नेपाली जीवन नालापानीदेखि काँगडासम्म

  • नेपाल राज्य विस्तार अभियानसँगै फैलिएका नेपाली बस्तीहरू

पश्चिम नेपालको पोखरातिरका गुमानसिंह खड्का बडाकाजी अमरसिंह थापाको नेपाल राज्य विस्तार अभियानका एक सदस्य थिए। त्यही क्रममा उनी हाल भारतको हिमाचल प्रदेशमा पर्ने काँगडा पुगे। कुरा आजभन्दा दुई सय वर्षअघिको हो।

नेपाली सेनाको फौजले काँगडा कब्जा गरी त्यहाँका राजा संसार चन्दलाई ढुंगैढुंगाको किल्लाभित्र थुन्यो। नेपालको सिमाना सतलजभन्दा पनि पर व्यास नदीसम्म कायम भयो। हाल पाकिस्तान, चीन र भारतबीच कचिंगलको विषय रहेको कश्मीरसमेत विशाल नेपाल राज्यभित्र एकीकृत गर्ने त्यो फौजको सपना थियो। काँगडा वरपरका दर्जनौँ राज्यलाई कज्याएका सम्राट नेपालीको शक्तिसामु निरीह भए। उनको विशाल साम्राज्य खुम्चिँदै गएर काँगडाको एउटा थुम्कोमा बनाइएको ढुंगे किल्लाभित्र सीमित हुन पुग्यो।

हो, त्यही बेला नेपाली फौज, प्रशासक र सामाजिक क्षेत्रका अभियन्ताहरू काँगडा क्षेत्रमा छरएि। यतै घरबार बसाए। तिनैमध्येका एक थिए, गुमानसिंह। आज यो भूमि नेपाल राज्यको सीमाभित्र छैन। भूगोल नेपालभित्र नरहे पनि त्यो पुरानो इतिहास सम्झाउने गरी नेपालीहरू यस क्षेत्रमा पुस्तौँदेखि छरिएर बसेका छन्। तीमध्ये पनि सीमित परिवार आफ्नो नेपाली पहिचान जोगाएर बसेका छन्। गुमानसिंहको पाँचौँ पुस्ता सुनीलविक्रम खड्का, ५६, आज पनि परविारका साथ भेटिन्छन्, काँगडा जिल्लाको भाग्सु क्षेत्र अन्तर्गत दाडी गाउँमा।

सुनीललाई दाडी गाउँका नेपाली समुदायले मुखिया नियुक्त गरेको छ। आफूलाई नेपालीभन्दा भारतका अरू समुदाय र प्रशासनले नेपालको राष्ट्रियतासँग दाँजेर हेर्ने हुँदा तिनलाई नेपाली भन्न गाह्रो छ। त्यसैले उनी भारतीयभित्रै गोर्खाली समुदायका रूपमा छुट्टै पहिचान राख्न चाहन्छन्। "हाम्रो दाडी गाउँमा मात्रै गोर्खालीका ४ सय ५० घरपरिवार छन्," सुनीलसँग आँकडा कण्ठस्थ छ, "यो हिमाचल प्रदेशमा सबैभन्दा बाक्लो नेपाली बस्ती भएको गाउँ पनि हो।"

खड्काका अनुसार भाग्सु क्षेत्रमा यस्ता नेपालीबहुल १६ गाउँ छन्। यस क्षेत्रको नाम धर्मशाला पनि हो। तर, भाग्सु नाममा बढी अपनत्व महसुस गर्छन् नेपालीहरू। "नेपालीले नै राखेको नाम हो, भाग्सु। त्यसैले हामीलाई यही नाम प्यारो लाग्छ," सुनील भन्छन्।

खड्का परिवारकै इतिहास नियाल्ने हो भने यहाँ नेपाली समुदायको अविच्छिन्न इतिहास छर्लंग हुन्छ। गुमानसिंहले यतै घरजम गरे। उनका छोरा तेजु खड्का भारतीय सेनामा जागिरे बने। वीर नेपाली जातिका सन्तान भन्नेबित्तिकै रणजित सिंहदेखि इस्ट इन्डिया कम्पनी र बि्रटिस सरकारले समेत रातो कार्पेट बिछ्याए। त्यसैले नेपालीहरूको मूल पेसा नै फौजी जागिर बन्न पुग्यो। तेजु खड्काका छोरा पूरणसिंह, नाति जंगबहादुर र पनाति सुनीलले समेत पुख्र्यौली बिँडो थामे। फरक यति हो कि कसैले नेपाल राज्यको पक्षमा लडे। कसैले बि्रटिस साम्राज्यको पक्षमा त कसैले स्वतन्त्र भारतको पक्षमा।

अमर सिंह थापाको राज्य विस्तार अभियानमा फौजी मात्रै थिएनन्। फौजका सहयोगी, व्यवस्थापक, प्रशासक र धार्मिक-सामाजिक क्षेत्रमा काम गर्ने गैरसैनिक नेपालीको जत्था पनि साथै गएको थियो। सायद तिनैमध्येका एक थिए, उनका पुर्खा। उनी अर्थात् जगदीशसिंह प्रधान, ८८, जो भारतीय सेनामा सम्पूर्ण युवावय खर्चेर निवृत्त जीवन बिताइरहेका छन्, भाग्सुको सल्लाघारीमा।

त्यस परिवारमा उनी पाँचौँ पुस्ताका हुन्, भाग्सु आएर बस्ने। त्यसअघि त्यो परविार हिमाचल प्रदेशकै जोगेन्द्रनगरतिर बस्यो। जगदीशका जिज्यूबाजे भाग्सु पुगे। "नेपाली फौज लड्दै कब्जा गर्दै पश्चिमतिर आउँदा विभिन्न ठाउँमा नेपालीको बस्ती विस्तार हुँदै आयो," जिज्यूबाजेको नाम थाहा नभए पनि यी पाका नेपालीले आफ्ना बाबुबाट सुनेका यति कुराचाहिँ 'नोट' गरेका रहेछन्, "शोले चलचित्रमा गब्बर सिंहको खौफ जस्तो देखिन्छ, एकताका त्यस्तै नेपालीको थियो।"

उनकै विश्लेषणमा नेपाली समुदायको प्रभुत्व घट्दै जाँदा त्यो खौफ पनि ओरालो लाग्यो। अहम् र हीनभावको चक्रमा जेलिँदै कतै नेपाली भाषा र संस्कृति भारतीयमा विलीन भयो। केही भने यस्तै सुदूर इलाकामा बस्न आए। कि यसरी अलग बस्नेहरूले नेपाली पहिचानलाई जोगाए कि त बढी संख्यामा साथै बस्नेले।

नेपाली गाउँहरूको सहर

"पाल्पा घर भन्छन् तर कुन गाउँ, कुन ठाउँ थाहा छैन," एउटै वाक्यमा नेपालसम्बन्धी जानकारीको बिट मारे, टेकबहादुर गुरुङ, ७२, ले। बाबुआमा दुवै नेपाली भए पनि भारतमै जन्मे, पढे, हुर्के, बढे। ३२ वर्ष सैन्य जागिर गरे। लक्ष्मणपुर, देहरादुनमा घरबार बसाएका उनको पनि पारिवारिकि पेसा नै सैन्य बनेको छ। बाबु पदमसिंह गुरुङले थालेको यो पेसालाई टेकबहादुरका छोराले समेत निरन्तरता दिएका छन्। सुरुका केही वर्ष धर्मशालामा बसे पनि पदमसिंह जागिरे जीवनका अन्तिम दिन देहरादुन आइपुगे। यतै निवृत्तिभरण लिने गरी घर बनाए। उनको परिवार देहरादुन बसेको पनि ५३ वर्ष भइसकेको छ।

देहरादुन सहर उनीजस्तै सेवानिवृत्त फौजीहरूको पर्याय बनेको छ। छाउनी सहरको परचिय भिरेको देहरादुनलाई यस रूपमा विकास गर्न बेलायती उपनिवेशकालदेखि प्रयास भएको देखिन्छ। अझ नालापानीको खलंगा (अंग्रेजद्वारा कलिंगा लेखिएको) मलाउ युद्धमा नेपालीहरूको बहादुरीपूर्ण प्रदर्शनबाट प्रभावित भएर तिनै नेपालीलाई मिलाएर गोरखा पल्टन बनाइदिए अंग्रेजले। साथै, नेपाली किशोर तथा युवाहरूलाई सैन्य भर्ती र तालिम दिनका लागि चारवटा केन्द्र यहीँ स्थापना गरएि। "पछि सैन्य परिवारका लागि घरजग्गा, स्कुल, अस्पतालको व्यवस्था गरिएपछि भारतीय सेनामा काम गर्ने सबैतिरका नेपाली यहीँ केन्द्रीकृत भए। त्यसैले जता हेरे पनि फौजी नेपाली देखिन्छन् यहाँ," गोर्खा सुधार सभाका अध्यक्ष भगवानसिंह क्षेत्री भन्छन्।

पूरनसिंह प्रधान, ५८, देहरादुनको नयाँगाउँमा किराना पसल गरी बसेका छन्। भारतीय सेनाको निवृत्तिभरण त यहाँका हरेक प्रौढको अभिन्न अंग नै हो। उनी अपवाद बन्ने कुरै छैन। "पुख्र्यौली घर कहाँ भन्ने थाहा छैन," देहरादुनी वासमती चामल तौलँदै उनी भन्छन्, "आमा भने दैलेखतिरको भन्छन्।"

बाबु नेपालकै कुनै गाउँबाट भागेर लखनउ गएको र त्यतै भारतीय सेनामा प्रवेश पाएको हुन सक्ने अनुमानसम्म गरेका छन्, उनले। यसले के देखाउँछ भने देहरादुनमा पनि विभिन्न चरणमा आएर बसेका छन्, नेपालीहरू।

देहरादुनको सहस्रधारा रोडमा नेपाली फौजका कमान्डर बलभद्र कुँवर र अंग्रेज कमान्डर जनरल जिलेस्पीको सम्मानमा अंग्रेजहरूले बनाएको स्मारक छ। त्यससँगै जोडिएको जंगलको भिरालो शिरमा नेपालीहरूले केही वर्षअघि बनाएको बलभद्र खलंगा युद्ध स्मारक छ। त्यही स्मारकको केही तल सागरतालमा हरेक वर्ष नेपालीहरूले खलंगा मेला मनाउँछन्। गएको २४ नोभेम्बरमा ३८औँ खलंगा मेला मनाए उनीहरूले। तर, नालापानी क्षेत्रवरपर नेपाल राज्य विस्तारका क्रममा आई बसेका नेपाली परविार खोज्ने हो भने भेट्न मुस्किल छ।

विभिन्न समयमा आएका सेवानिवृत्त फौजीहरूकै बाहुल्य भएकाले पनि दुई सय वर्षअघिका र नालापानी युद्धपछिका को हुन् भन्ने छुट्याउन गाह्रो भएको नयाँगाउँ ग्राम पञ्चायतका उपप्रधान खेमबहादुर थापा, ७१, बताउँछन्। धेरै पुस्ताअघिको बसाइँ भए पनि कतिपय नेपालीले आफ्नो भाषा, संस्कृतिलाई जोगाउन नसकेका कारण पनि यहाँका पुराना नेपालीको पहिचान हुन नसकेको धेरैजसो अगुवाहरूको भनाइ छ।

देहरादुनका नयाँगाउँ, अनारवाला, जोहडी गाउँ, गजियावाला, घट्टेखोला, इन्द्रनगर, वाणगंगा, जयतनवाला, चाँदमारी, नागनाथ, गढी, कौलागढ, पण्डितबाडी, चन्द्रमणि, चोइला, लाडपुर, बान्लावाला, लछीवाला, छिद्दरवाला, सेलाकुई, भरोटेवाला, गुच्चुपानी, ठाकुरपुर, श्यामपुर, रायपुर, रायवाला, गढी क्यान्ट, डाकरा, चानमारी, विकास नगर, लक्ष्मणपुर, नेहरुग्राम यस्ता नाम हुन्, जहाँ नेपालीको बाक्लो बसाइ छ। यहाँका अधिकांश नेपाली अंग्रेज-नेपाल युद्धको समाप्तिपछि भारतीय वा इस्ट इन्डिया कम्पनी सरकारको सेनामा जागिर गरेर निवृत्त भएका हुन्। छिटपुट मात्र अन्य पेसामा बाँधिएका छन्। उत्तराखण्डको राजधानी देहरादुन र त्यसवरपरको क्षेत्रमा धेरै नेपालीबहुल बस्ती छन्, जहाँ अहिले पनि नेपाली भाषा नै चल्छ। कुनै बेला देहरादुन, कुमाउ र गढवाल क्षेत्रमा सम्पर्क भाषाकै स्थानमा पुगेको नेपाली पछिल्लो समयमा भने ओरालो लाग्दो छ।

गोर्खाली सुधार सभाका महासचिव गोविन्द थापाका अनुसार उत्तराखण्ड राज्यमा १० देखि १२ लाख नेपाली मूलका भारतीयको बसोवास छ। बाँकी बंगाली, पन्जाबी, मद्रासी छन्। उत्तराखण्ड राज्यको कुल जनसंख्या भने १ करोड १ लाख रहेको गत वर्षको जनगणनाले देखाएको थियो। तर, यहाँ जनगणनामा जातीयताका आधारमा लगत नलिइने हुँदा ठोस आँकडा नभएको थापाको भनाइ छ।

अल इन्डिया गोर्खा एक्ससर्भिसमेन वेलफेयर एसोसिएसनको केन्द्रीय कार्यालय पनि देहरादुनमै छ, जसले पूर्वसैन्यको परविार कल्याणसम्बन्धी काम गर्छ। भारतीय रक्षा मन्त्रालयबाट वाषिर्क आठ लाख रुपियाँ अनुदान पाउने यस संस्थाले दार्जीलिङपछि देहरादुन र धर्मशाला क्षेत्रमै बढी खर्च गरेको छ। यसले पनि सेवानिवृत्त फौजीहरूको बाक्लो उपस्थितिलाई प्रस्ट पार्छ।

गोर्खा धर्मसभाको अध्ययन अनुसार हिमाचल प्रदेशमा एक लाखभन्दा बढी नेपाली मूलका भारतीय पुस्तौँदेखि बसेका छन्। उनीहरू मुस्किलले नेपाली भाषा बोल्छन्। उनीहरूको नेपाली भाषामा अधिकांश शब्द र लबज हिन्दीकै काँगडा भाषिकाको प्रभाव छ। हिमाचली संस्कृतिले उनीहरूलाई छपक्कै छोपेको छ। युवा उमेर भारतीय र बि्रटिस सेनामा बिताएर निवृत्त जीवन मात्र घरमा बित्नु यस क्षेत्रका पुराना नेपालीको विशेषता हो। "९० प्रतिशत त फौजी पृष्ठभूमिकै छौँ," हिमाचल प्रदेशका नेपाली र भाग्सुको इतिहासबारे पुस्तक प्रकाशनको तयारी गररिहेका प्रतापसिंह गुरुङ, ७५, भन्छन्।

काँगडा र नालापानीबाट नेपाली फौजको फिर्ती, सन् १८९० को हैजाको महामारी र सन् १९०५ को भुइँचालो पनि नेपालीको पहिचान र इतिहास विस्तारमा उथलपुथल ल्याउने मुख्य घटना थिए। नेपालीको पुरानो बसोवासलाई झल्काउने चिनोमध्येको एक हो, सन् १९०५ मा आएको ७ दशमलव ८ रेक्टर स्केलको भुइँचालोमा पनि नढलेको भाग्सुको एक घर। भाग्सुको गब्ली दाडी पञ्चायतकी प्रधान सबिता कार्की, ५६, को उक्त घरमा नेपाली परविारका पाँच पुस्ता हुर्किसकेका छन्। हिमाचल प्रदेशमा भाग्सुबाहेक नेपाली समुदाय धेरै बसोवास भएका ठाउँहरूमा नाहान, बक्लोह, पालमपुर, सिमलालगायत पर्छन्।

काँगडाका राजा संसार चन्दलाई तीन वर्षसम्म किल्लाभित्र थुनियो। यसबीचमा कैयौँ लडाइँ भए। सामाजिक उथलपुथल भए। युद्धनीतिमा मतभेद हुँदा नेपाली फौजको प्रदर्शन कमजोर बन्यो। उता संसार चन्दले पन्जाबका अर्का शक्तिशाली रणवीर सिंहसँग सहायता मागे। लामो समयको राजनीतिक अन्योल र युद्धबाट स्थानीय समुदाय आजित भइसकेको थियो। सुरुमा नेपालको स्वामित्व स्वीकार गरेका रजौटाहरूको लगाव पनि नेपालप्रति कम हुँदै गयो। परिणामतः नेपालले त्यस क्षेत्रको स्वामित्व गुमायो। राजनीतिक नक्सामा त्यो ठाउँ नेपालभित्र नपरे पनि कैयौँ नेपालीले त्यही भूमिलाई आफ्नो बनाए। र, आज लाखौँको संख्याका नेपालीले काँगडालगायत हिमाचल र उत्तराखण्डको विशाल भूगोल ओगटेका छन्। यही ठाउँलाई उनीहरू आफ्नो मातृभूमि भनेर गर्व गर्छन्।

नेपाली फौज र प्रशासन यहाँबाट फर्किएपछि यहीँ बसेका धेरै नेपाली भारतीय भाषा र संस्कृतिमै सम्मिलित भए। उनीहरूको सांस्कृतिक सम्मिलन एक प्रकारले विलय थियो। एकातिर, राज्यसत्तामा नेपाली जातिको पराजय, अर्कोतिर अल्पसंख्यक उपस्थिति। यसले भाषिक र सांस्कृतिक पहिचानमा संकट ल्याउनु स्वाभाविक थियो। त्यस कारण धेरै नेपालीका थर पनि भारतीय जाति र थरसँग मिल्दाजुल्दा भए। भाषा, संस्कृति र रीतिरिवाज बिस्तारै भारतीयकरण भए। कतिपय त स्थानीय समुदायमा यसरी भिजे कि नेपाली पहिचान नै विलीन भयो। बरू वीर गोर्खालीका लागि त्यस क्षेत्रका रजौटादेखि इस्ट इन्डिया कम्पनीका सेनामा जागिर सधैँ खुला रह्यो। त्यसैले आज पश्चिमोत्तर भारतको जुनसुकै भूगोलमा पुगे पनि अधिकांश नेपाली फौजी पृष्ठभूमिकै भेटिन्छन्।

भाग्सुमा नेपालीबहुल बस्ती बन्नुको कारण त्यहाँको सरकारी नीति पनि हो। भारतमा बेलायती साम्राज्य छँदै भाग्सु क्षेत्रलाई ९९ वर्षका लागि लिजमा दिइएको थियो। फस्ट गोर्खा राइफल्स, ६६-नर्सरी बटालियनबाट निवृत्त भएका नेपालीलाई यहाँ बस्न दिइन्थ्यो। त्यसबेला सेनामा काम गर्न उमेर हद थिएन। काम गर्न सक्ने हुन्जेल खट्नुपथ्र्यो। बूढो उमेरमा न घर फर्किने तागत हुन्थ्यो, न अहिलेजस्तो यातायातका साधन नै थिए। त्यसैले यस सल्लाघारी क्षेत्रमा जंगल फाँडेर निवृत्त नेपालीलाई त्यहीँ बस्न दिइएको थियो। जग्गाको भाडा पनि कमै थियो। "जसले जति जंगल फाँड्न सके, त्यति नै जग्गा उपयोग गरे," प्रधान भन्छन्, "पछि भारत सरकारले भाडा पनि तिर्न नपर्ने गरी दर्ता प्रमाणपत्र दियो। अब त बाबुबाजे बसेको ठाउँ छाडेर छोरानाति जाऊन् नै कहाँ ?"



फौजी अर्थतन्त्र

नयाँगाउँ, देहरादुनकी रीता गुरुङ आउँदो होलीसम्म नयाँ घरमा बस्ने योजनामा छिन्। भारतीय सेनामा जागिरे श्रीमान्को कमाइ नै उनको परिवार धान्ने प्रमुख आधार हो। परिवार धान्ने मात्रै होइन, त्यस क्षेत्रका औसत घरभन्दा केही ठूलो आवासीय भवन बनाउने धुनमा छिन् उनी। भन्छिन्, "२७ लाख रुपियाँजतिमा घरको काम पूरा होला भनेकी थिएँ, लागत केही बढ्ला जस्तो छ।" यो नेपाली ४३ लाख रुपियाँभन्दा बढी रकम हो। सेनामा जागिरे भएपछि राम्रो विद्यालयमा छोराछोरीको पढाइ, राम्रो अस्पतालमा नियमित स्वास्थ्य जाँच, कम्तीमा एउटा मोटर र फराकिलो घडेरीमा डेढ-दुई तलाको घर बनाउनु हरेक परिवारको विशेषता नै बनेको छ। नेपालीबहुल धेरैजसो गाउँटोलमा चिल्ला र सुकिला डेढ-दुई तलाका घर, घरको फराकिलो आँगन, आँगनमा एक चारपांग्रे र एकाध दुईपांग्रे सवारीसाधन भेटिन्छन्।

देहरादुनको गढी क्यान्टतर्फ जाने मुख्य सडकसँगै जोडिएको छ, बलराजसिंह घर्तीको अटो सप (गाडी मर्मत पसल)। सडकसँगै सोझिएको उनको पसललाई बायाँ पारी भित्रतिर छिर्ने हो भने उनको घरमा पुगिन्छ। भर्खरै छोरी रुचिका घर्तीको विवाह गरिदिएका बलराज भन्दै थिए, "६ लाख रुपियाँको कार उपहार दिएँ। १० लाख अरू खर्च भयो।" यो करबि २६ लाख नेपाली रुपियाँ हो। घर्तीले छोरीको विवाहमा गरेको खर्चको मोटो विवरणले प्रस्ट पार्छ, फौजीबहुल बस्तीको सामान्य अर्थशास्त्र। फेसन डिजाइनको क्षेत्रमा भविष्य बनाउँदै गरेकी रुचिकाको विवाह भारतीय सेनामा क्याप्टेन रहेका युवक विकास गुरुङसँग भएको थियो। घर्ती भन्छन्, "सामान्य विवाहमा पनि ८ देखि १० लाख भारतीय रुपियाँ त खर्च लाग्छ नै। छोरीको विवाहमा अझ धेरै लाग्छ। कार दाइजो दिनु सामान्यजस्तै बनेको छ।"

कतिपयका भनाइमा भारतभरमिा सबैभन्दा राम्रो आर्थिक अवस्था भएका नेपाली देहरादुनमा बस्छन्। अन्यत्र चौकीदारी र खेतीमा संलग्न नेपाली मूलका भारतीयको बसोवास बढी छ। उत्तराखण्डमै पनि देहरादुनबाहिर निवृत्त फौजीभन्दा बढी अरू पेसा-व्यवसायमा लागेका नेपालीभाषी छन्। सेनामा दोस्रो उच्च पदसम्म पुगे पनि अन्य क्षेत्रमा यहाँका नेपालीको उपस्थिति कमजोर छ । नेपाली मूलकी मालाराज्यलक्ष्मी शाह यस क्षेत्रकी अहिलेसम्मकै एक्लो लोकसभा सदस्य हुन् ।



युवा पुस्ताको अलग बाटो

दीपक खत्री, ४२, ले फौजी बाबुबाजेको पेसा पछ्याएनन्। उनले सहिद मेघ गुरुङ मार्ग, देहरादुनमा एउटा रेस्टुराँ र होस्टेल (छात्रावास) चलाएका छन्। सहरमा मध्यमस्तरको व्यवसायीमा गनिन्छन् उनी। आफूबाहेक श्रीमती र फौजी सेवाबाट निवृत्त बाबुलाई समेत त्यही व्यवसायमा व्यस्त राखेका उनले थप तीन जनालाई रोजगारी दिएका छन्। प्यूठान, भिंगृबाट दीपकका जिज्यूबाजे भारतीय सेनामा जागिर गर्न पुगेका थिए। त्यसपछि उनको परिवार देहरादुनमै बस्दै आएको छ। जिज्यूबाजेदेखिको सेनामा जागिर गर्ने क्रमलाई उनले भंग गरिदिए। "हाम्रो पुस्ता सरकारी जागिरको विकल्प खोज्दै छ। आफ्नै व्यवसायले बढी स्वतन्त्र र आत्मनिर्भर भएको महसुस हुन्छ," दीपक भन्छन्।

दीपक यस्ता उदाहरण हुन्, जो देहरादुनमा रहेको नेपाली समुदायको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्छन्। उनीजस्तै आज धेरैजसो भारतीय नेपाली युवक स्वतन्त्र पेसा र व्यवसायको खोजीमा छन्। त्यसैले कतिपय आफ्नै व्यवसाय सञ्चालन गर्दै छन् भने कतिपय निजी क्षेत्रको जागिरमा फैलिँदै छन्। पेसा र व्यवसायका विविध क्षेत्रसँग परिचित हुनु, विभिन्न प्राविधिक तथा उच्च शिक्षाको सहज पहुँचमा पुग्नु र सरकारले सैन्य भर्तीमा आरक्षणको कटौती गर्नु आजको पुस्ता विविध क्षेत्रमा फैलिनाका प्रमुख कारण हुन्। भारतीय सेनाका बि्रगेडियरबाट निवृत्त भएका पीएस गुरुङ भन्छन्, "अवसर र बाध्यता दुवै कारण नयाँ पुस्ता फौजी जागिरको विकल्प खोज्दै छ।"

नेपाली भाषा, संस्कृति र पहिचानबाट पनि युवा पुस्ता थप टाढिँदै छ। भारतीय राष्ट्रिय सैन्य प्रतिष्ठानको परेडस्थलछेवैको बाटो भएर कार्यालयतर्फ जाँदै गरेकी सोनाली चन्द, २३, लाई नै हेरौँ। उनको घरमा नेपाली भाषा चले पनि कम हुँदै गएको छ। देहरादुनकै एक सूचना तथा सञ्चार प्रविधि कलेजकी कम्प्युटर शिक्षक सोनालीका लागि कम्प्युटर, इन्टरनेट, आइप्याड, स्कुटी र अंग्रेजी भाषा जति अनिवार्य छ, त्यति आवश्यक छैन, नेपाली भाषा। त्यसैले उनी घरमा पनि अधिकांश हिन्दी र केही अंगे्रजी बोल्छिन्। स्टिल कारखानामा काम गर्ने बाबु र फौजी काकाहरू पनि हिन्दीमै अभ्यस्त भइसकेकाले परविारमा नेपाली भाषाको उपस्थिति कम हुँदै गएको हो।

नयाँगाउँ, देहरादुनकी नयना थापा, २२, एयर होस्टेस हुन्। दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा केन्दि्रत उनको जागिरका कारण वर्षमा एकाधपटक मात्र घरपरविारसँग बित्छ। अंग्रेजी स्कुलमा पढेकी, परष्िकृत हिन्दी लबजमा अभ्यस्त भएकी नयनालाई नेपाली बोल्न भने झन्झट लाग्न थालिसकेको छ। तैपनि, बाबुआमालाई भेट्न देहरादुन आइपुग्दा हिन्दी र अंग्रेजीमिश्रति नेपाली बोल्ने प्रयास गर्छिन्।

उनका बाबु प्रीतमकुमार थापा र बाजे पनि सेनामा जागिरे थिए। उनीहरू आबद्ध पल्टनमा नेपालीकै बाहुल्य हुँदा अनौपचारकि कुराकानी नेपालीमा नै हुन्थ्यो। नेपाली गीतसंगीतमा रमाउँथे। तर, नयना यस्तो माहोलबाट निकै टाढा पुगिसकेकी छन्। अमरसिंह थापासँगै काँगडा पुगेका योद्धा गुमानसिंह खड्काका पाँचौँ उत्तराधिकार सुनीलविक्रमको चिन्ता पनि यही छ, "हामी गोर्खाली जातिको भाषा, धर्म, संस्कृति नै नामेट पो हुने हो कि ? हाम्रो जातिको सभ्यता नामेट भयो भने हाम्रो अस्तित्व केमा खोज्ने ?"

(आवरणसहित तस्बिरहरू : रामबहादुर रावल)





मास्टर मित्रसेनको तोतारानी

टाउको उठाएर हेर्दा नाकैमा ठोकिएलाजस्तो हिउँको पहाड अगाडि उभिन्छ। त्यसैको फेदीमा छ, भाग्सु धर्मशाला। यही भाग्सु क्षेत्रको तोतारानी गाउँमा आजभन्दा करबि ५० वर्षअघि मास्टर मित्रसेन थापाले झर्रा शब्दमा झ्याउरे गीतका बान्की भट्याएका थिए। हरियो जंगलको भित्रभित्रै हुर्कंदै गरेको यही भूमिबाट उनले नेपाली वीर जातिको गौरवगाथा गाएका थिए। लाहुरे जीवनको यथार्थलाई देश-देशावर पुर्‍याएका थिए। हो, तिनै मित्रसेनलाई जन्माउने यो भूमिमा, यो नेपाली बस्तीमा आज त्यस्ता विभूतिको खडेरी छ। मित्रसेनका झर्रा शब्द भट्याउने, नेपाली जनजीवनको स्पन्दन ठम्याउने नयाँ पिँढी खोज्नुपर्ने अवस्था छ। मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बहिनीले, धानको बाला झुल्यो हजुर देशै रमाइलो, लाहुरेको रेलिमाई फेसनै राम्रो, चुइँचुइँ चुइँकिने जुत्ता, छड्के टोपी ढल्काई ढल्काई खुकुरी चम्काई, अब त जाऊँ कान्छी घर बाटो छ उकाली ओरालीजस्ता शब्दलाई झ्याउरे भाकामा कर्णपि्रय स्वरमा ग्रामोफोनमा रेकर्ड गराएर नेपाली ढुकढुकीमा बस्न सफल भएका मास्टर मित्रसेनकै घरमा नेपाली भाषा बुझाउन दोभाषे राख्नुपर्ने अवस्था त आउने होइन भन्ने स्थितिमा भाग्सु पुगेको छ। उनकै छिमेकी गाउँ दाडीका चन्दन कार्की, ५९, हिमाचली कुल्लु मिलाउँदै भन्छन्, "घरभित्र त नेपाली नै बोल्छौँ। तर, अचेलका केटाकेटीले नेपाली बोल्न र बुझ्नै छाडिसके।"

तैपनि, यहाँ मित्रसेनकै नाममा मित्रसेन साहित्य संगीत सभा स्थापना गरिएको छ। यस संस्थाले बेलाबेला साहित्यिक जमघट र सांस्कृतिक कार्यक्रम गर्दै आएको स्थानीय प्रतापसिंह गुरुङ बताउँछन्। त्यसबाहेक देवीदेवताको पूजा, दसैँतिहार, भैलो, चाडपर्व नेपाली चलन अनुसार मनाउने गरएिको उनको भनाइ छ। अर्को रोचक पक्ष के भने यहाँका नेपालीमूलका भारतीयहरू आफ्नो अलग र ऐक्यबद्ध सांस्कृतिक पहिचानका लागि हरेक वर्ष चाडपर्वको पात्रो प्रकाशित गर्छन्। "त्यो पात्रो भाग्सुलगायत काँगडा जिल्लाका हरेक गोर्खालीका घरमा पुर्‍याउँछौँ। र, एउटै रीति र तिथिमा ती चाडपर्व मनाउँछौँ," काँगडाकै द्रमण, प्रीतमनगरका एक मात्र गोर्खाली परिवारका मूली लालबहादुर भण्डारी भन्छन्।

यता, उत्तराखण्डको देहरादुनमा नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृति हस्तान्तरण गर्न कतिपय विद्यालयमा नेपाली अध्यापन नै गराउन खोजियो। तर, विद्यार्थी त्यसतर्फ आकषिर्त हुनै सकेनन्। अहिले त्यो अभियान बन्द छ। "बरू, गीत र सांस्कृतिक क्षेत्रबाट गोर्खाली पहिचानप्रति नयाँ पुस्तालाई सचेत बनाउन सकिन्छ कि भनेर लागिएको छ," गुराँस सांस्कृतिक कला केन्द्रकी कोषाध्यक्ष प्रभा शाह भन्छिन्।

केन्द्रकी नृत्य निर्देशिका सुम्निमा शर्मा गुरुङले स्वयंसेवी रूपमा झ्याउरे, सोरठी, कौरा, मारुनी, तामाङ सेलोजस्ता नेपाली नृत्य स्कुले बालबालिकालाई सिकाउँदै आएकी छन्। कोषाध्यक्ष शाहका अनुसार गोर्खालीलाई एकतामा बाँध्न र आफ्नो जातीय संस्कृतिप्रति सबैको ध्यान आकषिर्त गर्न यो तरिका बढी प्रभावकारी भएको छ। "प्रदेशस्तरमा हुने प्रतियोगितात्मक कार्यक्रम, सरकारी स्तरबाट आयोजना हुने सभा, समारोह, राजनीतिक संगठनका कार्यक्रम र नेपाली चाडपर्वका अवसरमा समेत हामी ठेट नेपाली प्रस्तुति दिन्छौँ," शाह भन्छिन्, "हाम्रो प्रस्तुति हेरेपछि आफ्नो जातीय संस्कृतिप्रति हरेक गोर्खाली सोच्न बाध्य हुन्छ।"

देहरादुनमा देउसीभैलोको प्रचलन भए पनि त्यसमा संस्कृति, कला र धार्मिक पक्ष कम तर पैसा माग्ने पक्ष बढी हावी भएको देखेर सेनाका पूर्वबि्रगेडियर पीएस गुरुङ चिन्तित बने। त्यसपछि उनले प्रस्ताव ल्याए, असली देउसीभैलो खेलेर देखाइदिनुपर्‍यो। गोर्खालीहरूको बैठकै डाकेर केही दिन देउसीभैलोको रहिर्सल गरियो र गएको तिहारमा गाउँगाउँमा गएर परम्परागत देउसीभैलो खेलियो। भन्छन्, "मौलिक संस्कृति हराउँदै गएको ठानेर हामीले असली देउसीभैलोको अभ्यास थालेका छौँ।" अहिले नेपाली कला र संस्कृतिसम्बन्धी पुस्तक, वाद्य, तस्बिर र भिडियो संकलन गर्नु उनको दैनिकी बनेको छ।

साहित्य, कला, संगीतका क्षेत्रमा उर्वर बन्न नसकेको यस क्षेत्रमा जागरणको लहर ल्याउन कठिन रहेको लेखक भूपेन्द्र अधिकारीको ठम्याइ छ। तर, यही क्षेत्रमा मरिमेट्ने हो भने पुनःजागरणको सम्भावना पनि उत्तिकै रहेको उनको भनाइ छ। "हरेक वर्ष २९ असारमा भानुजयन्ती धुमधामका साथ मनाउँछौँ। खलंगा मेलामा सहभागी हुन बाहिर रहेका गोर्खालीसमेत घर फिर्छन् र यसमा राजनीतिक नेता र सरकारी ओहोदावाल पनि सहभागी हुन थालेका छन्," नेपाली भाषाका शिक्षकसमेत रहेका अधिकारी भन्छन्, "यसले नेपाली जातीय पहिचान र सांस्कृतिक जागरणको पक्षमा झीनो आशाको संकेत गर्छ।"

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

रामबहादुर रावलद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar