वि सं १९९७ मा म करबि १३ वर्षको थिएँ। हामी केटाकेटी त्यसबेला पाल्पामा खूबै गेडी -भकुन्डो) खेल्थ्यौँ। अहिलेका जस्ता भकुन्डा त्यसबेला हुने कुरै भएन, त्यही गेडी खेलिन्थ्यो। ती एक मोहरमा दुईवटा पाइन्थे। त्यो पनि किन्न नसक्नेहरू झुम्रा -कपडाका टाला)को डल्लो बनाएर खेल्थे। पाल्पाको टुँडिखेलमा त्यस्तो गेडी खूबै खेलियो।
मेरो बुबा ज्यादै लहडी स्वभावको हुनुहुन्थ्यो। उहाँ त्यसबेला पुरेत्याइँ गर्नुहुन्थ्यो। जजमानहरूको तराईमा पनि जग्गाजमिन भएकाले कहिलेकाहीँ उनीहरू बुबालाई त्यता पनि लिएर जान्थे। विन्ध्याचल, काशी आदि ठाउँमा पुरोहितलाई लिएर जाने क्रममा बुबा कहिले गोरखपुरबाटै फर्किनुहुन्थ्यो भने कहिलेकाहीँ बनारस र कोलकातासम्मै पुग्नुहुन्थ्यो। केही साथीभाइ पनि उहाँसँगै हुन्थे। तर, किन त्यहाँसम्म पुग्नुहुन्थ्यो, हामीलाई थाहा हुने कुरा भएन।
भारत आवतजावत गर्ने क्रममा बुबा खै के कुराले प्रभावित हुनुभएछ, एक दिन हामीलाई खद्दरका बाक्ला लुगा किनेर ल्याइदिनुभयो। हामी दाजुभाइलाई त्यसैको कुर्ता-सुरुवाल सिलाएर लगाइदिनुभयो। हामी त्यही लुगा लगाएर १९९७ सालको माघ महिनामा टुँडिखेलमा गेडी खेलिरहेका थियौँ। प्रसंग त्यहीबेलाको हो।
बुबा एकाएक टुँडिखेलमा आएर पछाडिबाट हामी दुई भाइलाई च्याप्प समात्नुभयो र छिटो घर हिँड्न भन्नुभयो। उहाँ ज्यादै हड्बडाएको र आत्तिएजस्तै हुनुहुन्थ्यो। हामी केही बोलेनौँ। लुरुलुरु बुबाको अघि लागेर घर पुग्यौँ। "छिट्छिटो यी लुगा फुकाल! नेपाल -काठमाडौँ)मा राजद्रोह गर्ने मानिसलाई मारे रे !" बुबाको कुराले हामी पनि अत्तालियौँ। उहाँले थप्नुभयो, "तिमीहरूलाई पनि यी लुगा लगाएर हिँड्यौ भने पुलिसले समात्छ।" अनि, हामीले तुरुन्तै अर्को लुगा लगायौँ।
यसको अन्तर्यमा कुरा के रहेछ भने त्यसबेला भारतमा महात्मा गान्धीले विदेशी वस्त्र आदिको बहिष्कार गर्ने र खादी बुनेर लगाउने अभियान सुरु गरेका रहेछन्। भारतमा खादी राष्ट्रिय आन्दोलनको प्रतीक भएकाले नेपालमा पनि त्यसको प्रभाव पर्न सक्ने अड्कल काटिएको रहेछ। भारतको आन्दोलनले नेपालमा पार्ने प्रभावलाई राणा शासकले सहने कुरै भएन। बुबालाई पनि यही शंका लागेर हामीलाई लुगा फुकाल्न लगाउनुभएको रहेछ।
म सानैदेखि अलिक शंकालु, निडर र अरूको कुरा काट्ने तथा बोलक्कड स्वभावको थिएँ। गुरु माधवप्रसाद पण्डितबाट शिक्षा पाएको थिएँ। आबाल ब्रह्मचारी तथा वेदका विद्वान् एक जना स्वामी रत्ननिधि आदीले मलाई गायत्री मन्त्र सुनाउनुभएको थियो। उहाँहरूले मलाई सानोमै शिक्षा दिँदा हाम्रा प्राचीन धर्मग्रन्थ, महाभारत, वेद-उपनिषद् आदि पढाउनुभएको थियो।
जुन दिन हाम्रो शरीरबाट लुगा फुकालियो, राती सुत्ने बेलामा अनेक तर्कना आयो। खद्दर लगाउँदैमा किन मान्छे मारन्िछ ? यसको रह्स्य के होला ? आदि आदि। अर्को दिन बिहान सबेरै उठ्छु त तानसेन सहर पूरै चकमन्न थियो। घाम झुल्किने बेलामा बाहिर हेर्दा त टोपी नलगाउनेले टोपी लगाएका, कपाल पाल्नेले पनि छोट्याएर टोपी लगाएका, मानिसहरू जम्मा भएर गफगाफ गर्ने ठाउँ पनि पूरै सुनसान भएको देख्छु। सम्भवतः काठमाडौँमा भएको सहिद काण्ड, जसमा गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्री सहिद भए, तानसेनमा पनि हावासरी फैलिएको थियो। सायद, सहादतको शोक सबैतिर यसरी नै फैलिएको थियो।
अहिले जसरी नेपालमा चिनियाँ सामानको ओइरो लाग्छ, त्यसबेला जापानी सामानको बोलबाला थियो। ६ पैसा गज मलमल थियो। लालटिन, जुत्ता, सलाई आदि सबै जापानबाटै आउँथे। आमाले मलाई त्यस घटनाको दोस्रो दिन सलाई किन्न बजार पठाउनुभयो। सधैँ एक पैसामा पाइने सलाईलाई पसलेले चार पैसा भन्यो। मैले किन यति महँगो भनेर प्रश्न गर्दा पसलेको जवाफ थियो, "जापानबाट सलाई लिएर हिँडेको पानीजहाज अमेरकिाले समुद्रमै डुबाइदियो रे ! त्यसैले यस्तो महँगो भएको।" दोस्रो विश्वयुद्धको प्रभाव यसरी हामीले पाल्पामा भोग्नुपरेको थियो। 'एउटाले बिराउने साखासन्तान पिराउने !' भनेको सायद यही होला।
अर्को दिन अर्थात् हामीलाई टुँडिखेलबाट घर लगेर कपडा फुकाल्न लगाइएको दोस्रो दिन पाल्पा सहर घुमेर आफ्नो घरको बार्दलीबाट हेर्दा टुँडिखेललगायत सबैतिर चकमन्न अँध्यारो थियो। आफ्नो कोठाभित्र रहेका खद्दरका कुर्ता-सुरुवाललाई चलाएँ। ती निर्जीव वस्तुमा कुनै भय र त्रासदको छनक पाइनँ। बार्दलीमा गएर पुनः टुँडिखेल हेरेँ। निश्चल-निश्चिन्त थियो। नीलो आकाशतिर हेरेँ। ठूलो ऐनाको कराही घोप्ट्यााएजस्तो लाग्यो। त्यही कराहीमाथि आकाशको परकिल्पना गरेँ। र, कल्पनाबाट बाहिरँिदै पुनः आफैँमा फर्किएँ। झल्याँस्स भएँ।
यसरी राजनीतिक चेतना जगाउने त्यो दिन म कहिल्यै भुल्न सक्दिनँ। न अरू कसैले नै त्यस दिनलाई भुल्न सक्छन्। किनभने, त्यही महिना नेपाली आमाका चार सपूतले सहादत प्राप्त गरेका थिए। खद्दरका कुर्ता-सुरुवाल के हो ? राजद्रोह के हो ? झुन्ड्याइने सजाय किन दिइन्छ ? आदि आदि प्रश्न मेरो मस्तिष्कमा यसरी घुमिरहेका थिए, आज पनि बयान गरेर सक्दिनँ।
यसरी राजनीतिक चेतना बढ्दै जाँदा राजनीतिक कुरा बुझ्ने चासो पनि बढ्दै गएको थियो। १९९७ सालमा सहादत प्राप्त गर्ने चार सहिदको नाम मेरो मनमा यसरी गढेका थिए, जो कहिल्यै धुमिल भएनन्। कुनै नेपालीले पनि यी नाम कहिल्यै भुल्न सक्दैनन्। सहिद काण्ड र भारतीय खद्दरको कुर्ता-सुरुवालको सम्झना राजनीतिको जन्तरजस्तै भएर ज्यादै गहिरो गरी मनमा गडेर बसेका छन्। सायद त्यसैले मलाई राणाविरोधी अभियानमा सरकि गराउने मार्गप्रशस्त पनि गर्यो।
माक्र्सवाद-लेनिनवादलाई मार्गदर्शन सिद्धान्त मानेर राजनीतिमा सरकि हुँदा पनि गान्धीका जीवन-दर्शन र व्यवहार-शैलीले मलाई एक कुनाबाट सधैँ समाइरहेको पाउँथेँ। आफूभन्दा माथिका कम्युनिस्ट नेताले महात्मा गान्धीलाई 'शोषक र पुँजीपतिका पिठ्ठू हुन्' भनेर प्रशिक्षण दिँदा पनि मेरो मनले त्यस्तो भावनालाई कहिल्यै ग्रहण गर्न मानेन। नढाँटी भन्दा मलाई गान्धीका विचार सधैँ जीवनोपयोगी लागे।
प्रस्तुति - ईश्वरी ज्ञवाली
तपाईंको प्रतिकृया