'मन्त्री जेल कुररिहेका छन्। आईजीपीहरू भ्रष्टाचारको मुद्दा खेप्दैछन्। वरिष्ठ प्रहरी अफिसर आफ्नै श्रीमतीको बीभत्स हत्या गर्छ। पूर्वमन्त्री, पार्टी अध्यक्ष र सभासद्जस्तो जिम्मेवार व्यक्तिले व्यापारीको अपहरण गरेर फिरौती असूल गर्छ। आफूलाई माननीय भन्नेहरू कोही हत्यामा संलग्न हुन्छन्, कोही जुवाका खालबाट पक्राउ पर्छन्, कोही घुस खाँदाखाँदै समातिन्छन्, कोही रातो पासपोर्ट बेच्छन्। यसरी कसैले कसैलाई विश्वासै गर्न नसकिने गरी देश विकृत बन्दै गइरहेको छ।' हाम्रो देशका बहालवाला प्रधानमन्त्री बाबुराम भट्टराईले रुन्चे स्वरमा भने। उनी बारा जिल्लाको एक कार्यक्रममा बोल्दै थिए।
'मजस्तो कुशल र असल प्रधानमन्त्रीको नेतृत्वमा रहेका मन्त्रीहरूले नै देशलाई भ्रष्टाचारको अखडा बनाए। सुशासनको मुख्य जिम्मेवारी बोकेको प्रहरी प्रशासन भ्रष्टाचार र हत्याजस्ता जघन्य अपराधमा संलग्न भए। संविधान बनाउने जिम्मेवारी पाएका सभासद् नै त्यस्ता निकृष्ट हर्कत गर्छन्। ल भन्नूस् त, यसभन्दा ठूलो विश्वासको संकट के हुन्छ ?' प्रधानमन्त्रीले सभातिर हेर्दै गहिरो चिन्ता व्यक्त गरे।
'अरूका के कुरा, आफ्नै पार्टीभित्र विश्वासको महासंकट छ। हामी कुनै नेताको अर्को कुनै नेतामाथि विश्वास छैन। नेतामाथि कार्यकर्ताको, कार्यकर्तामाथि नेताको विश्वास छैन। लडाकूप्रति कमान्डरको, कमान्डरप्रति लडाकूको विश्वास छैन। चेक खोसाखोस गरेको हेर्नूस् त कमरेडहरूले ! अविश्वास यति बढेको छ, अध्यक्ष कमरेड भर्खरै सर्नुभएको घर उहाँको डेरा हो भन्ने कुरामा मलाई त शंका मात्रै छ, वैद्यजी त विश्वासै गर्नुहुन्न। अब कसरी अघि बढ्छ देश ?'
प्रधानमन्त्रीको अँध्यारो अनुहार र निराशाजनक अभिव्यक्ति सुनेर कार्यक्रम आयोजक 'बारा यातायात संघ'का पदाधिकारीले निन्याउरो मुख लगाए। श्रोता स्तब्ध भए। दर्शकदीर्घामा पूरा सन्नाटा छायो।
'म डाक्टर बाबुराम !' उनले विशेष जोड दिएर भने, 'म डाक्टर बाबुराम देशको प्रधानमन्त्री भएका बेला त मुलुकको यो गति भइरहन्छ, बेथिति र समस्याहरू बढिरहन्छन् भने अब हामीले अरू कसको आशा गर्ने ? महँग्ाीलेे जनताको ढाड भाँचेको छ। मुलुकमा ग्यासको हाहाकार छ। मट्टीतेलको अभावमा गरबि जनताले बिहान-बेलुका भात खान पाइरहेका छैनन्। पेट्रोल नपाएर विद्यालय बन्द हुँदैछन्। लोडसेडिङ्को समस्या झन् विकराल छ। देश अन्धकारतिर गइरहेको छ। कलकारखानाहरू बन्द हुँदैछन्। हुँदाहुँदा अन्तर्राष्ट्रिय जगत्मा हाम्रो देश नै कालोसूचीमा पर्ने त्रास पनि मेरै पालामा थपिएको छ। यसरी दिनदिनै मुलुक असफल राष्ट्र बन्दै गएको देख्दा मेरो मन कटक्क भइरहेको छ। मेरो चित्त काटिएर टुक्राटुक्रा भइरहेको छ। देशको यस्तो गति देख्दा मलाई त रुन...!'
अचानक प्रधानमन्त्रीको गला अवरुद्ध भयो, बोल्न सकेनन्। उनी घाँटीमा झुन्डिएको खादाले आँसु पुछेर खुइय गर्दै सोफामा बसे। भाषण सुन्न उपस्थित जनता पनि उनीसँगसँगै सुक्कसुक्क गर्न थाले। जनता रोएको देखेपछि प्रधानमन्त्री झनै भक्कानिए। आफ्नो आशाको केन्द्र बहालवाला प्रधानमन्त्री बाबुराम भट्टराई नै यसरी भक्कानिएको देखेपछि बाराबासी जनता पनि डाको छोडेरै रुन थाले। सभाको वातावरण कोलाहलपूर्ण र सम्हालिनसक्नु भएपछि प्रधानमन्त्री विस्तारै उठे र हिँड्न लागे। आयोजक र श्रोता शोकजुलुसका रूपमा प्रधानमन्त्रीका पछिपछि हेलिकप्टरसम्म पुगे र रुँदैरुँदै बिदाइको हात हल्लाउन थाले।
तपाईंको प्रतिकृया