मजदुर नेता कि मालिक ?

  • एमाओवादी मजदुर नेताका अपारदर्शी आर्जन र भड्किलो जीवनशैली

-कथित संयोजक प्रकाश श्रेष्ठ, युनिक फास्टफुडलगायत सातवटा प्रतिष्ठान, पीताम्बर गौतम (तिरूपति होटल), माधव पाण्डे, कुमार पन्त, प्रकाश थापा र राजन खड्का इडेन होटलका मालिक रहेको। जसका कारण निजहरूलाई मजदुर नेता मान्न नसकिने।

-कुनै पनि पेसामा मजदुरी नगर्ने टे्रड युनियन महासंघका कथित नेतालाई मजदुर नेता मान्न नसक्ने, साथै श्रम कार्यालयले मालिकहरूलाई कसरी मजदुरका नेतामा वैधानिकता दिने होला ?

-पार्टी केन्द्रीय कार्यालय भवन खरिद गर्दा उठाएको रकम, जनदिशा दैनिक पत्रिका सञ्चालनका निमित्त उठाइएको सेयर रकम, सहकारी सञ्चालनका निमित्त उठाइएको सेयर, प्रत्येक होटल, क्यासिनो तथा रेस्टुराँबाट उठाएको मजदुर लेबी अपारदर्शी रहेको।

-सम्पत्ति छानबिन आयोगमा अकुत सम्पत्ति कमाएको बारे गरेको निवेदन/उजुरीउपर छानबिन नै नगरी निवेदन/उजुरी बेपत्ता बनाएको।

-स्वरोजगार कोषबाट निकासी भएको पाँच करोड रकम हिनामिना सम्बन्धमा उक्त रकम सीमित व्यक्तिले मात्र अपचलन गरेको।



एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन अखिल नेपाल टे्रड युनियन महासंघका नेताहरूसँग सम्बन्धित आरोपका यी बुँदा प्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर १ सय २६ जना मजदुरले २६ भदौमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्। उनीहरूले यिनै बेहोराको उजुरीपत्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', प्रधानमन्त्री भट्टराई तथा पार्टीद्वारा अमिक शेरचनको नेतृत्वमा गठित सम्पत्ति छानबिन आयोगमा समेत बुझाइसकेका छन्।

उजुरीमा महासंघका केन्द्रीय नेताहरूले अपारदर्शी ढंगले सम्पत्ति कमाएको मात्र होइन, पाँचतारे होटल अन्तर्गतका क्यासिनो एकाइ अध्यक्षहरूले समेत राजधानी उपत्यकामा घरघडेरी जोडिसकेको उल्लेख छ। अचम्म त के भने ०६२/६३ को जनआन्दोलनपछि माओवादी आन्दोलनमा जोडिएर मजदुर संगठनका भित्रिया बन्न सफल भएकाहरूले समेत सम्पन्नता हासिल गरेका छन्। एमाओवादी समर्थित मजदुर संगठनका होटल एभरेस्ट एकाइ अध्यक्ष होम सुवेदी भन्छन्, "अखिल नेपाल टे्रड युनियनमा आबद्ध धेरैजसो मजदुर नेता जनतादेखि जमिनसम्म स्थापित भइसके। राम्राराम्रा ठाउँ र उद्योगीलाई कब्जा गरसिकेकाले उनीहरू क्रान्ति भइसक्यो भन्ने भ्रममा छन्।"

नेताजति व्यवसायमा

अखिल नेपाल टे्रड युनियन महासंघका उपाध्यक्षद्वय बाबुराम गौतम र जय कार्की तथा महासचिव गणेश रेग्मीका नाममा काठमाडौँको कोटेश्वरमा २० आना जग्गा छ। एमाओवादी केन्द्रीय कार्यालय पेरसिडाँडासँगै जोडिएको त्यो जग्गा तीन वर्षअघि २ करोड ८० लाख रुपियाँमा लिइएको हो। तुलाधर थरका जग्गाधनीबाट किनिएको कित्ता नम्बर ४९४ र ५७८ को उक्त जग्गा अखिल नेपाल ट्रेड युनियन महासंघको भएको र महासंघ गैरनाफामूलक राजनीतिक संगठन भएकाले बैंकले ऋण नदिने हुँदा प्रक्रिया पुर्‍याउन मात्र उक्त जग्गा आफ्नो नाममा राखिएको गौतमको दाबी छ। भन्छन्, "एक करोड रुपियाँ ऋण तिर्न बाँकी छ। त्यो तिरसिकेपछि महासंघको नाममा जानेछ।"

मंसिर ०६८ को पहिलो साता युवा स्वरोजगार कोषबाट मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्थाको नाममा पाँच करोड रुपियाँ निकालियो, जसका अध्यक्ष गणेश रेग्मी हुन्। स्वरोजगार कोषको नियम अनुसार सहिद स्मृति सहकारीले नागरकिताको प्रति राखेर एक जनालाई दुई लाख रुपियाँसम्म बिनाधितो लगानी गर्नुपथ्र्याे। तर, सहकारीले उक्त रकम त्यसरी लगानी नगरेको अर्काथरीको भनाइ छ। त्यसरी युवाहरूलाई लगानी गर्ने भन्दै सहकारीका नाममा ल्याइएको रकम अध्यक्ष जमकट्टेल, उपाध्यक्ष गौतम, महासचिव रेग्मी, उपमहासचिवद्वय जगत् सिंखडा र राजन तिमल्सिना, तत्कालीन अखिल नेपाल होटल तथा रेस्टुराँ मजदुर संघका तत्कालीन सचिव प्रकाश श्रेष्ठ, धनबहादुर विक र पीताम्बर गौतमबीच मतैक्य भयो। त्यस अनुसार सातवटा सहकारी खोलिए र उक्त रकम त्यहीँ लगानी गरियो।

सबैभन्दा धेरै रकमचाहिँ जमकट्टेल-गौतम-रेग्मीसहित ५० जनाको समूहले ललितपुरको विशंखुनारायण-९ मा झन्डै पाँच रोपनी क्षेत्रफलमा खोलेको श्रमिक नमुना बंगुर फार्ममा लगानी भएको छ। दुई रोपनी क्षेत्रफल थपेर अहिले त्यहाँ माछापालन र तरकारी खेती थाल्ने तयारी भइरहेको छ। अखिल नेपाल ट्रेड युनियन महासंघ कृषि सहकारी संस्थाका अध्यक्ष जमकट्टेल हुन्।

त्यसो त एमाओवादी केन्द्रीय कार्यालयका लागि पेरसिडाँडामा घर खरदि गर्दा पनि मजदुर नेताहरूले रकम हिनामिना गरेको आरोप छ। उक्त घर र त्यसले चर्चेको २ रोपनी ८ आना जग्गा खरदिका लागि २ करोड ७२ लाखमा सहमति भएको र पास गर्दा लाग्ने कर छुट गराइएको थियो। तर, भवन महासंघका नाममा आइपुग्दा २ करोड १६ लाख ७५ हजार मात्र खर्च भयो। खरदि गर्नुअघि कबोल गरएिका कतिपयलाई अहिलेसम्म रकम दिइएको छैन। तर, उक्त घर खरदिका लागि मजदुर संगठनबाट १० करोडभन्दा बढी रकम उठेको अनुमान छ।

महासंघ उपाध्यक्ष बाबुराम गौतम भने युवा स्वरोजगार कोषको केही रकमका अतिरत्तिm अरू सेयरधनीसमेत खोजी ५० जनाको समूहले उक्त फार्मसहित सहकारी चलाइरहेको दाबी गर्छन्। भन्छन्, "ऋण लिएर त जसले पनि व्यवसाय गर्न पाउँछ। हामीले पनि स्वरोजगार कोषको ऋण लिएर व्यवसाय गरेका हौँ। ऋणी पनि, धनी पनि हामी नै हौँ। अरूको नागरकिता देखाएर ऋण लिई हामीले व्यक्तिगत बनाएको भन्ने गलत हो।"

सिन्धुली, मरनिका प्रकाश श्रेष्ठ एमाओवादीनिकट अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष हुन्। प्रधानमन्त्री भट्टराई पक्षधर मजदुरको बहिष्कारका बाबजुद भदौको अन्तिम साता पोखरा सम्मेलनबाट अध्यक्ष चुनिएका श्रेष्ठको अपारदर्शी लगानीमा युनिक फास्टफुड नाममा सातवटा रेस्टुराँ सञ्चालन भइरहेको मजदुरहरूकै दाबी छ। सम्मेलनकै मुखमा भट्टराई पक्षमा उभिएका मजदुरहरूको पत्रकार सम्मेलनमा वितरति विज्ञप्तिमा लेखिएको छ, 'प्रकाश श्रेष्ठ नै मजदुरका नेता हुन् वा होटल तथा रेस्टुराँ व्यवसायी हुन् स्पष्ट हुन सकेको छैन। उनलाई हामी मजदुरहरू नेता मान्न तयार छैनौँ। उनको वर्गोर्त्थान भइसकेको छ।'

अहिलेसम्म न श्रेष्ठले नै उक्त आरोपलाई इन्कार गरेका छन्, न त महासंघले नै यसबारे मुख खोलेको छ। असन्तुष्ट पक्षका नेता तथा बौद्धस्थित हायात होटल एकाइ समितिका अध्यक्ष मुक्ति दाहाल पार्टी तथा टे्रड युनियन महासंघले युनिक फास्टफुडमा श्रेष्ठको लगानीबारे बुझ्न चाहे प्रमाण दिन आफूहरू तयार रहेको बताउँछन्। भन्छन्, "श्रेष्ठले युनिक फास्टफुडलाई आफ्नो नामबाट श्रीमतीको नाममा र श्रीमतीको नामबाट आफन्तको नाममा सारेको प्रमाण हामीसँग छ।"

श्रेष्ठ भने ०४६ सालदेखि पार्टी सदस्य रहेकाले आफूले फास्टफुडमा लगानी गर्न नसक्ने दाबी गर्छन्। "मेरो नातासम्बन्धका मानिसले के के व्यवसाय गर्छन्, म सरोकार राख्न सक्तिनँ," श्रेष्ठ भन्छन्, "मैले लगानी गरेको रेस्टुराँ देखाउनेलाई आधा र पार्टीलाई आधा दिनेछु।" ललितपुरस्थित कुपन्डोलको युनिक फास्टफुडबारे सोधिएको प्रश्नमा भने उनी आफ्नो लगानी रहेको घुमाउरो तवरले स्वीकार्छन्। भन्छन्, "युवा स्वरोजगार कोषबाट ल्याएको दुई लाख रुपियाँ त्यहाँ श्रीमतीले सेयर हालेकी हुन्। त्यो पनि डुबेको छ। उकासेर देऊ भनेर रेस्टुराँ नै साथीलाई छाडिदिएको छु।"

महासंघकै पूर्वउपमहासचिव जगत् सिंखडाले बालाजु नयाँ बसपार्कभित्रको पायनियर फ्युल एन्ड लुबि्रकेन्ट्स प्रालि र बाफलको ओम श्री सत्य साई पेट्रोल पम्पमा ४० लाख रुपियाँ लगानी गरेका छन्। उनी आफैँ पनि त्यो स्वीकार्छन्। उनको भनाइमा मजदुर संगठनमा आबद्ध २५ जना मिलेर मजदुर सहिद स्मृति श्रम सहकारी गठन गरी युवा स्वरोजगार कोषबाट प्रतिव्यक्ति १ लाख ८० हजारका दरले ल्याइएको रकम त्यहाँ लगानी गरिएको हो। सिंखडा भन्छन्, "मैले कहीँ पनि अपारदर्शी लगानी र आय गरेको छैन। संगठनकै हितका लागि सामूहिक रूपमा लगानी गरेका हौँ।" पायनियर फ्युलमा सिंखडाले लगानी गरेका भए पनि नेपाल आयल निगमको अभिलेखमा भने यसको सञ्चालकमा नुगलआनन्द वैद्य र श्यामप्रसाद श्रेष्ठ देखिन्छन्। त्यसैगरी ओम श्री सत्य साई नामको पेट्रोल पम्पका सञ्चालक चूडाकान्त सेढाईं छन्।

पुतलीसडकस्थित तिरुपति होटलमा कामदारका रूपमा छिरेका सिन्धुलीका पीताम्बर गौतम अहिले त्यसको मालिकसरह  भएका छन्। ०६२/६३ को जनआन्दोलनपछि माओवादीमा समेटिएका गौतम अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ संघका उपाध्यक्ष हुन्। शान्ति प्रक्रिया सुरु भएपछि नै माओवादीको मजदुर आन्दोलनमा जोडिएका गौतमकी श्रीमती अजिता सिंखडा अहिले अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघकी उपाध्यक्ष छिन्। उनी क्यासिनो भेनसमा काम गर्छिन्।

१२-१५ वर्षदेखि होटल, रेस्टुराँ तथा क्यासिनोमा काम गररिहेका मजदुरहरूले भने घरघडेरी जोड्न त परै जाओस्, मध्यमवर्गीय जीवनस्तर बिताउनसमेत सकेका छैनन्। तर, माओवादी मजदुर संगठनमा आबद्ध केही दर्जन टाठाबाठाहरूले मात्र कसरी यस्तो वैभव प्राप्त गर्न सके ? यतिखेर मजदुरहरू नै जिब्रो टोक्न थालेका छन्।



अपारदर्शी आर्जन

मजदुर नेताहरूको उल्लेख्य नियमित आयस्रोत केही छैन। उनीहरूको दैनिक औसत आय २ सय ५० देखि १ हजार ५ सय रुपियाँसम्म छ। राजनीति गर्नेका लागि पररवारले खर्च सहयोग गरेको देखिँदैन। तर, उनीहरूले नै कसरी रातारात अकुत सम्पत्ति कमाए त ? "एमाओवादीका केही नेताहरूलाई धनी बनाउन १३ हजार मानिस मर्नुपरेको रहेछ," अखिल नेपाल टे्रड युनियन महासंघका पूर्वउपाध्यक्ष रहेका नेकपा-माओवादी नेता बद्री बजगाईं भन्छन्, "हरेक मजदुर आन्दोलन एक-दुई जना मजदुर नेतालाई स्थापित बनाउन र स्थापित भइसकेका मजदुर नेतालाई रकम कमाउन मात्र भएको देखिन्छ।" मजदुर नेताहरूको आर्थिक अवस्था चुलिएको देख्दा त्यो पुष्टि हुने बजगाईंको भनाइ छ।

त्यसो त एमाओवादीमा आबद्ध मजदुर नेताहरूले मात्र होइन, नेपाली कांग्रेस र नेकपा एमालेनिकट कतिपय मजदुर नेताहरूले पनि राजधानी उपत्यकामा घरघडेरी जोडेका छन्। तर, उनीहरूबीचमा प्रस्टै अन्तर के छ भने कांग्रेस र एमालेमा जस्तो एमाओवादीमा नेताहरूको निजी सम्पत्ति भन्ने केही हुँदैन। भदौ ०५४ मा भारतको फरिद(पन्जाब) मा भएको चौथो विस्तारति बैठकले पनि नेताहरूको व्यक्तिगत सम्पत्ति नरहने र भएको सम्पत्ति पार्टीकरण गर्ने निर्णय गरेको थियो। र, यही निर्णय अनुरूप साउन ०६४ मा राजधानीको बालाजुमा भएको पाँचौँ विस्तारति बैठकपछि केन्द्रीय नेताहरूको सम्पत्ति पार्टीकरण गर्ने भन्दै सार्वजनिक गरिएको थियो। तर, त्यही पार्टीका मजदुर नेताहरूको हकमा भने यो लागू भएको छैन (हेर्नूस्, बक्स : घर-घडेरी जोड्ने होड)।

बजगाईं अपारदर्शी सम्पत्ति जोड्ने होडबाजीले नै एमाओवादीका मजदुर नेताहरू वर्ग उत्थानमा गइसकेको ठोकुवा गर्छन्। भन्छन्, "एमाओवादीका मजदुर नेताहरूको आर्थिक हिनामिनाले भोलि लडाकूभित्रको रडाकोले भन्दा ठूलो रूप लिने निश्चित छ।"





घर-घडेरी जोड्ने होड

एकीकृत नेकपा माओवादीको भ्रातृ संस्था अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमकट्टेलमाथि नै व्यक्तिगत सम्पत्ति जम्मा गरेको आरोप लागेको छ। विवादकै कारण पार्टीले गत संविधानसभा निर्वाचनमा धादिङ-३ बाट सभासद् चुनिएका जमकट्टेललाई नेतृत्वबाट हटाई पार्टी सचिव पोस्टबहादुर बोगटीलाई महासंघको सम्मेलनको संयोजक तोकेको थियो। तिनै जमकट्टेललाई साउनको पार्टी पदाधिकारी बैठकले फेरि महासंघको नेतृत्वसहित संयोजकको जिम्मेवारी सुम्पेको छ।

महासंघका असन्तुष्ट मजदुरहरूले मजदुरका नाममा लाखौँ रुपियाँ संकलन गरी मालिक बनेको, युवा स्वरोजगार कोषबाट पाँच करोड रुपियाँ लिएर आफू अनुकूल लगानी गरेको र टे्रड युनियन आन्दोलनलाई अर्थवादमा रूपान्तरण गरेको जस्ता आक्षेप जमकट्टेलमाथि लगाएका छन्। साथै, उनीमाथि मध्यपुर थिमी नगरपालिका-१३ मा घर बनाइरहेको आरोप पनि छ।

जमकट्टेल भने राजनीतिक र सांगठनिक हिसाबले प्रतिस्पर्धा गर्न नसकेपछि आफूमाथि ०६४ सालदेखि नै घर बनाएको आरोप लाग्न थालेको बताउँछन्। आफूले घर बनाइरहेको भन्ने आरोपको प्रतिवाद गर्दै उनी भन्छन्, "मैले चाहने हो भने थिमीमा मात्र होइन, काठमाडौँको कुनै पनि ठाउँमा घर किनेर बस्न सक्छु। घर बनाउनका लागि मैले कुनै ठाउँमा गएर आर्थिक हिनामिना गरेको छैन।" आफू बबरमहलमा प्रतिमहिना नौ हजार रुपियाँ भाडा तिरेर बसिरहेको उनको भनाइ छ।

०५६ सालदेखि माओवादी द्वन्द्वमा पूर्णकालीन भएका महासंघका उपाध्यक्ष बाबुराम गौतमको भक्तपुरको दुवाकोटमा पाँच आना जग्गा छ। पार्टीको 'पार्टटाइमर' कार्यकर्ता छँदै ०५५ सालमा ४५ हजार रुपियाँमा उक्त जग्गा खरदि गरेको उनको भनाइ छ। भन्छन्, "अलिकति जग्गा किन्नेबित्तिकै, सानो घर बनाउनेबित्तिकै त्यसलाई ठूलो मुद्दा बनाउनु युक्तिसंगत होइन।" उता सुनसरी जन्मथलो भएका महासचिव गणेश रेग्मीको काठमाडौँको डाँछीमा घर छ। एमालेनिकट मजदुर संगठनमा आबद्ध भएर गार्मेन्टमा काम गर्दाको तलबले ०५० सालमै ३६ हजार रुपियाँमा चार आना जग्गा लिएको र एकतले घर बनाएको उनको भनाइ छ। भन्छन्, "घर बनाउँदाको ५० हजार ऋण तिर्न अझै बाँकी छ।" उनीमाथि भने महासंघबाट रकम लिएर तला थपेको आरोप छ।

१० भदौ ०६८ मा अध्यक्ष जमकट्टेलमाथि गरएिको आक्रमणमा मुछिएका पूर्वसचिव रमेश पन्तले पनि भक्तपुरको दधिकोटमा घर-घडेरी जोडेका छन्। उनी आरोप स्वीकार/अस्वीकार केही गर्दैनन्। भन्छन्, "पहिले पनि उजुरी परेर हितमान शाक्यको नेतृत्वमा छानबिन भएकै हो। अहिले पनि छानबिन गरी कारबाही गरे भइगयो नि!"

केही समयअघिसम्म क्यासिनो अन्नाका एकाइ अध्यक्ष रहेका कल्पदीप राई, जो अहिले वैधानिक रूपमा क्यासिनो अन्नाका ५३ प्रतिशतका अंशियार हुन्, को ललितपुरको लामाटारमा घर-कम्पाउन्ड छ। उनले तीन वर्षअघि मात्र ४० लाख रुपियाँमा उक्त घरजग्गा खरदि गरेका हुन्। उनी आफ्नो श्रम र श्रीमतीका नाममा रहेका जग्गा बेचेर घरजग्गा किनेको बताउँछन्। भन्छन्, "मैले मजदुर संगठनबाट अनुचित लाभ लिएर घर खरदि गरेको होइन। कल्पदीप राईले श्रम गरेर जोडेको सम्पत्ति हो।" त्यस्तै, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघका उपाध्यक्षद्वय पीताम्बर गौतम र अजिता सिंखडाले पनि बालाजुमा घरबार जोडेका छन् ।

शान्ति प्रक्रियामा आएपछि मात्र होटल, रेस्टुराँ तथा क्यासिनोभित्र छिरेर सम्पत्ति जोडेको सानो अंश मात्र हो यो। पाँचतारे होटल तथा क्यासिनोमा एकाइ अध्यक्ष हुने मजदुरमध्ये राजधानीभित्र घर-घडेरी नजोड्ने नेता विरलै छन्।

महासंघ उपाध्यक्ष गौतम भने सबैलाई एउटै बास्केटमा हालेर हेर्न नहुने तर्क गर्छन्। "एकाइ समितिमा रहेकाहरू महासंघका पार्टटाइमर कार्यकर्ता मात्र हुन्। उनीहरूले कहाँबाट कसरी रकम जोहो गरेर घर किने, हामीले चासो दिएका छैनौँ," उनी भन्छन्, "महासंघको नेतृत्वमा रहेका कसैले पनि संगठनको आडमा अनुचित लाभ लिएर घर-घडेरी जोडेका छैनन्। जोडेको प्रमाणसहित आए छानबिन हुन्छ।"

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

माधव बस्नेतद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar