काठमाडौँको सातदोबाटो चक्रपथबाट आठ किलोमिटर गोदावरीतर्फ लागेपछि आउँछ, होटल भ्यु भृकुटी। गर्मी याममा होस् या जाडोमा, यहाँको बसाइको आफ्नै विशेषता छ। गर्मी छल्न गोदावरी जंगलछेउ पुग्दा रिसोर्टमा चल्ने सिरसिरे हावाले मन चंगा गराउँछ भने जाडोमा हुस्सु मडारिएको रमाइलो हेर्न सकिन्छ।
तीनतले होटलका सबै तलामा फराकिला कौसी छन्, जहाँबाट एकातर्फ काठमाडौँ र ललितपुरको दृश्य देखिन्छ भने अर्कोतर्फ गोदावरी जंगलमा चरा अवलोकन गर्न सकिन्छ। यहाँ रेड रक्स र आइरन टेरेस नामका दुई अन्तर्राष्ट्रिय स्तरका रेस्टुराँ छन् भने ब्ल्याक एन्ड ह्वाइट बार छ। बारमा थुप्रै स्वादका ककटेल र मकटेल तयार हुन्छन् भने नेपाली, चिनियाँ र कन्टिनेन्टल खाना उपलब्ध छ।
होटलबाट हाइकिङ्का लागि भ्यु भृकुटीलाई केन्द्र पारेर लाँकुरी भञ्ज्याङ, फूलचोकी र शान्तिवन पुग्न सकिन्छ। होटेलका म्यानेजर भक्त तामाङका अनुसार २० जनाभन्दा बढीको समूहमा आउनेलाई प्रतिव्यक्ति २ हजार ५ सयदेखि ३ हजार ५ सय रुपियाँ खर्चमा एक दिनको आवास र पाँचपटकसम्म खानपानको व्यवस्था छ।
प्रविधि : डिजिटल भिजिटिङ् कार्ड
कागजबाट बनाइएको भिजिटिङ् कार्ड बोक्नुहुँदैन भन्ने मान्यता राख्नुहुन्छ भने 'डिजिकार्ड' अर्थात् डिजिटल भिजिटिङ् कार्ड विकल्पका रूपमा उपलब्ध छ। डिजिकार्ड डट स्प्यारोएसएमएस डटकम लगइन गरेर तपाईंले १ सय ४० शब्दभित्र आफ्ना जानकारी राख्न सक्नुहुन्छ। आफ्नो जानकारी आवश्यकता अनुसार अपडेट पनि गर्न सकिन्छ। त्यहाँ तपाईंकै रोजाइको एउटा कि-वर्ड पाइन्छ। तपाईंको भिजिटिङ् कार्ड लिन चाहनेले एसएमएसमा 'इन्फो स्पेस कि-वर्ड' टाइप गरेर ४००१ मा एसएमएसमा पठाएपछि तपाईंसमक्ष डिजिकार्ड आइपुग्छ। कसैलाई यो कार्ड पठाउनु छ भने 'डिजिसेन्ड स्पेस पाउनेको मोबाइल नम्बर' टाइप गरेर ४००१ मै पठाउनुपर्छ। एकपटक कार्ड लिँदा वा पठाउँदा करबाहेक एक रुपियाँ खर्च हुन्छ।
फिल्म : प्रेरणादायी कथा
साहसिक विषयवस्तुमा बनाइएका फिल्म निकै प्रेरणादायी हुन्छन्। लाइफ अफ पाइ प्रशान्त महासागरमा गरिएको एउटा साहसिक यात्राको त्यस्तै कथा हो। ११ वर्षअघि सार्वजनिक भएको याल मार्टेलको उपन्यासमा आधारति यो फिल्मको प्रारम्भमा दक्षिण भारतको पोन्डीचेरीबाट क्यानाडा जाँदै गरेको पानीजहाज दुर्घटनामा पर्छ। र, लाइफबोटमा १६ वर्षे युवक पाइ र एउटा बाघ रचिर्ड पार्कर गन्तव्यहीन यात्राका सहयात्री बन्छन्।
लाइफबोटमा बाघबाट बच्न पाइले भएभरका जुक्ति लगाउँछ। बाघबाट आफू बच्नकै लागि भए पनि शाकाहारी पाइले बाघको आहाराका लागि माछा मार्न सिक्छ। सुरुमा पाइ आफ्नो सुरले डुंगा खियाउनसमेत सक्दैन। कारण, त्यहाँ रचिर्ड पार्कर हुन्छ। उनीहरू बिस्तारै एकअर्काका परिपूरक बन्छन्, सम्बन्ध सुमधुर बन्छ।
आवश्यकताले मानिस र जनावरलाई समेत नजिकको बनाउँछ भन्ने फिल्मले राम्रोसँग देखाएको छ। यात्राकै क्रममा एउटा मानवरहित टापुमा पुगेर केही तंगि्रएपछि पाइमा पुनः मानवबस्तीमा पुग्ने आशा बढ्छ। बाघले समेत उसलाई साथ दिन्छ। उनीहरूको यात्रा एक बिहान मानवबस्तीमा पुग्छ। अन्त्यमा पाइ यात्रा सफलतापूर्वक पूरा गरेकामा बाघसँगै बसेर रुन चाहन्छ, उसलाई धन्यवाद भन्न चाहन्छ। तर, बाघ एकोहोरो आफ्नो बाटो लाग्छ। पाइ 'गुडबाई' भन्न नपाउँदाको अथाह पीडाबोध गर्छ।
फिल्ममा उड्ने माछा, ह्वेलको यात्रा, रातमा देखिने समुद्री आकाशजस्ता दृश्य प्राविधिक रूपमा निकै उत्कृष्ट छन्। ताइवानी निर्देशक आङ् लीले प्रविधि र भावनाको सम्मिश्रण गरेर आशावादी कथालाई रोमाञ्चक बनाएका छन्।
नयाँ : देश दौडाहामा राष्ट्रसेवक
निजामती सेवा कसैका लागि निकै आकर्षण त कसैका लागि वितृष्णाको कारक किन हुन्छ ? राजेश्वर श्रेष्ठ र रीता पोखरेलले उत्तर खोज्ने प्रयास गरेका छन् वृत्तचित्र राष्ट्रसेवकमा। निजामती सेवा भ्रष्टाचार, ढिलासुस्तीको पर्याय बन्दा यो पेसामा सम्भावना हुँदाहुँदै अनेकन् समस्या रहेको तथ्य वृत्तचित्रले प्रस्ट पार्न खोजेको छ।
डेकमणि पोखरेलको कथामा तयार भएको वृत्तचित्रमा वास्तविक अपराधी अन्ततः कानुनबाट नउम्किने चित्रण गरएिको छ। घूस खाने र नखाने कर्मचारीको छुट्टाछुट्टै अनौपचारकि सञ्जाल कर्मचारी संयन्त्रभित्र हुनु सेवाकै लागि लज्जाको विषय वृत्तचित्रमा उठाइएको छ। वृत्तचित्र भनिए पनि गैरकर्मचारीहरूले अभिनय गरेकाले अभिनय र कथावस्तुबीच तालमेल नमिलेको भान हुन्छ। यो वृत्तचित्र अहिले प्रदर्शनका लागि देश दौडाहामा छ।
परिकार : चिकेन कार्डम ब्लु
कन्टिनेन्टल परिकार 'चिकेन कार्डम ब्लु' चिकेन, बंगुरको मासु (ह्याम) र चिजको सम्मिश्रणबाट बन्छ। कुखुराको छातीको मासुलाई कन्टिनेन्टल मसलामा मोलेर त्यसमा ह्याम र चिज राखेर रोल गरिन्छ। र, त्यसलाई डिप प|mाइ गरेपछि चिकेन कार्डम तयार हुन्छ। यसलाई गि्रल्ड भेज, सलाद, चिप्स र ट्रपिकल सससँग सर्भ गरिन्छ। निकै अड्कलेर मसला प्रयोग गरिने हुँदा यसको स्वाद मध्यम प्रकृतिको हुन्छ। अर्डर गरेको १५ मिनेटमा तयार हुने चिकेन कार्डम ब्लुको मूल्य तीन सय रुपियाँ छ।
प्रसंग : पिताजीको स्मृतिमा पुत्र
परराष्ट्र मन्त्रालयका उपसचिव यादव खनालले दिवंगत पिता गंगाप्रसाद खनालको जीवनका अनुभव र सन्दर्भ सँगालेर जीवन यात्रा र सिर्जना पुस्तक प्रकाशनमा ल्याएका छन्। सो ग्रन्थमा पाँचथर रानीगाउँको जीवन र पि्रयजनहरूसँगको सन्दर्भ समेटिएको छ। कुम्भकर्ण हिमालमा ठोक्किने घामको पहिलो टहक आइपुग्ने गाउँमा जीवनका स्मरणीय वर्षहरू बिताएका गंगाप्रसादको गाउँलेसँगको साइनो चर्चा गरएिको छ।
पुस्तकका सम्पादकसमेत रहेका यादवले पिताका पद्य रचनासमेत समेटेका छन्। गंगाप्रसादले पढाइ र कामका लागि नेपाल र भारतका विभिन्न ठाउँमा गरेका संघर्षका कथाले पुस्तकलाई रुचिकर बनाएको छ। गाउँको जीवनशैली झल्किने पुराना तस्बिरहरू पनि समेटिएका छन्।
पहिरन : मेटल जम्पर
मेटल ब्यान्डका नाम र लोगो छापिएका टिसर्ट पाइनु कुनै नौलो कुरा रहेन। जाडोमा त्यस्तै प्रकृतिका पहिरनका सोखिनका लागि अहिले थाइ जम्परमा समेत मेटल ब्यान्डको लोगो पि्रन्ट गरिएको छ। हुड भएका यस्ता ज्याकेट चेन भएका/नभएका दुवै खालका पाइन्छन्। कुनै कुनैमा पछाडिपटि्ट र बाउलामा समेत मेटल ब्यान्डको लोगो पि्रन्ट गरिएको छ। काठमाडौँ, गणबहालस्थित लाइफटायम जेन्स स्टोर्समा यस्ता जम्परहरू २ हजार ५ सयदेखि ३ हजार रुपियाँसम्ममा उपलब्ध छन्।
संयोजन : प्रदीप बस्याल
तपाईंको प्रतिकृया