लेट मी टेक यू डाउन
कज आएम गोइङ् टू स्ट्राबेरी फिल्ड्स।
रेस्टुराँको कुनामा राखिएको स्पिकरमा घन्किरहेको विटल्सको यो गीतले जीवनलाई स्ट्राबेरीजस्तै मीठो र रंगीन बनाउन उत्प्रेरित गरिरहेको छ। संयोग पनि कस्तो भने ठमेलस्थित यो सिसा टेरास क्याफे एन्ड बारमा रेस्टुराँमा यही गीतको लयमा युवाहरूको एक समूह स्ट्राबेरी स्वादकै हुक्का तानिरहेको छ।
"जस्ट फर फन," धूवाँ उडाइरहेको समूहका एक सदस्य भूषण महर्जन भन्दै थिए, "साथीहरूसँग भेट्दा रमाइलोका लागि तानिन्छ।" साँझ ढल्दै जाँदा ठमेलका रेस्टुराँ, बारमा यसरी हुक्काको धूवाँमा रुमलिएर रमाउने तन्नेरीहरूको संख्या जति रात छिप्पिँदै जान्छ, उति बाक्लिँदै जान्छ। उनीहरू धूवाँको कुइरोमा हराइरहेका देखिन्छन्। "एकपटक चाखौँ न त भन्नेदेखि नियमित खानेहरूसमेत निकै छन्," सिसाका बारमेन राजेश प्रजापति भन्छन्, "साँच्चै बिन्दास देखिन्छन्, हुक्का तान्ने तन्नेरीहरू।"
कुनै जमानामा अभिजात वर्गको सोखमा सीमित हुक्का प्रचलन अहिले राजधानीका कतिपय रेस्टुराँका अनिवार्य मेनु बनेको छ। खासगरी युवा पुस्तामा हुक्का तान्ने प्रचलन बाक्लिँदैछ। ठमेलस्थित बुद्ध बारका डेम पुनको अनुभवमा खानपिनमा आउने विभिन्न परिकारको फेसनजस्तै हुक्का पनि फेसनकै रूपमा लोकपि्रय भइरहेको छ। सिसा टेरासका प्रजापतिका अनुसार खासगरी यहाँ छिरेका जोडी हुक्काको सर्को नलिईकन फर्किंदैनन्। केही वर्षअघिसम्म सोखका लागि खानेहरू बढी हुन्थे भने अहिले चाख्नकै लागि भए पनि युवाहरू हुक्कामा हुरुक्क हुँदैछन्। बुद्ध बारका पुन भन्छन्, "युवा पुस्ता कुनै पनि चीज कस्तो रहेछ भन्ने कुरा आफैँ प्रयोग गर्न चाहन्छ, यही चाहनाले होला रेस्टुराँ छिरेपछि उनीहरू हुक्का नतानी र्फकंदैनन्।" ठमेल क्षेत्रमा प्रहरीले किशोरकिशोरीलाई हुक्का नबेच्न आग्रह गरे पनि व्यवसायमा खासै फरक परेको छैन। रेस्टुराँका भित्तामा 'युवाहरूलाई निषेध' भनेर सूचना त टाँसिएको हुन्छ तर हुक्का तानिरहेका तन्नेरी देख्दा यो सूचना लागू भइरहेको देखिँदैन।
वसन्तपुरमा 'बिर एन्ड नट' रेस्टुराँ चलाउने पवनसिद्धि मानन्धरका अनुसार अहिले नेपाली बजारमा परम्परागत स्वाद र शैलीका हुक्का लगभग पाउन छोडिएको छ र यसको ठाउँ विभिन्न स्वादसहित आउने रेडिमेड आधुनिक स्वादले कब्जा जमाएको छ। उनी थप्छन्, "अब परम्परागत हुक्का एकादेशको कथा बनिसकेको छ।" परम्परागत हुक्कामा सख्खरको झोल, पराल मिसाएर टोब्याकोको स्वाद तयार गरिन्थ्यो। तर, अब यसको स्वाद यसरी फैलिएको छ कि फलफूल, चक्लेट, कफीसम्मका स्वाद हुक्का तानेरै लिन सकिन्छ। "जुन स्वादको तानिएको हो, त्यसको वासनाले नै माहोल अर्कै बनाइदिन्छ," बुद्ध बारका डेम पुन भन्छन्। नेपाली रेस्टुराँमा मात्रै झन्डै दुई दर्जन स्वादमा हुक्का तान्न सकिन्छ।
एप्पल, डबल एप्पल, रोज, स्ट्राबेरी, बनाना, मिन्ट, लेमन, वाटरमेलन, गे्रभ, अरेन्ज, गउभा, ब्ल्याकबरी, म्याङ्गो, गम, हावाना, दुबई मिक्स, हनी, चक्लेट, कफी, कक्टेल आदि नेपाली जिब्रोमा झुन्डिने हुक्काका स्वाद हुन्। कतिपयले पानीको ठाउँमा दूध, कफी राखेर समेत खाने गरेको तेज भवन रेस्टुराँ एन्ड हुक्का बारका बारमेन नवराज देवकोटा बताउँछन्। भन्छन्, "नयाँ नयाँ स्वाद लिन युवाहरू यस्तो गर्छन्।"
विभिन्न थरीमा आउने हुक्काका बनीबनाउ स्वाद संयुक्त अरब इमिरेट्स, भारत, इजिप्टलगायतका देशबाट नेपाल ल्याउने गरिएको व्यवसायीहरू बताउँछन्। दुबईको अलफकिर नामक कम्पनीको हुक्काको स्वाद भने नेपालमा बढी चल्तीमा रहेको पाइन्छ। परम्परागत रूपमा काठको भाँडामा पाइने हुक्का अहिले आकर्षक सजावटमा क्रिस्टल सिसामा भरिन्छ। ठमेलमा मात्रै हुक्का पाइने रेस्टुराँ तीन दर्जनभन्दा बढी पुगेको अनुमान छ। एक सट हुक्का तानेको नेपाली रेस्टुराँहरूमा २ सय २० रुपियाँदेखि चार सय रुपियाँसम्म पर्छ, जसलाई महँगो सोख भन्दा फरक पर्दैन।
स्वास्थ्यका लागि खतरा
निकोटिन थोरै हुने भए पनि हुक्का लगातार तान्दा स्वास्थ्यमा चुरोटले पुर्याएजत्तिकै हानि पुर्याउने चिकित्सकहरू बताउँछन्। वीर अस्पतालका वरिष्ठ फिजिसियन डा भूपेन्द्रकुमार बस्नेतका अनुसार चुरोट पिउँदाजत्तिकै चाँडो यसको असर नदेखिने भए पनि दीर्घकालीन रूपमा यसले फोक्सोको क्यान्सर, मूत्रथैलीको क्यान्सर, हर्ट अट्याकजस्ता रोग लाग्न सक्छ। "धूमपान गर्नेको कि फोक्सो कि खुट्टामा समस्या देखिन्छ," उनी भन्छन्, "हुक्काले पनि असर गर्छ।"
डा बस्नेत जोखिमको मात्रा केही तलमाथि भए पनि हुक्काले असर गर्दै नगर्ने भन्ने भ्रम नपाल्न आग्रह गर्छन्। भन्छन्, "चुरोटभन्दा कम हानिकारक भए पनि स्वास्थ्यका लागि हुक्का तान्नु खतराजन्य हो, यो नखानु नै वेश।"
तपाईंको प्रतिकृया