दण्डहीनतामा पनि बोर्ड फस्ट भएको भन्दै प्रधानमन्त्रीलाई प्रसंसा पत्र
दाङ, पुस २९ - प्रधानमन्त्री बाबुराम भट्टराइले शैक्षिक क्षेत्रमा बोर्ड प्रथम भएझैं दण्डहिनता संरक्षणमा पनि बोर्ड प्रथम हुने प्रयास गरेको भन्दै दाङका पत्रकारहरुले आइतबार प्रधानमन्त्रीलाई व्यंग्य स्वरुप प्रशंसापत्र पठाएका छन् ।
प्रेस चौतारीको अगुवाइमा गएको पत्रकारको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत प्रधानमन्त्रीलाई प्रशंसापत्र पठाएको हो ।
प्रशंसापत्रमा प्रधानमन्त्रीलाई अपराधीलाई संरक्षण गरी दण्डहिनतालाई प्रश्रय दिन महत्वपूर्ण भूमिका खेलेकाले प्रशंसापत्र प्रदान गरिएको उल्लेख छ । पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई कारबाही नगर्न निर्देशन दिएर प्रधानमन्त्रीले दण्डहिनताको संरक्षण गरेको प्रशंसापत्रमा छ ।
प्रशंसापत्र बुझ्दै सहायक प्रजिअ रिजालले प्रशंसापत्रबारे प्रधानमन्त्री र गृह मन्त्रालयको कार्यालयमा जानकारी गराउने बताए ।
प्रशंसापत्र बुझाउँदै प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारी र पत्रकार महासंघका सचिव सविन पि्रयाशनले प्रधानमन्त्रीले अपराधीलाई संरक्षण गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने जनाए ।
यसैगरी प्रेस युनियनले पनि पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन अगाडि आधा घण्टा धर्ना दिएको छ ।
धर्ना कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, यूनियनका केन्द्रीय सदस्य सुदिप गौतम, जिल्ला अध्यक्ष रामप्रसाद पौडेल र मानवअधिकारकर्मी बिकिरण गौतमले पत्रकार हत्याका दोषी कार्वाही भोग्न तयार हुँदा पनि प्रधानमन्त्रीले बचाउन खोज्नु दुखद भएको बताए ।
प्रकाशित मिति: २०६९ पुस २९ ०२:५४










तपाईंको प्रतिकृया