समर्पणका पर्याय

सेवा गर्न उमेरले छेक्दो रहेनछ। यसका प्रमाण हुन्, दक्षिण झापाको हल्दीबारीका इन्द्रबहादुर कार्की, ९३। कार्की अहिले पनि दीनदुःखीको सेवामा उत्तिकै सक्रिय छन्। त्यो पनि कसैको सहयोग लिएर विकासे कार्यकर्ताको भेषमा होइन, आफ्नै खर्चमा। दाताको मार्गचित्रमा होइन, आफ्नै आँखाले देखेका आधारमा।

बेलायती उपनिवेश रहँदै कार्की भारतीय सेनामा जागिरे थिए। महात्मा गान्धीको हत्यापछि अचानक जागिरबाट अवकाश लिएका उनी अहिले सेवाका पर्याय नै बनिसकेका छन् झापालीमाझ। विसं १९७६ सालमा दोलखाको गुप्तेश्वरमा जन्मिएका कार्की ०१९ सालदेखि झापाको हल्दीबारीमा स्थायी बसोवास गर्दै आएका छन्।

मेची अञ्चल अस्पताललाई उनले पहिलोपटक पाँचवटा काठका बेन्च दिएर समाजसेवा थालेका रहेछन्। करिब २२ रुपियाँ प्रतिगोटामा खरिद गरी उपलब्ध गराएका बेन्च अहिले पनि अस्पतालमा छन्। भन्छन्, "यही बेलादेखि सेवातिर एक्कासि मन गएको हो, निरन्तर यसमै सक्रिय भइरहने इच्छा छ।"

तीन दशकयता कार्कीले मेची अञ्चल अस्पताललाई मात्रै लाखौँ मूल्यका भौतिक सामग्री सहयोग गरेका छन्। फर्निचरदेखि अस्पतालमा स्लाइन झुन्ड्याउने स्ट्यान्ड र बिरामी कुरुवा आराम गर्ने चौतारोसम्म उनले आफ्नो व्यक्तिगत खर्चबाट निर्माण गरिदिएका छन्। उनले वर्षदिनअघि मात्रै अस्पतालकै पोषण गृहअगाडि डेढ लाख रुपियाँ खर्चिएर आश्रयस्थलसमेत निर्माण गरिदिएका छन्।

लामो समयदेखि बिगि्रएर थन्किएको अस्पतालको एम्बुलेन्स पनि उनैको पहलमा हालै मर्मत गरी सञ्चालनमा ल्याइएको छ। "दीनदुःखी र असहायलाई देख्नै सक्दिनँ," कार्की भन्छन्, "सक्नेजति सहयोग गरिदिन्छु।" उनी १५/१५ दिनमा अस्पतालका बिरामीलाई फलफूल वितरण गर्न गइरहन्छन्।

पेन्सनबापत प्राप्त हुने मासिक १५ हजार भारुमध्ये एक रुपियाँ पनि उनी आफ्ना लागि खर्च गर्दैनन्। कसैले दुःख पाएको खबर पाए भने रातो रंगको स्कुटीमा बत्तिएर पुगिहाल्छन्। हिँडिरहनुपर्ने र धेरै ठाउँबाट सहयोगका लागि आह्वान हुने कारण उनले यो सवारी किनेका हुन्। "सबै पैसा सेवामा खर्चिने गरेको छु," कार्की भन्छन्, "पेन्सनले नपुगे सापटी मागेर पनि काम चलाउँछु।"

स्वास्थ्य क्षेत्रमा मात्रै होइन, कार्कीले विकास निर्माण, शिक्षा र सामाजिक गतिविधिमा पनि उत्तिकै सहयोग गर्दै आएका छन्। पुल निर्माण, विद्यार्थीलाई छात्रवृत्तिलगायत विभिन्न गतिविधिमा उनको सक्रियता छ। चन्द्रगढी-हल्दीबारी जोड्ने देउनिया खोलाको पुल निर्माणमा उनको महत्त्वपूर्ण सहयोग छ।

समाजसेवी कार्कीलाई उनको योगदानको प्रशंसा गर्दै दर्जनौँ संघसंस्थाले कदर गरिसकेका छन्। हाल घरमा एक्लो जीवन बिताउँदै आएका कार्कीलाई पैसा भन्ने कुरा केही होइन जस्तो लाग्छ । भन्छन्, "मान्छेले मर्दा पैसा सँगै लैजाँदैन, बाँचुन्जेल सेवामा लगानी गरियो भने नाम त रहन्छ।"

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

पर्वत पोर्तेलद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar