विदेशी खेलाडीको दबदबा

  • चालू फुटबल लिगले उठाएका मुद्दा

२०६२ सालको सहिद स्मारक लिगमा बि्रगेड ब्वाइजका लागि खेल्ने नाइजेरियाली खेलाडी ओबाग बेमिरो जुनियरको खेल हेरेपछि नेपाली सेनाको तत्कालीन त्रिभुवन क्लबका प्रशिक्षक योगम्बर सुवालले भनेका थिए, "बेमिरो बराबरीको खेलाडी नेपाली राष्ट्रिय टिममा हुँदो हो त कति राम्रो हुन्थ्यो।"

हुन पनि हो, त्यस लिगमा बेमिरोले २७ गोल गरेर चर्चा कमाए। उनकै प्रदर्शनले बि्रगेड ब्वाइज रेलिगेसनबाट मात्र बचेन, सहभागी १५ क्लबमध्ये नवौँ स्थानमा रह्यो। पछि विश्वकप खेल्न लागेको नाइजेरियाली टिममा छनोटका लागि 'ट्रायल' दिन उनी नाइजेरिया पनि फर्के। त्यतिबेला के भयो, थाहा भएन। तर, नेपाल छाडेयता उनी भारतीय लिगमा व्यस्त रहे।

नेपाली घरेलु लिगमा अहिलेसम्म खेलेका विदेशी खेलाडीमध्ये बेमिरो निर्विवाद रूपमा सर्वाधिक राम्रामा पर्छन्। उनकै देशका नुरुद्दिन सलाउले सोही लिगमा मनाङ मस्र्याङ्दीका लागि खेले र १३ गोल गरे । मनाङ बि्रगेड ब्वाइजजस्तो कमजोर थिएन। लिगको अन्तिम तथा अघोषित फाइनलमा मनाङले उनकै गोलका कारण थ्रीस्टारलाई हराएर उपाधि चुमेको थियो। सलाउ अहिले भारतमै युनाइटेड सिक्किमबाट खेल्छन्। त्यतिबेला थ्रीस्टारका गोलरक्षक रहेका उपेन्द्रमान सिंह सलाउका अगाडि फिक्का देखिन्थे। यस्तै स्थिति अरू नेपाली गोलरक्षकको पनि भएको थियो।

नेपाली घरेलु फुटबलमा अपि|mकी मूलका धेरै खेलाडी आए र गए। केही राम्रा थिए त, केही नराम्रा। अहिले पनि सहिद स्मारक लिग 'ए' डिभिजिन चलिरहेको छ। यसपल्ट पूरा लिगकै मुद्दा अपि|mकी मूलका खेलाडीवरपिरि घुम्ने छनक देखिएको छ। एक प्रकारले लिगको निर्णायक पक्ष नै विदेशी खेलाडी हुने पक्कापक्की छ। विदेशी खेलाडीको प्रभाव यसअघि नेपाली घरेलु लिगमा कहिल्यै पनि यति धेरै थिएन। यसपल्ट लिगमा प्रत्येक टिमले पाँच विदेशी खेलाडी राख्न र त्यसमध्ये एकैपल्ट मैदानमा चार खेलाडी उतार्न पाएको छ। के यति धेरै विदेशी खेलाडी खेलाउनु ठीक हो त? अथवा यसलाई बढी सकारात्मक ढंगले हेर्नुपर्छ? पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठ भन्छन्, "व्यावसायिक फुटबलको सुन्दरता नै यही हो।" किनभने, लिग फुटबल व्यावसायिक हो भने त्यसमा प्रत्येक टिमले राम्रो रकम तिरेर राम्रा खेलाडी ल्याउन सक्छन्, खेलाडीको राष्ट्रियता दोस्रो विषय हो।

नेपालजस्तो देशमा एकैपल्ट कति जना विदेशी खेलाडीले खेल्न पाउनुपर्छ भन्ने प्रश्नको वैज्ञानिक उत्तर खोजिनुपर्छ। सायद अहिलेको चार विदेशी खेलाडीको नियम ठीक पनि छ। अनि, प्रत्येक वर्ष परविर्तन हुने लिग संरचनामध्ये सायद यसपल्टको स्वरूपसमेत धेरै हदसम्म ठीक छ। सुरुमा सहभागी संख्या १६ र त्यसपछि सुपर-८ को नियम। सुरुआती केही चरणको खेलपछि जसरी लिग अगाडि बढिरहेको छ, जुन प्रकारका नतिजा आइरहेका छन्, त्यसको कारण पनि विदेशी खेलाडी नै हुन्।

विदेशी खेलाडीको समीकरणले जित्ने र हार्ने सम्भावनामा अहिलेसम्म ठूलो प्रभाव पारेको छ। एनआरटी, आरसीटी र संकटाजस्ता टिमले राम्रो खेल्नु, उपाधि जित्ने टिमका रूपमा हेरिएका मनाङ मस्र्याङ्दी र थ्रीस्टार संघर्ष गर्न बाध्य हुनु र त्यसभन्दा ठूलो पुलिसको खराब सुरुआतका पछाडि विदेशी खेलाडीको समीकरण नै प्रमुख कारण हो। पुलिसका पुराना स्टार तथा अहिले त्यसै टिमका सहायक प्रशिक्षक हरि खड्काले बारम्बार भन्ने गरेका थिए कि 'नेपाली खेलाडीले आपmनो स्तर उठाउन आफूभन्दा राम्रा खेलाडीसँग खेल्न पाउनुपर्छ। तल्लो अथवा समान स्तरका खेलाडीसँग खेलेर हुन्न।' सायद यसको जवाफ अहिलेको लिगमा भएको विदेशी खेलाडीको उपस्थितिले दिइरहेको छ। सेनाका प्रशिक्षक सुवालले मानेका छन्, "अहिलेका विदेशी खेलाडी हाम्रा खेलाडीको तुलनामा शारीरकि र प्राविधिक रूपमा बलिया छन्, राम्रा छन्।" त्यसैले पनि विभागीय टिम छाडेर अरू सबै विदेशी खेलाडीका पछाडि लागेका छन्। स्वाभाविक रूपमा यसले घाटा पनि विभागीय टिमलाई नै पारेको छ। किनभने, उनीहरूले विदेशी खेलाडी राख्न सक्दैनन्।

लिगमा पहिलो चरणका एक चौथाइ खेल सकिँदा तीन विभागीय टोलीले एक/एक जित मात्र हात पारेका छन्। तर, तीनै टोलीका कमजोर प्रदर्शनका कारण भने फरक-फरक छन्। पुलिसको कमजोर प्रदर्शनपछाडिको मुख्य कारण लगभग सबै खेलाडी घाइते हुनु हो। फेरि पुलिसले खराब नतिजामा पनि खराब खेल भने खेलेको छैन। "जति खेल्यो, यसका लागि पुलिसका खेलाडीलाई धन्यवाद दिनुपर्छ," प्रशिक्षक श्रेष्ठ मान्छन्। पुलिसले यसअघि घाइते खेलाडीकै मद्दतले केही प्रतियोगिता नजितेको पनि होइन। तर, त्यसमा पुलिसका खेलाडीको जति मिहिनेत परेको थियो, उसको प्रमुख प्रतिद्वन्द्वी टिमको खराब प्रदर्शन पनि उत्तिकै जिम्मेवार थियो। "पुलिसलाई अब आउने खेलहरूमा अझै गाह्रो छ," प्रशिक्षक श्रेष्ठ स्वीकार्छन्।

सेनाको प्रदर्शन लिगमा अधिकांश समय ठीकठाक हुने गर्छ। यसपल्ट पनि त्यस्तै छ। "हाम्रो टोलीले बिस्तारै राम्रो खेल्न सुरु गर्नेछ," प्रशिक्षक सुवालको आशा छ। पुलिसबाट सेनाको टोलीमा आएका भरत खवासले खासै चमत्कार गर्न सकेका छैनन् तर उनको उपस्थितिले टिमलाई उत्साहित भने बनाएको छ।

नेपाली घरेलु फुटबलमा पुलिस र सेनाको कथा सफलता र उपाधिसँग जोडिन्छ भने एपीएफ (सशस्त्र प्रहरी बल)को निराश र खराब प्रदर्शनसँग। अझ भन्ने हो भने एपीएफले यसअघिका लिगमा आफू अनुकूलको नतिजाका लागि मैदानबाहिर मिहिनेत नगरेको भए, यसपल्ट 'ए' डिभिजन टिमको मान्यता पनि रहने थिएन। त्यसो त एपीएफ क्लब स्थापना भएको पनि धेरै वर्ष भएको छैन तर स्थापनादेखि नै किन र कसरी हो यो टिममा केही न केही असन्तुलन देखिएकै छ। यसपल्ट पनि एपीएफले रेलिगेसनबाट बच्न संघर्ष गर्नेछ र त्यसबाट बच्न सके, त्यो टिमको उपलब्धि हुनेछ। विदेशी खेलाडीको समीकरणले कुनै टिमलाई बढी घाटा पुर्‍याउनेछ भने त्यो एपीएफलाई नै हो।

लिगमा विदेशी खेलाडीको मुद्दा यत्तिमै सकिन्न। विभागीय टोलीको खराब प्रदर्शन जति ठूलो विषय हो, त्यसभन्दा ठूलो विषय त लिगमा अहिलेसम्म नेपाली राष्ट्रिय टोलीका सदस्य रहेका लगभग सबै खेलाडीको औसत प्रदर्शन हो। नेपाली फुटबलका केही स्टार खेलाडीले पनि यसपल्ट आफूलाई सिद्ध गर्न सकेका छैनन्। यसपल्ट लिगमा उत्कृष्ट खेलाडीको सूची बनाउने हो भने विदेशी खेलाडी हाबी हुन सक्छन्, गोलरक्षकदेखि डिफेन्डर र मिडफिल्डर हुँदै फरवार्डसम्म पनि। नेपाली राष्ट्रिय टिमले अन्तिमपटक भारतको नयाँ दिल्लीमा भएको नेहरु कप खेलेको थियो। त्यतिबेला राष्ट्रिय टिममा परेका २१ मध्ये आधाभन्दा बढी अहिले फेर िचयनमा नपर्न पनि सक्छन्। अझ लिगअगाडि भएका दुई ठूला नकआउट प्रतियोगिता एनसेल कप र पोखराको सफल कपलाई आधार मान्ने हो भने नेपाली घरेलु फुटबलमा अहिले नयाँ पुस्ता अगाडि आउँदै छ र यसले अहिलेका स्टार खेलाडीको पुस्तालाई विस्थापित गर्दै छ। एनसेल कप र पोखरा सफल कप दुवैमा नयाँ खेलाडी बढी चम्के।

लिगमा विदेशी खेलाडी चम्किनु र यसको रापअगाडि घरेलु स्टार खेलाडी हराउनु भने नेपाली फुटबलकै लागि चिन्ताको विषय हुन सक्छ। यसको मतलब विदेशी खेलाडीलाई घरेलु लिगको ढोका बन्द गरिनुपर्छ भन्ने पनि होइन। अर्को संस्करणको साफ च्याम्पियनसिप काठमाडौँमै हुने तय भइसकेको छ, आगामी वर्षको ४ देखि १६ असोजसम्म। सन् १९९७ मा नेपालमै पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो र डेढ दशकपछि प्रतियोगिता नेपालमै फर्केको छ। दक्षिण एसियाको सर्वोच्च प्रतियोगितामा नेपालको प्रदर्शन त्यति राम्रो भइरहेको छैन। यस्तो पृष्ठभूमिमा लिगले उठाएका मुद्दालाई ध्यानमा राखेर अहिलेदेखि नै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रगतिको 'रोड म्याप' कोर्ने कि !

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

हिमेशरत्न बज्राचार्यद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar