दिग्भ्रम

नीरकलाले औँला भाँचेर लोग्ने भेट्ने दिन गनी। आफ्नै मनलाई भनी, "आज शनिबार। आइतबार एक, सोमबार दुई, मंगलबार तीन, बुधबार चार। आजसमेत चार रात। जाबो चार रात ! चा-चार वर्ष त बिताएँ। अब चारचोटिमा घाम उदाएर अस्ताए भने म उहाँकै खोकिलामा लुक्न पुगिहाल्छु नि !"

नीरकलालाई चार वर्षभन्दा ती चार रात र चार दिन लमतन्न लागिरहेका थिए। चार वर्षअगाडिको उसको बिहे लुकीलुकी, डराईडराई गरिएको थियो। रातको १२ बजे आयो नीरकलाको बेहुलो उसको काका लिएर। हतारहतार एक घन्टामा बिहे सकी २ बजेतिर नीरकलालाई घर पुर्‍याएर राती नै चम्पट कसेको थियो। साँच्चै भन्ने हो भने नीरकलालाई उसको लोग्नेको अनुहारको पनि राम्रो याद थिएन।

उनीहरू जम्माजम्मी चार घन्टाजति मात्र सँगै बसेका थिए। आनीबानी, व्यवहार दुवैको कस्तो थियो थाहा भएन। अति छोटो समयको सुहागरात त्यसै त्यसै खल्लोखल्लो गरी बितेको थियो। हिँड्ने बेलामा उसको लोग्नेले बाआमासित बिदाबारी भइसकेर पनि भनेथ्यो, "नीरकला ! देशमा छिट्टै केही परविर्तन भएछ भने हाम्रो भेट होला। छिट्टै पनि हुन सक्छ। कहिल्यै नहुन पनि सक्छ। बाआमालाई राम्रो हेरविचार गर ! भाइबैनीलाई पढ्ने वातावरण बनाइदेऊ। तिमी आफू पनि पढाइलाई नरोक। मबाट खर्चले रोकिने छैन। पीर, चिन्ता नलिनू। सेनाको जागिर। देशै युद्धमा होमिएका बेला, म एउटाको के महत्त्व हुन्छ? बाँचिएछ भने भेट होला। म हिँडेँ।"

मर्मभेदी कुरा गरेर ऊ ढोकाबाट बाहिरियो। नीरकलालाई भनभनी रँिगटा लागेर आएथ्यो। तैपनि, सम्हालिएर ऊ लोग्नेसँगै बाहिर निस्की। पँधेरासम्म पुर्‍याइदिई। युद्धकालभरि नीरकला डराईडराई सेनाको सुरक्षा कवचभित्रबाट लोग्नेसँग एकाध महिनाको फरकमा फोन सम्पर्क गर्थी। लोग्नेको स्वर उसले फोनमा मात्र याद गरेकी थिई। लोग्नेले गोप्य माध्यमबाट आफ्नो फोटो पठायो। आवाज र फोटोको आधारमा मात्र नीरकलालाई लोग्ने पहिचान गर्नु थियो। नीरकलाले फेरि सोची, "उस्तैउस्तै अनुहार भएका मानिस धेरै हुन्छन्। कतै आफू पनि झुक्किएर आफ्नै श्रीमान् नचिन्ने त हैन !"

फोटो त नीरकलाले पनि पठाएकी हो। पक्कै उसको लोग्नेलाई पनि आफ्नी स्वास्नीको अनुहार राम्ररी याद हुनुपर्छ। निसाना गलत ठाउँमा पर्‍यो भने त बर्बादै भइहाल्यो नि ! द्वन्द्वको त्यो त्रासदीपूर्ण समयमा नीरकला मानसिक, शारीरकि रूपले धेरै पीडित भई। विद्रोहीहरूले नीरकलालाई आफ्नो घोषणासभामा तीन दिनको बाटो शैलुङको घनघोर जंगलमा पुर्‍याए। तर, ऊ सकुशल घर फर्की।

पछि नीरकलालाई यस्तो कडा दबाब आयो, सातादिनभित्र उसले लोग्ने झिकाउनुपर्ने। नझिकाए नीरकलाको घरबाट एक जना जनसेनामा लाग्नुपर्ने। विद्रोहीहरूले नीरकलालाई नै लाने जोड गरे। यदि नगए घरमा बम पड्काइदिने र अन्तिम कारबाही भौतिक सफाया गर्ने। बिहेको एक वर्षसम्म नीरकला ज्यादै तनावमा रही। तर, उसले हार खाइन। विद्रोहीसित दरो तर्कले प्रतिवाद गरी। नीरकलाजस्ता तार्किक, सभ्य मानिसको अझ महिला छापामारको खाँचो युद्धमा बढी भएको कुरा आयो।

एकदिन एक डफ्फा छापामार उसको आँगनमा छिरे। आएकामध्ये बढी अधिकारसम्पन्न छापामारले भन्यो, "तपाईंको श्रीमान् घर फिर्ता गर्नुहुन्छ कि आफैँ पार्टीमा लाग्नुहुन्छ? तपाईंले तुरुन्त निर्णय दिनुपर्छ। हैन भने हामी यसको सूचना हाइकमान्डमा पठाउँछौँ। त्यहाँबाट आएको निर्देशन अनुसार गर्छौं। यसलाई ख्यालख्याल नसोच्नुहोला। जनता आपmनो मुक्तिका लागि टाउकामा कात्रो बाँधी मुट्ठी कसेर मर्नमार्न तयार भइरहेका बेला तपाईंको श्रीमान् शाही सरकारको भाट टट्टु बनेर जागिर खाइरहेका छन्। अझ सुनिन्छ, हाम्रो सूचना शाही सेनाको उच्चालयमा पुर्‍याइरहेका छन् रे ! तपाईंहरूलाई बाँच्न मन छ कि छैन? के यो जनयुद्धलाई तपाईंहरूले ठट्टा सोच्नुभएको?"

नीरकला हत्तपत्त गल्ने खालकी थिइन। उसले छापामारहरूलाई नै तिलमिल पार्ने तर्क पेस गरी, "कमरेड महोदय ! मेरो परिवार सम्पन्न भइदिएको भए मेरा श्रीमान्ले तुच्छ वचन सहीसही सिपाहीमा जागिर खानु पर्दैनथ्यो। उहाँको रोजगारको ग्यारेन्टी गर्नूस्। म तुरुन्त मेरो श्रीमान् झिकाउँछु। हैन भने एउटा परिवार चलाउन कोही जागिर खान जान्छ भने तपाईंहरूलाई किन आपत्ति ! फरक विचार राखेकै भरमा तपाईंहरू सामान्य मानिसलाई विस्थापन गराउनुहुन्छ। विस्थापित भएर गएपछि राज्यकै ढिकुटीबाट भत्ता खाइरहेको हुन्छ। तपाईंहरूकै कारणले राज्य झनै कंगाल भइरहेको कुराप्रति अलि गहिरिएर सोच्नूस्। यो कुरा तपाईंका माथिल्लो तहका नेतालाई सुनाइदिनूस्।"

त्यस छापामारले अनौठो मानेर हेर्‍यो। थप तर्क गर्न नसकेर होला। एकछिनको मौनतापछि ऊ बोल्यो, "तपाईंले हाम्रो युद्धको आवश्यकता, गति, प्रगतिलाई नजरअन्दाज गर्दै हुनुहुन्छ। तपाईं र तपाईंको परिवारले सामन्तवादी, प्रतिक्रियावादीको पक्षपोषण गररिहेछ र हाम्रो पार्टीलाई जुनसुकै समयमा पनि खतरा छ। त्यसैले छिट्टै गाउँ छाड्नुहोला।" नीरकलाको निडरता, तर्कशक्ति देखेर देवर, नन्द र सासू-ससुरासमेत छक्क परेका थिए।

नीरकलाको परिवारले गाउँ छाड्नुपर्ने चिट्ठी हात पर्‍यो। त्यसको जानकारी उसले श्रीमान्लाई गराई। उसले 'मर्नुभन्दा दुःखै गर्नु राम्रो हुन्छ, यतै आउनू' भनेर खबर पठायो। सारा जिन्सी सामान सस्तोमा बेचबिखन गरेर उनीहरू गाउँ छाड्ने तयारीमा थिए।

संयोगवश उनीहरूको परिवारले गाउँ छाड्नुपरेन। दिल्लीमा दल र माओवादीबीच १२ बुँदे समझदारी भयो। नीरकलाले ठूलो राहत मात्र होइन, नवजीवन पाएको अनुभव गरी। त्यसपछिका दिनमा नीरकलाले आफ्नो पढाइलाई निरन्तरता दिई। राम्रैसँग परिवार चलाई। देवर, नन्दको पढाइ अगाडि बढाउन राम्रोसँग भरथेग गरी। श्रीमान्ले बरोबर खर्च पठाइरहेको थियो। दुई वर्षको अवधिमा पनि नीरकलाले आफ्नो श्रीमान्सित भेट गर्न पाइन। उसको श्रीमान् संयुक्त राष्ट्रसंघीय मिसनमा सेयरालियोन गयो। नीरकला श्रीमान्समक्ष प्रस्तुत हुन सकिन।

अब पक्कापक्की भयो, नीरकला श्रीमान्सँग मन साट्न, यौवन साट्न, माया साट्न सहर जाने भई। त्यता जाने दिन आउन लाग्यो। आफू भेट्न आउन लागेको कुरा राम्ररी पुर्‍याउन सकिन फोनमा। मात्र उसले 'राम्ररी आउनू, बसपार्कमा उत्रेपछि फोन गर्नू' भन्यो।

भोलि गाउँ छाडेर उता जाने दिन नीरकलाको। घ्यू, कुराउनीदेखि लिएर गाउँमा पाइने मीठामीठा खानेकुराका कोसेली जम्मा गरी। लुगाफाटो मिलाउने तयारी गर्दागर्दै रातको १० बजिहाल्यो। ११ बजे ऊ ओछ्यानमा गई। उसलाई मनमा कस्तोकस्तो सुखद अनुभूति भइरहेको थियो। धेरै खुसी, रोमाञ्चका कारण ऊ निदाउन सकिन। राती १ बजे बल्ल निद्रा परेछ।

बिहानै घरबाट बिदा भई। देवर साथ लिई तल सडकसम्म झरी। अँध्यारैमा नीरकला बस चढी। उसको देवर घर फर्कियो।

३ बजेतिर नीरकला बसपार्क झरी। उसले श्रीमान्लाई फोन सम्पर्क गर्ने प्रयास गरी। फोन लाग्दै लागेन। धेरैबेरको फोनको व्यस्ततापछि फोन लाग्यो। नीरकलाले आफ्नो श्रीमान्को नाम दिई। रिसेप्सनिस्टले एकछिन कुर्न भन्यो। ऊ नीरकलाको लोग्ने बोलाउन गयो। नीरकला रिसिभर कानमा राखेर निकैबेर पर्खी बसी। फोनबाट आवाज आयो, "ए तिमी आयौ! ल ठीक छ, म १५ मिनेटमा त्यहाँ आइपुग्छु। फोन राखौँ ल !"

दुवैतिरका फोन राखिए। शरीर र मनमा रोमाञ्चक कौतूहलसाथ ऊ बसपार्कमा कुरी रही। भनेकै समयभित्र ऊ आइपुग्यो। उसले नजिकै गएर भन्यो, "शशीकला, बोर भयो होला। ल जाउँ !" उसले झोला बोक्यो। नीरकला ठूलो चक्रव्यूहीय शंकाको घेरामा परी। त्यो लोग्नेमान्छे आफ्नो लोग्ने हो कि होइन, ठ्याक्कै अन्दाज लगाउन सकिन। ऊ रोकिँदैरोकिँदै पछि लागी। त्यो मान्छेले फर्केर हेरेन। नीरकलालाई झनै औडाह भयो। लोकसेवाको वैकल्पिक उत्तरजस्तै लाग्यो त्यो लोग्नेमान्छे। नीरकलालाई आफू कसको पछि लागेर हिँडेकी छु सोच्न गाह्रो भयो। ऊ भ्रमित मात्र होइन, दिग्भ्रमित भई।

अचम्म ! नीरकलाको लोग्नेले सीधा उसको मुखमा हेर्दै हेरेन। स्पष्टसँग नीरकलाले अनुहार हेर्नै पाइन। केवल पछिपछि डोरिइरही। अर्कै लोग्नेमानिसले उसलाई डोर्‍याइरहेको त छैन? कसैद्वारा बलात्कृत हुने त होइन? आशंका नीरकलाका अगाडि ठूलो पहाड बनेर उभियो। पहाड चढ्ने वा झर्ने केही विचार गर्न सकिन। ऊ बाख्रो डोरिएझैँ डोरिइरही।

एकान्त ठाउँ आयो, लोग्नेमानिस बोल्यो, "शशीकला ! घरमा सबैलाई सञ्चै छ?" नीरकला झनै सशंकित भई। घरमा सबै कोको छन्, उसको श्रीमान्लाई थाहा छैन र? बुबाआमा, भाइबहिनीलाई सञ्चै छ भनेर किन भन्न सकेन उसले ! नीरकलालाई त्यो लोग्नेमानिस आफ्नो लोग्ने होइन कि भन्ने लाग्यो।

नीरकलाले तपाईं को हो, तपाईंको नाम के हो भन्न पनि सकिन। मेरो नाम शशीकला होइन, नीरकला हो भन्न पनि सकिन। लोग्नेमानिसले बोकेको उसको झोला तानेर आफैँ बोक्न पनि सकिन।

नीरकला नीरजस्तै नीली भई। लोग्नेमानिस थोरै पछाडि फर्कियो तर नीरकलालाई राम्ररी हेरेन। नीरकलाले हेरी। हो वा होइनको शंकामा परी। फोटोसँग दाँजी। अनुहार मिल्छ पनि मिल्दैन पनि। स्वर मिलेको जस्तो पनि लाग्छ, फेरि फरकजस्तो पनि लाग्छ।

लोग्नेमानिस एउटा घरमा छिर्‍यो। भुइँतलामै तेस्रो कोठाको ढोका खोल्यो र भित्र पस्यो। नीरकला बल्लबल्ल कोठाभित्र छिरी। उसका पाइला गह्रौँगह्रौँ भएका थिए ।

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar