कराँतेमा अन्तर्राष्ट्रिय जगत्मा खस्कँदै गएको साखलाई नेपालले फर्काएको छ। अघिल्लो साता हङ्कङ्मा आयोजित १३औँ एसिया प्यासिफिक सितेरियो कराँते डो च्याम्पियनसिप (एपीएसकेएफ)मा नेपालले बलिया प्रतिद्वन्द्वीलाई समेत पाखा लगाउँदै दुई स्वर्णसहित १३ पदक जित्यो। त्यसमा चार रजत र सात काँस्य समावेश छन्।
१८ राष्ट्र सम्मिलित एसिया प्रशान्त क्षेत्रकै प्रतिष्ठित प्रतियोगितामा सुनील लामा र गंगा अधिकारीले एकल कुमुतेमा नेपाललाई स्वर्ण दिलाए। बंगलादेशमा भएको ११औँ दक्षिण एसियाली खेलकुद (साग)मा समेत स्वर्ण विजेता सशस्त्र प्रहरी बलका यी दुई खेलाडीले आशा गरे अनुरूपमै परिणाम ल्याए।
मार्सल आर्ट्समाथि सरकारी प्रतिबन्ध हटेपछि नेपालले सन् १९८३ मा क्वालालम्पुरमा आयोजित एपीएसकेएफकै तेस्रो संस्करणबाट पहिलोपटक औपचारकि रूपमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिएको थियो।
सन् १९९१ मा काठमाडौँमा आयोजित छैटौँ संस्करणमा नेपालले ६ स्वर्ण हात पार्यो। तर, विदेशी भूमिमा पाएको यो नै अहिलेसम्मकै ठूलो सफलता भएको नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङको दाबी छ ।
यसअघि मलेसियामा आयोजित यही प्रतियोगिताको सातौँ संस्करणमा हेमकुमारी सेढाईंले एक स्वर्ण र एक काँस्य र २००१ मा सिंगापुरमा प्रीति डंगोलले रजत र सुस्मिता कँडेलले काँस्य पदक हात पारेका थिए।
तीन दशकअघि नेपालले पहिलोपटक सहभागिता जनाउँदाका खेलाडी दावा गुरुङ यसपटकको प्रतियोगिताका लागि टोली नाइके थिए। "त्यसबेला अनुभव थिएन, राम्रोसँग खेल्न सकिएन," अध्यक्ष गुरुङले विगत सम्भिmए, "तर, पछिल्लो सफलताले हामीलाई नमुना टिम बनाइदिएको छ।"
१९९९ मा काठमाडौँमा आयोजित आठौँ दक्षिण एसियाली खेलकुद -साफ)मा १४ स्वर्ण जित्दै नेपालले आफूलाई कराँतेमा दक्षिण एसियाली महाशक्तिका रूपमा उभ्याएको थियो। तर, त्यो साख लामो समय कायम रहेन। नवौँ सागमा कराँतेबाट एक मात्र स्वर्ण जितेर दीपक श्रेष्ठले नेपालको इज्जत जोगाएका थिए। लामो समयसम्म आशातित प्रदर्शन गर्न नसकेको कराँतेले पछिल्लोपटक भने पुरानै लय समातेको छ।
गत वर्ष बंगलादेशको ढाकामा आयोजित फजिलतुन्ने मुजिब अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले सबै १४ स्वर्ण जितेर क्लिनस्विप गरेको थियो। त्यसपछिको खुला सिंगापुर कराँतेमा पनि एक स्वर्ण, चार रजत र दुई काँस्य हात पार्यो। ठूला प्रतियोगितामध्येको एपीएसकेएफ हङ्कङ्मा पाएको सफलताले खेलाडी, प्रशिक्षक र पदाधिकारी सबैमा ऊर्जा थपिदिएको छ। "अब २०२० को ओलम्पिकमा पदक जित्ने हाम्रो लक्ष्य छ," २००१ मा जापानमा आयोजित विश्व च्याम्पियनसिपमा काँस्य जितेको सम्झँदै अध्यक्ष गुरुङ भन्छन्, "हामी दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ।"
पछिल्लो प्रतियोगितामा स्वर्ण विजेता सुनील (५५ किलो) र गंगा (६१ किलो)ले फाइनल प्रतिस्पर्धामा बलियो प्रतिद्वन्द्वी मानिएका काजिकिस्तानका नुरजान अकपानरेतलाई ३-२ र चाइना ताइपेइकी झेङ् ली रुलाई ८-० ले पराजित गरेका थिए। प्रतियोगितामा विनोद महर्जन (६० किलो), रोजी नगरकोटी (५५ किलो) र सपना लामा (६१ किलो)ले रजत पदक जिते। अनु अधिकारी (५० किलो), कल्पना बस्नेत (६१ किलो), दिगम्बरप्रसाद पन्त (८४ किलो), भीमबहादुर तामाङ (८४ किलो) र चञ्चला दनुवारले काँस्य जितिन्।
चञ्चलाले सिनियर महिला काता र बाँकीले कुमुतेमा पदक दिलाएका हुन्। धेरै आशा नगरिएको पुरुष टिम कुमुतेमा रजतसँगै पुरुष र महिला टिम कातामा समेत नेपालले काँस्य जित्यो। पदक जित्न नसकेका खेलाडीहरूले पनि साथीका जितमा उत्तिकै रमाएर सामूहिक खेल भावना प्रदर्शन गरे। 'मिसन साग' प्रशिक्षणमा रहेका १८ खेलाडी सहभागी गराएको नेपालले १३ पदक जित्दा प्रशिक्षक नफुर्किने कुरै भएन। "हारजित भन्ने आफ्नो ठाउँमा छ तर सबै खेलाडीले राम्रो प्रदर्शन गरे," प्रशिक्षक अकबर शाहको प्रतिक्रिया थियो, "भविष्यमा अझै राम्रो हुन्छ।"
थानेश्वर राईको साहसले नेपाल भित्रिएको कराँतेमाथि प्रतिबन्धको अवस्था हटे पनि राजनीतिको कालो बादल भने मडाररिहेको भुक्तभोगीहरूको अनुभव छ। कराँते महासंघका अध्यक्ष गुरुङको ठूलो पिरलो पनि यसैमा रहेछ। "खेल क्षेत्रलाई माथि उठाउनेभन्दा पनि यसको नाम बेचेर झोला भर्ने धेरै भए," नेपाली खेलाडीको सफलताबाट उत्साहित हुँदाहुँदै पनि गुरुङको गुनासो छ, "विश्वमै
राष्ट्रको प्रतिष्ठा बढाउने खेलकुदको कराँते विधाको महत्त्व मुलुकले बुझेन।"
तपाईंको प्रतिकृया