चर्या नृत्यको नालीबेली

चर्या नृत्य भनेको बुद्ध धर्मको तान्त्रिक विधाको एक सशक्त कला-प्रस्तुति हो। यस नृत्यको मूल ध्येय हो, कलाकारले ध्यानश्चर्या अर्थात् ध्यानभावमा ढालिएर नृत्यद्वारा प्रस्तुति दिनु। यस नृत्यमा पञ्चबुद्ध मानिएका अक्ष्योम्य, रत्नसम्भव, अभिताभ, अमोधसिद्धि र वैचोरनका ध्यानमुद्रा र ध्यानभावलाई आत्मसात् गरी नृत्यमा प्रस्तुत गरिन्छन्। सारांशमा बज्रयानी बुद्धदर्शनमा आधारति नृत्य हो यो। यो नृत्य मुद्रा र ध्यानमा केन्दि्रत हुने हुँदा यसका कलाकार अन्य नृत्यमा जस्तो शारीरकि हाउभाउका आधारमा मात्र केन्दि्रत हुँदैनन्। उनीहरू ध्यानको भावधारामा चुर्लुम्म डुबेर नृत्य गर्छन्।

संस्कृत श्लोकमा मन्त्रोचारण गर्दै यो नृत्य गर्नुअघि हरेक कलाकारले आ-आफ्ना आस्थाका देवदेवीप्रति भक्तिभावले प्रार्थना गर्छन्। यसो भन्ने प्रचलन छ। त्यसैले यस नृत्यका लागि आत्मिक रूपमा पनि कलाकार अध्यात्मप्रति समर्पित हुन आवश्यक छ। तर, यो नृत्य आजको पुस्ताबाट क्रमशः लोप हुँदै एउटा दन्त्यकथाजस्तो हुन पुगेको छ। केही सीमित अभ्यस्त कलाकारले केही विशेष अवसरमा प्रस्तुत गरेबाहेक यस नृत्यको अवलोकन गर्ने र यस नृत्यबारे विस्तृत जानकारी पाउन दुर्लभजस्तै हुन थालेको छ। यही अभाव आत्मसात् गर्दै मुद्रण माध्यममै भए पनि संरक्षण हुनुपर्छ भन्ने सांस्कृतिक भावनाले चन्द्रमान मुनिकारले यस नृत्यको विस्तृत नालीबेली केलाउँदै एउटा पुस्तक तयार पारेका छन्, चर्या नेपाल (बज्रयान तान्त्रिक चर्या नृत्य) ।

पुस्तकमा लेखकले चर्या नृत्यको परचिय दिएर नृत्य गर्ने विधि र आसनका बारेमा जानकारी गराउँदै गुह्य चर्या नृत्य, बाह्य चर्या नृत्य आदिको सविस्तार चर्चा गरेका छन्। यसमा खुट्टा चाल्ने, कम्मर मोड्ने, हात र औँलाहरू नचाउने विधि सचित्र वर्णन गरिएको छ। यसरी पद्मासनसँगै चर्या नृत्यका अन्य विभिन्न आसन, विभिन्न मुद्राका बारेमा समेत सचित्र उल्लेख गरिएको छ। साथसाथै नृत्यका बारेमा सामान्य सैद्धान्तिक ज्ञान नभएका पाठकलाई समेत केन्द्रमा राखी लेखकले नृत्यका परिभाषा, उत्पत्ति, प्रकार, विभाजनदेखि यो कसरी  मानव जीवनका लागि सहायक हो भन्ने कुराको पनि यथेष्ट उल्लेख गरेका छन्। लेखकको यस्तो शैलीले यस नृत्यको अध्ययनका लागि पाठकमा स्वतः अभिरुचि जगाउँछ।

लेखकले यस पुस्तकलाई पूर्णता दिन अथक कोसिस गरेको देखिन्छ। त्यसैले उनले चर्या नेपालमा यस नृत्यमा प्रयोग हुने गीत, राग, वाद्ययन्त्र, ताल, नवरसको समेत वर्णन गर्दै नेपालका प्रसिद्ध ३२ वटा चर्या नृत्यको वर्णन गरेका छन्। कुनै समय यस नृत्यलाई आफ्नो जीवनको साधना बनाएका थिए, कान्छाबुद्ध बज्राचार्य, सप्तमुनि बज्राचार्य र रत्नकाजी बज्राचार्यले। लेखकले तिनको योगदानलाई मुक्तकण्ठले प्रशंसा मात्र गरेका छैनन्, तिनको संक्षिप्त परचियसमेत दिएर यस पुस्तकको महत्त्व बढाएका छन्। यी विभिन्न आधारमा यो पुस्तक नृत्यानुरागी र नृत्यार्थी सबैका लागि पठनीय हुन

पुगेको छ।

चर्या नेपाल (बज्रयान तान्त्रिक चर्या नृत्य)

लेखक   :    चन्द्रमान मुनिकार

प्रकाशक   :    बज्रकला कुञ्ज

पृष्ठ   :   ३००

मूल्य   :   ८०० रुपियाँ

 

स्वस्थ जीवनका टिप्स

बदलिँदो जीवनशैली अनि मानव स्वास्थ्यमाथि एकपछि अर्को रोगको संक्रमण। कसरी रहने त स्वस्थ ? अहिलेको जल्दोबल्दो विषय यही हो। दैनिक जीवनमा सानातिना कुरामा सावधानी अपनाउने हो भने स्वस्थ जीवन उति गाह्रो रहेनछ।

अरुणा उप्रेतीले उपयोगी पुस्तक बजारमा ल्याएकी छन्, आफ्नो स्वास्थ्य आफ्नै हातमा । सर्वसाधारणले आफ्ना स्वास्थ्यसम्बन्धी सानातिना समस्या आफैँ समाधान गरुन् भन्नेतर्फ पुस्तक केन्दि्रत छ। उदाहरणका लागि, कब्जियत, कम्मरको दुखाइ, रुघा, सास, पसिना तथा मोजा गनाउनु, औँलाका कापमा फङ्गसको संक्रमण आदि निकै सामान्य स्वास्थ्य समस्या हुन्। तर, उचित उपचार पहिल्याउन नसक्दा जीवन कष्टपूर्ण बनेको छ।

उप्रेतीले पुस्तकमा यस्ता समस्या समाधानका अनेकौँ उपाय सुझाएकी छन् । जस्तो : पेट मिचीमिची हाँस्दा आन्द्राहरूको मालिस हुने रहेछ, जसले कब्जियत हटाउन मद्दत पुर्‍याउँछ। तुलसीको पात र दानालाई दुई/तीन गिलास पानीमा उमालेर आधा गिलास भएपछि पिउनाले रुघामा फाइदा पुर्‍याउने रहेछ। पानीमा कागतीको रस र गुलाबजल हालेर शरीर पखाल्दा गनाउने समस्याबाट राहत मिल्ने रहेछ। औँलाका कापमा फङ्गसको संक्रमण हुँदा खाने सोडा लगाउँदा फाइदा हुने रहेछ।

बदलिँदो जीवनशैलीका कारण धेरै मानिसमा देखापरेका चिनीरोग (मधुमेह), कोलेस्ट्रोल, बाथ, मूत्राशयको संक्रमण आदिबाट बच्ने र रोग लागिसकेको अवस्थामा अपनाउनुपर्ने सावधानीका बारेमा समेत पुस्तकमा सरल रूपमा व्याख्या गरएिको छ। जस्तो : मधुमेहका बिरामीलाई ज्यादै हाई आएमा वा चिटचिट पसिना आएमा शरीरमा घटेको चिनीको मात्रालाई सन्तुलनमा ल्याउन फलफूलको रस, चकलेट वा फलफूल खाइहाल्नुपर्ने रहेछ। नत्र बिरामीको मृत्युसमेत हुन सक्ने रहेछ। गेडागुडीको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत पुग्ने रहेछ। लसुनको प्रयोगले पनि रगतमा रहेको बोसो (कोलेस्ट्रोल) घटाउन सकिने रहेछ।

उप्रेतीले पुस्तकमा रोग निदानका सरल उपाय मात्र सुझाएकी छैनन्, नेपालका दुर्गम क्षेत्रमा देखिएको 'भाते प्रवृत्ति' र कुपोषणका नाममा एनजीओ/आईएनजीओहरूको चलखेललाई समेत कटाक्ष गरेकी छन्। विभिन्न भौगोलिक क्षेत्रमा विशिष्ट प्रकारका पौष्टिक तत्त्व उत्पादन हुने भए पनि तिनको प्रयोगका बारेमा देखिएको उदासीनतातर्फ लेखिकाले घचघच्याउने प्रयत्न गरेकी छन्। पछिल्लो पुस्तामा देखिएको जंक फुडको प्रयोग र त्यसका कारण जनस्वास्थ्यमा देखिएका समस्याबारे पनि उनले कलम चलाएकी छन्।

त्यसो त उप्रेतीले जनस्वास्थ्यमा सरोकार राख्ने विषयवस्तुलाई विभिन्न सञ्चारमाध्यममार्फत नियमित रूपमा उठाउँदै आएकी छन्। प्रस्तुत पुस्तक मानिसलाई स्वस्थ रहन सिकाउने आफ्नो सानो प्रयास भएको लेखिकाको भनाइ छ। स्वस्थ जीवनका लागि अरू पनि थुप्रै टिप्स पुस्तकमा छन्। त्यसका लागि यो बहुउपयोगी पुस्तक एकपटक पल्टाउनैपर्छ।

- उपहारजंग शाह

आफ्नो स्वास्थ्य आफ्नै हातमा

स्रष्टा   :    डा अरुणा उपे्रती

प्रकाशक   :    साझा प्रकाशन

पृष्ठ   :    १०४

मूल्य   :    १७५ रुपियाँ





वाम्बुले राई जातिको चिनारी

काठमाडाँैलाई केन्द्र मानेर किरात भूमिलाई ओल्लो किरात, माझ किरात र पल्लो किरातमा ऐतिहासिक रूपमा विभाजन गरिएको छ। सुनकोसीदेखि दूधकोसीसम्मको भूभागलाई ओल्लो किरात, दूधकोसीदेखि अरुणबीचको भागलाई माझ किरात र अरुणदेखि टिस्टा नदीसम्मको भूभागलाई पल्लो किरात भनिन्छ। किरात भूमिभित्र क्षेत्री, बाहुन, नेवार, तामाङ, शेर्पा, गुरुङ, मगरलगायतका विभिन्न जातजाति बसोवास गर्छन् तर किरातका रूपमा आफ्नो पहिचान दिने चार जाति मात्र देखापरेका छन्। ती हुन् : लिम्बू, याक्खा, राई र सुनुवार।

लिम्बूहरू बसोवास गर्ने पल्लो किरातलाई लिम्बुवान र खम्बूहरू बसोवास गर्ने माझ किरातलाई खम्बुवान भनिन्छ। याक्खाहरू लिम्बुवानभित्र नै बसोवास गर्दै आएका किरात हुन्। वाम्बुले, जेरुङ, बाहिङ र थुलुङ जातिका राई र सुनुवारहरू बसोवास गर्ने इलाका ओल्लो किरात हो। यी चार जातका किरातमध्ये राई अत्यन्त जटिल जाति हो।

वास्तवमा राई कुनै जातिको नाम नभई एउटा पदवी जनाउने शब्द मात्र हो। भ्यान्सिटाटका अनुसार अरुणपूर्वका किरातीहरूका प्रमुखलाई सुब्बा र अरुणपश्चिमका किरातीहरूका प्रमुखलाई राई पदवी शाह राजाहरूले प्रदान गरेका हुन्। पछि अरुणपूर्वका लिम्बू जातिका किरातीहरूले सुब्बा पदवीलाई जातका रूपमा लिन थाले।

त्यसरी नै अरुणपश्चिमका सुनुवारबाहेकका किरातीहरूले राई पदवीलाई जातका रूपमा प्रयोग गर्न थाले। सुनुवारले पनि मुखियाको पदवीलाई जातिको नामकै रूपमा प्रयोग गरे। लिम्बूहरूले जातिको नामका रूपमा सुब्बालाई प्रयोग गर्दा त्यति जटिलता उत्पन्न हुने देखिँदैन। यसका पछाडि साझा संस्कृति, धेरै हदसम्म मिल्दोजुल्दो भाषा र साझा पहिचानले महत्त्वपूर्ण भूमिका खेलेका छन्।

आफ्नो जाति, भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वर्द्धनप्रति समर्पित गणेश राईको किरात वाम्बुले लोकवार्ता नामक पुस्तकले यस जातिको मात्र होइन, यससँग जोडिएर आएका जातिहरूको पनि चर्चा गरेको छ। आठ अध्यायमा विभाजित यो पुस्तकले वाम्बुलेको जातीय चिनारी प्रस्तुत गर्छ। यस अर्थमा यो मानवशास्त्रीय अध्ययन हो। पुस्तकमा वाम्बुले राई जातिको नामकरण, बसोवास क्षेत्र, जनसंख्याको वितरण, पेसा, भेषभूषा, खानपिन, रहनसहन, धार्मिक तथा सांस्कृतिक मान्यता, पूजा गरिने देवीदेवता, पूजा गर्ने कुलपुरोहित आदिका बारेमा सविस्तार वर्णन गरिएको छ।

पुस्तकमा प्रस्तुत लोक मान्यता, लोककथा, लोकगीत, उखान तथा उक्तिहरूले यो जातिको उत्थान र विकासको क्रमलाई इंगित गर्छन्। राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार वाम्बुले भाषिक वक्ताको संख्या १३ हजार ४ सय ७० देखिएको छ।

रोजगारीको अवसर र सामाजिक प्रतिष्ठाका कारण प्रचण्ड आँधीमा विकसित भएको नेपाली भाषाको प्रवाहले बढारनि आँटेको अवस्थामा राईले यो पुस्तक वाम्बुले र सरल नेपाली भाषामा लेखेर यो भाषाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। यसबाट उनी वाम्बुले जातिको ढुकढुकी बन्न पुगेका छन्। वाम्बुले राई जातिलाई नेपाली समाजमा परि‍चित गराउन पुस्तक सफल छ।

- गोविन्दबहादुर तुम्बाहाङ

किरात वाम्बुले लोकवार्ता

लेखक   :    गणेश राई

प्रकाशक   :    वाम्बुले राई साहित्य प्रकाशन

पृष्ठ   :    १५२

मूल्य   :    २०० रुपियाँ

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

रमण घिमिरेद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar