१ पुसमा देश ढलक्क ढल्कियो। डिसेम्बर २१ नआउँदै के हुन लाग्यो भनेर मानिसहरू आत्तिए। त्यो त आत्तिनुपर्ने नभई खुसी हुनुपर्ने कुरा पो रहेछ। त्यो दिन कमरेड प्रचण्डले देशलाई राष्ट्रिय सहमतितिर ढल्काएका रहेछन्। देश सहमतितिर ढल्किएको समाचार हावासरी फैलियो। प्रचण्डका पछिपछि कांग्रेस र एमालेका नेताहरूले पनि देश सहमतितिर ढल्केको हो भने। पत्रपत्रिका, रेडियो र टेलिभिजनहरूले पनि सहमतिको समाचार फुके।
साँझमा कमरेड प्रचण्डले टेलिभिजनमा राष्ट्रिय सहमति भएको कुराको पुष्टि गर्दै भने, "अब कुरा बिगि्रएन भने राष्ट्रिय सहमति हुन्छ। कांग्रेसको सरकार मान्न हामीलाई गाह्रो हुन्न। बाबुरामजी र म सहमतिनजिक पुगिसक्यौँ। अब सहमति होला नै भन्ने लाग्छ। सकभर यो अवस्थालाई बिग्रन दिनुहुन्न। अहिलेसम्मको अवस्थामा सहमति हुने देखिएको छ। मलाई विश्वास छ, कुरा मिल्यो भने कुरा मिल्छ। मैले सोचेजस्तो भयो भने मुलुकले गति लिन्छ भन्ने कुरामा म विश्वस्त छु।"
कमरेडका कुराबाट प्रस्टै भयो, राष्ट्रिय सहमति भएकै हो रहेछ। 'कुरा बिगि्रएन भने', 'होला भन्ने लाग्छ', 'सहमतिनजिक पुग्यौँ', 'सकभर सहमति हुने देखिएको छ', 'मलाई विश्वास छ', 'कुरा मिल्यो भने कुरा मिल्छ', 'मैले सोचेजस्तो भयो भने'जस्ता कमरेडका शब्द चयन र वाक्य गठनको चमत्कार देखेर नेपाली जनता आश्वस्त भए। देशलाई फेर िपनि राष्ट्रिय सहमतिमा पुर्याएकामा सबैले कमरेड प्रचण्डलाई धन्यवाद दिए।
२ पुसमा देश अचानक अर्कातिर ढल्कियो। त्यो दिन कमरेड बाबुरामले देशलाई ढल्काएका रहेछन्। उनले देशलाई पुरानै पोजिसनमा ठड्याएर पसिना पुछ्तै भने, "म ज्यान गए पनि सत्ता छाड्दिनँ। बरू साना दल र मधेसीलाई सत्ता छाड्छु, कांग्रेसलाई छाड्दिनँ। कांग्रेसलाई सत्ता चाहिने भए मेरै सरकारमा आउनुपर्छ। संविधान संशोधन गरेर चुनाव गराउन सहमत हुनुपर्छ। रत्तिm भएका संवैधानिक निकायहरूमा मैले भनेका मान्छे राख्न दिनुपर्छ। कांग्रेस, एम्ाालेहरू यी सबै सर्तमा सहमत भए भने म स्थानीय निर्वाचन गर्नुपर्ने नयाँ सर्त तेस्र्याउनेछु। त्यसमा पनि सहमत हुनुपर्छ। त्यसपछि म अरू केही सर्तहरू उत्पादन गर्नेछु। ती सम्भावित सर्त पनि तिनीहरूले मान्नुपर्छ। त्यसपछि कांग्रेसको नेतृत्व स्वीकार्न सकिन्छ। मलाई सत्तामा टाँसिइरहन पटक्कै इच्छा छैन। म जुनसुकै त्याग गर्न पनि तयार छु।"
३ पुसमा फेर िप्रचण्डले देशलाई ढल्काए। उनले भने, "अलिकति बुझाइमा फरक परेको हो। बाबुरामजीले जुनसुकै त्याग गर्न तत्पर छु भनिसक्नुभयो। देश सहमतितिर ढल्किराखेकै छ। आत्तिइहाल्नु पर्दैन।"
४ पुसमा बाबुरामले फेरi देशलाई ठड्याएर जस्ताको तस्तै पारे। ५ पुसमा प्रचण्डले ढल्काए। ६ पुसमा बाबुरामले ठड्याए। ७ पुसमा प्रचण्डले ढल्काए। ८ पुसमा बाबुरामले सोझ्याए।
यो कथा पढेर के कुरा थाहा भयो भने देशलाई यताबाट उता र उताबाट यता ढल्काएर सधैँ ढलपल बनाइराख्न सक्ने पहलमानहरू एउटै पार्टीका दुइटा महापुरुष रहेछन्। बाँकी सबै नेताहरूचाहिँ यी दुईले आ-आफ्ना बारीमा गाडेका बुख्याँचा रहेछन्। प्रचण्ड र बाबुरामबीच सहमति भयो भने पक्कै राष्ट्रिय सहमति हुने रहेछ।
हे भगवान् ! त्यो दिन देख्न म अर्को जुनीमा पनि यही देशमा जन्मन पाऊँ !
तपाईंको प्रतिकृया