सन् १९९१ को डिसेम्बर २०-२१ तिरबाट कुरा सुरु भएको थियो। पेइचिङ् भाषा अध्ययन संस्थान (पेइचिङ् युयान स्युए युयान)मा चिनियाँ भाषा पढ्न थालेको साढे तीन महिना भइसकेको थियो। त्यतिखेर उक्त अध्ययन संस्थानमा हामी २७ जना नेपाली थियौँ। पछि चीनका विभिन्न विश्वविद्यालयहरूमा इन्जिनियरङि्, चिकित्साशास्त्र आदिमा स्नातक तह पढ्न छरनिुअघि एक वर्ष चिनियाँ भाषा सिक्दै थियौँ हामी। यसपछि त्यही भाषामै (विषय हेरी) चार या पाँचवर्षे अध्ययन सक्नु थियो। चिनियाँ परम्परागत औषधीशास्त्र पढ्न चाहनेले चिनियाँ भाषा दुई वर्ष पढ्नुपर्ने रहेछ। दोस्रो वर्षमा चिनियाँ पढ्दै गरेका त्यस्ता सिनियर दुई जना थिए। एक जना सिनियरचाहिँ चिनियाँ भाषा-संस्कृति नै अध्ययन गररिहेका थिए, स्नातक तहमा।
चिनियाँ भाषा गाह्रो भए पनि पढाइको भार भने खासै थिएन। यसै पनि भाषा भन्ने कुरो पढेर भन्दा परेर जानिने हो, त्यो पनि सिकाइका प्रारम्भिक क्षणमा। त्यही भएर होला, धेरै चिनियाँहरूलाई साथी बनाउन र सकेसम्म बढी बोल्न प्रोत्साहित गरिन्थ्यो हामीलाई। थोरै साथीहरूले त्यो प्रोत्साहनलाई गम्भीरतापूर्वक लिन थालिसकेका थिए। तर, धेरैजसोलाई सल्लाहले अझै छोइसकेको थिएन। २७ जना नेपालीको समूह एकै ठाउँमा भएकाले धेरैजसो भेटघाट, जमघटले नेपालीकै झुन्डको रूप लिन्थ्यो। अब नेपाली-नेपाली भेला भएपछि पनि चिनियाँ बोल्ने कुरो भएन। फेर िबेलाबेलामा विशेष गरी सप्तान्तहरूमा पेइचिङ्का अरू विश्वविद्यालयहरूबाट सिनियरहरू पनि आइरहन्थे, कहिले हामी पनि झुन्ड बनाएर कतै पुगिदिन्थ्यौँ। यसैले हामी कक्षामा मात्रै चिनियाँ पढिरहेका थियौँ, कक्षाबाहिर भने आफ्नो नेपाली भाषालाई नै माझिरहेका थियौँ।
त्यही डिसेम्बर २०-२१ तिर एउटा सल्लाह पस्यो हाम्रो माझमा, सुविधा बेचेर पैसा हात पार्ने।
सन् १९७८ तिरबाट क्रमिक रूपमा खुलापन अँगालेको चीनमा त्यतिखेरसम्म पनि चिनियाँ जनताले विदेशी उत्पादनका सामान सहजै किन्न पाउँदैनथे। चीनमा विदेशीहरूको संख्या बढिरहेको थियो र चिनियाँ सरकारले विदेशीलाई भने थोरै छुट दिएको थियो, विदेशी उत्पादनका सामान किन्ने। चीनमा बसिरहेका विदेशीले आफ्नो पासपोर्टको प्रयोग गरेर हङ्कङ् र मकाउबाट विदेशी उत्पादनका टीभी, पि|mज, वासिङ् मेसिनलगायत घरायसी उपकरण, मोटरसाइकल आदि किनेर ल्याउन पाउँथे। हङ्कङ् र मकाउ त्यतिखेरसम्म चीनको अधीनमा फिर्ता आइसकेका थिएनन्। धेरैजसो विदेशीले आफूलाई दिइएको यस्तो सुविधालाई केही डलरमा बेचिदिन्थे। हाम्रो पनि त्यही गर्ने र चार सय डलर हात पार्ने सल्लाह भयो। त्यतिखेर हामीलाई चिनियाँ सरकारले दिने छात्रवृत्ति प्रतिमहिना त्यस्तै ६५-७० डलर बराबरको हुँदो हो, नेपाली राजदूतावासले त्यसमै थपिदिन्थ्यो, मासिक २५ डलर। त्यसैले चार सय डलर हाम्रा लागि थोरै थिएन। केही साथीहरू यस्तो काम नगर्ने भए। १५-१६ जना केटाहरू भने जाने भयौँ।
यसै पनि हङ्कङ् वा मकाउ पुगी आफ्ना सुविधालाई उपयोग गरेर ब्रान्डेड सामान किन्न सक्ने हैसियतमा हामी छँदै थिएनौँ। यसैले अलिअलि दाम पनि हुने र यही निहुँमा घुमिने पनि हुनाले मलाई पनि जाने रोजाइ नै ठीक लागेको थियो। डिसेम्बरको अन्तिम साता पढाइ पनि बिदा थियो।
यसका लागि हामी मकाउसँग जोडिएको बन्दरगाह सहर चुहाई पुग्नुपर्ने थियो। चुहाई सन्चनपछिको दोस्रो विशेष आर्थिक क्षेत्र थियो। त्यतिखेरसम्म मकाउ पोर्चुगलकै अधीनमा थियो। चुहाई पुगेपछि हाम्रो काम पासपोर्ट बोकेर मकाउपट्टबिाट सामान आयात हुने भन्सार छिर्ने, पासपोर्ट कसैको जिम्मा लगाउने र भन्सारमा कुरेर बस्ने अनि आफ्नो नामका सामानले भरएिका ट्रलीहरूको पछाडि बसेर तिनलाई भन्सार कटाएर चीन छिराउने थियो।
फेरि १९९२ को जनवरी १ बाट लागू हुने गरी चिनियाँ सरकारले यो सुविधा खारेज गरसिकेको रहेछ। त्यसैले हामीले अर्को महिना वा अर्को वर्ष जाउँला भनेर बस्ने सम्भावना पनि रहेन। काम डिसेम्बरभित्रै गर्नु थियो।
हामीअघिका नेपाली विद्यार्थीमध्ये यस्तो गरसिकेका धेरै रहेछन्। क्वाङ्चौतिर बसेर यो काम दक्षतापूर्वक गराउँदै आएका बंगालीहरूको समूहसँग एक जना सिनियरको राम्रो चिनजान रहेछ। हामीले पेइचिङ् छोड्नुअघि उनले ती बंगाली बन्धुहरूलाई फोन गरििदने, बंगालीहरूले हामीलाई क्वाङ्चौको रेल स्टेसनमा पर्खिने कुराको निधो भयो। हामीमध्येका एक-दुई बाठापाकाले ती बंगालीका नाम, हुलिया आदि कण्ठ पारे।
२८ तारिखको अपराह्नतिर हामीले पेइचिङ् रेल स्टेसनबाट रेल समात्यौँ, हार्डस्लिपरको टिकट काटेर। त्यतिखेरसम्म पेइचिङ्को मेट्रो धेरैपटक चढिसकेको भए पनि रेलका हकमा भने मेरो जिन्दगीकै पहिलो रेलयात्रा हुँदै थियो। अरू कति साथीहरूको पनि पहिलो नै थियो सायद। पहिलो रेल यात्राको रोमाञ्चकता थियो र नेपाली-नेपालीको ग्याङ् पनि। हामीले समूह-समूहमा बाँडिएर तास खेल्ने, बियर पिउने गरेर बितायौँ, २४ घन्टाभन्दा बढीको रेलयात्रा। केही साथी चिनियाँ भाषा अभ्यास पनि गर्न थाले। राती तीन घन्टा पनि सुतिएन होला।
भोलिपल्ट साँझ पर्दा क्वाङ्चौ पुगियो। स्टेसनबाट निक्लने मुखैमा दुई दक्षिण एसियाली अनुहार हामीलाई छोप्न आइपुगे। तिनै रहेछन्, हामीलाई डलर कमाइदिने बंगाली बन्धुहरू। तिनले हामीलाई एउटा गाडीमा राखेर हुँइकाए। एक ठाउँमा खाना खान रोकिएबाहेक गाडी रातभर िकुदिरह्यो। र, ३० तारखिको बिहानै हामी चुहाई पुग्यौँ।
रातभरि केही देखिएको थिएन, बिहानीपख खेतीपातीसहितको ऊष्ण प्रदेशीय फाँट देखियो। चुहाई पुगेपछि भने अग्लाअग्ला घर देखिए, त्यत्ति हो।
त्यहाँ पुगेपछि एउटा रेस्टुराँमा नित्यकर्म गरेर खाजा खाइयो र लागियो भन्सार गेटतिर। आफ्नो राहदानीको उपयोग गरेर विदेशी ब्रान्डेड सामान चीन छिराउन। नौ बजेतिर पुगिएको थियो होला, भन्सार गेटमा उभिन। हाम्रा राहदानीहरू पोको पारेर बंगाली बन्धुहरू हिँडेपछि एक घन्टाजति त्यसै अलमल भयो। फर्केर आएर उनीहरूले हामीलाई दुई-दुई जना भएर बस्न भने। यसरी सात-आठपटक गरेर हाम्रो सामान छिर्ने भयो।
म अन्तिम हो कि, त्यसभन्दा अघिल्लो लटमा परेको थिएँ। हाम्रा सामान एकैपटक आएका थिएनन्। एउटा लटको आएको धेरैपछि मात्र अर्को लटको आउँथ्यो। दिउँसो ३ बज्ने बेला बल्ल मेरो लटको पालो आउँदा कुर्दाकुर्दा हैरान भइसकिएको थियो। यात्राको अनिदोले पनि आफ्नो असर देखाइरहेकै थियो। बंगाली बन्धुको इसारा पाएपछि सामान लादिएर आएका दुई-तीनवटा ठूल्ठूला ट्रलीका पछि लागियो। ती ट्रलीमा के छ भन्नेतिर पनि ध्यान गएन। कसैले हामीलाई नराम्ररी फसाइरहेको पनि हुन सक्थ्यो, त्यो कुराको पनि खासै मतलब भएन त्यतिबेला। भन्सार पास गर्ने बेलामा राहदानी बुझाइयो। छाप लागेको राहदानी फिर्ता लिइयो, बाहिर आइयो र पहिल्यै निस्किसकेका साथीहरूको हूलमा मिसियो। अनि, कोको सजिलै पास भए र कसलाई चाहिँ चिनियाँले अलि र्याक गरे भनेर गफ गर्न थालियो। भन्सार गेट कटेपछि ती ट्रली कता लागे थाहा भएन।
सडकमै केही खाएर एक-डेढ घन्टा अलमलिएपछि बंगाली बन्धुहरूसँग गाडी चढियो, क्वाङ्चौ फर्किनका लागि। राती दस बजेतिर बाटोको एउटा रेस्टुराँमा खाना खाइयो। बंगालीहरूले पैसा दिने सुर ननिकालेकाले एकछिन गलफती भयो। 'नदिने कसले भनेको छ र? तिमीहरूलाई आफ्नै चिन्ता छ, हामीले कत्रो खतरा मोलेर यो काम गर्यौँ तिमीहरूलाई के थाहा' भनेर उनीहरू पनि गनगनाउँदै थिए। पछि उनीहरूले हामीले छानेका दुई जना पाकालाई पैसा दिए र आफैँ बाँड्न भने। उनीहरू टीभी हरेर बियर पिउन थाले र हामी पैसो भाग लगाउन। सबैका हातमा चार सय डलरबराबरको 'एर्फइसी' परेपछि गनगन, किचकिच सबै सकियो।
यो 'एर्फइसी' फरेन एक्सचेन्ज सर्टिफिकेटको छोटकरी रूप हो। त्यतिखेर चीनमा दुईथरी पैसा प्रचलनमा थिए। चीनको औपचारकि मुद्रा रेन्मिन्पी विदेशीले प्रयोग गर्न पाउँदैनथे। विदेशीले एर्फइसी प्रयोग गर्नुपथ्र्यो। एर्फइसीलाई पैसाभन्दा पैसाबराबरको कागजात भन्दा अझ ठीक होला। ट्राभलर्स चेकजस्तै। त्यसको केही समयपछि चिनियाँ सरकारले एर्फइसी हटायो र विदेशीले पनि रेन्मिन्पी नै प्रयोग गर्न पाउने भए।
गाडी फेर िहुँइकियो र बिहान सबेरै हामीलाई क्वाङ्चौ ल्याएर छोडियो। पेइचिङ् जाने रेल साँझमा मात्रै रहेछ। टिकट काटेर हामी समूह-समूहमा बाँडिएर छरयिौँ।
हामी ६ जना आफ्नो चिनियाँ तोतेबोलीको कनीकुथी प्रयोग गर्दै सोध्दै-खोज्दै सन यात्सेन मेडिकल युनिभर्सिटी पुग्यौँ, ८ बजेतिर। त्यहाँ अध्ययनरत साथीहरू अत्तो न पत्तोसँग हामी आइपुगेको देख्दा छक्क परे। उनीहरू कक्षातिर जान निस्कँदै रहेछन्। उनीहरूकै कोठामा लम्पसार पर्यौँ हामी। १२ बजे उनीहरू फर्केर आएपछि उठेर खाना खाइयो र दिनभर ित्यही विश्वविद्यालयभित्र घुमियो।
साँझ रेल चढियो। यसपटक सफ्टस्लिपरका थिए हाम्रा टिकट, दाम जो कमाइएको थियो। म परेको क्याबिनमा एक जना खाइलाग्दा चिनियाँ वृद्ध मात्रै थिए। दुइटा स्लिपर खाली थिए। मैले आफ्नो टुटेफुटेको चिनियाँमा अलिअलि कुरा गरेँ उनीसँग। छाओ (ठाओ) थरका ती बूढाबाले आफूलाई कम्युनिस्ट पार्टीको कुनै तहको अधिकारी भनेको याद छ मलाई।
सिन लियान ख्वाए ! -नयाँ वर्षको शुभकामना)। बिहान उठेपछि ती बूढा बा र मैले १९९२ सुरु भएको शुभकामना आदानप्रदान गर्यौँ। दिउँसो पेइचिङ् पुगियो।
'त्यो पि|mज मेरो हो।' पछि कुनै रेस्टुराँमा खाना खान जाँदा हामीमध्येको एउटाले पि|mज देखाएर भन्थ्यो।
'त्यो टीभीचाँहि मेरो।' अर्कोले भन्थ्यो।
'ऊ मेरो मोटरसाइकल।' मोटरसाइकलहरू त्यति धेरै नदेखिने त्यतिखेरका चिनियाँ सडकहरूमा कहिलेकाहीँ मोटरसाइकल देख्दा हामीमध्येको एउटा कराउँथ्यो।
'त्यो कालो मोटरसाइकल तेरो होइन यार, मेरो हो। तेरो त अलि नीलो छ।' अर्कोले गफ थप्थ्यो।
चार सय डलरसँग जोडिएका गफ चीन नछाडुन्जेल बेलाबेलामा निस्किरहन्थे ।
तपाईंको प्रतिकृया