पछिल्लो नौ वर्षयता हिमाल अर्याल, ३३, आफूलाई ह्वीलचियरमा घिसाररिहेका छन्। कहिलेकाहीँ उनलाई आफ्नै नामले जिस्क्याइरहेजस्तो लाग्छ। नाम अनुसारको जिन्दगीको नक्सा कोरिने हो भने त उनी हिमालजस्तै अग्ला हुने थिए। तर, उनी मेरुदण्डमा चोट लागेपछि उभिनै नसक्ने भएका छन्।
उभिन नसकेर के भो ? आत्मविश्वासको अग्लो पहाडसामु सबै कुरा होचा लाग्छन्। उनको अनुहारमा निराशाभन्दा आशाको चहक धेरै देखिन्छ। यही आशाको बाटो हिँडेर उनले आफूलाई अब्बल तुल्याउने सपना बुनेका छन्।
हिमालका दुईवटा पाटा छन्, सबलांग हुँदाको जिन्दगी र अपांग भइसकेपछिको। ती दुई समयलाई कहिलेकाहीँ तौलिन्छन्, हिसाबकिताब गर्छन् र समयले दिएको चोटलाई स्वीकार्छन्। नसोचेका घटनाले उनको जीवनको बाटो बदलिदियो। उनका रुचि, इच्छा र सपनाहरू पनि बदलिए।
नेपाली सेनाका लेसनायक रहेका हिमाल २०६० सालमा मकवानपुरमा तत्कालीन नेकपा माओवादीले थापेको एम्बुसमा परे। शरीरको कम्मरमुनिको भाग नचल्ने भयो। सुरुका वर्ष त उनले आफूलाई बदलिएको स्वरूपमा स्वीकार्नै सकेनन्। भन्छन्, "आँखाका डिल कति भिजाएँ, भिजाएँ। आफूलाई सबैभन्दा अभागी मात्रै ठान्थँे, बाँकी जिन्दगी कसरी बित्ला भन्ने चिन्ताले हरदम कोपथ्र्यो।"
पछिल्लो समय हिमालले आफूलाई सम्हालिसकेका छन्। आफूलाई कमजोर सोच्न पनि छाडिसकेका छन्। दुई वर्षअघि मात्रै चीनको गोन्जाउमा सम्पन्न एसियन प्यारागेममा ५२/५५ किलो समूहको भारत्तोलन प्रतियोगितामा उत्कृष्ट १० को सूचीमा परे हिमाल। यसरी शारीरकि अपांगता भएर पनि उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने उनी पहिलो नेपाली हुन्।
तीन महिनापहिले भारतमा आयोजित ३३ राष्ट्रका अपांगता भएका व्यक्तिहरूको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रममा हिमालले ह्वीलचियर डान्स देखाएर सबैको प्रशंसा बटुले। हिमाल अहिले डल्लुस्थित सैनिक आवास क्षेत्रबाट हरेक दिन आधा घन्टाभन्दा बढी समय लगाएर पुतलीसडकस्थित नृत्य प्रशिक्षण केन्द्रमा कोरियोग्राफर केशव सापकोटासँग नृत्य सिक्न पुग्छन्। उनकै प्रेरणाले हिमाल पछिल्लो केही समय अपांगता भएकी नृत्यांगना रोमा न्यौपानेका साथमा नृत्य प्रशिक्षण गर्दै देश-विदेश पुगिसकेका छन् । उनी आफू मात्रै नृत्यमा अब्बल भइरहेका छैनन्, आफूजस्तै साथीहरूको समूहसमेत तयार पाररिहेका छन्। नृत्यमा उनको लगाव र धैर्य आफैँमा अनौठो लाग्छ।
अपांग भएलगत्तै भण्डारखालस्थित सैनिक पुनःस्थापना केन्द्रमा सिसामा गरिने विशेष प्रकारको पेन्टिङ्मा समेत आफूलाई दक्ष बनाएका छन् उनले। नियमित एक घन्टाको ह्वीलचियर बास्केटबल पनि सिकिरहेका छन्। भन्छन्, "गर्न सक्ने सबै काममा आफूलाई अभ्यस्त तुल्याउँदै छु।"
आफूजस्तै समस्या खेपिरहेका र निरासाको चंगुलमा फसिरहेका तन्नेरीहरूप्रति उनको विशेष सद्भाव छ। भन्छन्, "तिनीहरू केही गर्नै सकिँदैन भनेर आफूलाई कमजोर तुल्याइरहेका छन् तर त्यसरी बसियो भने झनै कमजोर भइन्छ।" उनी बिहानदेखि साँझसम्मै सिर्जनशील काममा व्यस्त हुन्छन्।
अँगालो मारेर आफ्नी श्रीमतीसँग ठमठम्ती हिँडिरहेका जोडी देख्दा उनलाई आफ्नो ह्वीलचियर ठेलिरहेकी श्रीमतीको अनुहार हेर्न मन लाग्छ। उनलाई आफूले बाँचेको जीवन देखेर मनमनै रसि उठ्छ। तर, भन्छन्, "म नै निराश भएँ भने मलाई देखेर सक्रिय जीवन बाँच्न खोज्नेहरूले के सोच्लान् ?"
तपाईंको प्रतिकृया