प्रकाश-पारस एउटै ड्याङका !

२४ कात्तिक बिहानै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास लाजिम्पाट पुगेका थियौँ, सहकर्मी मित्र यशोदा तिम्सिना र म। सानैमा बुबाले एक विद्वान्को एक घन्टा कुरा सुन्दा सयवटा किताब पढे बराबर ज्ञान पाइने कुरा सुनाउनुभएकाले पनि होला, फोटो खिच्ने ड्युटी हुँदाहुँदै पनि अन्तर्वार्ता नसकिउन्जेल कुरा सुनेरै बस्ने मेरो बानी छ। प्रश्न भुइँमा खस्न नपाउँदै सक्दो छरितो र जोसिलो पारामा जवाफ दिँदै थिए प्रचण्ड। अन्तर्वार्ता बिट मार्ने बेला यशोदाजीको काँडेप्रश्न खस्यो, "बाहिर मिडियामा तपाईंको लगाउने लुगादेखि छोरा प्रकाशसम्मको खुबै चर्चा चलेको छ नि ?" यसपटक भने प्रचण्ड स्तब्ध भए। अनि, भन्न थाले, "मिडियाले केके लेखे केके! म कपालमा तेल लगाउँथेँ, मिडियाले जेल लगाउने बनाइदिए। प्रधानमन्त्री छँदा केही हजारको खाटमा सुत्थेँ, मिडियाले लाखाँैको खाटमा सुत्ने बनाइदिए। मैले लगाउने घडी कसैले दिएका हुन्, त्यसको पनि लाखौँ पर्छ भनेर लेखे। क-कसलाई होइन भन्दै हिँड्नू ?"

"छोरा प्रकाशको विषयमा चाहिँ केही कमीकमजोरी मबाट भएकै हो। म भूमिगत थिएँ, छोरा स्कुल पढ्थ्यो। पुलिसले स्कुलमा दाहाल थर भएका सबै बच्चामाथि कडा निगरानी बढाए। बिरालोले बच्चा सारेझैँ धेरै स्कुल फेरियो। जनयुद्ध सुरु भएपछि त उसको पढाइ खत्तमै भयो। उसको शिक्षामा ध्यान दिन पाइनँ। यसमा मेरो केही कमजोरी भएकै हो।" विदेशमा उच्च शिक्षा लिएका पूर्वराजा ज्ञानेन्द्रका छोरा पारसको हालतचाहिँ थाहा छैन र प्रचण्डज्यू ?



सञ्चार-मन्त्रीको शौचालय

प्रसंग अन्तर्वार्ताकै हो। हामी सञ्चारमन्त्री राजकिशोर यादवको अन्तर्वार्ता लिन मन्त्रीक्वार्टर पुल्चोक पुगेका थियौँ, १७ असोजमा। एक दिनअघि नै समय लिँदा पनि गेटमा कुनै जानकारी रहेनछ। आधा घन्टा कुरेपछि बल्ल भित्र जान भनियो। त्यसपछि मोटरसाइकल भित्र लैजान नपाउने भन्दै खानतलासीदेखि परचियपत्रसम्मको कडा जाँच।

सञ्चारकर्मी भएर सञ्चारमन्त्रीकहाँ जाँदासमेत सास्ती खेप्नुपर्दा हामी अचम्मित थियाँै। त्यसैबेला चिनजानका एक व्यापारी गाडीमा आइपुगे, उनलाई सामान्य चेकजाँचपछि प्रवेश दिइयो। मोटरसाइकल गेटमै छोडी उनकै गाडीमा लिफ्ट लियौँ। मोटरसाइकल छिर्न नदिने, चिल्ला मोटरलाई भने सहज प्रवेश दिने सुरक्षाकर्मीको पारा देखेर हामी जिल्ल पर्‍याँै।

मन्त्री क्वार्टरमा पार्टी कार्यालयमा जस्तो भीड थियो। पीएले हामीलाई अर्कै कोठामा बस्न भने। व्यापारीलगायत अन्य आगन्तुकलाई भेटिसकेपछि बल्ल हामी बसेको कोठामा मन्त्रीज्यूको आगमन भयो। अन्तर्वार्ताका क्रममा उनले पत्रकारहरूको हकहित र सुरक्षादेखि पेन्सनको व्यवस्था गर्ने काम चुस्त र द्रुत गतिमा भइरहेको र त्यसका लागि आफँै लागिपरेको बताए।

अन्तर्वार्ता सकिएपछि म कोठाको आडमा रहेको शौचालय छिरँे। शौचालय भताभुंग र फोहोर थियो। फ्लस बटन पाँच/सातपटक दबाएँ। ढोकाबाहिर निस्केपछि पो ह्वालाल्ल फ्लस भयो। बटन दबाएको दुई-तीन मिनेटपछि मात्र फ्लस हुने रहेछ। पुनः भित्र छिरेर शौचालयको फोटो खिचेँ।

क्वार्टरबाट ५० मिटरभन्दा कम दूरीको गेटसम्म खबर पठाउन आधा घन्टा लाग्ने, व्यापारी र पार्टी-कार्यकर्तापछि मात्र सञ्चारकर्मीलाई समय दिने, आफ्नै क्वार्टरको शौचालय पनि ठीक ढंगमा राख्न लगाउन नसक्ने सञ्चारमन्त्रीका कुरा कसरी पत्याउने ?



अधुरो जंगल सफारी

सहकर्मी मनबहादुर बस्नेत र म चितवनको सौराहमा महिला माहुतेबारे रिपोर्टिङ् सकेर र्फकने तरखरमा थियौँ। हात्तीसार प्रमुखले हामीलाई चितवन भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन आउने कार्यक्रम सुनाए। हात्ती चढेका अर्थमन्त्रीको तस्बिर खिच्ने लोभ लाग्नु स्वाभाविकै थियो।

मन्त्रीको स्वागतमा थिए, सीडीओ, निकुञ्ज प्रमुखलगायत सरकारी अधिकारी। कार्यक्रम अनुसार मन्त्रीज्यू परिवारका साथ हात्ती चढेर जंगल पसे। अर्थमन्त्रीको जंगल सफारी अनुभव सुनेर मात्र र्फकने निधो गरी हामी वरपिरि टहलिन थाल्यौँ। तर, अचम्म ! एक घन्टाका लागि जंगल छिरेका पुन त आधा घन्टा पनि नबित्दै फर्किएछन्। १० वर्ष जंगलमै बिताएर सहर पसेका माओवादी नेतालाई जंगल नै घुमाउन खोज्ने कस्ता हाकिमहरू !

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

रवि मानन्धरद्वारा अन्य प्रकाशित लेखहरू

दयादान

अंक: 470
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar