विसं २००१ मा म रानीपोखरी प्रधान पाठशालामा भर्ना भएर तीनधारा पाकशालामा बस्न थालेको थिएँ। दिन बित्दै जाँदा नयाँ चेतना जागृत हुन थाल्यो। ००३ सालको अन्त्यतिरको कुरा हो। पूर्णप्रसाद ब्राह्मण आचार्य उत्तीर्ण गरेपछि पाकशालाको छात्राबासबाहिरै बस्न सुरु गरेका थिए। छात्राबासका विद्यार्थीलाई भने बरोबर भेटेर उनी राजनीतिक क्रियाकलापमा सरकि हुन प्रेरति गर्थे। उनको स्वभाव अनौठो थियो। पाकशालाको गेटबाहिर उभिएर भन्थे, "हे बाबु हो ! त्यसै बस्ने बेला होइन यो। केही गर।" उनका कुरा मन पराउने विद्यार्थीमा एकदेव ज्ञवाली, काशीनाथ गौतम, सुरेश आचार्य, ईश्वरी आचार्य, मलगायत केही मात्र थियौँ।
राणाशासकहरू कहिलेकाहीँ आफू अनुकूलका चलचित्र पाकशालाका विद्यार्थीलाई पनि देखाउँथे। सोही क्रममा सिंहदरबारको पुतली बगैँचाभित्र रहेको सिनेमा हलमा भक्त मेहता नामक चलचित्र देखाइयो, जसको कथावस्तु धार्मिक अन्धविश्वासमा आधारति थियो। चलचित्रमा 'राधे गोविन्द भजो' भन्नासाथ सबै कुरा पूरा हुन्थ्यो। सायद, हामीलाई पनि यस्तै अन्धविश्वासी बनून् भनेर त्यो चलचित्र देखाइएको थियो। त्यो चलचित्र हेरेर आएको केही दिनपछि साथी ईश्वरी आचार्यले बज्रयोगिनीबाट ल्याएर बार्दलीमा राखेको विभूति -खरानी) 'राधे गोविन्द भजो' भन्दै सबै विद्यार्थीलाई एकएक गरेर लगाउँदै गए। विभूति लगाइदिँदै जाँदा त्यहाँ त जुलुसजस्तो भयो। त्यत्तिकैमा गोकर्णराज शास्त्रीले प्रस्ताव राखे, "दिनमा एकपटक यो भजन गाऔँ।" त्यसपछि पाकशालामा नित्य यो भजन गाउन थालियो।
एक दिन भजन गाउने क्रममै एक जना विद्यार्थीले 'बोलो बज्रविहारीलालकी जय !' भने। यही कुरालाई राणाका मानिसले पाकशालाका विद्यार्थीले त 'जवाहरलाल नेहरुकी जय' भनेर नारा लगाए भन्दै कुरा लगाएछन्। त्यसपछि राणा सरकारका कर्मचारीले भजन गाउन रोक लगाए।
विद्यार्थीमा एक किसिमको स्वाभिमान थियो। भगवान्को भजन गाउन पनि नदिने भनेर त्यसविरुद्ध संगठित आवाज उठाउने निधो गर्यौँ। १८ जनाले सहीछाप गरेर त्यस्तो निर्णय गरेका थियौँ। यत्तिकैमा पूर्णप्रसाद आएर हामीलाई भने, "तिमीहरूलाई थाहा छ, संस्कृत पढ्नेले छ वर्ष लगाएर आचार्य उत्तीर्ण गर्छ भने अंग्रेजी पढ्नेले पनि त्यत्ति नै वर्ष लगाएर एमए पास गर्छ। तर, तलबमा हेर त कति विभेद छ ! हाम्रा गुरुहरू महिनाको ६० रुपियाँ पाउँछन् तर उनीहरू महिनाको तीन सय।"
यसलाई पनि हाम्रो मागपत्रमा समावेश गरेपछि सोमनाथ सिग्द्यालबाहेक सबै गुरुहरू हामीलाई साथ दिन तयार भए। त्यसपछि तत्कालीन संस्कृत शिक्षा डाइरेक्टर बडागुरुज्यू हेमराज पाण्डेको घरमै गएर आफ्ना माग राख्यौँ। पाण्डे बार्दलीबाटै ठाडो स्वरमा चिच्याए, "किन आएको यत्रो फौज ?" हामीले आफ्ना माग राख्यौँ। उनले हामीलाई ठाडै हप्काए, "तिमीहरूलाई सुनका असर्फी मिल्छन्, नम्बरी पण्डितका रूपमा आम्दानी गर्छौ, उनीहरू -अंग्रेजी शिक्षक)लाई त्यो सुविधा छ ? धेरै चुरीफुरी नगर। यहाँबाट गइहाल ।"
त्यसपछि मागहरू थप्दै गयौँ। इतिहास, भूगोलको पढाइका साथै मध्यमाको परीक्षा यहीँ दिन पाऊँ भन्दै संस्कृत महाविद्यालय स्थापनाको माग गर्यौँ। तर, माग पूरा गर्नुको साटो हाम्रापछाडि गुप्तचर खटाउन थालियो। हामीले पनि आफ्ना माग पूरा नभए १ असार ००४ देखि सम्पूर्ण पढाइ बहिष्कार गर्ने घोषणा गर्यौँ। त्यसमा पनि सिग्द्यालबाहेक सबै गुरुको समर्थन रह्यो।
१ असारमा सुरक्षाकर्मीको जत्थासहित बडागुरुज्यू पाकशालामा उपस्थित भए र हामी सबैलाई चोकमा जम्मा हुन उर्दी दिए। उनले संस्कृतमै भने, "बाहुनका छोरा भएर पनि यस्तो छुद्र काम गर्नुहुन्छ ?" हामी पनि के कम ? भनिहाल्यौँ, "यो त हाम्रो समृद्धिका लागि हो। बाहुनहरूकै हितका निम्ति हो।" बडागुरुज्यू चिच्याउन थाले, "को हो यो बढी जान्ने हुने, गोली ठोक्।" त्यत्तिकैमा ज्यादै फुर्तिका साथ बलराम आचार्य भन्ने फुच्चे विद्यार्थीले 'लौ हान् गोली' भनेर सर्ट च्यातेर आफ्नो नांगो छाती देखाए। हामी सबै 'उनलाई मात्र किन हामी सबैलाई समात' भनेर चिच्यायौँ। त्यत्तिकैमा श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, काशीनाथ गौतम, म, एकदेव ज्ञवाली, ईश्वरी आचार्य, बलराम आचार्यलगायत पक्राउ पर्यौँ।
हामीलाई हनुमानढोका लगियो। त्यहाँ पुग्दा २९ विद्यार्थी थियौँ। बन्दीहरूले बडो अचम्मसँग हाम्रो स्वागत गरे। एक बन्दीले त सबैलाई टीका लगाएर दक्षिणा पनि दिए। पाकशालाका विद्यार्थीका लागि विभिन्न गुठीमार्फत खानाको व्यवस्था हुन्थ्यो। ती गुठीका मानिसहरूले यसरी बाहुनका छोरालाई हतकडी लगाउने र थुन्ने काम गर्नुभएन भनेर ठूलो स्वरमा विरोध जनाएपछि हामीलाई त्यसै राती ११ बजेतिर कागज गरेर छोडिदिए। वीरशमशेरका सन्तान एकराज शमशेरहरू दमनको विरोधमा थिए।
हामी त्यस रात सिंहसत्तलमा बस्यौँ। भोलिपल्ट विद्यार्थीलाई जम्मा गरेर आफ्ना मागसहित पद्मशमशेरकहाँ पुग्यौँ। उनी हाम्रा मागबारे त्यति सकारात्मक थिएनन्। उनले 'संस्कृतलाई त मृत भाषा भन्छन्, त्यही पनि यहाँ त ठाउँ दिएकै छन्' भने। यस कुराको पनि हामीले सडकमै ओर्लिएर विरोध गर्यौँ।
यसरी पूर्ण रूपमा पाकशाला खाली गराएर आन्दोलन गर्ने क्रममा 'जयतु संस्कृतम् भिक्षाम् देही' भन्दै तुल र ब्यानरसहित सहर परत्रिmमा गर्यौँ। आश्रयस्थल शंखमूलका सत्तललाई बनायौँ। त्यहीँ सप्ताह गर्यौँ। मान्छेहरूको ठूलो घुइँचो लाग्यो। जेरी, पुरी, चिउरा, तरकारी आदिको ओइरो लाग्यो। चन्दास्वरूप उठेको रकम पनि खर्च गर्नुपरेन। यत्तिकैमा राणा सरकारका तर्फबाट 'तिमीहरूका माग पूरा हुन्छन्, हडताल तोड' भनेपछि हामीले आन्दोलन रोक्यौँ।
आन्दोलन गर्ने कि रोक्ने भन्नेमा विद्यार्थीबीच सामान्य मतभेद थियो। जाँच आइरहेको थियो। म जाँचै रोकेर आन्दोलन गर्नुपर्छ भन्नेमा रहेँ, अन्य केही विद्यार्थी जाँच रोक्नुहुँदैन भन्थे। त्यसपछि मलगायत पाँच विद्यार्थी स्वनिर्वासन गएर बीपी कोइराला र डिल्लीरमण रेग्मीको सम्पर्कमा पुग्यौँ। यता, राणा सरकारले दिएको वचन पूरा गरेन। त्यसपछि जाँच रोकेर पुनः आन्दोलन चर्कियो। नेतृत्वकर्ता सबै विद्यार्थीलाई डाँडो कटाइयो। ती विद्यार्थीहरू पाल्पा-वुटवल हुँदै वनारस पुगे। जयतु संस्कृतम् आन्दोलनका २९ सै जना विद्यार्थी वनारसमा जम्मा भएर पुनः संगठित भयौँ।
- प्रस्तुति : ईश्वरी ज्ञवाली
तपाईंको प्रतिकृया