उज्यालो थबाङ

यो बाक्लो सुन्दर बस्ती थबाङ गाउँ हो। यहाँ सडक र सञ्चारमाध्यमको सहज पहुँच छैन। तर, हरेक वडा उज्याला छन्। सरकारी या कुनै गैरसरकारी संस्थाको बजेटमा थबाङ उज्यालो बनेको भने होइन। बरू आफ्नै मिहिनेत र लगानीमा झिलिमिली भएको हो।

दसवर्षे सशस्त्र द्वन्द्वमा पिल्सिएको थबाङमा शान्ति प्रक्रियापछि विकासलाई तीव्रता दिइएको छ। अहिले यहाँ दुईदेखि १६ किलोवाटसम्मका १५ वटा पावर हाउस छन् । कुनै पनि गाउँ अँध्यारोमा बस्नुपरेको छैन। पाँच/सात घर भएको सानो गाउँमा समेत पावर हाउस निर्माण गरिएको छ।

कसरी सम्भव भयो त थबाङलाई उज्यालो बनाउन? हरेक व्यक्तिले १०/१० हजार रुपियाँका दरले आर्थिक संकलन गरे अनि हरेकले एक महिनासम्म श्रमदान। "सरकारले विकास नगरे पनि हामी आफैँ गर्न सक्छौँ भनेर देखाएका छौँ। सधँै अन्धकारमा कति बस्नु?" नमुना गाउँ समितिका संयोजक जयप्रकाश रोका भन्छन्, "अहिले थबाङवासीले अन्धकारको महसुस गर्नुपरेको छैन।" १६ किलोवाटसम्मको पावर हाउस बनाउन ७० लाख रुपियाँसम्म लगानी हुने गरेको उनको भनाइ छ।

सशस्त्र द्वन्द्व चरमोत्कर्षमा पुगेका बेला तत्कालीन विद्रोही माओवादीको सहयोगमा ०६२ मा थबाङको फुन्टीबाङ र राँचीबाङमा एक/एक किलोवाटका पावर हाउस स्थापना गरिएको थियो। स्थानीय गोठबाङ खोलाबाट निकालिएको बिजुलीले २७ घरलाई उज्यालो बनाएको छ। माओवादीकै प्राविधिकको सल्लाहमा स्थानीय महिलाले बिजुली उत्पादनमा अगुवाइ गरेका थिए। त्यतिबेला सिकेको सीपलाई सदुपयोग गर्दै थबाङवासीले गाउँगाउँमा बिजुली निकालेका हुन्।

"युद्वका बेला सिकेको रचनात्मक सीपलाई अहिले गाउँ उज्यालो बनाउन प्रयोग गरेका छौँ। सानातिना खोला प्रशस्तै भएकाले बिजुली निकाल्न सजिलो भएको छ," थबाङ-२ राँचीबाङकी योजना रोका भन्छिन्, "राज्यबाट केही सुविधा नपाए पनि आफ्नै मिहिनेत र सीपबाट उज्यालोमा बस्न पाइएको छ।"

योजनाका अनुसार दुई बल्ब बालेबापत मासिक ३६ रुपियाँ तिर्नुपर्छ। बिजुलीको महसुल संकलन गर्न हरेक गाउँमा उपभोक्ता समिति बनाइएको छ। समितिले संकलित रकम बिजुली मर्मत सम्भारमा खर्चंदै आएको छ। अहिले छिमेकी गाविसहरूले समेत थबाङकै प्राविधिक सहयोग लिएर पावर हाउस निर्माण गर्न थालेका छन्। शान्ति प्रक्रियापछि थबाङलाई नमुनाका रूपमा विकास गर्न विभिन्न संरचना स्थापना गर्न थालिएको छ। गाउँभित्र रहेका सानासाना गल्लीमा चिल्ला ढुंगा बिछ्याएर चिरिच्याँट्ट पारिएको छ। बस्ती विकास कार्यक्रमका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयले हालसम्म १ करोड ६० लाख रुपियाँ प्रदान गरेको छ। त्यसमा गाउँलेले ५८ लाख ९४ हजार ९ सय ८८ रुपियाँ थपेर गाउँको विकास गरेका छन्। २ हजार ४ सय ३९ जनाले एक महिनाभन्दा बढी श्रमदान गरेका छन्।

गाउँको छेउमा एउटा पार्क निर्माण भइरहेको छ। त्यसलाई रमणीय ठाउँका रूपमा विकास गरएिको नमुना गाउँ समितिका संयोजक रोकाको भनाइ छ। गाउँमा पैसा पठाउन र प्राप्त गर्न आइएमई मनी ट्रान्सफरको सुविधा छ। पैसा खर्च गर्न सक्नेका लागि निजी विद्यालय पनि छ। थबाङवासीले श्रमदान र रकम उठाएर टेलिफोनको टावर भवन निर्माण गरिदिएका छन्। गाउँमै अस्पताल निर्माणको  तयारी भइरहेको छ।

थबाङलाई जातीय रूपमा पनि छुवाछूतमुक्त बनाइएको छ। गाउँको प्रवेशद्वारमै लेखिएको छ : 'छुवाछूतमुक्त नमुनायोग्य गाउँ सभ्य र सुन्दर बनाऔँ।' मगर र दलित जातिको बाहुल्य रहेको थबाङमा जातका आधारमा कुनै विभेद गरिँदैन।

"सबै बराबर छौँ। कसैले कसैलाई उचनिचको व्यवहार गर्न पाउँदैन," नमुना गाउँ समितिकी सदस्य जितु विक भन्छिन्, "सबै मिलेकाले विकास गर्न सजिलो भएको छ। सबैमा मिहिनेत गरेर खानुपर्छ भन्ने भावना छ।"

थबाङको मूल गाउँमा ४ हजार २ सय ८० जनाको बसोवास छ। यहाँका अधिकांश घर एउटै खालको संरचनामा छन्। काठ र ढुंगाका छाना कर्कट पातामा फेरिएका छन्। गाउँ अब 'गुरिल्ला ट्रेकिङ्'को गन्तव्य बन्ने स्थानीयको आशा छ।

राजनीतिक आस्थाका आधारमा केही विभाजित भए पनि विकासमा सधँै एकजुट हुन्छन्। यही एकताको फाइदा उठाउँदै नेताहरूले थबाङलाई लामो समय राजनीतिक रूपमा प्रयोग मात्रै गरिएको गाउँलेको गुनासो छ।

"थबाङको विशेषता के छ भने पहिलेदेखि नै विकास निर्माण र राजनीतिमा पूरै गाउँ एकजुट हुँदै आएको छ," थबाङका विनप्रसाद पुन सुनाउँछन्, "सायद यही कुरा बुझेर होला पञ्चायतकालमा मोहनविक्रम सिंह, मोहन वैद्य हुँदै पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो पछि लगाउन सफल भए। दसवर्षे युद्ध नभएको भए थबाङले आफ्नै मिहिनेतमा धेरै उन्नति गरसिक्थ्यो ।"

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar