गणेशमान जेलबाट भाग्दा

'मेरो मृत्युमा अरू आउन् नआऊन् तर गणेशमान सिंहलाई भने जसरी पनि उपस्थित गराइदिनू,' मेरा बुबा कम्पाउन्डर चन्द्रमान सैँजुले यस्तो इच्छापत्र लेखेरै छाड्नुभएको रहेछ। म सरासर गणेशमान सिंहको घरमा पुगेर त्यो पत्र उहाँलाई देखाएँ। उहाँ ज्यादै भावुक बन्नुभयो।

नेवार समुदायमा प्रचलन नै छ, लासलाई दागबत्ती दिएपछि मलामीजति घर फर्किने। मेरो बुबाको २०४० सालमा मृत्यु हुँदा हामी छोराहरूसहित सबै मलामी दागबत्ती दिएपछि घर फिर्ता भयौँ। तर, गणेशमान सिंह भने घाटमै बर्को ओढेर बस्नुभयो। जलेको लासको खरानी पखालेपछि मात्र उहाँ घाटबाट फर्किनुभयो। सिंहको यस्तो व्यवहारबाट म ज्यादै भावविभोर भएँ। आँशु थाम्नै सकिनँ। कस्तो अपनत्व ! कस्तो लगाव !

मेरो बुबा गणेशमानका बारेमा बरोबर चर्चा गररिहनुहुन्थ्यो। एउटा प्रसंग सम्भिmन्छु । यो २००१ असार ६ गतेको कुरा हो।गणेशमान सिंहलाई भद्रगोल जेलबाट भगाउँदाको घटना। सुरुङ खनेर हुन्छ कि पर्खाल भत्काएर, भद्रगोल जेलबाट भाग्ने अनेक प्रयास विफल भएपछि गणेशमान पनि दिक्क हुनुभएको थियो। एकदिन सोचमग्न भएर जेलभित्रै यताउति टहलिरहनुभएको थियो। मेरो बुबालाई देख्नासाथ भन्नुभएछ, "धर्मभक्त माथेमासँग मिलेर त्यत्रो काम गर्ने मानिस किन आज यस्तो भएको हँ?" बुबालाई अनौठो लागेछ। गणेशमान सिंहले यस्तो कुरा किन गर्नुभएको होला भन्ने लागेर सोध्नुभएछ, "मैले के गर्नुपर्‍यो?" उहाँले सीधै भन्नुभएछ, "मलाई जेलबाट भाग्न मद्दत गर्नुपर्‍यो।" सोझो हिसाबले बुबाले प्रश्न गर्नुभएछ, "तपाईं भागेर के हुन्छ?" गणेशमान सिंहको जवाफ थियो रे, "क्रान्ति गरेर देशमा परविर्तन ल्याउँछु अनि तपाईंहरूलाई छुटाउन आउँछु।" यही संवादपछि बुबाले त्यो जोखिम उठाउने कसम खानुभएछ।

गणेशमानले भद्रगोल जेलबाट भाग्नका निम्ति साथीहरूको सहयोगमा बनाएको फलामको एउटा अंकुसे र बीचबीचमा गाँठो पारेका दुईवटा पटुका तम्तयारी अवस्थामा राख्नुभएको थियो रे ! भद्रगोल जेल दुईवटा पर्खालले घेरिएको थियो, एउटा १२ फिटे र अर्को १६ फिटे। ५ असारको राती १२ फिटे पर्खालमुनि आएर चढ्न के थाल्नुभएको थियो, एउटा कालो छायाँ उहाँहरूका अगाडि झम्लंग आइपुगेछ। उहाँहरू तर्सिनुभएछ। यसो चियाएर हेर्दा त त्यो छायाँ पूर्णबहादुर एमएको रहेछ। उहाँ पुस/माघको जाडोमा लगौँटीको भरमा खुला भुइँमा सुतेर होस् कि अन्य हर्कत गरेर, जेलभित्र बरोबर चर्चामा आइरहनुहुन्थ्यो। 'अब यहाँ पनि के उपद्रो गर्ने हुन् !' भन्ने गणेशमानलाई लागेछ । उहाँले त आफ्नो काँधतर्फ इसारा गर्दै चढेर माथि उक्लिन पो इसारा गर्नुभएछ। त्यसपछि गणेशमान सिंहलाई त्यो १२ फिटे पर्खाल चढ्न त्यति गाह्रो भएनछ। त्यसपछि एमए कता गायब हुनुभयो, दुवैलाई थाहा भएनछ।

बुबा पनि १२ फिटे पर्खाल नाघेर तल झर्नुभएछ। जब १६ फिटे पर्खालमा पटुकाको डोरीसहित अंकुसे फ्याँकेर अड्काउने कुरा आयो, धेरै प्रयास गर्दा पनि त्यो सफल हुन सकेन। तर, उहाँहरूले हरेस खानुभएनछ। पटक-पटक त्यस्तो प्रयास गर्दै गर्दा कसोकसो अड्किएछ। गणेशमानको शरीर पातलो र फुर्तिलो थियो, एकैझमटमा उहाँ चढ्नुभएछ। त्यसपछि उहाँले त्यो अंकुसे पर्खालमा अड्काएर पटुकाको डोरी बुबातर्फ फालिदिनुभएछ। बुबाले त्यो डोरीको सहायताले चढ्ने प्रयास गर्दा दुई-तीनपटक त अंकुसे नै फुस्केर बेस्मारी भुइँमा बजारनि पुग्नुभएछ। यसरी जति प्रयास गर्दा पनि चढ्न असफल भएपछि बुबाले भन्नुभएछ, "अब तपाईं जानूस्, मेरो चिन्ता नगर्नूस्। मेरो चिन्ता लिन थाल्नुभयो भने सबै काम चौपट हुन्छ।" तर, गणेशमानले जिद्दी गरेर 'तपाईं के गर्ने त? तपाईं के गर्ने त' भन्दै अंकुसे अड्काउने र डोरी तल फाल्ने क्रम यथावत् राख्नुभएछ। त्यसपछि बुबाले नेवारी भाषामै कड्केर भन्नुभएछ, "म जे गर्छु गर्छु, तपाईं गइहाल्नूस्।"

१६ फिटे पर्खालमाथि चढ्नुभएका गणेशमान त्यही डोरीको सहायताले जेलको बाहिरपट्ट िझर्नुभएछ र गन्तव्यतर्फ लाग्नुभएछ। त्यसपछि बुबा त्यहीँ कुक्रुक्क परेर बस्नुभएछ। सेतो कमिज-सुरुवाल लगाएकाले अन्धकार रातमा पनि टाढैबाट पहरा दिने व्यक्तिले केही चीज चलमलाएको देखेछन्। त्यसपछि लालटिन नजिकै ल्याएर हेर्दा मेरो बुबा भएको पत्ता लागेछ। त्यसपछि त के थियो, कालकोठरीको व्यक्ति कसरी पर्खालबाहिर भनेर केरकार सुरु भइहाल्यो। राती यस्तै २ बजेको हुँदो हो, नाइके सिक्टर र चौकीदारले बुबालाई पक्रेर लगे। केरकार गरे। तर, बुबाले गणेशमान भागेको सुइँको दिनुभएन।

६ असारका दिन अंकुसे र गाँठैगाँठा पारेको पटुका बाहिर बुर्जामा बस्ने पालेहरूले देखेपछि जेलभित्र खैलाबैला नै मच्चियो। राजबन्दीहरूको गिन्ती सुरु भयो। एक जना पुगेनन्, जो गणेशमान नै हुनुहुन्थ्यो। त्यसपछि त के थियो, बुबालाई डबल सजाय सुनाइयो। सत्य कुरा नखोलेको र गणेशमानलाई भगाउने कार्यमा प्रत्यक्ष सहभागी भएको आरोपमा उहाँलाई सुनाइएको सजाय थियो, गोलघरको बास। यसरी गणेशमानलाई भगाउँदा पाएको यातनाप्रति बुबामा कुनै पश्चात्ताप थिएन। बरू, गर्व नै गर्नुहुन्थ्यो। भन्नुहुन्थ्यो, "त्यस्ता महान् व्यक्तिलाई सहयोग गर्न पाउनु त भाग्यकै कुरा हो।"

समयको कुरा हो। ००७ सालको प्रजातन्त्र आगमनपछि गणेशमान त हाम्रो अभिभावकजस्तै हुनुभयो। बरोबर उहाँको घरमा आउजाउ हुन थाल्यो। केही काम पर्‍यो भने हामी उहाँलाई नै गुहाथ्र्यौं। उहाँ उद्योगमन्त्री हुँदाको कुरा हो। मैले सरासर उहाँको घरमा गएर भनेँ, "म अंग्रेजी पढ्न चाहन्छु। लक्ष्मीप्रसाद देवकोटालाई भनिदिनुपर्‍यो।" उहाँले नाइँनास्ति नगरीकनै कपडा लगाउनुभयो र भन्नुभयो, "ल अहिले नै हिँड्।"

हामी साइकल चढेर मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटाको घरमा पुग्यौँ। दुई जनाको भेट के भएको थियो, उहाँहरू त अँगालो हालेर छाड्नै नमान्ने। म त हेरेको हेर्‍यौ भएँ। अनि, गणेशमानले भनिदिएकै भरमा केही समय मैले देवकोटाजीसँग अंग्रेजीको ट्युसन पढ्ने मौका पाएँ, जसको प्रभावले मेरो जीवनको मोड नै परविर्तन गरिदियो ।



प्रस्तुति : ईश्वरी ज्ञवाली

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

कृष्णमान मानन्धरद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar