनन्। तीन महिनाअघिसम्म रात्रिसेवा थियो। दुर्घटना बढेपछि बन्द गरिएको छ। त्यसैले ३ सय ३२ किलोमिटरको जुम्ला-नेपालगन्ज यात्रा पार गर्न ठ्याक्कै दुई दिन लाग्छ।
खराब बाटो, चालकको लापरबाही र गाडीकै समस्याले दुर्घटना हुने गरेको अनुभवी चालकहरू बताउँछन्। "दुर्घटना बढेपछि भीरको बाटो फराकिलो पार्नुपर्ने हो," भेषबहादुर भन्छन्, "रात्रिसेवा बन्द गर्नु मात्र समस्याको समाधान होइन।" उनी सडकको स्तर वृद्धि गर्न र ट्राफिक अनुगमन प्रभावकारी बनाउन सके यातायात सेवा सुरक्षित हुने बताउँछन्।
०६३ देखि सञ्चालनमा आएको कर्णाली राजमार्गमा बितेका तीन वर्षमा सानाठूला गरी १ सय ५७ वटा सडक दुर्घटना भएका छन्। तीमध्ये सबैभन्दा बढी ८४ वटा दुर्घटना कालीकोट खण्डमा मात्र भएका छन्। दुर्घटनामा अहिलेसम्म १ सय ९५ जनाको मृत्यु भइसकेको छ भने २ सय ३३ जना घाइते भएका छन्। साँघुरो बाटो, मर्मत सुधारको अभाव, अत्यधिक मोड, थोत्रा गाडी र चालकको लापरबाहीजस्ता कारणले धेरै दुर्घटना हुने गरेको जिल्ला प्रहरी प्रमुख रमेशकुमार पोखरेलको भनाइ छ।
दैलेख साइगाउँदेखि कालीकोटको राँचुली छिडेनसम्मको ८८ किलोमिटर सडक ०६२ मा चट्टान ब्लास्ट गरी ट्रयाक खोल्ने जिम्मा सेनाले लिएको थियो। ट्रयाक खोलेर सेनाले कडा चट्टान र भीरैभीर भएको कालीकोट खण्डको सडक तीन वर्षअघि सडक विभागलाई हस्तान्तरण गरसिकेको छ। उक्त खण्डको स्तर वृद्धि भएको छैन। त्यही कारण सबैभन्दा धेरै त्यही खण्डमा दुर्घटना हुँदै आएका छन्। अहिले सुर्खेतदेखि दैलेख खिड्कीज्यूला १ सय २६ किलोमिटरसम्मको सडक विश्व बंैकको सहयोगमा सडक विभागले कालोपत्रेका लागि काम गररिहेको छ। तर, दैलेखमा पर्ने नौ किमि र कालीकोट खण्डमा पर्ने ७६ किमि सडक खण्डको न त स्तर सुधार छ, न मर्मतसम्भार। त्यसैले त्यहाँ अत्यधिक दुर्घटना भइरहेको छ।
तपाईंको प्रतिकृया