देशको रोग निको पार्ने जिम्मा पाएका सबै ठूला नेताहरू विभिन्न शारीरकि रोगले ग्रस्त छन् भन्ने समाचार छापामा आयो। 'घरको भोट नपाउनेका देश बनाउने कुरा' भनेजस्तो आफैँ अनेक रोगले ग्रस्त भएका नेताहरूले देशको रोग कसरी निको पार्लान् भन्ने प्रश्न पनि उठेको छ। समाचार अनुसार कमरेड प्रचण्डलाई उच्च रक्तचाप र सुगरले सताएको छ रे ! सुशील कोइरालालाई निमोनिया र क्यान्सर छ अरे ! झलनाथलाई मिर्गौलामा समस्या छ रे, माधव नेपाललाई ब्लडप्रेसर। केपी ओली त सातासातामा दिल्ली गएर उपचार गरेर फर्किरहन्छन्। नारायणकाजीको कुरा थाहै छ, वामदेवको पनि मुन्टो बाङ्गिने रोग छ रे ! अरू पनि एकसे एक नेता त्यस्तै रोगी। नेता भनेर रोगले चाहिँ छाड्दो रहेनछ बाऽऽ !
रोगले नछाडे पनि कालचाहिँ नेताहरूसँग पनि आजित हुँदो हो। नेताको आयु सकिएको ठानेर यमराजले यता दूत पठाउँछन्, नेताहरू हवाई एम्बुलेन्स चढेर स्वाट्टै उता दिल्ली, वासिङ्टन वा सिङ्गापुरतिर टाप कस्छन्। तपाईं-हामीजस्ता सर्वसाधारण भुइँ मनुवालाई त्यस्ता रोग लाग्ने हो भने उहिल्यै परमधाम पुगिवरी कति डल्ला पिण्ड पचाइसक्ने बेला हुन्थ्यो, नेताहरूलाई भने १२ हातका टाँगाले पनि छुँदैन। जसै काल स्वदेशबाट फर्किन्छ, नेता पनि विदेशबाट फर्किन्छन् र राष्ट्रिय सहमतिको रटान थालिहाल्छन्।
नेताहरूले यसरी कालकै मुखसम्म पुगेर फर्केर आएर गरेको राष्ट्रिय सहमतिको प्रयासचाहिँ किन सफल हुँदैन भनेर अनुसन्धान गर्दा पो थाहा भो, तिनीहरूका चित्तमा लागेको रोग, मस्तिष्कमा लागेको रोग, मनमा लागेको रोगले रहेछ। शारीरकि रोग निको पारेर के गर्नु, मानसिक रोग कहिल्यै निको भएन। हामीलाई पनि लाग्न सक्ने मिर्गौलाका रोग, क्यान्सर, एचआईभी आदि त अन्तरिक्षमा पुगेरै भए पनि निको पार्छन् उनीहरू ! तर, सबै शीर्ष भनिएका नेताहरूका यस्ता गम्भीर रोग छन्, जसले गर्दा यिनीहरू यति निकम्मा भएका हुन्। प्रचण्डलाई उच्च रक्तचाप र कुन्नि केबाहेक कुनै रोग छैन भनेर भन्दा कसले पत्याउँछ ! सारा संसारले देखेको छ, उनलाई तीबाहेक धेरै रोग छन्। सबभन्दा खतरनाक रोग उनलाई छिनछिनमा कुरा फेर्ने रोग छ। कुरा बिर्सने रोग छ। उनी एउटा कुरा बोल्छु भनेर कुनै सभामा जान्छन्, त्यहाँ पुगेपछि अगाडि बोल्ने तयारी गरेको कुरा भुसुक्कै बिर्सन्छन् र अर्थोकै बोल्न थाल्छन्। परिस्थिति अनुसार बोली बदलिने उनको दीर्घरोग हो।
सुशील कोइरालालाई झनै अनौठो रोग लागेको छ। नेतालाई नलाग्नुपर्ने रोग उनलाई लागेको छ। उनलाई झन्डा, गाडी, कुर्सी देख्दा डर लाग्ने रोग छ। कुर्सी देख्यो कि लुगलुग मुटु काम्ने। त्यसैले उनी नेता त भए तर प्रधानमन्त्री वा मन्त्री हुन सकेनन् भनेर उनका निकटहरू भन्ने गर्छन्। भर्खरै पनि पार्टीले उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। तर, उनी अहिले थुरथुर कामिरहेका छन् रे ! त्यही रोग थाहा पाएर प्रचण्डले उनलाई हेप्नुसम्म हेपिरहेका छन्।
झलनाथलाई भित्रैबाट भुक्लुक्भुक्लुक् आन्दोलन उम्लेर आउने रोग छ। सभा/गोष्ठीहरूमा आन्दोलनको आँधीबेहरी ल्याउने र साँझ नपर्दै ओछ्यानमा घुर्न थाल्ने रोगले उनलाई सताएको छ भनिन्छ। प्रमुख दलका प्रमुखहरू नै यस्ता रोगी भएपछि बाँकी नेताहरूको के कुरा गर्नु !
तपाईंको प्रतिकृया