मुख्य समाचार

प्रदीप बस्याल

लक्की लेखक


'ठूलो निधार हुने भाग्यमानी हुन्छन्' भन्ने नेपाली आहान प्रज्ज्वल पराजुलीमा मेल खाएजस्तो छ। अक्सर मुण्डन गरिएको तालुमा भेटिने पराजुलीको निधार छुट्याउन सकिन्न। २७ वर्षे उमेरमा यी सिक्किमेली तन्नेरी 'बुक वल्र्ड'मा भारत, नेपाल, भुटानदेखि लन्डनसम्म हट केक बनेका छन्। त्यो पनि नेपालीभाषीको कथा बोकेको आफ्नो छोटा कथाको संग्रह दी गुर्खाज डटरका कारण।

गुर्खाज डटर उनको पहिलो कृति हो। यसअघि पनि उनी कुनै चल्तीका लेखक थिएनन्। यद्यपि, उनको पहिलो कृति नै प्रसिद्ध बेलायती प्रकाशक कोकर्स बुक्सले बजारमा ल्यायो, पाँच अंकको पाउन्ड स्टिर्लिङ् बुझाएर। त्यसैलाई भारतमा पेङ्गुइन बुक्सले प्रकाशनमा ल्याएको छ। कोकर्सले नै उनको उपन्यास दी ल्यान्ड ह्वेर आई फ्ली अर्को वर्ष निकाल्ने सम्झौता गरसिकेको छ, पुस्तक नहेरीकनै। उनको भाग्यलाई प्रट्स्याउन सायद यसभन्दा बढी भनिरहनुपर्दैन।

सिक्किम, गान्तोकका यी लेखकले पुस्तकको 'लोकार्पण भ्रमण'का क्रममा गत साता काठमाडौँमा आउँदा एक साँझ नेपालसँग लाजिम्पाटस्थित बारस्िटा रेस्टुराँमा साटे। देशी/विदेशी सञ्चारमाध्यममा तारन्तार प्रशंसासाथ छाउँदासमेत उनमा पटक्कै अभिमान भेटिन्न।

नेपाल-भारत पुस्तकालयमा पत्रकार नारायण वाग्लेसँग आफू र आफ्नो पुस्तकबारे बोलिरहँदा उनको व्यक्तित्वले धेरैको मन जितेको थियो। उनी केटाकेटीजस्तो मनमा जे छ, 'डाङडुङ' बोलिहाल्छन्। काठमाडौँको बत्तिसपुतली मामाघर भएका कारण उनीसँग सानो छँदा थुप्रैपटक काठमाडौँ घुम्न आउँदाका सम्झना छन्। गान्तोकका यी तन्नेरीलाई त्यसबेला विशालबजारको विद्युतीय सिँढीले खुबै आकषिर्त गरेको रहेछ। "अहिले मबारे पत्रिकाले हावामा के के लेख्छन् हो, म त्यत्तिसाह्रो नि छैन," पूर्वेली भाकामा उनले भने, "अझै पनि म आफूलाई पत्रिकाले भनेजस्तो लेखक ठान्दिनँ।" त्यसो भए प्रश्न उठ्छ, के उनी 'राइटर बाई लक' हुन् त ?  



१३ वर्षे उमेरमा जतिखेर उनी ९ कक्षामा पढ्थे, गान्तोकमा प्रकाशन हुने विकेन्ड रभ्ियुमा स्तम्भ लेख्ने अवसर पाए। "त्यतिखेर लेख्दा त निकै मज्जा आउँथ्यो," प्रज्ज्वलले मुस्कुराउँदै भने, "अहिले ती पढ्दा भने लाज लाग्छ। म मात्रै जान्ने छु, पाठक सबै बुद्धू हुन् जसरी लेखिएका।"

गान्तोकबाट १२ कक्षासम्मको अध्ययन सकेपछि उनी अमेरकिाको ट्रुम्यान स्टेट युनिभर्सिटीमा मिडिया कम्युनिकेसन पढ्नका लागि हान्निए। उनी विश्वविद्यालयले सन् १९९६ यता प्रकाशन गररिहेको स्वतन्त्र ट्राभल म्यागेजिन डिटोरका सम्पादक भए। सम्पादक हुँदासमेत उनी आफ्नो भाग्यले बाजी मारेको मान्छन् किनभने त्यस वर्ष उनका प्रतिद्वन्द्वी निकै कमजोर निस्किए। उनी सम्झन्छन्, "अर्को वर्ष पूर्वसम्पादकका हैसियतले म स्वयं छनोट मण्डलमा परेपछि आफू कसरी छानिएछु भन्ने सोचेर अचम्म लाग्यो।" डिटोरले मध्यपश्चिम अमेरकिाका मिजोरी, आयोवा र इलिनियस क्षेत्रका यात्रा कथा तथा फिचर प्रकाशन गथ्र्यो।

"त्यसको अर्थ म पहिल्यैदेखि सिरयिस राइटर थिएँ भन्ने होइन," उनी आफ्नो जटिल जीवनलाई सरलीकृत गर्छन्, "लेख्न सक्छु भन्नेचाहिँ कताकता थियो।" ट्रुम्यानबाट स्नातक सकेर उनी न्युयोर्क पुगे, जहाँ उनले साप्ताहिक रूपमा प्रकाशन हुने न्युयोर्कको पहिलो ट्याबलोइड दी भिलेज भ्वाइसमा काम गरे, एड्भरटिजमेन्ट एक्जुकेटिभका रूपमा।

"पत्रकारतिा मलाई सुहाउने काम होइन, भइहालेको भए म सबैभन्दा करप्ट पत्रकार हुन्थेँ होला," भन्छन्, "त्यसमाथि न्युयोर्कमा पत्रकार भएर बाँच्नु गरबिीमा बाँच्नुजस्तै हो।" भिलेज भ्वाइसमा दिनमा कम्तीमा तीन जना क्लाइन्टसँग भेट्नुपर्ने हुन्थ्यो। उनी त्यसका लागि कार्यालयबाट निस्कन्थे तर धेरैजसो दिनभर सिनेमाघर र पुस्तक पसलमा बिताउँथे। थप्छन्, "धन्न नतिजा नआउँदासम्म अफिसले केही सोध्दैनथ्यो।" तीन वर्ष त्यसरी काम गरेपछि उनले त्यो काम छाडे। लन्डन र अपि|mकी टापु सिचिलसमा केही महिना बिताएर उनी भारत फर्किए।

ट्रुम्यान पढ्दाका साथी घुम्नका लागि भारत आएका थिए। प्रज्ज्वल तिनैसँग बिनायोजना घुम्न निस्किए। उनीहरूले दिल्ली, गोवा, मुम्बई, कोलकाता, दार्जीलिङ, गान्तोक, काठमाडाँै र पोखरा हुँदै पुनः आगरा पुगेर आफ्नो यात्रा टुंग्याए। उनका साथी मोरक्कोतिर लागे भने उनी हिमाचलको मनाली। गान्तोकमा आफ्नाबारे बढी सोधीखोजी हुने देखेर उनी मनाली पुगेका रहेछन्। "त्यहाँ एक साताजति बिताउँदा मैले पहिलो कथा लेखेँ, कालिङपोङका मुस्लिमबारे," उनी भन्छन्, "पछि घरै फर्किएँ र थप पाँचवटा कथा लेखेँ।"

यो झन्डै तीन वर्षअघिको कुरा हो। उनी आफैँलाई जीवनमा के गरएिला भन्ने थाहा थिएन। उनी भारतबाट अमेरकिाका लागि रवाना भए। अमेरकिा जाँदा-आउँदा एक साताजसो लन्डनमा रहेका दिदी-भिनाजुकहाँ बिताउँथे। त्यसबेला उनको स्वभाव बुझेरै हुन सक्छ, दिदीले अक्स्फोर्डमा क्रियटिभ राइटिङ् विषयमा स्नातकोत्तर तहको आवेदन खुलेको बताइन्। उनले अमेरिका पुगेपछि मात्र आवेदन दिए। विश्वविद्यालयबाट अन्तर्वार्ताका लागि समय दिइयो। त्यसबेला उनी फाल्तु नै थिए। सोचे, फोनबाट भन्दा अक्सफोर्ड नै पुगेर प्रत्यक्ष अन्तर्वार्ता दिएँ भने पढाइप्रति गम्भीर सोच्न सक्छन्। उनी लन्डन त पुगे तर अन्तर्वार्ताको दिन नजिकिँदै जाँदा आत्तिन थाले। न त्यसअघि क्रियटिभ राइटिङ् पढेको छ, न त साहित्यबारे नै राम्रो ज्ञान। "लास्ट आवरमा म विकिपेडिया र गुगलमा एकोहोरनि थालेँ," त्यसो हुनु नै सायद उनको टर्निङ् प्वाइन्ट थियो, "मैले लन्डन बुक फेयरका बारेमा थाहा पाएँ, जहाँ बुकर पुरस्कार विजेता हिलारी मेन्टलले प्रवचन दिने कार्यक्रम थियो।" बाटोमा पढ्नका लागि चिकित्सक दिदीकहाँ रहरलाग्दा पुस्तक थिएनन्। त्यसैले उनी आफ्नै एउटा कथा बोकेर निस्किए।

ज्वालामुखीको धूवाँ आकाशमा मडारएिका कारण युरोपमा हवाई यात्रा नराम्ररी प्रभावित थियो। दसौँ हजार टिकट रद्द भएका थिए। ट्रेनमा उनीसँगै 'लिटरेरी एजेन्ट' सुसान इयरउड भेटिइन्। परचिय र गफगाफकै क्रममा सुसान उज्ज्वलबाट प्रभावित भए। उनीहरूबीच कथा साटासाट हुन थाले। सुसानले धेरैतिर प्रज्ज्वलका कथा पठाइन्, ती रुचाइए पनि। कोकर्सका सम्पादक जोन रल्िलीले उनलाई ब्रेकफास्टका लागि बोलाए, प्रकाशनका लागि एक कदम बढी रुचि देखाए। फेबर एन्ड फेबर प्रकाशनगृहमा सम्पादक छँदादेखि नै रल्िलीलाई जानेका प्रज्ज्वलले त्यसपछि अरू कतै मन डुलाएनन्।

अन्ततः एउटा सुन्दर सपनाजसरी गुर्खाज डटर डिसेम्बरमा बजारमा आयो। नेपालीभाषीको कथा अंग्रेजीमा छाप्दा हरेक शब्दशब्दमा जसरी समस्या झेल्नुपर्ने उनले सुनेका थिए, जोनसँग काम गर्दा भने त्यसो भएन। उनलाई अक्सफोर्ड डिक्सनेरीका सहसम्पादक इडमन्ड वाइनरले समेत थुप्रै ठाउँमा सघाए।

गोर्खा सैनिकका सुख-दुःख, भुटानी शरणार्थी र डायास्पोरामा विभिन्न सपना र संघर्षसाथ बसेका नेपालीभाषीका आठवटा कथा पुस्तकमा संग्रहित छन्। भुटानी शरणार्थीबारेको कथा 'नो ल्यान्ड इज हर ल्यान्ड' लेख्दा उनी झापाको शिविरदेखि धेरैलाई स्थानान्तरण गरिएको अमेरिकाको कोलोराडोस्थित डेनभरसम्म पुगेका थिए। गुर्खाज डटर लेख्दा उनी गोर्खा सैनिककै घरमा बास बसेका रहेछन्। अन्य भने सामान्यतः देखे/सुनेकैलाई आधार मानेर लेखिएका हुन्। "मैले भुटानी शरणार्थी, नेपालका माओवादी वा गोर्खाल्यान्ड आन्दोलनलाई चिनाउन कथा लेखेको होइन," भन्छन्, "यी मानिसका कथा बुनिएका मौलिक फिक्सन हुन्। तिनका मुद्दाबारे लेख्ने भए म अन्य विधा अपनाउँछु।"

रोमान्स, चल्तीका मायाप्रेम भने उनका कथामा निकै कम छन्। "गुर्खाज डटरमा लभ-सेक्स नभएर पिर मान्नेलाई आउँदो उपन्यासले क्षतिपूर्ति दिनेछ," उनी लजाउँदै भन्छन्, "नेपाली अनुवाद भने गुर्खाज डटरमा जस्तो बुबाआमाबाट गराउन गाह्रो छ।"



कोकर्सले सम्झौता गरेसँगै उनीबारे चर्चा चुलिएको थियो। एकातिर पुस्तक बजारमा आर्थिक मन्दी, अर्कातिर नवप्रवेशी लेखकसँग विरलै हुने सर्ट स्टोरीको बुक डिल। यो आफैँमा ठूलो समाचार थियो। त्यसमाथि अक्सफोर्डमा उदाउँदो क्रियटिभ राइटिङ् विभागले प्रज्ज्वललाई जोडेर आफ्नो कोर्सको ब्रान्डिङ् गर्ने सोच्यो। कोकर्सले सबैभन्दा कान्छो लेखकसँग बुक डिल गरेको पहिलोपटक थियो भने यति छिट्टै बहुराष्ट्रिय बुक डिल पाउने उनी पहिलो भारतीय पनि।

उनी चारैतिरबाट सबैका आँखामा परे र पुस्तक आउनुअगावै प्रसिद्धि बटुले। अक्सफोर्डमा दोस्रो वर्षको फाइनल प्रोजेक्टको रूपमा अमेरिकामा गि्रन कार्ड सपना बोकेर बसिरहेका दुई नेपालीभाषी युवाको कथा 'इमिग्रेन्ट्स' उनले फिल्मका लागि समेत ढालेका थिए। क्रियटिभ राइटिङ् पढ्दै गर्दा नै उनले अमेरकिामा 'राइटर्स इन रेजिडेन्ट' कक्षा लिन्थे, जसको अर्थ विद्यार्थीलाई केही कक्षा लिने र आफ्नो काममा लाग्ने हुन्थ्यो।

बौद्धिक जगत्मा यसरी विद्यार्थी छँदै भिजिटिङ् फ्याकल्टी हुन पाउनु विशेष मानिन्छ। सम्झन्छन्, "यता आफूले विद्यार्थीलाई डेडलाइन दिइन्थ्यो, उता आफ्नै डेडलाइनको चिन्ता हुन्थ्यो।" सुरुमा उनले उपन्यास लेख्ने आँट नगरेर छोटा कथा लेखेका थिए। तर, एउटा उपन्यास लेखिसकेर अहिले कथा लेख्न भने उनलाई गाह्रो पररिहेको छ। भन्छन्, "उपन्यासमा लेखक बढी आरामले अघि बढ्न पाउँछ भने कथामा ऊ शब्दको दासी बनिरहेको हुन्छ।"

एउटा साधारण ठिटो एकाएक अन्तर्राष्ट्रिय सेलिबि्रटी बन्दा अहिले प्रज्ज्वलको निद्रा बिथोलिएको छ। यद्यपि, उनले फेसबुक स्ट्याटसबाहेक केही नलेखेको थुप्रै महिना भइसक्यो। गुगल गर्दा आफ्नो प्रशंसामा भेटिने दर्जनौँ लेख पढ्दा कहिलेकाहीँ उनी आफैँलाई लाज लाग्दो रहेछ। उनलाई अब नेपाली समुदायबाट बाहिर निस्केर कथा लेख्न मन छ। त्यसो भनिरहँदा उनी त्यही भाग्यरूपी आफ्नो तालु सुमसुम्याइरहेका थिए।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

प्रदीप बस्यालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar