म भारतमा जन्मिएँ। पुख्र्यौली थलो गोरखा भए पनि विसं १९९० को महाभूकम्पपछि हाम्रो परिवार विराटनगर बसाइँ सर्यो। मेरो बाल्यकाल विराटनगरमै बित्यो। मेटि्रक र त्यसपछिको पढाइ भने वनारसमा भयो। सुरुमा मेरो आकर्षण माक्र्सवादप्रति थियो। वनारसमा पढ्दा विराटनगरकै बासिन्दा रहेका कम्युनिस्ट पार्टीका नेता मनमोहन अधिकारीले मलाई कम्युनिस्ट पार्टीको सम्पर्कमा लगे। उनका विभिन्न सेलमा तालिम लिन पठाए। यो कुरा बीपी कोइरालाले थाहा पाउनुभएछ। उहाँले सम्झाउनुभयो, "कम्युनिस्टहरू प्रजातन्त्रका विरोधी हुन्छन्। हामी त प्रजातान्त्रिक समाजवादीहरू हौँ।"
बीपीले नै मेरा लागि काशी विश्वविद्यालयका राजनीतिशास्त्रका विभागीय प्रमुख मुकुटविहारी लाल र भाइस चान्सलर आचार्य नरेन्द्रदेवलाई चिट्ठी लेखिदिनुभयो। दुवै 'सोसल डेमोक्र्यासी'का प्रखर विद्वान् थिए। उनीहरूको संगतमा धेरै कुरा बुझ्ने मौका पाएँ। र, नेपाली राष्ट्रिय कांग्रेस हुँदै नेपाली कांग्रेसको राजनीतिमा होमिन पुगेँ। २२/२३ वर्षको उमेरमै राष्ट्रिय कांग्रेसको केन्द्रीय समितिमा पुग्ने मौका पाएँ।
नेपाली राष्ट्रिय कांग्रेसको आह्वानमा ००४ सालको विराटनगर जुटमिलको मजदुर आन्दोलनमा भाग लिँदा केही महिना थुनिएँ। नेपाली कांग्रेसको आह्वानमा सम्पन्न ००७ सालको क्रान्तिमा प्रत्यक्ष सहभागी हुने मौका पाएँ। कांग्रेसको महामन्त्री हुँदै ०१५ सालमा प्रतिनिधिसभाको सदस्य र प्रमुख सचेतकसमेतको भूमिका निर्वाह गरेँ।
राष्ट्र संघमा पहिलोपटक ०१६ सालमा भाग लिँदा संसारका विभिन्न मुलुक र खासगरी युरोप-अमेरिकामा तीव्र गतिले विकास भएको अनुभव गर्न पाएँ। लाग्यो, केवल प्रजातन्त्रका कुरा गरेर मुलुकमा तीव्र विकास सम्भव छैन। विकास नभई मध्यमवर्गको उदय सम्भव छैन र त्यो वर्गको अभावमा प्रजातन्त्र मजबुत हुन सक्दैन। यत्तिकैमा राजा महेन्द्रसँग मेरो चिनजान भयो। उनले छिटो देश विकास गर्ने र प्रजातन्त्रमा फर्किने कुरा गरे। म यस कुरामा विश्वस्त भएर राजातिर लागेँ। आफ्नै प्रत्यक्ष शासन चलाउने उनको इच्छा बुझेपछि पञ्चायतबाट टाढा हुन पुगेँ।
यसबीच पुनः बीपीसँग भेट भयो। उहाँले 'राजा आफ्नै मनले प्रजातन्त्रवादी हुन्छन् भन्ने कुरा पत्याउनु हुँदैनथ्यो। संवैधानिक राजा भन्ने कुरा राजतन्त्रको बाध्यता मात्र हो। जुन कुरा प्रजातन्त्र बलियो भएपछि मात्र सम्भव छ' भन्ने कुरा गर्नुभयो। मेरो अनुभवले पनि यस कुराको सत्यता बुझिसकेको थियो। त्यसपछि कांग्रेसमा प्रवेश गरेँ। त्यहाँ पनि धेरै समय बस्न सकिनँ। र, ०४६ सालको बहुदलीय व्यवस्थाको आगमनपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीमा क्रियाशील छु।
यसरी राजनीतिका विभिन्न कालखण्डमा मेरो प्रत्यक्ष/अप्रत्यक्ष संलग्नता रह्यो। मेरो विश्वास र झुकाव राष्ट्रियता र प्रजातन्त्रप्रति अलि बेसी छ। यी दुई कुरामा मैले कहिल्यै सम्झौता गरनिँ। पञ्चायतलाई पनि विधिवत निर्दलीय व्यवस्थाका रूपमा अगाडि बढाउन थालेपछि मेरो मोहभंग हुन थालेको हो। राष्ट्रियताका सवालमा कुरा गर्दा दुई ठूला राष्ट्रका बीचमा रहेको नेपालको राष्ट्रियता खतरामा छ भन्ने मलाई लाग्दैन। तर, दक्षिणतर्फको स-साना कुरामा पनि हस्तक्षेपकारी भूमिका भने चर्को छ।
अहिलेको मुलुकको राजनीति १२ बुँदे दिल्ली समझदारीबाट प्रभावित छ। त्यसमा हस्ताक्षरकारी प्रमुख पार्टीहरूकै भूमिका छ। सम्झौताबाट आएका सबै राजनीतिक व्यवस्थामा त्यहाँको प्रभाव भइरहन्छ। १२ बुँदेपछि भारतको प्रभाव नेपालमा पुनःस्थापित भएको छर्लंग छ।
००७ सालमा पनि भारतको प्रभाव कायम रहँदा नै प्रजातन्त्र जनमुखी हुन सकेको थिएन। तर, त्यस समय राजा रहेको अवस्थाले पञ्चायतको जन्म भयो र भारत प्रभाव धेरै मात्रामा कम भयो। १२ बुँदेले भारत प्रभाव पुनःस्थापित गराएको छ। चुनावमा नजाने तर शक्तिको आशा गर्ने पहिलेका नेताहरू दरबारमुखी थिए, अहिलेका भारतमुखी भएका छन्। यसले हाम्रो राष्ट्रियता र प्रजातन्त्र दुवै कमजोर भएको छ। र, विकास अन्योलमा परेको छ। यो सुखद कुरा होइन।
अहिलेका राजनीतिज्ञहरूले बुझ्नुपर्ने कुरा के हो भने नेपालीहरूको निर्णयले शक्ति प्राप्त गरे मात्र राष्ट्रियता, आत्मसम्मान र स्वाभिमान जोगिन सक्छ। र, सार्वभौमसम्पन्न नेपाली नागरकिको निर्णय भनेको उसको गोप्य मतदान नै हो। यसबाट नागरकिलाई वञ्चित गर्नुहुँदैन। किनभने, सत्ता प्राप्त गर्ने अर्को उपाय दाउपेच र षड्यन्त्र हो। यसतर्फ उन्मुख हुनु भनेको राम्रो होइन।
६० वर्षको राजनीतिक अनुभवमा राष्ट्रियता घरजस्तै हो। जनताको प्रजातान्त्रिक अधिकारका लागि र सर्वांगीण विकासका लागि प्रजातान्त्रिक व्यवहार भाडाको घरमा पनि हुन सक्छ। तर, नेपालीको विकासका लागि उसको आफ्नै नेपाल चाहिन्छ। यसै मान्यताका आधारमा मैले काम गरेँ। ८६ वर्षको उमेरमा हिँडिरहेको म अहिलेका राजनीतिक खेलाडीको खेल दर्शक भएर हेर्नुबाहेक के नै पो गर्न सक्छु र !
अस्थिर राजनीतिक अवस्थामा नेपालीले छिमेकीको भर पर्दा सार्वभौमसत्ता परमुखापेक्षी हुन्छ, जो भारतसँग भएका सम्झौताले नेपालीले बारम्बार भोग्नुपरेको अनुभव छ। हाम्रा पुर्खाले साह्रै दुःख गरेर केही भूभागलाई नेपाल भनेर राख्न सके। अहिलेको पुस्ताले यहाँ प्रजातन्त्र र विकासलाई स्थापित गर्नु छ। जबजब राजनीतिक दुःख पर्छ, अन्तिम निर्णयका लागि हामी जनतामै जानुपर्छ, आमनिर्वाचनका लागि। निर्वाचनबाट अलग रहेर हाम्रा राजनीतिक पार्टीहरूले अन्यत्र हेर्न थाले भने हस्तक्षेप त स्वतः निम्तिन्छ। विगतमा यसै कारण निम्तिएको हस्तक्षेप कम गर्न यत्रो समय लाग्यो। पुनः हस्तक्षेपलाई निम्त्यायौँ भने त्यसबाट मुक्ति पाउन कति दिन कुर्नुपर्ने हो, किटेर भन्न गाह्रो छ।
तपाईंको प्रतिकृया