राणा सखाप पार्ने योजना

राजा त्रिभुवनसँग मेरो बुबा (कम्पाउन्डर चन्द्रमान सैँजु), जो विसं २०४० मा दिवंगत हुनुभयो, को गजबको लगाव थियो। विसं १९९० को भुइँचालो आउँदा म त्यस्तै एक वर्षको थिएँ। आमाका भनाइमा बुबा त्यसबेला त्रिभुवनसँगै नागार्जुन दरबारमा बस्नुभएको थियो रे !

राणाविरोधी आन्दोलन उठाउने क्रममा धेरै मानिसले धेरै किसिमले सहयोग गरेका थिए। मेरो बुबाले चाहिँ प्रजा परिषद नामको राजनीतिक पार्टीसँग राजा त्रिभुवनलाई नजिक ल्याउने कार्यमा ठूलो योगदान पुर्‍याउनुभएको थियो, जुन कुरा इतिहासमा पनि सुनौला अक्षरमा अंकित छ। त्यति मात्र होइन, राणाविरोधी आन्दोलनमा सरकि प्रजातन्त्रवादीलाई पनि उहाँले उत्तिकै सहयोग पुर्‍याउनुभएको थियो।

राजा त्रिभुवनले उहाँलाई विश्वास गर्नुमा दुईवटा कारण थिए। दरबारमा एकपटक एउटी युवती रगत बग्ने समस्याले मरणासन्न अवस्थामा पुगेकी थिइन् रे ! कसै गर्दा पनि निको नभएपछि माया मारेछन्। यत्तिकैमा बुबाले राजा त्रिभुवनसँग अनुमति माग्दा 'कोसिस गर न त' भनिएछ। बुबाले औषधोपचार गर्दा उनी ठीक भइछन्। राजा त्रिभुवनलाई नेवारी भाषा सिक्ने सोख रहेछ। त्यो कुरा पनि बुबाबाट पूरा हुने देखेपछि दरबारसम्म बुबालाई बेरोकटोक आवतजावत गर्ने सुविधा मिलेको थियो। त्यति मात्र होइन, राजाको खोपीसम्म पनि बुबाको सहज पहुँच थियो। ठूल्ठूला डाक्टरले उपचार गरे पनि बुबासँग सल्लाह नगरीकन राजा त्रिभुवन कुनै औषधी सेवन गर्नुहुन्नथ्यो रे ! बुबाको व्यवहारबाट खुसी भएरै त्रिभुवनले हरेक महिना उहाँलाई असर्फी उपहारस्वरूप दिनुहुन्थ्यो।

धर्मभक्त माथेमाले राजा त्रिभुवनलाई व्यायाम सिकाउने क्रममा प्रजा परिषदबारे जानकारी दिएको र राजा त्रिभुवनसँग सोझो सम्पर्कमा रहने व्यक्तिका रूपमा मेरो बुबालाई देखेकाले उनले बुबालाई शोभा भगवतीमा लगेर पानीमा हात चोबी कसम खुवाएका थिए। जसमा राजा त्रिभुवनसँग भएका कुराकानी र प्रजा परिषदको आन्दोलनमा राजाको पनि अप्रत्यक्ष सहयोगका लागि व्यवस्था मिलाउन भनिएको थियो। यस्ता धेरै घटना मैले मेरो बुबाको मुखबाट सुनेको थिएँ। हाम्रो घरमा नूतन थपलिया र अर्का एक जना बरोबर आउनु हुन्थ्यो। बुबाले उहाँहरूलाई सुनाएका घटना मैले पनि विस्तारमा सुन्ने मौका पाएको थिएँ। त्यसबेला सार्वजनिक नभएका त्यस्ता धेरै कुरा बुबाले उहाँहरूसँग खोल्नुभएको थियो।

मेरो बुबाको गजबको सोख थियो, ऐना संकलन गर्ने र साँढे जुधाउने। बेलायतबाट ऐना मगाएर बाँड्ने सोख त पछिसम्मै थियो। प्रजा परिषदका रामहर िशर्मा, जसको गत असोजमा निधन भयो, को घरमा पनि मेरो बुबाले उपहारस्वरूप दिएको ऐना अहिले पनि झुन्डिएको हुनुपर्छ। किनभने, मेरो बुबाको ज्यादै घनिष्ट व्यक्तिमा उहाँ पनि एक हुनुहुन्थ्यो। तसर्थ, कहिलेकाहीँ म उहाँको घरमा पुग्दा शर्मा भन्नुहुन्थ्यो, "हेर् तेरो बाबुले दिएको ऐना !"

एक समय यस्तो थियो, जतिबेला धर्मभक्त माथेमा एउटा छाता समातेर लखरलखर झोछेँबाट हाम्रो घर क्षेत्रपाटीमा आएर सरासर माथि जानुहुन्थ्यो। बुबासँग भलाकुसारी गरी नारायणहिटीतर्फ लाग्नुहुन्थ्यो। कहिलेकाहीँ टेबुलमा शिर निहुर्‍याएर पढिरहेको मलाई 'ल पढ, पढ,' भन्नुहुन्थ्यो। पछि बेलायतबाट झिकाइएको रेली भन्ने साइकल चढेर उहाँ पनि सँगसँगै नारायणहिटी जानुहुन्थ्यो।

कवि सिद्धिचरण श्रेष्ठ पनि बरोबर हाम्रो घरमा आउनुहुन्थ्यो। उहाँलाई असाध्यै तमाखु खानुपर्ने अनि आएका बेला मलाई बरोबर तमाखु लिन पठाउने। दरबारसँग सम्बन्धित रहेकैले होला, उहाँ मेरो बुबालाई बिन्तीपत्र हालेर आफ्नो पेन्सन बढाउन उकासिरहनुहुन्थ्यो। बुबाले पनि बिन्तीपत्र हाल्नुभएछ। त्यसबेला उहाँको पेन्सन दुई सय रुपियाँ थियो। पछि एउटा कार्यक्रममा मेरो भूपालमान सिंह कार्कीसँग साक्षात्कार भयो, उनले नै बिन्तीपत्रबारे जिकिर गरे र भने, "तिम्रो बुबालाई भनिदिनू, अबको एक सातामै काम हुन्छ।" नभन्दै राजा त्रिभुवनले आफ्नो कोषबाट नौ सय रुपियाँ थपिदिएछन्। एक महिनासम्म मेरो बुबाको खुसीको सीमै रहेन।

मेरो बुबाले एउटा हुन नसकेको घटनाबारे हामीलाई बरोबर बताइरहनुहुन्थ्यो। त्यो के भने, नारायणहिटी दरबारमा जुद्धशमशेरलाई बोलाएर विष मिसाएको खाना ख्वाई बेहोस बनाउने र उनलाई हेर्ने बहानामा त्यहाँ पुग्ने उच्चपदस्थ सबै राणाहरूलाई सखाप पार्ने। खानामा विष मिलाउने जिम्मेवारी मेरो बुबाको काँधमा थियो रे ! जसका लागि उहाँले मुसा मार्न प्रयोग गरिने औषधी तयारी अवस्थामा राख्नुभएको थियो रे ! त्यसपछि लहरै राखिएका मेचमा बसेका उच्चपदस्थ राणाहरूलाई करेन्ट लगाएर एकैचिहान बनाउने योजना थियो रे। तर, यो कुरा 'लिक' भएछ। त्यसपछि त के थियो, धरपकड नै मच्चियो। त्यही योजनाको मतियारका रूपमा मेरो बुबा मुसा मार्न प्रयोग गरनिे औषधीसहित पक्राउ पर्नुभयो र मृत्युदयण्डको सजाय पाउनुभयो। तर, जब जुद्धशमशेरले 'के तिमीले खानामा विष मिलाउने जिम्मेवारी पाएको साँचो हो ?' भनी सोधेका थिए, बुबाले जवाफ फर्काउनुभएछ, "हो, यो कुरा साँचो हो। मलाई त्यही अह्राइएको थियो।" 'ओहो ! यो त ज्यादै सोझो रहेछ, यसबाट धेरै कुरा बकाउन सकिन्छ' भन्ने ठानेर जुद्धशमशेरले तत्कालै पकनाजोलको सल्लाघारीमा लगेर झुन्ड्याएर मृत्युदण्ड दिने सजाय सर्वस्व हरणसहित आजीवन कारावासमा फेरिदिएका थिए।

'के यस काममा राजा त्रिभुवनको पनि हात छ ?' भनेर जुद्धशमशेरले सोधेको प्रश्नमा बुबाको जवाफ थियो, "छैन, बिलकुल छैन।" यो जवाफ सुनेपछि भने उनी क्रूद्ध बनेका थिए रे ! किनभने, राणाहरू यस घटनामा राजा त्रिभुवनको संलग्नता पुष्टि गरेर उनलाई राजाबाटै फाल्ने योजनामा लागेकाले बुबाको जवाफ उनीहरूका निम्ति प्रीतिकर भएन।

त्यसपछि बुबालाई यातना दिने सिलसिला सुरु भएको थियो। करबि दुई सय कोर्रा हान्दा पनि बुबाले राजा त्रिभुवनलाई यस घटनामा मुछ्ने काम गर्नुभएन। त्यसबेला राजा त्रिभुवनलाई त्यस घटनामा मुछ्न सकेको भए उनलाई गोरखा धपाउने र महेन्द्रलाई राजगद्दीमा आसीन गराउने खेल पनि रचिएको थियो रे ! डम्बर नेपालीले आफ्नो पुस्तकमा लेख्नुभएकै छ, 'राजा त्रिभुवनको गद्दी जोगाउने कम्पाउन्डर चन्द्रमान।'

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

कृष्णमान मानन्धरद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar