चैन छैन चेन्नईमा

  • दक्षिण भारतमा नेपालीलाई 'दोस्रो दर्जा’को व्यवहार

बाग्लुङ, अर्जेवाका ज्योतिन्द्र शर्मा चेन्नई आएको तीन दशक नाघ्यो। सुरुका तीन वर्ष उनले निजी कार्यालयहरूमा भौँतारिए। भाग्यले साथ दियो, तमिलनाडु अडिटर जनरलको अफिसमा कार्यालय सहायकको जागिर पाए।

शर्मा नेपाली कांग्रेसको भ्रातृसंगठन प्रवासी नेपाली संघ चेन्नई समितिमा पनि सक्रिय छन्। भन्छन्, "कार्यालयबाहेकको समयमा मैले चेन्नईमा रहेका नेपालीका समस्या हेर्ने, परिआएका बेला सहयोग गर्ने गर्दै आएको छु।" कार्यालयभित्रै क्वार्टरमा बस्ने उनी नेपालीलाई चेन्नई सहज गन्तव्य नभएको सुनाउँछन्।

चितवनका रुद्र पौडेल चेन्नई आएको १० वर्ष भयो। उनी अहिले चेन्नई अन्नानगरस्थित एक मस्जिदमा सेक्युरिटि गार्ड छन्। नेपाली सेक्युरिटि गार्डहरूले यहाँ मासिक कम्पनी हेरी भारु १० हजारदेखि ३० हजारसम्म कमाउँछन्। "बस्न र घरमा बेलाबखत पैसा पठाउन पुर्‍याएकै छु," पौडेल भन्छन्।

चेन्नईमै ४० वर्ष बिताइसकेका नेपाली हुन्, अग्निधर शर्मा। उनी हाल तमिलनाडु राज्य सरकार मातहतको हाउजिङ् बोर्डमा सेक्युरिटि गार्ड छन्। "मजस्तै सरकारी सेवामा काम गर्नेहरू धेरै साथी थिए, अवकाश लिएर नेपाल फर्किसके," शर्मा भन्छन्, "म पनि अर्को वर्ष अवकाश लिँदै छु।" उनी हाल भारु १८ हजार तलब पाइरहेका छन्।

चेन्नईस्थित टी नगरमा कार्यरत चूडाबहादुर क्षेत्रीसँग १५ वर्षको अनुभव छ। गुल्मीका क्षेत्री हाल परिवारसहित एक भाडाको घरमा बस्छन्। भन्छन्, "चेन्नईमा सेक्युरिटि गार्ड भएर काम गर्न सजिलो छैन।"

दक्षिण भारतको तमिलनाडुमा पर्ने चेन्नईमा नेपालीहरू आउनुको मूल कारण भने यहाँ सहज रूपमा पाइने जागिर नै हो। विशेषगरी नेपाली युवाहरू गेस्टहाउस, होटल, रेस्टुराँ र सुपरमार्केटमा काम गर्छन्। चेन्नई तोरेपकमस्थित एक गेस्टहाउसमा कुक भएर मासिक भारु १० हजार कमाउँछन्, रूपन्देहीका राजकमल अर्याल। चेन्नई पुग्नासाथ अर्याल साथीहरूका माध्यमबाट सीईटी नामक कम्पनीको सम्पर्कमा पुगे। उक्त कम्पनीमा हाल २४ जना नेपाली युवा काम गर्छन्।

बाग्लुङका प्रकाश शर्मा चेन्नईस्थित प्रेसिडेन्सी कलेजमा जुनियर असिस्टेन्टका रूपमा काम गर्छन्। उनले आफ्ना पिताको कामकै सिलसिलामा हृदयाघातबाट यहीँ निधन भएपछि त्यही स्थानमा अवसर पाएका हुन्। चेन्नईको जीवन त्यति सुखदचाहिँ नरहेको उनी बताउँछन्। भारतको राष्ट्रियस्तरको स्टिल उत्पादक कम्पनी 'डायमन्ड ग्रुप'को चेन्नई शाखामा हाल १ सय ५० जना नेेपाली सेक्युरिटि गार्डका रूपमा कार्यरत छन्। चेन्नईमा उक्त कम्पनीका चार कार्यालय छन्।

नेपालीलाई चेन्नईमा विश्वासिलो, इमानदार र मिहिनेती कामदार मानिने भए पनि पारश्रिमिक भने त्यति राम्रो छैन।झापाका सुरज बास्तोला गिन्डीस्थित एक रेस्टुराँमा काम गर्छन्। आठ कक्षामा अध्ययन गर्दागर्दै साथीहरूसँग भागेर यता आइपुगेका उनी भन्छन्, "जम्मा भारु सात हजार तलब हुन्छ, कति खर्च गर्नु कति घर पठाउनु ? अन्य देशका कामदार हेरी नेपाली कामदारलाई राम्रो सुविधा र आकर्षक तलब छैन। तलब बढ्ने पनि छाँटकाँट छैन।"

उनी काम गर्ने रेस्टुराँमा १२ जना नेपाली कुक, भाँडा माझ्ने काममा छन्। दिनमा १० घन्टा काममा खटिनुपर्छ। "नेपालमा राम्रो अध्ययन गर्न सकिनँ, उता बसे उही हलो जोत्ने, घरबारीको काम गर्नेभन्दा अरू काम नहुने, झापामा जागिर पाउने त कुरै भएन," उनी भन्छन्, "चेन्नईमा पहिलेदेखि नै आएका साथीहरूको कुरा सुनेर घरका जहानलाई पनि थाहा नदिई यता आएँ। तर, यता आएपछि परिवारको सम्पर्कमै छु।"

यहाँ काम गर्ने नेपालीहरूको मुख्य समस्या भनेकै भाषा समस्या हो। "कि त तमिल सिक्नुपर्‍यो कि अंग्रेजी जान्नुपर्‍यो। सुरुमा यहाँ आउने नेपालीमध्ये प्रायःले दुवै भाषा जान्दैनन्," राष्ट्रिय जनमोर्चा समर्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष देवबहादुर लामिछाने भन्छन्, "कम शिक्षा लिएका, भाषा र कानुनी प्रावधान नबुझेका कारण दोस्रो दर्जाको नागरकिका रूपमा रहनुपर्ने बाध्यता छ।"

लामिछाने नेपाली कामदारहरू शारीरकि एवं मानसिक रूपमा मालिकबाट ठगिइरहेको बताउँछन्। कानुनी ज्ञानको अभावमा कामदारहरू घाइते हुँदा, कसैको मृत्यु भएमा, समस्यामा पर्दा पाउनुपर्ने बिमा, औषधी उपचार सेवासुविधाबाट समेत वञ्चित भइरहेका छन्। नेपालकै बेथिति, राजनीतिक अस्थिरता र बेरोजगारीका कारण नेपाली यसरी काम गर्न बाध्य भएको पीडितको भनाइ छ ।

मालिकबाट मात्रै नभएर सुरक्षा निकाय, प्रहरी संयन्त्र, सरकारी कार्यालयहरूमा जाँदा नेपालीलाई निकै तल्लो स्तरमा व्यवहार गरिने नेपालीको अनुभव छ।

चेन्नईमा कामदार मात्र नभई नेपाली विद्यार्थीको संख्या पनि ठूलो छ। मद्रास युनिभर्सिटी, अन्ना युनिभर्सिटीका साथै सत्यभामा युनिभर्सिटी, हिन्दुस्तान कलेजलगायत शिक्षण संस्थामा राजनीतिशास्त्र, विज्ञान, पत्रकारिता, नर्सिङ्, इन्जिनियरङि् पढिरहेका नेपाली विद्यार्थी थुप्रै भेटिन्छन्।

चेन्नईमा काम गर्ने अधिकांश प्यूठान, पर्वत, गुल्मी, बाग्लुङ, रूपन्देही, पाल्पा, बारा, बर्दिया, कास्की, चितवन, झापा, मोरङ जिल्लाका छन्। तर, धेरै नेपाली असंगठित रूपमा बसेका छन्।

एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलहरूका चेन्नईमा अलग-अलग संगठन छन्। उनीहरूभित्र भावनात्मक सामीप्य भने छैन। उनीहरू दसैँ, तिहार, तीजमा अलग-अलग कार्यक्रम गर्छन्, सकेसम्म एकअर्काका कार्यक्रममा जाँदैनन्।

चेन्नईमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक कुनै नेपाली संगठनसँग छैन। "चेन्नई आउने र जाने नेपालीको संख्या ठूलो छ," शर्मा भन्छन्, "कतिपय वर्षौं यतै काम गर्छन्, कतिपय एकाध महिना काम गरी फर्किन्छन्।"

नेपालबाट चेन्नई दूरीका हिसाबले टाढा भए पनि सीमा क्षेत्र कट्नासाथ रेल चढेर दुई दिनमा आइपुगिने हुँदा रोजगारका हिसाबले सहज गन्तव्य देखिएको छ। रेलमा 'स्लिपर क्लास' को टिकटबाट एकतर्फी भारु पाँच सयमै यात्रा गर्न सकिने भएकाले पनि चेन्नई आउन गाह्रो छैन।

"अन्य मुलुक जान भिसा चाहियो तर यता आउन त्यो परेन, सहज रूपमा काम पनि पाइन्छ तर यहाँ आएपछि उनीहरूले भोग्ने समस्या अनगिन्ती छन्," अध्यक्ष लामिछाने भन्छन्, "दोस्रो दर्जाकै रूपमा बाध्यतावश नेपाली खटिइरहेका छन्।"





समस्यामा नेपाली

बिनाअनुमति रेलको लिकमा बसी फोटो खिचेको आरोपमा दक्षिण भारतको तमिलनाडु राज्यस्थित तिरपुर भन्ने स्थानमा दुई नेपाली कामदारलाई १९ असोजमा स्थानीय प्रहरीले पक्राउ गर्‍यो।

पक्राउ पर्नेमा तिरपुरस्थित सुभद्रा कम्पनीमा लामो समयदेखि काम गर्दै आएका बाराका अजयकुमार चौरसिया र पर्साका कृष्णकुमार महतो हुन्। तिरपुर स्थानीय कोइम्बाटोर जिल्लामा पर्छ।

भारतमा रेलवे लिकमा अवरोध गर्ने कामलाई गम्भीर अपराध मानिन्छ। स्थानीय कानुनबारे राम्रो ज्ञान नभएको, आफ्नो पक्षमा लडिदिने वकिलसमेत नभएका कारण उनीहरू अहिलेसम्म थुनामा बस्न बाध्य छन्।

अर्को दुखद एक प्रसंग छ। गत २२ साउन मध्याह्न १२ बजे २४ वर्षीय नेपाली नागरकि दीपक (थर नखुलेका) एक्कासि तमिलनाडुको केन्द्रीय रेलवे स्टेसनको घडी टावरमा उक्लिरहेको अवस्थामा भेटिए। टावरको टुप्पामा पुगेका उनलाई स्थानीय रेलवे अधिकारीले तल ओर्लिन आग्रह गरे। तर, उनले आफू तीन घन्टादेखि यहीँ बसिरहेको र नओर्लिने भन्दै जिद्दी गरे।

परेवा समात्न माथि चढेको उनको भनाइ थियो । "मलाई बिर्यानी खान दिए तल ओर्लिन्छु। नत्र ओर्लिन्नँ," उनी टावरको टुप्पोमा बसेर भनिरहेका थिए। प्रहरीले उनलाई बिर्यानी खुवाई ओराल्यो। त्यतिबेला उनलाई हेर्ने रमितेको भीड जम्मा भइसकेको थियो।

प्रहरीले उनको मानसिक अवस्था बिग्रेको पत्ता लगायो र केही दिनपछि छाडिदियो। चेन्नईस्थित मद्रास युनिभर्सिटीमा स्नातकोत्तर तहमा राजनीतिशास्त्रको अध्ययन सकेका नेपाली विद्यार्थी माधव शर्मा भन्छन्, "रेलवेको नियम थाहा नपाएर या अन्य कारण पटक-पटक चेन्नईमा नेपाली पक्राउ परेका उदाहरण छन्।"

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar