कमलराज रेग्मी

तारकबहादुरको ज्यादती


पाल्पामा किसान संगठन र आन्दोलन फैलिँदै थियो। त्यसलाई दबाउने जिम्मेवारीका साथ भीरकोटे राजा तारकबहादुर शाह पाल्पाको बडाहाकिम भएर आए। राणाशासनको अन्त्य भए पनि बडाहाकिम शाहले भारदारी प्रथा कायमै राखे। हामीलाई बोलाएर गरिएका बैठकमा पनि उनले त्यस्तै रबैया अपनाउँथे। जनताकै समस्याबारे कुरा गर्दा पनि उनी राजसी स्वभाव देखाउँथे। एक दिन त किसानका समस्या अवगत गराउन जाँदा उनले किसानहरूलाई दरबारभित्रै गोरु चुटेझँै चुट्न लगाए र आनन्दसँग रमिता हेररिहे। उनका पालामा यस्ता घटना धेरैपटक भए।

२००८ साल फागुनमा केही किसानका साथ हामी छाङछाङ्दीको मेला हेर्न स्याङ्जा पुगेका थियौँ। मेलाको अवसर किन सदुपयोग नगर्ने भनेर म भाषण गर्न खेतको आलीमा उक्लिएँ। दुई-चार शब्द के बोलेको थिएँ, शाहका गुप्तचर र लठैतहरूले 'हान, मार, धर्मफाला र जातफालालाई छोड्नु हुँदैन' भनेर होहल्ला मच्चाउन थाले। उचाल्दै-पछार्दै, लाठीमुङ्ग्रा र लात्ती-मुड्कीले भकुर्न थाले। म बेहोस भएँ।

होस खुल्दा म प्रहरी चौकीमा सुतिरहेको अवस्थामा थिएँ। चौकीका पुलिस अफिसर र मलाई कुट्ने लठैतबीच भनाभन चलिरहेको थियो। बडाहाकिमको इसारा पाएरै होला, पुलिस अफिसरले भने, "पाल्पाको मानिसलाई यहाँ पक्राउ गर्न मिल्दैन। किनभने, उनलाई पक्राउ गर्नू भन्ने कुनै पुर्जी हामीलाई प्राप्त भएको छैन।" स्याङ्जाका बडाहाकिम सहिद थीरबम मल्लका भाइ भरतबम मल्ल थिए। तर, लठैतहरूले मलाई छोडेनन्। रातारात हिँडाएर शाहको भीरकोटस्थित दरबारमा पुर्‍याएर थुने। भोलिपल्ट त्यहाँबाट लतार्दै, घिसार्दै स्याङ्जाकै बडाहाकिमको घर नुवाकोट पुर्‍याए। उनीहरूले 'पाल्पाका बडाहाकिमको निर्देशन छ, यिनलाई तत्काल थुन्नूस्' भने। "मलाई निर्देशन दिने ती को हुन्? म पनि बडाहाकिम, उनी पनि बडाहाकिम?" स्याङ्जाका बडाहाकिमले उनीहरूलाई थुरे, "बेजिल्लाको बडाहाकिमले भनेर हुँदैन। मलाई केन्द्रबाट कुनै आदेश आएको छैन। तसर्थ, उहाँलाई पक्राउ गर्नुपर्ने कुनै कारण छैन।"

यसरी मलाई पक्राउ गर्न नमानेपछि शाहले केन्द्रमा भनसुन गरी मलाई पक्राउ गर्न लगाए। त्यसका लागि पाल्पाको जिम्मा लगाउन स्याङ्जाका बडाहाकिमलाई केन्द्रबाटै निर्देश गर्न लगाए। तीन दिन हिँडाएर पाल्पा पुर्‍याएर दरबारको छिँडीमा थुनियो। राती खुसुक्क बैठककक्षमा बोलाई शाहले भने, "हामीले स्थापना गरेको सहकारीका माध्यमबाट पाल्पाको विकास-निर्माण गरौँ। तपाईं पनि यसमा लाग्नुभयो भने टन्टै साफ हुन्छ। म तपाईंलाई सहयोग नै गर्छु।" मैले त्यस्तो कुरा मान्ने कुरै भएन। किनभने, पाल्पाका किसानमाराहरूको नेतृत्वमा त्यो सहकारी स्थापना गरएिको थियो। जसको हर्ताकर्ता उनै शाह थिए।

त्यसपछि उनले मलाई धम्की दिए, "तपाईंलाई यहाँ पक्राउ गरी जुम्ला जेल चलान गर्ने निर्देशन छ। त्यसो भए त्यहीँ पठाइदिन्छु।" मैले जुम्ला होइन, नर्कै पठाए पनि जान तयार रहेको बताएँ। उनी जोडले हाँसे र भने, "न रहेगा बाँस, न बजेगी बाँसुरी!"

पाल्पाका जनता बडाहाकिमविरुद्ध सडकमै ओर्लिए। 'तारकासुर मुर्दावाद ! तारकासुर फर्किजा'जस्ता नाराले सडक-बजार गुञ्जायमान भयो। ज्वरोले हिँड्नै नसक्ने गरी थला परेकाले डोलीमा सुताएर अघिपछि दुई नाल बन्दुक र सात सुरक्षाकर्मीका साथ मलाई त्यहाँबाट जुम्ला चलान गरयिो। एकातिर श्रीमती मूच्र्छा परेकी छन्, आमा रोइरहनुभएको छ, बुबाको हाल उस्तै छ। तैपनि, उहाँ झिटीगुन्टा बाँधिदिँदै हुनुहुन्थ्यो। त्यहाँ उपस्थित जनता कसैका आँखा ओभानो थिएनन्। बोकाउँदै, हिँडाउँदै गरेर रडिी पुगेको थिएँ । १४ वर्ष उमेरको किशोरसुलभ मनमा के उत्कण्ठा जाग्यो कुन्नि, तीर्थ श्रेष्ठ मेरो पछि लागेर जुम्ला जाने जिद्दी गर्न थाले। पार्टी कार्यकर्ताका रूपमा बीआर राई पाल्पाबाटै खटिएका थिए।

राई बर्माबाट आएका लडाकू स्वभावका व्यक्ति थिए। उनले कम्युनिस्ट पार्टीको सम्पर्कमा पुगेपछि ज्यादै साहसी र क्रान्तिकारी छवि बनाए। पाल्पाका केही क्रान्तिकारी कम्युनिस्ट सदस्यसँग सल्लाह/छलफल गरेरै होला, उनले हामी बास बसेको पाटीमा एकाएक ज्यादै सनसनीपूर्ण कुरा सुनाए, "अन्ततः तपाईंलाई मार्न यो निहुँ रचिएको हो। तसर्थ, साथीहरू सबै तम्तयारी अवस्थामा छन्। तपाईंले निर्देशन मात्र दिनूस्, हामी सुरक्षाकर्मीका हतियार खोसेर तपाईंलाई मुक्त गराई सुरक्षित स्थलतर्फ लिएर जान्छौँ।"

म त सन्न भएँ। आधिकारकि रूपमा पार्टीको सशस्त्र संघर्षको कुनै कार्यक्रम नरहेको र पार्टी प्रतिबन्धित अवस्थामा रहेकाले यो सब गर्नु अझ जोखिम हुन्थ्यो। मैले सोझै अस्वीकार गरेँ। र, यही कामका निम्ति यदि तपाईं खटिनुभएको हो भने यहीँबाट फर्किनूस् भनेर राईजीलाई बिदा दिएँ।

करबि चार दिनको हिँडाइपछि प्यूठान पुग्यौँ। प्रतिमानचन्द बोहरा त्यहाँका बडाहाकिम रहेछन्। उनकी छोरी ००७ सालको आन्दोलनमा हामीसँगै सरकि भएकी थिइन्। मलाई उनले ज्यादै सम्मानका साथ त्यहाँ राखिन्। त्यसपछि पाल्पाका सुरक्षाकर्मी त्यहाँबाट फर्किए। हिँड्दै-बोकिँदै जसोतसो मलाई सुर्खेत हुँदै दैलेख पुर्‍याइयो। त्यहाँबाट जुम्ला जाँदा ज्यादै दुःख पाइयो। वनका स्याउला काटेर छाप्रो बनाएर पनि बस्यौँ। कतै ओडार त कतै गुफामा बास बस्नुपर्‍यो। आँधीबेहरी आएर कतिपय ठाउँमा हाम्रो सामान नै उडाइदिएको थियो।

करबि एक महिनामा जुम्ला पुगियो। जुम्लाको अवस्था ज्यादै दर्दनाक थियो। धेरै गाउँले थुनिएका थिए। कर्मचारीहरू चौरमा गफिरहेका थिए। त्यत्तिकैमा सुरक्षा अफिसरलाई दैलेखका सुरक्षाकर्मीले मेरो चलानी थमाए। मैले सोधेँ, "के कसूरमा मलाई पक्राउ पुर्जी काटियो?" उनको कुरा सुनेर म छक्क परेँ। मलाई यस्तो यातना दिनुमा शाहको प्रपञ्च रहेछ। उनीसँग मेरो मनमुटाव बढ्नु नै मेरो यातनाको कारण रहेछ।

खास के रहेछ भने, कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लाग्नुअघि ००८ मंसिरमा रुकुमका धनबहादुर र दैलेखका भवानी शर्मा नामका व्यक्ति आएर मलाई भेटेका थिए। उनीहरूले कम्युनिस्ट पार्टीको प्रचारप्रसार गर्न चाहेको भन्दै सदस्यताका निम्ति अनुरोध गरेका थिए। त्यसबेला कम्युनिस्टको सदस्यता लिन ज्यादै गाह्रो थियो। जोकसैले चाहँदैमा त्यत्तिकै दिने चलन थिएन। मैले पनि उनीहरूलाई सोही कुराको जानकारी गराएर किसान संगठनको सदस्यता दिएर काममा पठाएको थिएँ। उनीहरू प्यूठानदेखि किसान संगठनको काम सुरु गरी सल्यान, दैलेख, रुकुम, रोल्पा, डोटी हुँदै जुम्ला र हुम्लासम्म पुगेका रहेछन्।

शान्तिपूर्ण जुलुस उठाएर जाली-फटाहा र शोषकहरूको विरोध गरे पनि उनीहरूमाथि हतियार लिएर कब्जा गर्न खोजेको आरोप लगाइएछ र पक्राउ गरिएछ। हुम्लाको मूल अड्डा जुम्लामा रहेकाले उनीहरूलाई जुम्ला कारागारमा थुनिएको रहेछ। कुटपिट र यातना दिनुका साथै खानतलासी गर्दा धनबहादुरको खल्तीबाट एउटा सानो डायरी फेला परेछ, जसमा लेखिएको रहेछ, 'कमलराज रेग्मी, मेहलधारा तानसेन, पाल्पा।' केरकारका क्रममा उनीहरूले कर्णाली प्रान्तका कम्युनिस्ट नेता यिनै हुन् भनेका रहेछन्।

जुम्लाका तत्कालीन बडाहाकिमले त्यसैलाई आधार मानेर पाल्पाका निम्ति एउटा चिट्ठी लेखेछन्, 'कमलराज रेग्मीको हैसियत, विचार आदि खुल्ने गरी लेखी पठाउनू।' बडाहाकिम शाहले त्यही निहुँमा व्यक्तिलाई नै पठाइदिएको छु भनेर जुम्ला चलान गरेका रहेछन्।

- प्रस्तुति : ईश्वरी ज्ञवाली

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

कथा   [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar