शिवराज योगी

गेटाको भरोसा


  • सुदूरपश्चिमको गेटा आँखा अस्पतालमा भारतीयको भीड

उत्तर प्रदेश, भारतकी गंगादेवीले गेटा अस्पताल धनगढीमा सुनेभन्दा राम्रो सेवा पाइन्। उनलाई लाग्यो, "नेपाल आएर राम्रो गरेछु।" गंगादेवीको गृहजिल्ला शाहजहाँपुर र नजिकैको सीतापुरमा आँखा उपचारका लागि अस्पताल नभएका भने होइनन्। "सरकारी अस्पतालमा त्यति राम्रो उपचार हुँदैन," गंगादेवी भन्छिन्, "निजी आँखा अस्पताल हाम्रा लागि होइनन्।" उनको भनाइमा निजी अस्पताल अत्याधुनिक र राम्रा भए पनि उपचार खर्च धान्नै नसक्ने खालका छन्।

त्यसो त शाहजहाँपुरबाट कैलाली जिल्लामा रहेको गेटा आँखा अस्पताल र उत्तरप्रदेशको राजधानी लखनउको दूरी पनि त्यति फरक छैन। तर, गंगादेवीजस्ता निम्न वर्गीय र निम्न मध्यमवर्गीय परिवारका लागि त्यहाँ पनि उपचार खर्च महँगो पर्न आउँछ। त्यसैले उत्तर प्रदेश, उत्तराञ्चल र बिहारसम्मका भारतीयमाझ गेटा आँखा अस्पताल भरोसाको केन्द्र बन्दै गएको छ।

त्यही भरोसाका कारण बाँकेगन्ज खिरी, उत्तर प्रदेशका राजेन्द्रप्रसाद, ४६, तीन वर्षपहिले बुबालाई लिएर गेटा आँखा अस्पताल आइपुगे। बुबाको आँखा उपचार सफल भएयता उनी आफन्त र छिमेकीलाई यहाँ ल्याउन-पुर्‍याउनमै बेफुर्सदीजस्ता बनेका छन्।

छेउछाउमा आँखा अस्पताल भए पनि त्यहाँ गुणस्तरीय उपचार सेवा नभएको राजेन्द्रको अनुभव छ। "सामान्यतया ६ देखि १० हजार भारु खर्च हुन्छ," उनी भन्छन्, "त्यो पैसाले यहाँ दुई जनाको आँखाको शल्यक्रिया गर्न पुग्छ, ढुक्क पनि हुन्छ।"

उनलाई गेटा आँखा अस्पतालको सबैभन्दा मनपर्ने कुरा हो, समान व्यवहार। "यहाँ नेपाली र भारतीय भनेर फरक व्यवहार गरिँदैन, न त उपचार खर्चमा विभेद नै गरिन्छ," उनको कामना छ, "धनी, गरबि सबैले एउटै मूल्यमा उस्तै सेवा पाउँछन्। यस्तो सेवा चलिरहोस्।"

गेटा आँखा अस्पतालका निर्देशक डा विद्याप्रसाद पन्त उत्तर प्रदेशमा अत्याधुनिक उपचार केन्द्र र आँखा अस्पताल नै छैन भन्नु न्यायसंगत नहुने बताउँछन्। "तर, यति सस्तो र गुणस्तरीय आँखा अस्पताल भने उत्तरी भारतमा छैन," डा पन्त भन्छन्, "यहाँ ग्रामीण जनताले चाहेजस्तो र सोचेजस्तो सेवा सुविधा छ, त्यसैले भारतीय जनताको पनि आकर्षण बढेको हो।"

आफैँले बोकेर ल्याएको पाल र चटाइमा सुत्न र आफैँ खाना बनाएर खान पाउने वातावरण असाध्यै मन परेको भारत, पिलिभितका अखिलेश शर्मा सुनाउँछन्। अस्पताल परसिरमा रहेको फराकिलो हरयिाली जंगलमा बस्न र खाना पकाएर खान पाउने वातावरणले आफूहरूको उपचार खर्चबाहेक अन्य खर्च नहुने गरेको उनको अनुभव छ।

सन् १९८१ मा तत्कालीन सरकार र विश्व स्वास्थ्य संगठनको संयुक्त पहलमा स्थापना भएको गेटा आँखा अस्पतालका ७५ प्रतिशत सेवाग्राही भारतीय हुने गरेको अस्पतालका प्रशासकीय अधिकृत जयश्रीप्रसाद चौधरीको भनाइ छ। अस्पताल स्थापना भएको वर्ष ५ हजार ६ सय ५४ जनाले ओपीडी (बहिरंग) र २ सय ६९ जनाले सर्जरी (शल्यक्रिया) सेवा लिएका थिए। अहिले त्यो संख्या लाखमा पुग्ने गरेको छ।

सन् २०११ मा वर्षभरिमा २ लाख १० हजार जनाले ओपीडी र ३९ हजार ९२ जनाले सर्जरी सेवा लिएको अस्पतालको तथ्यांक छ। चौधरी भन्छन्, "यसले सेवाभाव मात्र होइन, भारतीय बासिन्दा र यहाँका बासिन्दाका बीचमा मैत्रीभावसमेत बढाउँदै लगेको छ।"

हालसम्म १८ लाख ९ हजार सेवाग्राहीलाई बहिरंग सेवा र २ लाख ९२ हजारलाई सर्जरी सेवा प्रदान गरसिकेको अस्पतालले यसै वर्ष असारदेखि आँखाको नानी प्रत्यारोपण सेवासमेत थालेको छ। अस्पतालले कात्तिक दोस्रो सातासम्म २६ जनामा नानी प्रत्यारोपण गरसिकेको डा पन्त बताउँछन्।

२० बिघा जमिन र अस्पताल सञ्चालनको अनुमतिबाहेक सरकारी स्तरबाट कुनै सहयोग नपाए पनि हालसम्म अस्पतालले १७ करोड रुपियाँबराबरको भौतिक संरचना र आवश्यक अत्याधुनिक उपकरण जोडेको छ। "सरकारले नै गरिदिनुपर्छ र गरिदेला भन्ने मानसिकतामा बस्नुहुँदैन," डा पन्त भन्छन्, "नागरकिले पनि राज्यलाई केही दिन सक्नुपर्छ।" यद्यपि, भारतीय राजदूतावासले तीन करोड रुपियाँ अनुदान दिएर यहाँ २० शय्याको भवन निर्माण गरिदिएको हो।

यसै वर्षदेखि सरकारले पहिलोपटक दुर्गम पहाडी जिल्लामा शिविर सञ्चालन गर्न तीन हजार शल्यक्रियाका लागि लागत खर्च र ६ वटा केन्द्रलाई ६ लाखका दरले रकम उपलब्ध गराउन थालेको छ। र, अस्पताल सञ्चालन जिम्मा नेपाल नेत्रज्योति संघले लिएको छ।

जागिर लगाइदिन आउने दबाबले भने अस्पताल व्यवस्थापनलाई कहिलेकाहीँ दिक्क तुल्याउँदो रहेछ। "त्यही भएर अहिले कर्मचारी नियुक्ति, बढुवा, बर्खास्तीको छुट्टै निकाय नै बनाएका छौँ," डा पन्त भन्छन्, "मैले क्षमतावान् व्यक्ति हेरनिँ भने संस्था दुर्बल बन्छ।" गेटा आँखा अस्पताललाई तत्काल 'सेन्टर अफ एक्सलेन्सी' बनाउने योजना छ। त्यसका लागि एक वर्षभित्रै महेन्द्रनगर र डडेलधुरामा सेकेन्डरी अस्पताल तयार हुनेछन्।





एकै दिन एक्लै ३ सय १२ सर्जरी

गेटा आँखा अस्पतालका डा विद्याप्रसाद पन्त संसारमै सबैभन्दा बढी आँखाका बिरामीको शल्यक्रिया गर्ने डाक्टर हुन् । उनले एकै दिनमा ३ सय १२ जना सेवाग्राहीको आँखाको सर्जरी गर्न भ्याएको तथ्यांक छ ।

"कुनै रेकर्ड कायम गर्न मैले त्यसो गरेको होइन," उनी भन्छन्, "धेरै टाढाबाट आएका बिरामीलाई लामो समय पर्खाउनुभन्दा अलि खटेर शल्यक्रिया गर्छु ।" उनी एक वर्षमा १६ हजार आँखाका बिरामीको शल्यक्रिया गरेर विश्व रेकर्ड बनाउन सफल भएका हुन् । हरेक दिन दुई-अढाई सयको शल्यक्रिया गर्नु त नियमितताजस्तै भइसकेको उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

शिवराज योगीद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar