मुख्य समाचार


'बाबुराम हटेपछि मात्र काठमाडौँ’

राउटे मुखिया मैनबहादुर शाहीले भेट्नासाथ सोधे, "होइन, प्रचण्डलाई ढालिदिए भन्छन् त ?" एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई उनकै कार्यकर्ता पदम कुँवरले थप्पड हानेको घटनाको चर्चा राउटे बस्तीमा सेलाएको रहेनछ। प्रचण्डमाथि ठूलै आक्रमण भएको हल्ला उनीहरूकहाँ पुगेको रहेछ।

०६५ सालमा प्रधानमन्त्री हुँदै उनलाई राउटेहरूले सिंहदरबारमा भेटेका थिए। त्यतिबेला उनले राउटेका काठका भाँडा किनिदिएका रहेछन्। उनले नै राउटेलाई अल्पसंख्यक भत्ता दिलाए। त्यसैले प्रचण्डप्रति राउटेको बेग्लै चासो देखिन्छ।

राउटेले माया गर्ने अर्का पूर्वप्रधानमन्त्री रहेछन््, माधवकुमार नेपाल। "बाबुराम भट्टराई खाली भएपछि माधव नेपाललाई राख्नुपर्छ," मुखिया मैनबहादुर खुलेरै भन्छन्। राउटेले नेपाललाई मन पराउनुको कारण पनि रोचक छ। राउटेका मितकी भान्जी पर्छिन्, सत्यदेवी अधिकारी। उनैले ०६७ सालमा प्रधानमन्त्री हुँदा नेपालसँग भेटघाट गराइदिएकी थिइन्। त्यो पनि राउटेको विश्वास जित्न। भएछ के भने सत्यदेवीलाई राउटेले चुनौती दिएछन्, "प्रधानमन्त्रीलाई भेटाउन सक्छौ भने तिम्रा कुरा मान्छौँ।" उनले तत्काल फोन लगाइन्। मुखियासँग कुरा गराइन्। प्रधानमन्त्रीले निम्ता गरेपछि राउटे दंग परे।

राजधानी जाने पैसा थिएन। सत्यदेवीले तत्कालीन वनसचिव युवराज भुसालसँग आग्रह गरनि्। उनले राउटेलाई अनुगमन भ्रमणका लागि डेढ लाख रुपियाँ उपलब्ध गराए। त्यसबेला उनीहरू सुर्खेतको चिंगाड खोलामा बस्थे। दुई महिनादेखि सिकार नपरेर हैरान थिए। सिकार नपरे वनदेवीलाई कालो बोको चढाउने राउटेको चलन छ। सुर्खेतका स्थानीय विकास अधिकारी हीरा रेग्मीसँग आग्रह गरे। १० हजारमा दुईवटा बोका किनेर वनदेवीको पूजा गरे। संयोग, पूजा गरेको केही दिनमै राउटेहरू बाँदरलाई जालमा पार्न सफल भए।

१७ जना राउटे लिएर सत्यदेवी काठमाडौँ, गोँगबुको जनता होटल पुगिन्। राउटेहरू दुईवटा कोठामा लस्करै सुते। यताउता गएर हराउलान् भन्ने चिन्ताले उनी भने कुरुवा बसिन्। अर्को दिन बालुवाटारमा फोन गरनि्। ४५ मिनेटमै प्रहरी स्कर्टिङ्सहित तीनवटा गाडीको लस्कर आइपुग्यो। मुखिया अघिल्लो गाडीमा बसे। सँगै, सत्यदेवी थिइन्। "धेरैले एकदिने मन्त्री भनेर जिस्क्याए," उनी त्यो क्षण सम्भिmन्छिन्, "प्रधानमन्त्रीले राउटेलाई ठूलो सम्मान दिएर सिंहदरबार लगेका थिए।"

हरेक मन्त्रालयबाट राउटेले सहयोग पाए। अर्थमन्त्री सुरेन्द्र पाण्डेले ५० हजार रुपियाँ दिलाए। वनमन्त्री दीपक बोहराले मध्य र सुदूरपश्चिमका वनमा राउटेलाई चाहिने काठ काट्न छुट दिने निर्देशन दिए। सिंहदरबार घुम्दा राउटेसँग सवा तीन लाख रुपियाँ जुट्यो। "पैसा राख्दिम् ?" सत्यदेवीले सोधिन्। "भान्जी, महिला मान्छे। हराउली। हामी नै राख्छम्," मैनबहादुरले भनेछन्। चिडियाखाना घुमेर राउटेहरू फुरुंग भएर फर्केका थिए। राउटेसँग यति धेरै घुलमिल भएपछि सत्यदेवीले राउटे उत्थान प्रतिष्ठान गठन गरनि्। अहिले प्रतिष्ठानकी अध्यक्ष छिन्।



सत्यदेवीले पहिलोपल्ट राउटेलाई ०६४ कात्तिकमा दैलेखको चुप्रा र लोहरेखोलाबीचको जंगलमा देखेकी थिइन्। दैलेखकै कटीमा जन्मे/हुर्केकी उनलाई पहिले राउटेदेखि डर लाग्थ्यो। बाल्यकालमा उनी राउटे आउलान् भनेर दिउँसै घरका ढोका लगाएर बस्थिन् रे! तर, त्यो दिन राउटेको झुपडीभित्र चिहाइन्। भर्खर जन्मेको शिशु असुराको पातमा राखेर भुइँमा पल्टेकी सुत्केरीको हालत देखेर टीठ लाग्यो। आफ्नै सल झिकेर बेरनि्। तर, त्यो राउटेले मन पराएनन्। उनीहरूले सत्यदेवीलाई घेरे। सँगै गएका इन्जिनियर डोरप्रसाद उपाध्यायले राउटेलाई सुन्तला दिएर फकाए। पछि सहायक मुखियाहरू ऐनबहादुर, हरबिहादुर र वीरबहादुरसँग सोधपुछ गर्ने क्रममा राउटेको मितभान्जी नाता पो जुर्‍यो। त्यस दिनदेखि उनले नयाँ परचिय पाइन्, राउटेकी भान्जी।

सत्यदेवीसँग राउटेको अचम्मको सम्बन्ध छ। असाध्यै विश्वास गर्छन् र दुःख-पीडा उनीसँग मात्र खोल्छन्। तीन वर्षअघिसम्म न राम्ररी लगाँैटी लगाउँथे, न त कन्नानी बाँध्थे। कन्नानी बाँधेर लगाँैटी लगाउन सिकाउन पनि महिनौँ लाग्यो । झुपडीछेवैमा ठाड्ठाडै दिसापिसाब गर्थे। 'अलि पर बसेर गर्नुपर्छ' भनेर सम्झाउँदा 'बसेर दिसा गर्ने जात होइन हाम्रो' भन्थे रे! वर्षौं नुहाउँदैनथे। अहिले भने नयाँ पुस्ताका धेरैजसो राउटे महिना/दुई महिनामा नुहाउँछन्।

सुरुका दिनमा चिउरा र चिनी, चकलेट बाँडेर राउटे बालबालिकालाई नुहाइदिएको उनले बताइन्। अचेल धेरैले मुख धुन्छन्। दाँत माझ्छन्। राउटेलाई बाँडेको टुथपेस्ट एक सातामै सकिएपछि उनलाई अचम्म लागेछ। सोध्दा थाहा पाइन्, राउटेले टुथपेस्टको स्वाद धेरै मन पराएर रोटीमा लपक्क लगाएर पो खाएछन्।

चिंगाड खोलाछेउ बस्दा सत्यदेवी ठूलोबुबा टोपबहादुर खत्रीको घरमा बसेर दिनहुँजसो बस्ती पुग्थिन्। राउटेको बस्ती जहाँ सर्छ, त्यहीँ पुग्न थालेपछि पारिवारिकि विवाद पनि झेल्नुपर्‍यो। 'राउटेले मोहनी लगाए' भनेर शिक्षक पति दीर्घराज र बुबा सर्वजित दिक्क थिए। एक वर्षअघि सुर्खेत पाम्क गाविसको भर्जुनीमा उनीहरूले सत्यदेवीको राउटेप्रेम आफ्नै आँखाले देखे। वृद्ध राउटे बोल्न नसक्ने गरी थला परेका थिए। ज्वरोले सिकिस्त भएर बोल्न नसक्ने भएपछि राउटेहरू बिरामीको माया मार्छन्। र, अन्त्येष्टिका लागि खाल्डो खन्न थाल्छन्। त्यतिबेला पनि छेउमा खाल्डो खनिसकेका थिए। खाल्डोतिर हेरेर वृद्ध राउटे बरर्र आँसु झार्थे। 'मुर्दातिर कसले हेरोस्' भनेर अरू राउटेले बिरामीतर्फ हेर्नसमेत छाडे। "ग्लुकोज, सिटामोल र टेट्रासाइक्लिन खुवाएर रातभर स्याहार गरेँ," सत्यदेवीले भनिन्, "रातभर शरीरमा तेल घसेर सेकेपछि बिहान उनी बोल्न सक्ने भए।"

दैलेखकै लालीकाँडाबाट आइतेकाफल सर्ने क्रममा बिरामी एकल राउटे महिलालाई पनि उनले उसैगरी स्याहारेकी थिइन्। ती महिलालाई राउटे समूहले छाडेर गएका थिए। उनलाई सन्चो गराउन वनदेवीलाई चढाउन ल्याएको कालोबोको थियो। सत्यदेवीले औषधी खुवाएर तंग्राइन्। उनले डोकोमा बोकेर गाउँ पुर्‍याइन्। गाउँ पुग्दा उनको जीउभरि जुम्रा सल्केका थिए।



१४ वर्षीय राउटे किशोर मानसिंहले सत्यदेवीका छोरा कुबेरलाई सोधे, "तँ कसरी यति राम्रो भइस् ? मलाई पनि बन्न मन छ।" कुबेरले जवाफ दिए, "म घरमा बस्छु, नुहाउँछु, सफा कपडा लगाउँछु, आमाबुबाले भनेको मान्छु र पढ्छु त्यसैले।" मानसिंहले भनेछन्, "तिमीहरूको नुहाउने जात, हाम्रो ननुहाउने पर्‍यो। बूढाहरू मरेपछि नुहाएर राम्रो हुनुपर्ला।"

झुप्राखोलाबाट सुर्खेत सर्दाका क्षण पनि रमाइला छन्। राउटे पहिलोपल्ट गाडी चढेको त्यही बेला हो। तर, महिला राउटेले मानेनन्। उनीहरू सोध्थे रे, "मान्छे लड्न खोजे हातले समाउँछ। गाडीका खुट्टा रै'छन्, हात रहेनछन्। लडियो भने कसले बचाउँछ ?"

कालीमाटी काल्चेबाट हापुर जाँदा सत्यदेवीले 'लडे मेरो जिम्मा' भनेर चढाएको बताइन्। गत वर्ष काठमाडौँ जाँदा भने राउटे महिलाहरू पनि रात्रिबस चढेर गए। चिडियाखानामा पिङ खेले। गाउँ फर्केपछि गफ लगाएछन्, "काठमाडौँमा घुम्ने जहाजमा उडेर आयौँ।"



मुखिया मैनबहादुरकी पत्नी दुनी शाहीको खुट्टामा वर्षौं अघि घुसेको सालको छेस्कोको घाउ बल्भिmयो। सुर्खेतका डाक्टरले शल्यक्रिया गर्नुपर्छ भने। उनी राजी भइनन्। सत्यदेवीले काठमाडौँ बोलाइन्। राउटे काठमाडाँै आउँदा सत्यदेवीले केही तयारी गर्नुपर्छ। उनीहरू बस्ने ठाउँ ठिक्क पार्नुपर्छ। खैनी-सुर्ती थुक्ने कार्टुन प्लास्टिक हालेर राख्नुपर्छ। नत्र, छोराहरूले रुचाउँदैनन्।

बोलाएको भन्दा दुई दिन पहिल्यै बसपार्क पुगेछन् उनीहरू। राउटे मुखियाको फोन आयो, "भान्जी, हामी आइपुग्यौँ त!" बसपार्कबाट ट्याक्सी चढेर उनीहरू बानेश्वर पुगे। सत्यदेवीले ५ सय ५० रुपियाँ भाडा तिरनि्। डेरामा आइपुगे, राउटे मुखिया दम्पती। कोठामा पुगेपछि 'श्रीमती बाँच्छे भने हातखुट्टै काटेर चढाउँछु' भन्दै मैनबहादुर रोए।

राउटेलाई सघाउन सत्यदेवीले पूर्वप्रधानमन्त्री नेपाललाई फेर िगुहारनि्। उनले हेल्पिङ् ह्यान्ड्स अस्पतालका डा गुप्तबहादुर श्रेष्ठलाई फोन गरेर निःशुल्क उपचार व्यवस्था मिलाउन आग्रह गरे। अस्पतालको एम्बुलेन्स राउटे लिन सत्यदेवीको डेरामा आइपुग्यो। "त्यसबेला हो मलाई महसुस भएको, नेताले फोनै गरे हुने, हामीले रोईकराई मरे पनि केही नहुने। यो अचम्मको देश छ," उनी भन्छिन्।

अस्पतालका वरिष्ठ डा हेम लिम्बूले शल्यक्रिया गर्ने भए। राउटे मुखिया भन्दै थिए, "भान्जी छ र आश छ, तिमी डाक्टरको भर छैन।" डाक्टरले शल्यक्रिया गर्दा नदुख्ने बताए। 'दुख्यो भने म छाड्दिनँ, हान्छु' भनेर मैनबहादुर ढुंगा लिएर बसे। शल्यक्रिया सकियो। तर, दुनीले ऐया पनि भनिनन्। डा लिम्बूले राउटे मुखियालाई अरू शल्यक्रिया पनि देखाए। उनले प्रसूति, मृर्गाैला र पेटका शल्यक्रियाहरू रुचिपूर्वक हेरे। शल्यक्रिया कस्तो हुँदो रै'छ त ? मैनबहादुर भन्छन्, "डाक्टरले आन्द्राभुँडी बाहिर निकालेर भाँडामा राख्दो रै'छ। पेट सफा गरेर भित्र हालेर सिलाएपछि अपरेसन हुँदो रै'छ।"



राउटे समूह दाङको डाँडाकुटीमा नौ महिना बसे। गत फागुनमा डिस्कभरी च्यानलले उनीहरूको भिडियो खिच्न आग्रह गर्‍यो। २ लाख ५० हजार रुपियाँको चामल किनिदिने सर्तमा ११ दिन उनीहरूको जीवनशैली खिच्न दिने सहमति भयो। त्यसबेला राउटेले दिनहुँ खसी काटेर खाए। भदौसम्म खाद्यान्नका लागि भौँतारिनु परेन। राउटेले उनीहरूको परम्परागत तर रोमाञ्चक बाँदर सिकार खिच्न दिएबापत थप डेढ लाख रुपियाँको खाद्यान्न पाए। बाँदरको सिकार गर्दाका दृश्यहरूबाट डिस्कभरी टिम पनि खुसी भएर फर्केको थियो। बाँदरको सिकार गर्दा राउटेहरू जस्तोसुकै भिर चढ्ने र हामफाल्ने गर्छन्। त्यसैले धेरै राउटेका खुट्टामा चोटपटक लागेका हुन्छन्।

राउटे युवतीहरू भाषा नबुझे पनि विदेशी क्यामेराम्यानसँग नजिकिएका थिए। अरू समुदायका पुरुष स्वास्थ्यकर्मीले छोएको निहुँमा जिउँदै सुत्केरीलाई गाडेका दर्दनाक घटना छन्, राउटे समुदायभित्र। तर, राउटे युवतीहरू क्यामेराम्यान जेनीको पछि लागे। उनको पाखुराका ट्याटुहरू सुमसुमाए। खुर्सानी र अदुवा खुवाए। राउटे समुदायमा केटीले केटाको आँट र प्रतिबद्धता जाँच्न कठिन काम गर्न लगाउने प्रचलन छ। "बिचरा क्यामेराम्यानले पिरोले रुँदै खुर्सानी खाए," सत्यदेवी भन्छिन्, "उनीहरू फर्किंदा भने राउटे युवतीहरू रोएका थिए।"

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै राउटे खुसी थिए। उनी अर्थमन्त्री भएका बेला आफूले भत्ता पाएकाले भेटेरै बधाई दिन चाहन्थे। सत्यदेवीले भेट्न चाहेको खबर बालुवाटार पुर्‍याइन्। प्रधानमन्त्रीका स्वकीय सचिव गंगा श्रेष्ठले 'राउटेलाई बिदाकै दिन भए पनि भेटाउँला नि' भनेर बोलाए। राउटेले जीवनमै पहिलोपल्ट फूलका माला उने। १५ जना राउटे काठमाडौँ पुगे। पशुपति मन्दिरछेउबाट अबिर किने। भेट्ने बेला प्रधानमन्त्रीका सल्लाहकारले फोन उठाउनै छाडे।

सत्यदेवीलाई पर्‍यो फसाद। पत्रकारलाई गुहारेर भेटाइदिन आग्रह गरनि्। तर, पार्टी विवाद चर्केको भन्दै प्रधानमन्त्री भट्टराईले राउटेलाई भेट्ने समय दिएनन्। गौशालाको होटलमा सात दिन पर्खे। त्यहाँको ४८ हजार रुपियाँ अझै तिर्न नसकिएको सत्यदेवीको भनाइ छ। भेट नपाएपछि रुँदै फर्केका राउटे मुखिया मैनबहादुर भन्छन्, "बाबुराम मन परेन। प्रधानमन्त्रीमा बाबुराम खाली भएपछि मात्र काठमाडाँै जाने, नत्र नजाने।"

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

जनक नेपालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar