किन हार्छन् भीमबहादुरहरू ?

भीमबहादुर तामाङ दाइको पासपोर्ट मेरो दराजमा थन्किएको छ। २७ मंसिरमा दाइसँगै अस्ट्रेलिया जाने मेरो चाहना त पूरा भएन नै, फर्केपछि दुई-चार दिन बस्ने गरी दाइसँगै उहाँको गाउँ घुम्ने मेरो योजनामा पनि पूर्णविराम लाग्यो। टेलिफोन र भेटघाटमा समेत उहाँ भनिरहनुहुन्थ्यो, "दुई-चार दिन बस्ने गरी मेरो गाउँ जानुपर्छ। केही गम्भीर कुरा पनि गर्नु छ समय मिलाउनू है !"

आफ्नो लामो सक्रिय राजनीतिक अनुभवका आधारमा मुलुकको वर्तमान र भविष्यका सन्दर्भमा मलाई केही सिकाउन खोज्दै हुनुहुन्थ्यो वा मेरा केही कमजोरीका बारेमा बताउन चाहनुभएको थियो। तर, ती सबै अब सम्भव भएन। म त समय मिलाउन तयार भएको थिएँ, नियतिले उहाँको समय मिलाएन।

भीमबहादुर दाइ पदीय हैसियतका हिसाबले पूर्वमन्त्री र पार्टीमा केन्द्रीय सदस्य मात्रै हुनुहुन्थ्यो। तैपनि, उहाँको निधनमा पार्टी र सिंगो समाज नै भावविह्वल बन्यो। सबैले एउटै कुरा भने, 'नेता हुनु त भीमबहादुरजस्तो।' उहाँले बाँचेको सरल जीवन, त्याग, निष्ठा, सिद्धान्त र आदर्श राजनीतिलाई सेवाका रूपमा लिने प्रवृत्तिको सबैले प्रशंसा गरे। उहाँको आचरण, चरत्रि र निजी जीवनका कैयन् पक्षलाई सिंगो समाजले खुलेर तारिफ गर्‍यो। उहाँमा के त्यस्तो तागत थियो, जसले उहाँलाई पदीय हैसियतभन्दा माथि पुर्‍याइदियो ?

उहाँले घर, जात र परिवार केही भन्नुभएन, न त शक्तिको दुरुपयोग नै कहिल्यै गर्नुभयो। गुटबन्दीको राजनीतिमा कहिल्यै विश्वास गर्नुभएन। राजनीतिको हरेक क्षणमा उहाँ नेपाली कांग्रेस भएर नै रम्न चाहनुभयो। निश्चय पनि उहाँको यो जीवनशैली र आदर्श नेपालको आउँदो पुस्ताका लागि पनि एउटा मिथक बन्नेछ। उमेरका हिसाबले म पार्टीको सबैभन्दा कान्छो केन्द्रीय सदस्य र उहाँ सबैभन्दा जेठो सदस्य । पुस्ता र अनुभवका हिसाबले हामीबीच कोसौँको अन्तर छ। तैपनि, उहाँ हाम्रो पुस्ताका निम्ति झनै आदरणीय हुनुहुन्थ्यो। मपछिको पुस्तालाई पनि लाग्नेछ : नेता त भीमबहादुर दाइजस्तै हुनुपर्छ। के यो त्यति सजिलो छ ? नेपाली राजनीतिमा सबैभन्दा पेचिलो प्रश्न यही हो।

भीमबहादुर दाइले जीवनको प्रारम्भिक कालमा शिक्षकको रूपमा केही समय व्यतीत गरे पनि जीवनको अन्तिम समयसम्म राजनीतिमा नै समर्पण गर्नुभयो। राजनीतिक जीवनमा विभिन्न मोर्चामा श्रेष्ठता हासिल गर्नमै क्रियाशील रहनुभयो। पार्टी महाधिवेशनमा सभापतिको प्रत्यासी हुनुभयो, संसद्को निर्वाचनमा लड्नुभयो। तर, न उहाँ पार्टी सभापति हुनुभयो, न सांसद नै। पार्टीभित्रको राजनीतिक खेलमा त उहाँ पराजित हुनुभयो नै, समाजका आदर्श भए पनि उहाँले जनताको मतबाट समेत पराजित हुनुपर्‍यो। भीमबहादुर दाइजस्तो बन्नुपर्छ भनेर पाठ सिकाउने समाजले किन उहाँलाई सधैँ पराजित गरिराख्यो त ? भीमबहादुर दाइ चरत्रि र प्रवृत्तिलाई सधँै पूजा गर्ने समाजले उहाँलाई सधँै किन पराजित गर्छ ? भीमबहादुर दाइको निधनले यो गम्भीर प्रश्न हामीलाई छाडेर गएको छ।

विसं २०५१ को मध्यावधि निर्वाचनपछि संसदीय व्यवस्थामा एकैपटक धेरै विकार पैदा भएका थिए, जसले राजनीतिक दलहरू र बहुदलीय व्यवस्थाप्रतिको घृणालाई संस्थागत गरिदिएको थियो। आजपर्यन्त त्यही विकृतिको आडमा संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीमाथि नै भ्रम पैदा गरेको पाइन्छ। त्यतिबेलाको पजेरो काण्ड बहुदलीय व्यवस्थाको सबैभन्दा विकृत घटना थियो। गाडी लिने सांसदहरूको बद्ख्वाइँ मिडिया र समाजले खुबै गरेको थियो। तर, सुविधाको पेजेरो नलिनेहरूको भने कुनै चर्चा भएन। त्यसरी सुविधाको पजेरोमा लोभ नदेखाउनेमा कांग्रेसका आठ जना सांसद थिए। तर, ०५६ को निर्वाचनमा तीमध्ये नरहरि आचार्यलगायत पाँच जनाले टिकट नै पाएनन्। विडम्बना, त्यसरी टिकट पाउने भीमबहादुर तामाङ, शैलजा आचार्य र प्रदीप गिरी तीनै जनालाई जनताले पराजित गरििदए।

यो नेपाली समाजको अनौठो र द्वैध चरत्रिको एउटा सशक्त उदाहरण हो। अबको पुस्ताले निष्ठा र त्यागको राजनीतिलाई कसरी बुझ्ने ? हामी भीमबहादुरहरूको प्रशंसा गरेर कहिल्यै नथाक्ने तर भीमबहादुरहरूलाई हराएर पनि कहिल्यै नथाक्ने। मैले चिनेदेखि नै भीमबहादुर दाइका भूमिका बदलिए तर उहाँ सधैँ उस्तै रहनुभयो। उहाँको जीवनको लय, शालीनता, सरलता र विद्वता उस्तै थियो।

संविधानसभा विघटनपछि पार्टीले हामीलाई संघीयताको विषयमा धारणा बनाउने जिम्मेवारी दिएको थियो। त्यसक्रममा मैले उहाँको सरल र शालीन जीवनलाई अरू नजिकबाट नियाल्ने मौका पाएँ। त्यबबाहेक जटिल राजनीतिक विषयमा उहाँको स्पष्ट वैचारकि धारणा र समाधानका लागि उहाँसँग रहेको अलौकिक क्षमता र विचार पनि बुझेँ। तर, उहाँको क्षमताको न पार्टीले कहिल्यै सदुपयोग गर्‍यो, न त बुझ्ने प्रयास नै। जातीयताको मुद्दामा 'पहिचान भेटिने, जातीय द्वन्द्व मेटिने' भन्ने उहाँको नारा र देखाएको मध्यमार्गी बाटो आफैँमा दूरदर्शी र सान्दर्भिक छ।

हामी भीमबहादुर दाइले हिँडेको बाटो हिँड्न चाहन्छौँ। भौतिक कुराबाट अलग भएर, राजनीतिक जीवन भनेको एउटा साधना हो भन्ने ढंगबाट बाँच्न चाहन्छौँ, राजनीतिलाई पेसा होइन, सेवाका रूपमा समर्पित गर्न चाहन्छौँ। के त्यो सम्भव छ ? प्रधानमन्त्री बन्न सजिलो छ तर भीमबहादुर बन्न गाह्रो छ। एक दिनको साधनाले भीमबहादुर बनिने होइन। त्यस्तो साधनाको सम्मान गर्ने अनि अगाडि बढ्न भने कहिल्यै नदिने काम किन भइरहेछ ? के गर्‍यो भने हाम्रो पुस्ताले भीमबहादुरको चरत्रि बोकेर पनि पराजित हुनुपर्दैन ? राजनीतिमा भीमबहादुर प्रवृत्तिको जित हुन्छ भन्ने मान्यता स्थापित गर्न सकियो भने मात्र वास्तविक अर्थमा भीमबहादुर दाइप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

अर्थ  [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar