'दागी’लाई हाइसुक्खै !

भीमबहादुर तामाङले आफ्नो जीवन पार्टी र देश-दुनियाँका लागि समर्पित गरे। तर, धेरैलाई थाहा नहुन सक्छ, उनले आफ्नो निधनपछि पनि धेरैको कल्याण गरे। पार्टीप्रति निष्ठावान्, सक्षम, इमानदार, निष्कलंक, त्यागी, नाता-कृपावादविरोधी, सादा जीवनशैलीजस्ता दर्जनौँ विम्बले सिँगारिएका भीमबहादुरलाई देख्नासाथ कांग्रेस बैठकमा उपस्थित हुने केही अपवाद छाडेर प्रायःजसो पदाधिकारी र केन्द्रीय सदस्यको मन अमिलो हुन्थ्यो। भीमबहादुरसँग केही नहुँदा पनि सबै भएजस्तो लाग्थ्यो।

आफूसँग भ्रष्टाचार गरेको, विदेश पठाइदिएको, विदेशी लाइन एजेन्सीले भुक्तान गरेको पैसाको बन्डलका साथ गाडी, महल भएर पनि भीमबहादुरका अगाडि सधैँ बाउन्ने ठान्थे। किनभने, बैठकमा भीमबहादुर केवल कांग्रेस हुन्थे भने अरू अरू नै एजेन्सीका प्रतिनिधि। त्यसैको परिणाम उनीहरूले गत महाधिवेशनमा सभापति पदमा उठेका भीमबहादुरलाई लज्जाजनक हार दिलाएर केही राहतको सास फेरेका थिए। त्यसपछि पनि पार्टीको बैठक, काँचका पर्दा र छापाहरूमा आफ्नो विचारका कारण छाइरहेका भीमबहादुर देख्नासाथ त्यस्ता 'दागी' कांग्रेसजनको सातो जान्थ्यो। तर, उनको निधनपछि ती कथित कांग्रेसजनलाई हाइसुक्ख भएको छ। अब उनीहरूले स्वच्छ छविको उच्च मानक देखेर लिलिपुट महसुस गर्नुपर्ने त छैन।

- सन्तोष आचार्य



बाबुरामको ऊर्जा

बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा गर्ने हल्ला सुनिएको धेरै भयो। यस्तो हल्लालाई ऊर्जा मन्त्रालयका कर्मचारी भने पटक्कै विश्वास गर्दैनन्। कारण, आफूले सम्हालेको उक्त मन्त्रालयमा उपस्थित नभए पनि बालुवाटारबाटै भट्टराईले दीर्घकालीन प्रभाव पार्ने खालका निर्णय गराइरहेका छन्।

विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा मुख्यसचिव लीलामणि पौड्यालको अप्रत्यासित नियुक्ति यही चाँजोपाँजोको प्रमाण हो। जबकि, पूर्वमन्त्री गोकर्ण विष्टले आर्थिक रूपमा धराशयी हुँदै गएको प्राधिकरणलाई सरकारी र राजनीतिक प्रभावबाट मुक्त गर्न मन्त्री अध्यक्ष रहने पुरानो व्यवस्थालाई परविर्तन गर्दै ऊर्जा मन्त्रालयकै सचिव रहने व्यवस्था गरेका थिए।

बाबुरामले रामेश्वर यादवलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णयलाई पनि अर्थपूर्ण ठानिएको छ। यादवमाथि अख्तियार दुरुपयोग निवारण आयोगले अनियमितता गरेको आशंकामा छानबिनसमेत गरेको थियो। यो चलखेल देखेका र भोगेका कर्मचारीले कसरी पत्याउन् त प्रधानमन्त्रीले राजीनामा दिन्छन् भन्ने ?

- सुरेशराज न्यौपाने



टिनएज भर्सेज सरकार

बाबुराम भट्टराई सरकारको निसानामा अहिले टिनएज विद्यार्थी पर्न थालेका छन्। मोबाइल, मोटरसाइकल र मिनी स्कर्टमा प्रतिबन्धको चर्चा नसेलाउँदै सरकारले एसएलसीको मुखमा गेसपेपरमाथि प्रतिबन्ध लगाएको छ। मानौँ, सिंगो शिक्षा पद्धतिको दोषी गेसपेपर नै हो।

एसएलसी र प्लस टूका विद्यार्थीमाथि कठोर बन्नुका पछाडि सरकारको तर्क छ, विद्यार्थीले पुस्तकमा भन्दा गेसपेपरमा ध्यान दिए। सर्ट-पाइन्टको पाकेटमा अटाउने साइजको त्यो पिलन्धरे गेसपेपर भएन भने विद्यार्थीले के पढ्ने ? सिंगो पुस्तकमा ठ्याक्कै उत्तर कहाँ खोज्ने ? शिक्षकले प्रश्नपत्र कसरी बनाउने ?

गेसपेपरविरोधी सरकारले गाइडलाई भने प्रतिबन्ध लगाएको छैन। ट्युसन र कोचिङ्लाई पूरै छूट छ। कतै शिक्षा मन्त्रालयका अधिकारीहरू नै गाइड लेख्ने र छपाउने धन्धामा त छैनन् ? नत्र, टिएजरमाथि सिंगो सरकार किन अरिंगालजसरी खनिएको त ?

- राजकुमार बानियाँ



महाभारतका दुई पात्र

मंसिरको दोस्रो साता भारतीय प्रधानमन्त्री मनमोहन सिंहका दूत बनेर नेपाल आए, करण सिंह। नेपाली मिडियामा करण नै करण छाए। धेरैलाई थाहा नहुन सक्छ, उनीसँगै भारतका पूर्वमन्त्री भीष्मनारायण सिंह पनि काठमाडौँ आएका रहेछन्। त्यो पनि कांग्रेस आई अध्यक्ष सोनिया गान्धीका दूत बनेर।

राष्ट्रपतिदेखि दलका शीर्ष नेतालाई भेटेर दिल्ली फर्केका दुई सिंहको भ्रमणले त महाभारतको कथा सम्झाइदियो। साँच्चै, नेपालको राजनीतिमा करण (कर्ण)को प्रभाव होला कि भीष्मको ? देशमा विदेशी चलखेल भयो भन्नेहरूले यसको जवाफ देलान् कि नदेलान् हँ ?

- ईश्वरी ज्ञवाली



आठ रुपियाँले जागिर चट्

'दशा बाजा बजाएर आउन्न’ भन्ने गत साता महानगरीय ट्राफिक प्रहरी महाशाखाको कारबाहीमा परेका पाँच जना अभागीले राम्ररी बुझ्न पाएका छन् । जम्मा ४० रुपियाँ घूस लिएको भन्दै हबलदारसहित पाँच जना ट्राफिक निलम्बन परेपछि अरू प्रहरी झस्के कि झस्केनन् कुन्नि ! तर, समाचार पढ्ने र सुन्नेहरू भने मज्जाले हाँसे । हिसाब गर्ने हो भने घूसको रकम निलम्बनमा परेका प्रतिव्यक्तिको हकमा जम्मा आठ रुपियाँ पर्ने रहेछ ।

- जनकराज सापकोटा



'महाज्वाइँ’को नियुक्ति

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफूले गरेको वाचा पूरा त गर्छन् तर अरूलाई चक्मा दिने गरी। नपत्याए उनले हालै गरेको स्वकीय सचिव नियुक्तिलाई हेरौँ।

गत ६ साउनमा भृकुटीमण्डपमा भएको सातौँ विस्तारति बैठकमा कार्यकर्ताले नेताहरूले स्वकीय सचिव फेर्नुपर्ने आरोपको खातसहित दबाब दिएका थिए। त्यसपछि प्रचण्डले प्रतिबद्धता व्यक्त गरे, "तुरुन्तै स्वकीय सचिव फेर्नेछु।" त्यतिबेला भतिजा समीर दाहाल प्रचण्डका स्वकीय सचिव थिए।

हालै एमाओवादी पदाधिकारी बैठकले प्रचण्डको स्वकीय सचिव फेर्ने निर्णय गर्दै समीरलाई नेवाः राज्य समितिमा सरुवा गर्‍यो। 'पारिवारिक नाताभन्दा वर्गीय नाता निकट हुन्छ' भन्दै सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डले नयाँ स्वकीय सचिव पनि 'आफ्नै वर्ग'भित्रबाट होइन, पारिवारिक नाताभित्रबाट नै ल्याए। उनी हुन्, प्रकाश पुच्छर जोडेका गोरखा जिल्लाका पूर्वसेक्रेटरी चूडामणि खड्का। नातामा खड्का प्रचण्डका माइला ज्वाइँ अर्जुन पाठकका बहिनीज्वाइँ हुन् अर्थात् प्रचण्डका महाज्वाइँ !

- माधव बस्नेत

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar